के न्याय के अन्याय

सम्पादकीय

न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना साउन १ देखि सुरु हुँदा न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि कसरी हुन सक्ला भन्ने बहस जरुरी भएको छ । सुधारका लागि न्यायपालिकाले आवधिक योजना बनाउन थालेको डेढ दशक भइसक्यो ।

तीनवटा रणनीतिक योजना कार्यान्वयन हुँदा सुधार प्रयासले आशातीत परिणाम दिन सकेको छैन । पुराना मुद्दा फर्छ्योट बढे पनि, सूचना प्रविधिको प्रयोग हुन थाले पनि सन्तोष गरिहाल्ने ठाउँ छैन । २०७४/७५ मा जिल्ला अदालतमा १ लाख ८८ हजार मुद्दा भएकामा ७० हजार फर्छ्योट भएनन् । उच्च अदालतमा ५३ हजार मुद्दा भएकामा १५ हजार छिनिएनन् । सर्वोच्च अदालतमा ३२ हजार मुद्दा भएकामा २० हजारको फैसला भएन ।

पछिल्लो योजनाका पाँच लक्ष्य छन्, २३ रणनीतिक उद्देश्य । यसका व्यवस्था तब मात्र अर्थपूर्ण हुन्छन् जब सक्नेका लागि मात्र नभएर, सबैका लागि न्याय हासिल गर्ने समान अवसर कायम हुन्छ । त्यसका लागि अदालती सेवा छिटोछरितो र प्रभावकारी हुनुपर्छ । न्यायमा विपन्न र दीनहीनको पहुँच पुग्नुपर्छ । सामान्यतः न्याय खोज्ने निर्धोले हो, उनीहरू न्यायिक प्रक्रियामा सहभागी हुने वातावरण हुनुपर्छ । र, कम खर्चिलो हुनुपर्छ । अदालतका सहायता कक्षबाट निमुखा लाभान्वित हुनुपर्छ । पेसी व्यवस्थापनदेखिन्याय सम्पादन प्रक्रिया पारदर्शी हुनुपर्छ । भएका फैसलाको कार्यान्वयन गरिनुपर्छ ।

मुद्दा न्यायका लागि लडिन्छ । कसैलाई श्राप दिनुपर्‍यो भने भनिन्छ– तैंले वकिल राख्नु परोस्, अदालत धाउनु परोस् । जेथा सकिसक्दा र जीवन घर्किसक्दा पनि मुद्दा फैसला नभएर न्याय नपाएकाहरूलाई देखेपछि बन्ने यस्तै धारणा हो । एउटा अदालतपछि अर्को अदालत, प्रक्रियाहरूको लामो सिलसिला, सेवा वितरणमा ढिलासुस्ती र बिचौलियाको चलखेलले सेवाग्राही आजित छन् । धेरैलाई परेको छ, मुद्दा लड्नु/खेप्नु– धनको नाश, जीवनको वनवास ।

संविधानको प्रस्तावनामा ‘निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित... समृद्ध राष्ट्र निर्माण’ को परिकल्पना छ । कामकारबाही भने न्यायपालिकालाई पक्षपाती र अक्षम बनाउने दिशा उन्मुख छन् । न्यायिक विवेक र मन भएका न्यायमूर्तिको छनोट वास्तवमै चुनौतीका रूपमा उपस्थित छ ।

गुणवत्ता हेर्ने संयन्त्रमा दलतन्त्र हाबी छ । न्यायाधीश दलीय भागबन्डामा चयन हुने, प्रधानन्यायाधीशकै रोलक्रम हिसाब गरीगरी दल र नेताविशेषको रुचिमा नियुक्ति गर्ने प्रचलन छ । आस्था जोकोहीको हुन्छ, आबद्धता फरक विषय हो । यो कानुनी शासनको चुनौती हो । प्रस्तावित प्रधानन्यायाधीशसित संसदीय सुनुवाइमा भएको सोधपुछको भाषाको भाका भरलाग्दो छैन, डरलाग्दो छ । जस्तो बेन्च उस्तै न्यायसम्पादनको स्तरहुन्छ । न्याय परिषद्को संरचनामै राजनीति छ । संरचना नै भागबन्डामुखी छ ।

