प्रेरणाको मुद्दामा स्वार्थ

गौरीबहादुर कार्की

राजतन्त्र अन्त्यपछि सरकारले राजा वीरेन्द्र र उनका परिवारको चल–अचल सम्पत्ति नेपाल ट्रस्टका नाममा राख्ने निर्णय गरेको थियो । पूर्वराजा ज्ञानेन्द्रले छोरी प्रेरणालाई दाइजो दिएको छाउनीस्थित १५ रोपनी जग्गा र घर पनि नेपाल ट्रस्टका नाममा ल्याइएको थियो । त्यो दाइजोमा आएको भन्दै प्रेरणाले २०७१ माघ २५ सर्वोच्चमा मुद्दा हालिन् ।

प्रेरणाको मुद्दामा स्वार्थ

२०७२ असार ६ गते प्रधान न्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले त्यो पूर्वअधिराजकुमारी प्रेरणाकै दाइजो भएको फैसला गर्‍यो ।


फैसलामा चित्त नबुझेपछि नेपाल ट्रस्टले पुनरावलोकनका लागि निवेदन हाल्यो । २०७३ भदौ १७ मा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले तत्कालीन प्रधान न्यायाधीश साह र न्यायाधीश राणाको संयुक्त इजलासले गरेको फैसलामा त्रुटि रहेको औंल्याउँदै पुनरावलोकनका लागि ‘अनुमति हुने’ आदेश दियो ।


२०७३ पुस २१ गते प्रधान न्यायाधीश सुशीला कार्की तथा न्यायाधीशहरू दीपककुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले संयुक्त इजलासबाट प्रेरणाका पक्षमा भएको फैसला उल्टायो । उक्त घर–जग्गा दाइजो नठहरिने र सरकारको हुने फैसला भयो ।


पूर्ण इजलासको फैसलापछि प्रेरणाले रिट हालिन्, जुन अहिले संवैधानिक इजलासमा विचाराधीन छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको इजलासले मिसिल झिकाउने आदेश गरेको छ ।


अन्तरिम संविधानमा, राजा वीरेन्द्रका नाममा रहेको सम्पत्ति राष्ट्रियकरण गरी नेपाल ट्रस्ट अन्तर्गत ल्याउने उल्लेख गरिएपछि २०६३ जेठ ४ को ऐतिहासिक प्रतिनिधिसभाले वीरेन्द्र र उनको परिवारका नाममा रहेको सम्पत्ति सरकारीकरण गर्ने घोषणा गरेको थियो । सोही बमोजिम सरकारले २०६४ पुस १ मा उक्त जग्गा ट्रस्ट मातहत ल्याउने निर्णय गरेको थियो ।


पूर्ण इजलासबाट पुनरावलोकनका माध्यमबाट न्याय निरूपण भएर अन्तिम भएको मुद्दामा चुनौती दिने ठाउँ छैन । तर सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रेरणाको मुद्दाले घुमाउरो रूपमा प्रवेश पाएर सुनुवाइ हुँदै छ । प्रेरणा रिट क्षेत्रबाट प्रवेश गरे पनि माग भने पुरानो हो, छाउनीको १५ रोपनी जग्गा र घर आफ्नो बनाउने । सर्वोच्च अदालतले अन्तिम किनारा लगाएको मुद्दा संवैधानिक इजलासमा दर्ता भएको भने पहिलो पटक हो ।


अहिले इजलास गठनमा विवाद आएको छ । इजलास गठन विधिशास्त्रअनुकूल छैन भनिन्छ । न्यायमा जनआस्था र विश्वास जगाउन स्वच्छता र पारदर्शिता देखाइनुपर्छ । सामान्य उपचारको क्षेत्र रहेसम्म असाधारण उपचारको क्षेत्र आकर्षित हुँदैन । अन्य कानुनी उपचारको मार्ग नभएमा मात्र रिट क्षेत्रमा प्रवेश गरिन्छ । ५० वर्षदेखि सर्वोच्च अदालतले यस्ता नजिर सिद्धान्त प्रतिपादन गर्दै आएको छ ।

मुद्दामा अन्तिमताको सिद्धान्त

न्याय प्रशासन ऐन, २०४८ तथा २०७३ को दफा १८ ले मुद्दामा अन्तिमताको सिद्धान्तको प्रावधान राखेको छ । त्यस अनुसार यो ऐन वा प्रचलित कानुनमा अन्यथा व्यवस्था भएकामा बाहेक मुद्दामामिलाको रोहमा कुनै अदालत, निकाय वा अधिकारीले गरेको निर्णय अन्तिम हुनेछ र त्यस्तो निर्णय सम्बन्धित सबै पक्षले मान्नु पर्नेछ (उपदफा १) ।


