३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

ओ, हेलो ! पछाडि जानुस् !

घडीको सुईले पाँच बजेको जनाउ दिइरहँदा मनमा भने कसरी घरमा पुगिएला भन्ने कुरा मात्रै घुमिरहन्छ । कार्यालयदेखि बसपार्क दस मिनेटको पैदल दूरीमा पर्छ । एक अपराह्न कार्यालयबाट बाहिरिएपछि म हतार–हतार दौडिन्छु, सिट पाइन्छ कि भन्ने आशमा । म जस्ता कैयौँ यात्रु उसै गरी हतारिएका भेटिन्छन् । गाडीको लाइन लामै देखिन्छ, आफू जाने रुटको गाडी कुन लाइनमा छ, आँखा उतै हुन्छन् ।

ओ, हेलो ! पछाडि जानुस् !

ए दिदी, जाने हो ? ए दाइ, जाने हो ? अंकल, आन्टी, आमा, बुबा ? ... ... जानेसम्मको साइनो लगाउँदै सहचालक भाइ घाँटी सुकाउँदै थियो । एउटा बस हिँडिसकेपछि कार्यालय समयमा अर्को गाडी तुरुन्त भेट्न मुस्किल पर्छ । भेट्टाए पनि सिट पाउने अवसर अपवादबाहेक विरलै मिल्छ ।


बसमा उक्लिएर यसो सिटतर्फ नजर डुलाएँ, कतै खाली छैन । उभिएरै भए पनि जाने सुर गरें । सहचालक भाइ कराइरहेकै थियो, ‘यता सिट खाली छ जाने हो ?’ ड्राइभर दाइ कराए, ‘ए कान्छा, उता हेर् त ! तीन जना आइरा’ छन्, बोला–बोला ।’ भाइ फेरि करायो । उभिने ठाउँसम्म नभए पनि ती तीन जना मुस्किलले भित्र छिरे । अनि एकैस्वरमा कराए, ‘ए फुच्चे, सिट खाली छ भन्या होइन ? गाडीभित्र त उभिने ठाउँ पनि रैनछ !’ ‘बानेश्वरबाट खाली भइहाल्छ नि !’ सहचालक भाइले गाडीको ढोका ठटाउँदै भन्यो ।


सिंहदरबार, माइतीघर, बानेश्वरको जाम छिचोल्न झन्डै आधा घण्टा लाग्यो । पहिले नै भरिभराउ गाडीमा बबरमहल, वानेश्वर, कोटेश्वरबाट झनै यात्रु थपिए । एक–दुई जना ओर्लिए । उभिएका यात्रु मात्रै पच्चीस–तीस जना थियौँ होला । एकातिर गर्मी, अर्कातिर गुन्द्रुकजस्तै कोचाकोच । हलचल गर्नसक्ने अवस्था छैन । कोटेश्वरमा एक ज्येष्ठ नागरिक बल्लतल्ल चढे । उनको नजर आफ्नै आरक्षित सिटमा गएर ठोक्कियो ।


ज्येष्ठ नागरिक सिटमा दुई युवती थिए, जसलाई ती बाले भने, ‘ए नानी, यो त हामीजस्ता बूढापाकाको सिट हो, तरुनी बस्ने होइन ।’ एउटीले भनिन्, ‘हामी बालकुमारीमा ओर्लने हो, बा । एकै छिन उभिनुस् ।’ यो सुनेर मेरो अगाडि उभिएका एक पुरुषले मुख खोले, ‘ए बहिनी, यत्तिको पाको बा देख्दा त तिमीहरू आफै जानेर उभिनुपर्ने हो, उल्टै बाले यो सिट तिमीहरूको होइन भन्दा पनि बस्न लाज लाग्दैन ? हामी उभिएर आउँदा पनि भएकै छ ! महिला सिटमा सेतै दाह्री–कपाल फुलेका बा बस्दा भने तरुनी नातिनीहरू बालाई उठाएर आफू बस्छन् ! आरक्षण र अधिकार तिमीहरूको लागि मात्रै हो ?’ सबै यात्रु त्यही सिटमा केन्द्रित भए । सहचालक भाइ पनि करायो, ‘ए दिदी, उठ्नुस् !’ रिसले रातोपिरो भएका दुवै जना उठे ।


सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई छुट र सुविधा दिने व्यवस्था सरकारले गरिदिएको छ । ६० वर्ष पुगेका ज्येष्ठ नागरिकले भाडामा ५० प्रतिशत छुट र आरक्षित सिटमा बस्न पाउँछन् । तर त्यस्तो आरक्षित सिटमा बस्नका लागि यी वृद्धजस्ता कति बाआमाले हैरानी भोग्दा हुन् !


