कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गुरु जस्तै गुरु मिले

एलिजा दाहाल

हेलेन केलर सत्र महिनाकी मात्र थिइन्, मस्तिष्क ज्वरोले सतायो । त्यसले उनको दृष्टि छिन्यो, श्रवणशक्ति पनि रहेन । उनी सात वर्षकी भएपछि पिताले छोरी पढाउन शिक्षिकालाई घर ल्याए । त्यस्ती सानी नानीलाई शिक्षा दिनु एनी सेलेभानका लागि कम्ती चुनौतीपूर्ण थिएन । तर सेलेभानले त्यसलाई सहर्ष स्विकारिन् ।

उनले हेलेनलाई स्पर्शको माध्यमबाट सिकाउँदै गइन् । परिश्रममा हेलेन कोहीभन्दा कम थिइनन् । समयसँगै उनले शिक्षा आर्जन गर्दै गइन् । शारीरिक बान्कीमा अशक्त लाग्ने ती अमेरिकी बालिका ज्ञानका कारण पछि विख्यात बनिन् ।


एनी सेलेभानकै कारण शिक्षाको ज्योतिले परिपूर्ण बन्न सकेकी हेलेनले एक ठाउँ भनेकी छन्, ‘म अहिले जे छु, त्यो गुरुकै कारण मात्र सम्भव भएको हो ।’ यो असत्य पनि होइन । न सुन्न सक्ने, न देख्ने सक्ने व्यक्तिलाई शिक्षित तुल्याउन लगभग वर्षौंवर्ष पछि लागिरहन एनी सेलेभानले मात्रै सक्थिन् । गुरु पूर्णिमाका दिन उनी र उनी जस्तै गुरुहरू नै स्मरणीय हुने गर्छन्, जुगजुगान्तर ।

साँच्चै, गुरु त्यही हो जो कसैलाई सही बाटो हिँडाउन सक्छ । औपचारिक रूपमा होओस् कि अनौपचारिक रूपमा । जोकसैलाई अँध्यारोबाट उज्यालोतर्फ डोर्‍×याउन व्यक्ति गुरु कहलाउँछ । सही गुरु पाउने व्यक्ति ठूलो भाग्यमानी हुन्छ । हेलेन केलर जस्तै ।

भनिँदै आएको छ— बालबालिकाको पहिलो पाठशाला घर हो र प्रथम गुरु आमाबुवा । तर, अहिलेका आमाबुवा प्रायः बेफुर्सदिला छन् । आजीविकाको धपेडीले तिनलाई आफ्ना बालबालिकाको ज्ञानार्जनप्रति केही हदसम्म निरपेक्ष राख्ने गरेको छ । बालबालिकालाई स्कुल पठाएपछि सकिइहाल्यो नि जस्तो सोच्ने गर्छन् सबैजसो अभिभावक ।


आफ्ना छोराछोरीको शुल्क तिर्ने दायित्व मात्र पूरा गरेर बसिरहे परिणाम राम्रो पक्कै नआउला । यसैमा यो पनि जोडूँ— आजीविकाको रनाहाले अभिभावकलाई मात्रै होइन, गुरुहरूलाई पनि पिरोलिरहेको हुन सक्छ । कतिले नजानेर त कतिले जानाजान गलत शिक्षा पनि दिइरहेका हुन सक्छन् । उदाहरण खोज्न टाढा जानुपर्दैन ।


मेरी छोरी पाँच वर्षकी छन् । उनको स्कुलमा बेलाबेला अभिभावक भेला हुने गर्छ । केही दिनअघिको भेलामा एक आमाले अनौठो कथा सुनाउनुभयो । उहाँका छोराले एक दिन स्कुलबाट फर्केपछि गृहकार्य गरेर मोबाइल चलाउन थालेछन् । केही बेरपछि उनले अचानक उठेर साबुनपानीले हात धुन सुरु गरेछन् । रातैभरजसो उनले हात धुँदै सुँघ्दै गरेछन् । छोराको ताल देखेर आमा हैरान हुनुभएछ । कारण सोध्दा छोराले भनेछन्, ‘मोबाइल चलाए पिट्ने भन्नुभ’को छ मिसले । हामीले घरमा मोबाइल चलायौं भने उहाँले भोलि हाम्रो हात सुँघेर थाहा पाउनुहुन्छ रे !’


अर्की आमाको चाहिँ अर्कै भोगाइ रहेछ । स्कुलबाट फर्केको छोरालाई खुट्टाले मोबाइल चलाउने प्रयास गरिरहेको देखेर उहाँले गाली गर्नुभएछ । छोराले भनेछन्, ‘मिसले मोबाइल चलाएको–नचलाएको कुरा हात सुँघेर चाल पाउँछु भन्नुभ’को छ । त्यही भएर खुट्टाले चलाउन खोजेको । खुट्टा त सुँघ्नुहुन्न होला नि !’


छोराछोरीमा मोबाइल चलाउने आदत अभिभावककै कारण बसेको हुन्छ । उनीहरूमा त्यसको लत नबसोस् भन्ने कुरा सकारात्मक तरिकाले सिकाउन सकिन्छ, डर देखाएर होइन । यस्ता घटना हाम्रै वरिपरि कति भइरहेका हुन्छन् ! धेरै त हाम्रै बालबालिकाले हामीसम्म ल्याई पनि पुर्‍याउँदैनन् ।


अहिलेका हाम्रा बालबालिकाको मानसिकता बीस–पच्चीस वर्षअघिका हाम्रोभन्दा निकै भिन्न छ । अहिले त्रासपूर्वक होइन, प्रेमपूर्वक सिकाउन खोज्नुपर्छ । पहिले पनि डर देखाएर सिकाउन खोजिएको कुरो हाम्रो दिमागमा राम्ररी बस्न सकेन । त्यसैले अचेलका गुरु–गुरुआमाहरू पनि पहिलेका भन्दा निकै फरक हुन जरुरी छ ।


[email protected]

प्रकाशित : असार ३१, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?