यो ऐन वा प्रचलित कानुनमा अन्यथा व्यवस्था भएकामा बाहेक एक पटक कुनै अदालत, निकाय वा अधिकारीले निर्णय गरिसकेको मुद्दा पुनः सोही अदालत, निकाय वा अधिकारीले कारबाही गर्न वा इन्साफमा फरक पर्ने गरी फैसला वा आदेशमा कुनै संशोधन गर्न सक्नेछैन (उपदफा २) । यस्तो कानुनी प्रावधान रहे पनि अहिले एनसेल र प्रेरणाको मुद्दाको सुनुवाइ भइरहेको छ ।


मुद्दामा अन्तिमताको सिद्धान्तको व्यवस्था प्राकृतिक न्यायको सिद्धान्त, स्वच्छ सुनुवाइको सिद्धान्त एवं प्रत्येक न्यायकर्मीले तटस्थता एवं निष्ठा एवं न्यायिक परिपाटीका सम्पूर्ण तत्त्व आफूमा समाहित गराई फैसला गर्नुपर्नेमा सोको विपरीत एक पटक निर्णय गरिसकेको मुद्दामा पुनः आफूसमेत संलग्न भई पुनः सोही मुद्दामा फैसला गरेको देखिँदा त्यस्तो फैसला कायम रहन नसक्ने भनी सर्वोच्च अदालतबाट व्याख्या भएको पाइन्छ (बुलेटिन, २०६६, वर्ष १८ अंक १३, पृ. ९) । पक्षहरूको हितलाई ध्यानमा राखी मुद्दा छिटो टुङ्गिनुपर्छ । छिटोछरितो र सुलभ न्याय पाउने नागरिकको मौलिक हकलाई समेत ध्यानमा राखी एक पटक पुनरावेदन सुनी अन्त्य भएको मुद्दा पटक–पटक पुनरावलोकन वा कुनै नाउँमा पुनः हेरिन सक्तैन ।


कतिपय रिट निवेदनमा विपक्षीहरूको लिखित जवाफै नमगाई खारेज पनि गरिन्छ । बेरीत आदेशउपर परेका निवेदनमा कैफियत प्रतिवेदन नमगाई पनि अन्त्य गरिन्छ । पुनरावेदकीय र सुरपरिवेक्षीय क्षेत्राधिकारमा फरक यही हो ।


पुनरावलोकन भनेको सम्भावित मानवीय गल्ती भएको छ कि भनी आफ्नो फैसला एक पटक सीमित आधारमा आफैले हेर्ने व्यवस्था हो । ‘एक पटक यस अदालतले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को दोहोर्‍याउने अवस्था विद्यमान नभएको ठहर गरी मुद्दामा अन्तिमताको सिद्धान्त अन्तर्गत अन्तिम भैसकेको मुद्दालाई न्याय प्रशासन ऐनको अर्को दफा अन्तर्गत पुनः हेरिन सक्दैन’ भनी सर्वोच्च अदालतबाट फैसला भएको पाइन्छ (नेकाप, २०६४, निर्णय नं. ७८४३) ।


रोमन कानुनमा रहेको प्राङ्न्यायको सिद्धान्त एउटै विषयमा कसैमाथि दुई पटक कारबाही हुन सक्दैन भन्ने हो । यस सिद्धान्तलाई अँगाली एक पटक न्याय दिइसकिएको भए उही मुद्दाका लागि दोस्रो पटक मुद्दा दायर गर्न सकिँदैन (बुलेटिन, वर्ष १४ अंक ७, पृ. १०) । प्रेरणाको मुद्दा संवैधानिक इजलासमा पुग्यो । कतिपय गलत मुद्दा पनि अदालतमा दर्ता हुन्छन् र अगाडि बढाइन्छन् । गलत रूपमा दर्ता भए पनि प्रारम्भमै खारेज गरेर इजलासले प्रशासनको गल्ती सुधार्न सक्थ्यो । तर संवैधानिक इजलासले सुधार गरेन ।


सुनुवाइ अगाडि बढायो, मिसिल झिकायो । यसले न्यायमा विचलन र इजलासको दुरुपयोग भएको आरोपलाई बल दिएको छ ।

संविधान र कानुन बमोजिम अन्तिम भएको मुद्दा संवैधानिक इजलासबाट हेरिने परम्परा बसाल्ने हो भने यो इजलास सर्वोच्च अदालतभन्दा ठूलो र शक्तिशाली भन्ने अर्थ लाग्छ । अन्तिम भएका मुद्दाका पक्षहरू यही बाटो अदालत प्रवेश गर्नेछन् । संवैधानिक इजलास देवानी मुद्दाको चापले थिचिनेछ । तेरो–मेरो सम्बन्धी हकका सामान्य देवानी मुद्दा संवैधानिक इजलाले हेर्ने हो भने शक्ति र सम्पत्तिले न्यायमा विचलन ल्याउनेछ ।


