कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अवतारीहरूको समूह

किशोर नेपाल

आउँदो दसैंदेखि देशमा केही हुँदै छ, बिलकुल ‘नयाँ–नौलो’ । विकासको गतिशील दिशामा उन्मुख देशमा केही तरंग फैलिनेछ । नारायणी नदीमा पानीजहाज चल्ने भएको छ । चितवनका आधा दर्जन युवा व्यवसायीले ‘राइनो वाटर इन्टरटेनमेन्ट’ कम्पनी स्थापना गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमा पानीजहाज चलाएर यसको भू–परिवेष्टित परिचय परिवर्तन गर्ने हुटहुटी मेटिने भएको छ ।

अवतारीहरूको समूह

यो कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार, सरकारले पानीजहाज चलाउने प्रयत्नलाई प्रोत्साहनस्वरूप १ करोड रुपैयाँ अनुदान दिएको छ । ४ करोड रुपैयाँ व्यवसायीले लगानी गरेका छन् । थपमा पानीजहाज योजना सुचारु रूपले सम्पन्न गराउन चितवनका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे खटिएका छन् । पाइएको विवरण अनुसार, यो पानीजहाज पूर्णतया विकासमुखी हुनेछ । सानो सम्मेलन कक्ष र रेस्टुराँसहितको पानीजहाजमा तीन सय जनाले यात्रा गर्न सक्नेछन् ।


विकासको अर्को सोपान— भारतको बिहार राज्यको मोतिहारीदेखि नेपालको प्रदेश २ को अमलेखगन्जसम्म पाइप लाइनबाट पेट्रोल र डिजलको निर्बाध प्रवाहको व्यवस्था मिलाइएको छ । दुवै देशको भूभागमा पाइप लाइन ओछ्याएर त्यसको परीक्षण पनि गरिसकिएको छ ।


ट्याङ्करबाट तेल ओसार्ने बाध्यताका कारण नेपालको विकासमा जेजति अवरोध आएका थिए, ती अब समाप्त हुनेछन् । यसलाई सरकारको उपलब्धि भन्न कन्जुस्याइँ गर्नुपर्दैन । ओली नेतृत्वको सरकार विकासको ‘कोर सेक्टर’ मा पुगेको छ । नारायणीमा पानीजहाजको सञ्चालनले नेपाल भूपरिवेष्टित देश हो भन्ने ‘मिथ’ लाई भत्काइदिनेछ । यसका साथै यसले नेपाली र विदेशी पर्यटकलाई आकर्षक र उल्लेखनीय सेवा प्रस्तुत गर्नेछ । यसलाई कम आँक्न मिल्दैन ।


हो, कुरा विकासमा मात्रै सकिँदैन । देशमा विप्लव कामरेड छन् । उनी बृहत् शान्ति सम्झौताअघि माओवादी विद्रोहीले बोल्ने भाषा बोल्दै छन् । उनी आफ्ना सहकर्मी माओवादीजस्तो एमाले–माओवादी एकतापछि बनेको गुम्बदभित्र छिरेका छैनन् । त्यस्ता अरू पनि छन् । मोहन वैद्य छन्, जसलाई सबैले एक न एक समय गुरु स्वीकार गरेका छन् ।


अनि अलग्गै छ जनमोर्चा, जसले अहिलेसम्म संघीयता स्वीकार गरेको छैन, कम्युनिस्ट एकताका पक्षमा घुँडा धसेर लागेको पनि छैन । यत्ति हो, एमाले–माओवादी एकतालाई नेपालका सम्पूर्ण कम्युनिस्टबीचको एकता भन्न मिल्दैन । यत्ति हो कि, यी दुवै पार्टी नेपाल कम्युनिस्ट पार्टीका रूपमा संयुक्त भएका छन् । उनीहरूको हातमा दुईतिहाइको सरकार छ । त्यो सरकारलाई उनीहरूले खेलाइरहेका छन् । दायाँ–बायाँ । तल–माथि ।