न्यायाधीशको निष्पक्षता र शुद्धता पहिलो सर्त हुन सक्नुपर्छ । विवादास्पद व्यक्ति न्यायाधीश बन्दा अनुचित काम गर्ने कर्मचारीको मनोबल बढ्ने गर्छ । योग्य र इमानदार न्यायकर्मी र कर्मचारी हतोत्साही हुन्छन् । मुद्दामा किनबेच र पक्षधरताको आरोप र आशंका बढ्छ । भागबन्डा, भ्रष्टाचार, बिचौलिया–राज, घुसखोरी, ढिलासुस्ती नचिरी न्यायिक समाज सम्भव छैन ।

न्यायमा सर्वसाधारणको पहुँच स्थापना गर्न न्यायालय र मुद्दा–फैसलामा सुधार आवश्यक छ । अदालतप्रति जनतामा सम्मान भाव आर्जन गर्न आवश्यक छ । अदालतमा बिचौलिया अध्ययन प्रतिवेदनहरूले औंल्याएको तथ्यसमेत हो ।

न्याय निसाफबिगार्न र महँगो बनाउन सक्रिय यस्ता बिचौलियाबाट न्यायालयलाई मुक्त राख्न नेतृत्वको दृढ इच्छाशक्ति र कार्ययोजना चाहिन्छ । शक्तिकेन्द्र र बिचौलियाको प्रभावबाट मुक्त भए मात्रै अदालतप्रति जनभरोसा बढ्छ । अदालतका फैसलाप्रति विश्वसनीयता बढ्छ । न्यायिक राज्य प्रत्याभूति हुन्छ । नत्र न्याय भन्नु मात्र । के न्याय के अन्याय ?

प्रकाशित : श्रावण २, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्

विषादीमुक्त कृषि

कृष्णप्रसाद पौडेल

रसायनमा आधारित कृषि प्रणालीले अनगिन्ती समस्या थोपरेको छ । यसले मानिस, माटो र पर्यावरणमा विष फैलाउँदैछ । मानिसमा निको नहुने स्वास्थ्य समस्या दिनदिनै बढिरहेका छन् । माटो भित्रको सूक्ष्म जीवनचक्र तहस–नहस भएको छ । विविधताको विनाश भइरहेको छ भने पर्यावरण विषाक्त बनेको छ । 

औद्योगिक विकासको जगमा टिकेको आधुनिक कृषि अहिले देखिएका माटो, पर्यावरण र मानव स्वास्थ्यका विकराल समस्याको मुख्य जग हो । अहिले खाद्य तथा कृषि क्षेत्रमा देखिएका समस्या यसैका वरिपरि छन् । यी समस्या
समाधान अहिले संसारभर सबैको चासो बनेको छ । सबैतिर विकल्पको खोजी जारी छ ।

अहिले जलवायु परिवर्तनको प्रभाव, असर र नाटकीय रूपमा देखिन थालेका यसका दुष्परिणाम केही देखिने उदाहरण मात्र हुन् । आधुनिक कृषि प्रणाली यस्तो दुष्परिणामको एक महत्त्वपूर्ण कारक हो । । यसबाट उम्कने उपाय भनेको पर्यावरणीय कृषि अर्थात सदावहार कृषि हो । यो कृषि प्रणाली मानव सभ्यताकै उत्कृष्ट अभ्यास हो र भविष्यका लागि पनि एकमात्र विकल्प हो ।

सदावहार कृषिलाई बोलीचालीमा प्रांगारिक अर्थात पर्यावरणीय कृषि भनिन्छ । यस्तो कृषि प्रणाली आधुनिक भनेर प्रचारित हरित क्रान्ति कृषिजस्तो अन्नपात र वस्तुभाउ उब्जाउने प्राविधिक विषयमात्र होइन । मानिसको प्रकृतिसँगको अन्तरसम्बन्ध र अन्तरनिर्भरताको प्रणाली हो । यस अर्थमा मानिसले खानेकुरा जोहो गर्न गरेको प्रयासले खारिएको दिगो खेतीपातीको अहिलेसम्मकै उत्कृष्ट अवधारणा हो ।

सदावहार कृषिको कृत्रिम रसायनमा आधारित व्यापारिक कृषिसँग तुलना हुनसक्दैन । हरित क्रान्ति कृषिमा आधारित व्यापारिक कृषिले कृषि उद्यमीलाई कृषि व्यापारका दलाल बनाउने चेस्टा गर्छ । स्वाभिमानी किसानलाई अपहेलना र किसानी पेसाको अपमान गर्छ ।