संविधानको धारा १३७ अनुसार, कुनै कानुन संविधानसँग बाझिएमा प्रदेशका क्षेत्राधिकार र सीमा विवाद, संसदको निर्वाचन र अयोग्यता सम्बन्धी तथा गम्भीर संवैधानिक प्रश्न भएका मुद्दा संवैधानिक इजलासले हेर्ने हो, प्रेरणाको जस्तो सामान्य देवानी मुद्दा होइन । यही धारा अनुसार, संवैधानिक इजलासमा प्रधान न्यायाधीश र न्यायपरिषद्को सिफारिसमा प्रधान न्यायाधीशले तोकेका अन्य चार न्यायाधीश रहने व्यवस्था छ ।


संवैधानिक इजलासका लागि पाँचभन्दा बढी न्यायाधीशको रोस्टर बनाउन माधव बस्नेतले दिएको रिटमा सर्वोच्चको आदेश पालना भएन । अनि चार न्यायाधीश मात्र तोकिए । पहिले मुद्दा छिन्ने न्यायाधीशहरूमध्येकै प्रेरणाका पक्षमा फैसला गरेका प्रधान न्यायाधीश राणा र प्रेरणाको दाइजो नहुने सरकारको हुने भनी पुनरावलोकनबाट फैसला गर्नेमध्येकै न्यायाधीश दीपककुमार कार्की तथा केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की सहितको संवैधानिक इजलासले यो मुद्दा हेरिरहेको छ ।


संवैधानिक इजलासमा न्यायाधीश परिवर्तन गर्न प्रधान न्यायाधीशले मात्र सक्दैनन् । संवैधानिक अडचनका कारण संवैधानिक इजलासमा बसेर मुद्दा सुनुवाइ गर्नुपरेको भन्ने उहाँहरूको भनाइ होला । तर पहिले विवादको एक पक्षमा राय दिइसकेका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर तथा अर्का न्यायाधीश दीपककुमार कार्कीले चुपचाप दोस्रो पटक मुद्दा सुनुवाइमा संलग्न हुनुले न्यायिक मूल्य र मान्यताको प्रश्न उठेको छ ।


झगडिया झिकाएका न्यायाधीशले त सामान्यतया फैसला गर्ने इजलासमा नबस्ने चलन छ, आफ्नो नातागोता, सरोकार, स्वार्थ बाझिने अवस्था आएमा आफूले हेर्न नमिल्ने भनेर मुद्दा हटाइन्छ, तर दुई न्यायमूर्तिले भने संवैधानिक इजलासमा न्यायिक मूल्य, मान्यता र आफ्नो स्वार्थ प्रतिकूलको मुद्दा हेर्न इन्कार गरेको देखिएन ।


संवैधानिक इजलासको विशेष व्यवस्था अनुसार प्रधान न्यायाधीश र अन्य चार न्यायाधीशबाट इजलास गठन गरिनुपर्छ । आफूले एक पक्षको हितमा राय व्यक्त गरिसकेको मुद्दा हेर्न अस्वीकार गर्न त सकिन्छ नै ! सुनुवाइ क्रममा अगाडि नै अस्वीकार गरेर इजलासमा बस्न हुँदैन । फैसला गर्दा मात्र दुई न्यायाधीशले आफूले हेर्न नमिल्ने राय दिएर बाँकी तीन जनालाई फैसला गर्न लगाउने होइन । सुनुवाइमै बस्न हुँदैन । सर्वमान्य विश्वव्यापी न्यायिक मूल्य र मान्यताको पालन गरिनुपर्छ ।


प्रधान न्यायाधीशले न्यायपरिषद्को बैठक बोलाई अन्य न्यायाधीश तोकेर इजलास गठन गर्नुपर्छ । प्रधान न्यायाधीश इजलासमा रहनुपर्ने भए पनि, पहिलेको फैसलामा संलग्न भइसकेकाले आफूले हेर्न नमिल्ने भएकाले आफू र दीपककुमार कार्की बाहेकका न्यायाधीशको इजलास गठन गरेर मुद्दाको सुनुवाइ गराउनुपर्छ । न्यायिक मूल्य र मान्यता राख्ने, राख्न लगाउने प्रधान न्यायाधीश र सर्वोच्चका न्यायाधीशले हो । न्याय गर्ने मात्र होइन, न्याय पारेको देखाउनु पनि पर्छ ।


[email protected]

प्रकाशित : श्रावण ९, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?