२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बालबालिकाको सवारी

सम्पादकीय

व्यस्त राजमार्गका गह्रुँगा सवारी साधनसँग चेपिँदै स–साना नानीबाबु मोटरसाइकलमा राखेर यात्रा गर्ने विद्यालय पुर्‍याउने अभिभावकबारे शनिबार मुख्य पृष्ठमा प्रकाशित तस्बिरले सडक सुरक्षाबारे पुनः छलफल गर्नुपर्ने दर्शाएको छ । मोटरसाइकलको अघि–पछि चार जना बच्चाबच्ची राखेर पृथ्वी राजमार्गको छेवैमा रहेको विद्यालय जाने अभिभावक पक्कै आफ्ना सन्तानको शिक्षाजत्तिकै सुरक्षाप्रति सचेत र सावधान छन् । व्यवहारमा भने दैनिक यस्ता दृश्य हामी देख्छौं ।

बालबालिकाको सवारी

दुई जनाभन्दा बढी चढ्न नमिल्ने दुईपाङ्ग्रे सवारीमा पाँच जना हुइँकिनु हतारको यात्रा हो, व्यावहारिक रूपमा सजिलो हो, एकअर्काको देखासिकी गर्ने चलन पनि हो । यसले अभिभावकमा पनि सडक सुरक्षाप्रति अनभिज्ञता झल्काउँछ । त्यो हदको लापरबाहीमा ट्राफिक व्यवस्थापनको आँखा पुग्ने गरेको छैन भने त्यो अर्को चिन्ताको विषय हो ।


ती अभिभावक बच्चाबच्ची लिएर जुन सडकमा गुड्दै थिए, त्यो कुनै सहरी सडक होइन । राजमार्ग हो । पृथ्वी राजमार्गमा दैनिक १२ हजारभन्दा बढी सवारी साधन गुड्छन् । त्यसमा पनि खाल्डै–खाल्डा बनेका छन् । वर्षाको याम छ । सडक कतै हिलो र कतै चिप्लो छ ।


यो राजमार्गको धादिङ खण्ड (चितवनको सिमाना मौवाखोलादेखि काठमाडौंको सिमाना पिपलामोड/८६ किलोमिटर) मा मात्र गत वर्ष १ सय ३८ सवारी साधन दुर्घटना भएकामा ८९ वटा साना सवारी थिए । ९३ जनाले ज्यान गुमाए । तिनमा मोटरसाइकल/स्कुटरको पछाडि हेलमेट नलगाई बस्ने बालबालिका र महिलाको संख्या अधिक छ । चार वर्षयता यो राजमार्गमा दुर्घटनामा परी मृत्यु हुने ४ सय ८१ जनामध्ये ३ सय ५४ जना मोटरसाइकल र माइक्रोबसका यात्रु छन् । मोटरसाइकल, माइक्रो मात्र होइन, इन्धन भर्ने ट्यांकीको पछाडिधरि यात्रु बस्छन् । त्यसमा पनि मृत्यु हुनेमा बालबालिका नै बढी छन् ।


सडकमा जोखिम कम गर्ने प्रयास पुगेका छैनन् । त्यसै पनि हाम्रा सडकमा पदयात्री हिँड्ने, साइकल/मोटरसाइकल/स्कुटर चलाउने छुट्टै प्रबन्ध छैन । ठूला–साना, नयाँ–पुराना सबै खालका सवारी साधन एकै ठाउँबाट गुड्छन् । हाम्रा सडक र राजमार्ग निर्माणमा यस्ता आधारभूत पक्ष पालना गरिएका छैनन् । बर्सेनि दुई हजारभन्दा बढीको अकाल मृत्यु हुने गर्छ । राजमार्गमा सवारी दुर्घटना नभएको दिनै हुँदैन ।


सवारी दुर्घटनाको मुख्य कारण राजमार्गको अवस्था, अत्यधिक गति लिनु, मादक पदार्थ सेवन गरी सवारी चलाउनु, लामो दूरीका रात्रि बसमा एक जना मात्र चालक हुनु, पुराना गाडी नै प्रयोग गरिराख्नु, ट्राफिक नियमनको अभाव हुन् भन्ने त छँदै छ । यस्तो अवस्थामा सडक प्रयोगकर्ता आफैं बढी सतर्क हुनुपर्ने हुन्छ । राजमार्ग आसपासका अव्यवस्थित बस्ती, छेउमै सञ्चालित विद्यालय/कलेज, कार्यालय र तिनमा हुने आवतजावत, उछिन्ने प्रतिस्पर्धाजस्ता कारणप्रति पनि आम सडक उपभोक्ता सजग रहनु आवश्यक छ ।


हाम्रा प्रायः राजमार्ग, राजमार्ग मात्र होइनन्, सहरी सडक पनि हुन् । राजमार्गहरू गाउँबस्ती र सहर छिचोलेर गएका छन् । जुन–जुन नगर र गाउँपालिकामा राजमार्ग पर्छन्, तिनका जनप्रतिनिधिले आफ्नो गाउँ, सहर/नगरमा दुर्घटना किन बढिरहेछ भनी ध्यान दिन आवश्यक छ । आफ्नो क्षेत्रमा दुर्घटना नियन्त्रण गर्न तिनले सहरी सडकको अवधारणामा ध्यान दिनुपर्छ । सहरी सडकमा पैदलमार्ग, हरेक ५ सय मिटरमा जेब्राक्रसिङ, ट्राफिक बत्ती र ३० किलोमिटर प्रतिघण्टाभन्दा कम गतिमा सवारी साधन गुड्ने व्यवस्था लागू गराउन सकिन्छ ।


बालबालिकालाई सडकको सुरक्षित यात्राको मापदण्ड यकिन गरी अभिभावकलाई समेत जागरुक बनाउने व्यवस्था अपरिहार्य छ । अभिभावकको निर्णयमा बालबालिकाको ज्यान जानु अपराध हो, यसलाई टुलुटुलु हेर्नु सडक सुरक्षासँग जोडिएका निकायहरूको मौन सम्मति हो ।

प्रकाशित : श्रावण ५, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?