कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

साम्यवादको अन्त्येष्टि

राम गुरुङ

अबदेखि वाम इतिहासमा असार २४ ऐतिहासिक दिन हुने भयो । २०७६ सालको यही दिन, २००६ मा कम्युनिस्ट जन्माउने–हुर्काउने, यिनलाई बढाउँदै जीउभरि बोसो लाइदिने ‘साम्यवाद’ नेकपाको दस्ताबेजबाट सधैंका लागि बाहिरिएको छ । सांगठनिक हिसाबमा यसको विधिवत् अन्त्येष्टि गरिएको छ ।

सँगै, नेकपाको दस्ताबेज र दलीय सत्ताले पुँजीवादलाई सहर्ष बोकेको छ । यसलाई राम्रै मानौं किनकि नेकपाले पार्टीभित्र हुर्कंदै गरेको सुदखोर पुँजीवादलाई स्विकार्‍यो । यसले कमसेकम पुँजीवादी क्लबभित्र बसेर साम्यवाद र वर्गीय मुक्तिको सपनालाई बोक्नुपर्दाको राजनीतिक पीडाबाट नेकपालाई उन्मुक्त गरेको छ । ७० वर्षदेखि गरिबीमा फस्टाएको साम्यवादी आशा र त्रास, भरोसा र भ्रम, नारा र आस्थाले अब कहिल्यै टाउको उठाउनेछैन ।


साम्यवादलाई बिर्सिएकै जाति

व्यावहारिक उच्छृंखलता र आलंकारिक बखानले गर्दा वैज्ञानिक जवाफबिनै वैचारिक साम्यवाद नेपालबाट बिदा भएको छ । भावी पुस्ता साम्यवादको वैचारिक पतन र अन्त्येष्टिबारे घोत्लिएलान्/नघोत्लिएलान्, यो सही थियो वा गलत भन्नेबारे चर्चा गर्लान्/नगर्लान् तर एउटा कुरा पक्का छ— साम्यवादलाई घाट पुर्‍याउने नेकपा नेता–कार्यकर्ताले यसलाई पक्कै सम्झनेछैनन् । यिनले आफ्नो लाजगाल छोप्न भए पनि यसलाई बिर्सनेछन् ।


अन्यले पनि साम्यवादमाथि चर्चा गर्नेछैनन् । ‘देलान् र खाउँला’ भन्नेले सात दशकसम्म पनि नबुझेको साम्यवादलाई यसको अन्त्येष्टिपछि बुझ्लान् भन्ने पनि लाग्दैन । बुझेर नाफा वा घाटा, केही छैन । यसर्थ साम्यवादबारे गरिने आगामी कुनै पनि शोक वा शोध व्यर्थ हुनेछ । भौतिक र वस्तुगत साम्यवाद कहीं भेटिँदैन भन्ने बुझेका बुझक्कडले पनि यसबारे विचार–विमर्श गर्नेछैनन् । मतलव, साम्यवादको बौद्धिक विलास पनि सकियो ।


जे भयो, राम्रै भयो । यसले व्यक्ति हत्याकेन्द्रित झापा विद्रोह (२०३०) वा दसवर्षे हिंसात्मक विद्रोह (२०५२–६२) जस्ता जनधनको बरबादी र विध्वंसलाई त मेट्यो नै, सुखानी, टिमुरबोटे वा दोरम्बाजस्ता ऐतिहासिक क्रूर सत्तादमनलाई पनि पुरिदिएको छ । दुःखको कुरा, हजारौंको ज्यान मार्ने साम्यवादको क्षतिपूर्ति आगामी कुनै पनि वाद वा व्यवस्थाले दिन सक्दैन र मार्क्सवादले छोपिएको बुर्जुवा समाजवादलाई पनि चोख्याउनेछैन ।


रङ खुइलिएको 'ह्याङओभर’

२००६ मा भारतीय वामपन्थीबाट उधारो लिएको साम्यवादको रङरोगन उहिल्यै खुलिएको हो तर सहरिया कुलीन वामपन्थी नजन्मिँदासम्म साम्यवादका ‘ह्याङओभर’ बाँकी नै थिए । अर्थात्, साम्यवादी बखानबिनाको वामपन्थी आन्दोलन वा विद्रोह नुनबिनाका तरकारीजस्ता भइरहे ।