यो कृषिमा द्रव्य दलाल र बिचौलिया उत्पादन गर्ने निकृष्ट प्रणाली हो । व्यापारिक कृषिले किसान र गाउँलेहरूको आत्मनिर्भरता, स्वाभिमान, सहअस्तित्व र पारस्परिकसहयोगको भावनालाई भत्काउँदै जान्छ । पारस्परिक सहयोग नहुँदा किसान असुरक्षा र ऋणको भारी बोक्न विवश हुन्छ । किसानलाई यसले एक्लो, निरीह र दुःखी बनाउनुका साथै सधैं आतंकित बनाउँछ ।

किसानमुखी सदावहार कृषिले किसानलाई आत्मसम्मानसँग बाँच्न सिकाउँछ । कम बाह्य तथा आर्थिक लगानीले खेतीपाती फाइदाजनक हुन्छ । ऋण र चिन्ताबाट मुक्त किसान खेतीजस्तै सदावहार खुसी रहने वातावरण हुन्छ ।
व्यापार र नाफाका लागिमात्र गरिने हरित क्रान्ति खेती भोगवादको जग हो । यसले लोभ र लालच बढाउँछ ।

खानेकुरामा मिसावट, रसायन, विषादी यसैका परिणाम हुन् । यसले शारीरिक, मनोवैज्ञानिक र सामाजिक जीवनको रंग खुइल्याइरहेको छ । सधैं दुःखमा रम्नमात्र सिकाउँछ । सदावहार खेती प्रकृतिको पुनर्जीवन चक्रको जीवन्त अंग हो । यसले मानिस, समाज र प्रकृतिको अन्तरसम्बन्धलाई बलियो बनाउँदै मानव संस्कृतिमा सहअस्तित्वको भावना गाढा बनाउँछ ।

अहिले पैसा फलाएर पैसै खाने सपना बाँड्नेहरू विषादीयुक्त खानेकुराका कारण आफैले मलजल गरेर हुर्काएका नसर्ने दीर्घरोगबाट आक्रान्त छन् । यिनैका संगतमा परेर आफ्नै चेस्टाले केही नबिगारेका साधारण मानिससमेत यसको चपेटामा परेका छन् । अहिले सबैतिर यिनै दीर्घरोगका कारण त्रास बढेको छ ।

अस्पतालमा लाइन छ, घरपरिवार आर्थिक भार र अन्य स्वास्थ्य जटिलताबाट भयभित छ । तराई र सहरी क्षेत्रमा चिनीरोग, मुटुरोग, क्यान्सर बढने क्रम तीव्र छ । एउटै गाउँमा पचासौं बिरामी छन् । उपचारको नाममा व्यापार फस्टाएको छ । संसारभरि हतियार र खानेकुरापछि स्वास्थ्यका नाममा व्यापार मौलाएको छ ।

आधुनिक भनिएको हरित क्रान्ति कृषि खनिज तेल र रसायनमा आधारित छ । यसले माटोलाई निर्जीव वस्तुको रूपमा व्यवहार गर्छ । प्रकृतिको जीवन्त चक्रलाई खण्डित बनाउँछ । रासायनिक खेती गर्ने मानिसले माटोलाई निर्जीव उत्पादनको साधनको रूपमा मात्र लिन्छ ।

सदावहार कृषि प्रणाली प्राकृतिक पोषण चक्रमा आधारित हुन्छ । यसले माटोलाई जीवित बनाउँछ । यही जिउँदो माटोको सहायताले समस्त प्रकृतिलाई जगाउँछ । सदावहार खेती गर्ने किसानले यसको जीवन्त प्रक्रियालाई आत्मसात गर्छ ।

रसायनमा आधारित कृषिले हावा, पानी र माटोलाई प्रदूषित गर्छ । यस्तो खेती प्रणालीमा रसायनको घुलनशीलता बढाउन धेरै पानी चाहिन्छ, जसले गर्दा पानीका स्रोत खासगरी जमिनमुनिको पानी घट्दैछ । सदावहार खेतीले हावा, पानी र माटोलाई स्वच्छ बनाउँछ । यस्तो खेती प्रणालीमा पानी कमै खपत हुन्छ । यसमा पानी जमिनमुनि जम्मा भएर बस्छ र चाहिने मात्रामा नदी, तालतलैया हुँदै किसानका खेतबारीमा पुग्छ ।

यो प्राकृतिक पानी चक्र हजारौं वर्षदेखि मानिसले खेतीपाती गर्न उपयोग गर्दै आएका हुन् । यसलाई बिगारेर हामी आफ्नै भविष्यमा खेलवाड गरिरहेका छौं ।