सहचालक भाइ गाडीमा उभिने ठाउँसम्म नभए पनि उसै गरी कराइरहेको थियो, ‘जाने हो ? सिट खाली छ । ग्वार्को, इमाडोल सानागाउँ ... ।’ बालकुमारीमा पाँच–छ जना बस कुरिरहेका भेटिए । तिनले ‘ए भाइ, इमाडोल जान्छ ?’ भन्नेबित्तिकै भाइ हर्षित हुँदै बोल्यो, ‘ल–ल, छिटो चढिहाल्नुस् !’ हलचल गर्न नसक्ने अवस्थाका यात्रुहरू रिसले चुर भए ।


एक जना कराए, ‘ए गुरुजी, जाऔं–जाऔं । गाडी पूरै प्याक छ, कहाँ अट्छन् अब ? मान्छे सिन्की त होइन नि जति खाँदे पनि हुने ! यहीँ छ बजिसक्यो, कहिले घर पुग्ने ?’ यो कुरा चालक र सहचालक दुवैलाई सुन्नु थिएन । सहचालक भाइ उल्टै करायो, ‘ओ, हेलो ! अलि पछाडि जानुस् ! ओ, हेलो ! कान सुन्नुहुन्न ? कति बेलादेखि पछाडि सर्नुस् भनिरा’ छु !’ अघिसम्म जानेसम्मको साइनो लगाउँदै चढाएको भाइ यात्रु थपिँदै गएपछि हपार्ने भइसक्यो !


एक छिनमा ऊ करायो, ‘ग्वार्को ओर्लने छ ?’ पछाडिको झ्यालसामु उभिएका दुई युवक ओर्लने जनाउ दिए । पछाडिबाट ढोकासम्म आउन ठूलै सकस । भाइ करायो, ‘अलि छिटो गर्नुस् !’ चालकको पनि चर्को स्वर सुनियो, ‘ए कान्छा, अलि छिटो गर् ! ओर्लनेहरू त अगाडि आएर बस्नुपर्छ नि !’ एक यात्रु बोले, ‘चढाउने बेला पछाडि जा, झर्ने बेला अगाडि आइज ? ठिक्क यात्रु चढाएको भए ओर्लन समय लाग्दैनथ्यो । तिमीहरूलाई यात्रु जहाँ चढाउन पनि छुट, चढाउने बेला जति जना चढाउन पनि छुट, जति बेर हामीलाई कुराउन पनि छुट, तर हामी पछाडिबाट अगाडि आउन एक मिनेट ढिलो हुँदा यत्रो बवन्डर ?’


ग्वार्को पुलनेर एक महिला बच्चा बोकेर चढिन् । महिला सिटमा एक अधबैंसे महिला र अर्की युवती थिए । बच्चा बोकेकी महिलालाई उनीहरूले सिट छोडिदिएनन् । अघिसम्म गफिइरहेका दुवै जनाले निदाएको बहाना गरे । बच्चा गर्मीले अतालिएर रोयो, पछाडिको सिटमा बसेका पुरुष उठिदिए । ती महिला सिटमा बसेपछि ती दुइटीको निद्रा खुल्यो । धन्न, महिला सिट ! एक यात्रुले कटाक्ष गरे, ‘अब महिला होइन, आमा सिट राखे हुन्छ । कम्तीमा आमाहरूले सास्ती त पाउने थिएनन् ।’


सहचालक भाइ फेरि चिच्यायो, ‘इमाडोल झर्ने छ ? इमाडोल झर्नेले भाडा दिइहाल्नुस् । अगाडि आउनुस् ।’ गाडीमा बोलिने कतिपय भाषा सांकेतिक भए पनि सहचालक र यात्रु दुवैका लागि प्रस्ट हुन्छन् । दुइटी युवतीले भाडा दिँदै भने, ‘ए भाइ, दुइटा राता मकै लेऊ त !’ भाइले दुई जनाको भाडा समायो ।


बस ‘राता मकै गेट’ लेखिएको बोर्डनजिकै पुगेपछि रोकियो । चालक कराए, ‘ल, दुइटा राता मकै झर्नुस् ।’ सबैजसो यात्रु गलल्ल हाँसे । सानागाउँ आइपुगेपछि करिब डेढ घण्टाको सकसपूर्ण यात्रा सकियो ।


म जस्ता लाखौं यात्रु हरेक दिन यसै गरी कष्टकर यात्रा गर्न बाध्य छौँ । सरकारसँग पानीजहाज, मोनो/मेट्रो रेलको माग, रहर केही पनि छैन हाम्रो । हामी सार्वजनिक यातायातमा बिनाकष्ट यात्रा गर्न चाहन्छौं । बिहान सग्लो हरियो साग बनेर घरबाट निस्किएको यात्रु साँझ फर्कंदा गुन्द्रुक बन्नुपर्ने अवस्थाको अन्त्य चाहन्छौं । सिटमै बसेर हिँड्न चाहन्छौं । आधा घण्टामा पुगिने स्थानमा डेढ घण्टा लाग्ने अवस्थाको अन्त्य चाहन्छौं । बस, योझन्दा ठूलो माग छैन ।


[email protected]

प्रकाशित : श्रावण ६, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?