खेलाउनुको कुनै खास उद्देश्य देखिँदैन, दिन काट्नेबाहेक । सरकार खेलाउने खेल बिग्रिन लागेको अवस्थामा पार्टीका दुई नेता संगठनतिर लहसिन्छन् । को कुन पदमा बस्ने र को के बन्नेबारे विशद छलफल हुन्छ । त्यसपछि छलफल सकिन्छ । मंगलबार बिहानसम्म स्कुल विभाग प्रमुख को बन्ने भन्ने टुंगिएको थिएन । एमालेका ईश्वर पोखरेल र माओवादीका नारायणकाजी श्रेष्ठ दुई उम्मेदवार थिए । एक भैसकेको दाबी हजारौं पटक दोहोर्‍याइएको पार्टीमा पुरानो अस्तित्वको कपटपूर्ण खोजी !


देशमा विप्लव छन् । अमन–चैनमाथि संकट छ । चार बटालियन सेना खडा गरिसकेका छन्, विप्लवले । उनको क्षमताको जानकारी गृहमन्त्री रामबहादुर थापाले दिएका हुन् । हत्या र हिंसाका घटना त्यति चम्किएका छैनन् । तर बम पड्काउने र सहरवासीलाई तर्साउने काम बढ्ने क्रममा छ । सरकारले विप्लवका कार्यकर्ता समात्ने गरेको छ । समातिएकामध्ये कति सुरक्षित छन् ? त्यो सायद सुरक्षाकर्मीलाई पनि पत्तो छैन ।


हालै गिरफ्तार भएका माइला लामाबाट सुरक्षाले बरामद गरेको चन्दा विवरणमा विश्वास गर्ने हो भने विप्लव समूह धनको मामिलामा कम छैन । उसलाई गणतन्त्रका विरोधी, अहिलेका नेताहरूका प्रतिस्पर्धी र आफ्नो स्वार्थ पूरा गर्न हिंसाको राजनीतिलाई प्रोत्साहित गर्नेहरूको समर्थन छ भनिन्छ । यो कुरालाई होइन भन्न सकिन्न । विप्लवका लागि महत्त्वपूर्ण विषय पैसा हो । यो जाति, धर्म, पाप सबैतिरबाट निरपेक्ष हुन्छ । पैसा भएपछि हतियार र सुविधा दुवै हातमा पर्छन् । विप्लवका लागि यो अहिलेको सर्वाधिक ठूलो आवश्यकता हो ।


विप्लवको हिंसात्मक अभियानले सरकार र सुरक्षाको मनोबलमाथि आक्रमण गरेको बताउँछन् ‘भित्रिया’ विश्लेषकहरू । उनीहरूको विचारमा, विप्लवको अभियान आधुनिक आतंकवाद हो, जसलाई सञ्चार माध्यमको व्यापक पहुँचको उप–उत्पादन भन्न सकिन्छ । सिद्धान्ततः यो कुरा बेठीक नहोला, तर प्रसंगमा भित्रिया विश्लेषकका विचारमा त्यति दम छैन ।


विप्लवको हिंसामा यो विश्लेषण काम लाग्दैन । विप्लवको हिंसा सानो क्षेत्रमा केन्द्रित भए पनि पहुँच देशव्यापी छ । हालै मात्र धनगढीमा भएको घटना सहरी आतंकवाद थिएन, बिस्तारै–बिस्तारै फैलिन लागेको हिंसाको कुरूप रूप थियो । यो कुरामा द्विविधा नराखे हुन्छ । बुझ्नुपर्ने कुरा यत्ति नै हो— सरकारको अनुपस्थितिमा हिंसाको चुनौती आफै सङ्ग्रालिन थाल्छ । अहिलेको हाम्रो अवस्था यही हो । सरकार त्यो ठाउँमा देखिन्छ, जहाँ खतरा छैन । तर त्यो ठाउँमा पुग्न चाहँदैन, जहाँ खतराको सम्भावना छ ।