यसमा हुँदा खानेका आलंकारिक आशा र हुनेखानेका ज्यानै लैजाला कि भन्ने भयावह त्रास थिए । आशा र त्रास एवं दुई तिहाइ सत्ताको भ्रममा मच्चिरहेको साम्यवादको ‘ह्याङओभर’ यसरी सकियो । अब यसमा गुनासो वा पश्चात्ताप केही रहेन । वामपन्थीहरूले २०४७ मा अन्तरिम सत्ता चढेदेखि नै साम्यवादको वैचारिक अन्त्येष्टि भएको हो । तथापि, बहुप्रतीक्षित साम्यवादी दस्ताबेजलाई ब्रह्मनालमा मिल्काउन भने एमाले र माओवादीको एकीकृत कुण्ड नै बनाउनुपर्‍यो । यसले साम्यवादजस्तो भद्दा र उच्छृंखल वैचारिक जडलाई उन्मूलन गरेको छ ।


विचारले खारिएका वा पद र शक्तिको भोकले रन्थनिएका सबैलाई साम्यवाद ‘युटोपिया’ हो भन्ने थाहा थियो । थाहा नभएर वा नबुझेर साम्यवादलाई मूल आधार बनाए भन्नु नेपाली मार्क्सवादीको चरित्रलाई नबुझ्नु हो । यसका काल्पनिक न्याय र समानता सबैमा जाहेर थिए । तथापि भोक र रोगले कायल नेपालीले यही काल्पनिकतालाई पत्याइदिए । त्यही ज्यानमारा भोक र रोगमाथि साम्यवादले पुँजीवादी समाजवादको काल्पनिक बाटो नभेट्दासम्म क्रूर सपना थोपरिरह्यो । क्रूर सपना बेचेरै सत्ता र सहरमा रजाइँ गरेको साम्यवादको बजार अब भने समाजवादले लिएको छ ।


साहु कम्युनिस्ट, साम्यवादी यान

विश्वभर बजार गुमाउँदै साम्यवाद नेपाल छिरेको थियो । साम्यवादले धनाढ्य कुलीन जन्माउला भन्ने अपेक्षा सर्वसाधारण मात्र होइन, सायद स्वयं साम्यवादी नेता–कार्यकर्तालाई पनि थिएन तर रगत र शरीरको बदलामा साम्यवादी सपना किन्ने गरिब र निमुखाको भीड खडा गरियो । मार्क्सवाद, लेनिनवाद र माओवादसँग मिसिएको साम्यवाद, अन्ततः नवधनाढ्य साम्यवादीको (साहु कम्युनिस्ट) सिकार भयो ।


साम्यवादको युटोपियन सपनाले सुदखोर नेता, तिनका नवधनाढ्य परिवार वा आफन्त कसैलाई डसेन । यसले गरिब सपनालाई डस्दै भोको पेटलाई मार्‍यो । ज्यान अर्पेर लड्दालड्दै, शिविरबाट निकालिएका अयोग्य साम्यवादी सेना बर्बाद भए । यसको मार फरक राजनीकि आस्था राखेकाले खेदिएका र मारिएका तत्कालीन एमाले तथा कांग्रेसका इमानदार नेताकार्यकर्ताले बेहोरे । केपी–पीके साहु कम्युनिस्टलाई यसले कहिल्यै छोएन ।


साम्यवादको वायुयात्रा पुँजीवादी साहु कम्युनिस्टबीच सधैं फलिफाप भइरह्यो । साम्यवाद फ्याँक्नुको कारण मार्क्सवाद परिवर्तनशीलताको बनिबनाउ जवाफले पुष्टि हुनेछ र भनिनेछ सामाजिक बदलावसँगै मार्क्सवादी परिकल्पनाको साम्यवादको सान्दर्भिकता पनि सकियो । तथापि साम्यवादको अन्त्येष्टि भए पनि, अबको झन्डै चार वर्ष, साम्यवादी (साहु कम्युनिस्ट) सत्तामा रहनेछन् ।


