२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

शीतल निवासको साख

सम्पादकीय

राष्ट्रपति कार्यालय शीतल निवासमा (अ)व्यवस्था भएको राष्ट्रिय चलचित्र पुरस्कार वितरण कार्यक्रमबारे कलाकारहरूले जेजस्तो अनुभूति गरे, त्यसले एकसाथ धेरै पक्ष अनावरण गरेको छ । थिति बसाल्न नसकेर हामी अल्मलिएको भुइँ देखाइदिएको छ । हाम्रो अन्तस्करणमा गहिरिएर रहेको सामन्ती चिन्तन पुनर्प्रकट भएको छ ।

शीतल निवासको साख

हाम्रो गणतन्त्रको लक्षण बताइदिएको छ । सबैभन्दा बढी त, राष्ट्रपति कार्यालयलाई भोलिका दिनमा सजग गराएको हुनुपर्छ ।

समारोह कति राष्ट्रिय भयो ? पुरस्कारलाई कति राष्ट्रिय बनाइयो ? वितरण कति न्यायोचित थियो ? केबल चलचित्र विकास बोर्डको टाउकोमा खन्याए हुने प्रश्न थिए यी, यदि कार्यक्रम अन्यत्रै गरिएको हुन्थ्यो भने । जब पुरस्कार वितरण समारोह शीतल निवासमा भयो तब राष्ट्रपति कार्यालय जोडिन आइपुग्यो ।


समारोहका नाममा शीतल निवासमा कलाकारहरूलाई नृत्य गर्न बोलाइयो त्यो नयाँ थियो । नृत्य गर्ने निम्ता नमानेकी कलाकार करिश्मा मानन्धरले सामाजिक सञ्जाल फेसबुकमा चित्त पोखिन्, ‘एकादेशको कथा, पहिला–पहिला देशमा राजा हुन्थे र राजा पनि प्रज्ञा प्रतिष्ठानको हलमा कलाकारलाई हेर्न आउँथे । घर गएर नाच्न बिल्कुलै स्वीकार्य छैन । बाहिर आउनुस्, तपाईं हाम्रो आमा हो । तपाईंका लागि ज्यान दिन्छौं ।’


जो कलाकार शीतल निवास पुगे, उनीहरूको पनि मनितो राख्न नपुगेको गुनासोको कारण खोज्नुपर्छ । कार्यक्रममा नाच्न बोलाइएका दुई दर्जन कलाकारले दिनभर असहज महसुस गरे । उनीहरूलाई उचित बस्ने स्थानसमेत दिइएन । एउटा साँघुरो कोठामा कोचियो । त्यहाँ न केही सोधपुछ गरियो, न भोक–तिर्खाबारे चासो राखियो । कलाकारहरू लुगा फेर्न पनि शौचालय पस्नुपर्‍यो । सायद यस्तै अस्तव्यस्तलाई व्यंग्य गर्न होला, सरोज खनालले शौचालयको कमोडमा बसेर तस्बिर खिचाए, जुन सामाजिक सञ्जालमा भाइरल छ ।


कलाकारहरूले बेमोज महसुस गर्नु शीतल निवासका लागि शोभा होइन । बिन्ती बिसाएर नाच्न गएजस्तो व्यवहार गरिएको ठाने भने गणतन्त्रको सर्वोच्च संस्थाले गम्भीरतासाथ लिनुपर्छ । आफूलाई कलाकारभन्दा पनि नर्तकका रूपमा मात्रै लिइएको अनुभूति किन गरे ?


कलाकारहरूको मन दुखाएको यो घटना उनीहरूको मात्र चिन्ताको सवाल होइन, राष्ट्रपति कार्यालयको सन्देश हो । आजका कलाकारहरू सम्मानित सार्वजनिक व्यक्तित्व हुन्, पेसेवर नर्तक/नर्तकीलाई गरेको जस्तो व्यवहार गर्न सुहाउँदैन । कलाकार खनालले त आइन्दा यसरी प्रस्तुतिमा सरिक नहुने उद्घोष नै गरेका छन् । कलाको सम्मान गर्न जान्ने दर्शकका लागि नै हो कलाकारले आफ्नो प्रस्तुति देखाउने ।


सरकार र राष्ट्रपति कार्यालयका व्यवस्थापन कमजोरीले राष्ट्रपति जोडिएका कामकारबाही विवादमा परेको यो पहिलो पटक होइन । राजाकै शैलीमा सर्वसाधारणलाई घण्टौं जाममा कुराएर सार्वजनिक सवारी गर्नु, नागरिकलाई घुँडा टेकाएर दसैंको टीका लगाइदिनु, संसद्मा ‘मेरो सरकार’ भनेर सम्बोधन गर्नु र राजतन्त्रमै जसरी आसेपासेलाई पदक वितरण गर्नु राजतन्त्रीय अहंकारकै पुनर्प्रदर्शनी जस्ता देखिएको गुनासोलाई गणतन्त्रका खातिर आत्मसात् गर्न जरुरी छ । यसैको पछिल्लो कडीमा जोडिन आइपुगेको हो, चलचित्र पुरस्कार वितरण पनि ।


आखिर, गल्तीहरू सिक्नकै लागि हुन्छन् । यो घटनाले एउटा पाठ सिकाएको छ । राष्ट्रपति कार्यालयलाई कस्तो संस्थाका रूपमा विकास गर्ने सोच्न सम्बन्धित अधिकारीहरूलाई एकपटक बाध्य पारेको छ । राष्ट्रपति कस्ता–कस्ता कार्यक्रममा सरिक हुने र राष्ट्रपति कार्यालयमा कस्ता–कस्ता कार्यक्रम के–कसरी गर्ने भनेर फेरि घोत्लिन गृहकार्य दिएको छ ।


राष्ट्रपति कार्यालयमा हुने कार्यक्रम राष्ट्रिय स्वरूपका हुनुपर्छ । तिनले राष्ट्रका सबै रंगहरूलाई समेट्न सक्नुपर्छ । नेपालको इन्द्रेणी स्वरूप त्यहाँ हुने जमघटहरूमा झल्किनुपर्छ । र, त्यहाँ पुगेकाहरूले अपहेलित महसुस गर्नु हुँदैन । अनि मात्र राष्ट्रपति संस्था आम समुदायले गर्व गर्न लायकको बन्नेछ । यसको व्यवस्थापन सरकार र राष्ट्रपति कार्यालयले गर्न सक्नुपर्छ, राष्ट्रपतिलाई अनावश्यक गाल पार्नबाट उनीहरूले जोगाउनुपर्छ ।

प्रकाशित : असार ३१, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?