आधुनिक कृषि एकल बाली तथा वस्तुभाउमा आधारित छ । यसमा खुद उत्पादन कम हुन्छ भने किसानको लागत र जोखिम दुबै बढी हुन्छ । रसायन र विषादीको अत्यधिक प्रयोगले यसबाट आउने खानेकुरा विषाक्त हुन्छन् । सदावहार खेती बहुबाली र मिश्रित हुनुका साथै बाली र वस्तुभाउको एकीकृत प्रणालीमा आधारित हुन्छ ।

यसबाट आउने खानेकुरा पोषिलो र गुणकारी हुन्छ । आयातित आधुनिक भनिने कृषि प्रणाली ४ दशकमै विषाक्त भएको छ । यसले खाद्य प्रणालीलाई नै जोखिममा पारेको छ । हजारौं वर्षदेखि निरन्तर उत्पादनशील रहेको सदावहार खेती दीर्घजीवी र भविष्यमुखी छ । यस्तो हुनुमा सदावहार खेती परम्परागत ज्ञानमा आधारित छ ।

हरित क्रान्ति कृषि प्रसार केन्द्रीकृत ढाँचामा आधारित छ । यो व्यापारी र औद्योगिक समूहलाई केन्द्रमा राखेर नाफाका लागिमात्र कृषि प्रबर्द्धन गर्न उद्यत हुन्छ । तर सदावहार खेतीमा किसानले प्रकृतिको व्यवहार, आफ्नै परीक्षण र साथी किसानका अनुभवबाट सिक्ने हुँदा विविधता र स्थानीय विशेषताको आधारमा सञ्चालित हुन्छ ।

पर्यावरणीय कृषिका सिद्धान्तको अभ्यासले मात्र हाम्रो माटो, पर्यावरण र स्वास्थ्य बचाउन सकिन्छ । यो हाम्रो भविष्य सुरक्षित गर्ने सबैभन्दा सरल तरिका हो । यसका लागि विविधता, बहुलता, एकीकृत र मिश्रित खेती प्रणालीमा जोड दिँदै कृषि उत्पादनका लागि स्थानीय विशेषताका आधारमा स्थानीय स्रोत परिचालनको सोच बनाउनुपर्छ ।

हिजोआज हाम्रा कलिला नानीबाबु किन रुखमा केरा फलाएको भनेर हामीलाई नै सोध्दैछन् । भाटभटेनीबाट प्लाष्टिकमा दूध आउँछ भन्ने कुरा तिनका भाइबहिनीहरूलाई सिकाउँदैछन् । हामीसँग यसको जवाफ के छ ? शिक्षामा प्रकृति, खेतीपाती र खानाको कुरा गर्न सकिएन भने भविष्यका सन्ततिले हाम्रो संस्कृति र सभ्यताको जहाज कसरी चलाउलान् ? समय छँदै सोच्नु जरुरी छ ।

अब किसानका अनुभवबाट सिकेर सदावहार कृषि प्रणाली अपनाउने ठोस कार्ययोजना सहित कार्यान्वयनको खाँचो छ । तर यो कुराको दायित्वबोध गर्नुपर्ने सरकार र कृषिका सरोकारवाला कृत्रिम कुरा गरेर बुझपचाउनमै व्यस्त छन् ।

सर अल्बर्ट हवार्डले ८० वर्ष (सन् १९४०) अघि नै भनेझै कृत्रिम मल (रसायन) को प्रयोगले स्वतः कृत्रिम पोषण, कृत्रिम खाना, कृत्रिम वस्तुभाउ र अन्ततः कृत्रिम मानव (महिला र पुरुष) बन्ने प्रक्रिया भइरहेको छ । यिनै कृत्रिम मानिस कृषिलाई आधुनिक बनाउने भन्दै कृत्रिम रसायन, विषादी हर्मोन र नसड्ने प्लाष्टिकको प्रयोग गरी खानासमेत अयोग्य बनाउन तल्लिन छन् ।

१० हजार वर्षको दिगो कृषिको यात्रामा केही समयदेखि बिराएको बाटो फेर्ने आँट गर्नसके धेरै कुरा सल्टिन्छ । ढिलो गरे अझ धेरै कुरा सल्टाउनै नसक्नेगरी बिग्रन्छ भन्ने सोच्नु जरुरी छ ।

प्रकाशित : श्रावण २, २०७६ ०७:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×