अर्को निर्वाचनमा साम्यवादीकै हैसियतमा कम्युनिस्ट घोषणापत्र जारी हुनेछ । यस्ता झुट केही थान सामाजिक कल्याणका खुद्रा कार्यक्रम र आश्वासनले छोपिनेछन् । अर्थतन्त्र टाट पल्टिएर नवफासिस्ट तानाशाह संस्थागत नहुन्जेल बुर्जुवा समाजवादको ‘करिस्म्याटिज्म’ नेकपाको भावी दस्ताबेजबाट मिल्काइनेछैन ।


समाजवादको रजौटे शृंखला

संगठनका सबै एकाइलाई दलाल चरित्रले स्वात्तै निलेको मौका छोपेर साम्यवादको धूलो टकटकिएको छ । तत्कालीन एमालेले त २०४७ मा संसदीय मोर्चामा हामफालेसँगै साम्यवादलाई दिमाग र दिलबाट निकालेको थियो तर साम्यवादकै लागि खर्बौं सम्पत्ति ध्वंस गर्दै, हजारौंको ज्यान लिने तत्कालीन माओवादीले भने २०६२ को दिल्ली सम्झौतापछि मात्रै साम्यवादलाई राजनीतिक झुटको भारी बिसाउने तोक्मा बनाएको थियो । अर्थात्, साम्यवादको दस्ताबेज केही जोडी नेतालाई राज्यसत्ता दिलाउने सत्ताझुटबाहेक केही थिएन ।


यिनले साम्यवाद औधी मन परेर काखी च्यापेका भने थिएनन् । सधैं गरिबको भोटले चुनाव जित्नुपर्ने बाध्यतालाई झेल्न मात्र वैचारिक साम्यवादलाई जिउँदो राखिएको थियो । जब राज्यका स्रोत र सम्पत्तिको राजनीतिक दोहन चुलियो, तब मात्र साम्यवाद मिल्काउन सजिलो भएको हो । सीधा कुरा, निर्वाचन जित्न चाहिँदो अर्थ जोहो भएकाले नै साम्यवादको वैचारिक औचित्य सकिएको हो ।


नेकपाले प्राविधिक दुई तिहाइ संसदीय सिट नपाएको भए साम्यवादको विलास अझ लम्बिने थियो । आज मात्र होइन, उत्तिखेरै यो काम लाग्ने खालको थिएन तर बदनामी, दबाब र चुनौती सहेर सही, आजपर्यन्त बोक्दै आएको साम्यवादको झुटले नै नेकपालाई राजसी सत्ता मिलेको हो ।


गहिरिएर सोच्दा, साम्यवादबिनाको कम्युनिस्ट–नेकपाको राजनीति कस्तो होला भन्ने लाग्छ । दस्ताबेजबाट साम्यवाद फालिएपछिको मार्क्सवादभित्र समाजवादले कस्तो खेती होला भन्ने कौतूहल उत्तिकै छ तर मार्क्सवादभित्र गरिने समाजवादको सम्भावित खेती स्पष्ट छ ।


सामाजिक सुरक्षा योजना वा घाँसी भर्ती गर्ने प्रधानमन्त्री रोजगारजस्तै अन्य थुप्रै आकर्षक कार्यक्रमको आविष्कार गरिनेछ । राजनीतिक ब्रह्मलुटलाई कसिलो बनाउने यस्ता कार्यक्रमले समाजका हरेक तहमा केपी–पीकेका अनुवाद–रजौटा जन्माउनेछन् । नेता–कार्यकर्ताको वर्ग उत्थानको उद्विकास शृंखलालाई नै समाजवादको अभ्यास भनिनेछ ।


अबका दिन मार्क्सवादमा सवार समाजवादीहरूले नाफामूलक रणनीति बनाउन विज्ञहरू भर्ती गर्नेछन् । यिनले उत्तर–उत्पादनवादी ‘पेरिफेरियल पुँजीपति’ को कल्याण हुने आर्थिक कार्यक्रम पेस गर्नेछन् । फासिस्ट ऐन र विधेयकको परीक्षण हुनेछ र नेकपा कर्पोरेट कार्यकर्ताले भरिनेछ । पद किन्न सक्नेहरूले नेकपा अझै प्रज्वलित होला । अबको पालो समाजवादलाई गिजोल्नु र वैयक्तिक पुँजीवादलाई उकास्ने नेपाली मार्क्सवादको व्याख्या तयार गर्नु हो ।

प्रकाशित : श्रावण ५, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?