विगत एक दशकका राजनीतिक उपलब्धिको प्रचुरतालाई हृदयङ्गम गर्ने हो भने नेपालले ठूलो फड्को मारेकामा शंका छैन । तर पनि मानिस सन्तुष्ट छैनन् । सरकार र सरकार चलाउने दलको शासन र जनताप्रतिको निरपेक्ष व्यवहारले उनीहरूलाई कुनै न कुनै अनुदार विन्दुमा पुर्‍याएको छ । उनीहरूलाई थाहा छ, आज जति पनि अर्घेलाहरू फैलिएका छन्, त्यो गणतान्त्रिक शासन व्यवस्थाको होइन, संकुचित मानसिकता भएका नेताहरूको कुशासनको परिणाम हो ।


आज देशको एउटै क्षेत्रमा सन्तुष्टि छैन । बजार मूल्यको असन्तुलनको मारमा दुनियाँ परेको छ । विकास आयोजनाहरूमा देश लगातार ठगिएको छ । मेलम्ची त अहिले देखिएको सजिलो उदाहरण हो ! यस्ता साना–ठूला मेलम्ची अरू कति होलान् ? कसैले भन्न सक्दैन । देशको अर्थतन्त्र दुरुपयोगको हदसम्म अपव्यय भैरहेको अवस्थामा यस्ता उदाहरणले कुन नेपालीलाई आक्रोशित नतुल्याउलान् ?


देशमा दुई शक्तिशाली पार्टी मिलेर एक भएका छन् । एउटा पार्टीले आफूलाई लगातार नंग्याएर देशको हावा, पानी, माटोअनुकूल बनाएको छ । उसले अवसरको उपयोग गरेको छ । राजतन्त्र कालमा परम्परानुसार दाम राखेर राजाको दर्शन पनि गरेको छ । भूमिगत रहेका प्रचण्डलाई भेट्न नेपालगन्जको जमुनाह चौकीबाट फुत्त छिरेर लखनउ पनि पुगेको छ ।


अर्को पार्टीले संविधानसभाको पहिलो चुनाव जितेर देशमा राजतन्त्र टिक्नै नसक्ने परिस्थितिको निर्माण गरेको छ । आफ्नो नेतृत्वमा राजतन्त्रपछिको पहिलो जनताको सरकार बनाएको छ । तैपनि उसले समाजमा विकास र विश्वासको तरंग ल्याउने राजनीति गरेको छैन । आफूलाई १७ हजारको ज्यान मारेको अभियोग लगाएर समाजबाट बाहिर लघार्न खोज्नेसँग प्रतिकारसम्म गर्न सकेको छैन ।


अहिले नेकपाको अवस्था विकृतितिर अग्रसर छ । समाधान गर्नेभन्दा उराल्ने काम बढी भएका छन् । संसदमा सरकारका प्रवक्ताको आवाज सुनियो— सरकारले आफूलाई चाहिएको कानुन बनाउँछ, अल्पमतले भनेजस्तो होइन, अल्पमतले सरकार चलाउने हो र ? सरकारको यो अन्योलमा समाजशास्त्री रुचि श्रेष्ठको यो भनाइ निकै समीचीन छ : देवताहरू आफ्ना दुस्मनसँग लड्न विभिन्न अवतारको सिर्जना गर्छन् । केही समयपछि अवतारले आफूमा अन्तर्निहित शक्तिको ज्ञान पाउँछ ।


त्यसपछि देवताहरूको नियन्त्रणबाट फुत्किन्छ । फुक्काफाल अवतारको पालन गर्नका लागि कुनै धर्म र विश्वास हुँदैन । संरक्षण दिन परिवार हुँदैन । कुनै नैतिक बन्धन हुँदैन । अहिलेको नेकपा यस्तै अवतारहरूको समूहजस्तो देखिन्छ ।

प्रकाशित : श्रावण ८, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?