सत्ताका सात सकस

वीणा झा

सरकार बनेको डेढ वर्ष हुन लागिसक्यो । बिभिन्न समयका अलोकप्रिय निर्णय, प्रभावकारी कारबाहीमा कमी र समाजप्रतिको असम्वेदनशीलताले सरकार बारम्बार विवादमा आइरहेको छ । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आफूलाई गुमराहमा पारिएको भन्दै क्षमायाचना गरे ।

देशको प्रधानमन्त्रीले कुनै विषयमा सार्वजनिक रूपमै लज्जाबोध गरेको घटनाले सम्बन्धित सबैको टाउको शर्मले झुक्नुपर्ने हो । जुनसुकै राजनीतिक पार्टीबाट बनेका भए पनि प्रधानमन्त्री देशका कार्यकारी प्रमुख हुन् । प्रधानमन्त्रीको सही दिशानिर्देशमा देशलाई समृद्धितर्फ लम्काउन सकिन्छ भने दूरदर्शिताको अभावमा देशले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ ।

गतसाता प्रधानमन्त्री ओली पुरै आत्मविश्वासका साथ मिडियामा बोलिरहे कि विषादी प्रकरणमा कुनै पत्र भारतबाट आएको छैन । सम्बन्धित सबै निकायले तबसम्म मौन आनन्द लिइरहे, जबसम्म मिडियाले उक्त पत्रको छाया प्रति सार्वजनिक रूपमा प्रस्तुत गरेन । यो पहिलो घटना भने होइन । चाहे चिनी निर्यात रोक्ने सन्दर्भ होस् वा मेलम्चीको पानी काठमाडौं ल्याउने मिति घोषणा । प्रत्येकमा सही सूचना अभावमा प्रधानमन्त्री लज्जित हुनुपर्ने अवस्था देखिएको छ ।

यसबाट छर्लंग हुन्छ, सरकार कस्तो कुहिरोभित्र बसेको छ ? त्यो कुहिरो केको हो, प्रधानमन्त्रीले खुट्याउनुपर्छ । अहिले धेरैको चाहना छ— नागरिकलाई सपना देखाउन सक्ने क्षमता भएका प्रधानमन्त्रीबाट विगतका गल्तीहरू नदोहोरिउन् । नेपालले एक स्थायी सरकार पाओस् अनि समृद्धितर्फ लम्कियोस् । दुर्भाग्य नै भन्नुपर्छ, प्रम ओली आलोचनात्मक विश्लेषण गर्न सकेनन् ।

आफूले निर्माण गरेका गोलो घेरा, कर्मचारीतन्त्र तथा आफ्ना राजनीतिक सहकर्मी बाहेक अरुका कुरा सुन्न चाहेनन् । विगतका सत्ताधारीहरू जस्तै आँखा बन्द गरेर रमाइरहे । जुन कुरा जसरी भनियो, जे देखाइयो, त्यसैको आधारमा दृष्टिकोण निर्माण गरिरहे । परिणाम, आज आम नेपालीबीच उनको लोकप्रियताघट्दो छ ।

इतिहासबाट पाठ सिक्नुपर्छ । कुनै समयमा राजालाई विष्णु अवतार मान्ने नेपाली किन एकदिन राजसंस्थालाई नै हटाउन उठे ? कुनै समयमा लोकप्रिय रहेको कांग्रेस आज किन अधोगतितिर गयो ? यी कुरालाई सिर्फ राजनीतिक रूपले बुझेर पुग्दैन । सामाजिक दृष्टिकोणले बुझ्न आवश्यक छ । यिनलाई बुझ्न पहिला सरकारका सकसहरू बुझ्न जरुरी हुन्छ । अहिले सम्मका कार्यले सरकारका सात सकसलाई उजागर गरेको छ :

समन्वय अभाव : पछिल्लो उदाहरण, सरकारले गत जेठ दस गते गरेको विषादी परीक्षण सम्बन्धी निर्णयपश्चात असार दुई गते राजपत्रमा निकालेको सूचना अनि कार्यान्वयन गर्ने बेलासम्म सम्बन्धित निकायको मौनता । पछि अनभिज्ञता यतिसम्म कि समान अवस्थाको पनि फरक–फरक किसिमले आफैमा बाझिने किसिमको चित्रण । यसबाट सम्बन्धित निकायहरूबीच कस्तो समन्वय छ, प्रस्टिन्छ । मन्त्रिपरिषदबाट गरिने निर्णयहरू अगाडि कत्तिको संवेदनशील भई अध्ययन, अनुसन्धान र सम्बन्धित पक्षसँंग छलफल/परामर्श हुँदोरहेछ भनी देखियो ।

असंवेदनशील सूचनातन्त्र : प्रधानमन्त्रीले सही सूचना अभावमा क्षमायाचनासम्म गर्नुपर्ने अवस्थाले एउटा डरलाग्दो भ्वाङतर्फ संकेत गरेको छ । कुन सूचना कति संवेदनशील हो, समयमा सम्बन्धित ठाउँमा पुग्न सकेन भने त्यसको प्रभाव कस्तो पर्छ भन्नेतर्फ असंवेदनशील रहेको सूचनातन्त्रको नमुनाहो यो ।

ढाकछोपको राजनीति : भ्रष्टाचारका विभिन्न मुद्दा अगाडि आउँदा लहरो तान्दा पहरो गर्जने सम्भावनाबाट बच्न एकले अर्कोलाई ढाकछोप गर्ने प्रवृत्ति छ । यसले वास्तविकतालाई ओझेलमा पार्छ । र अपराधीकरण र राजनीतीकरणबीच फरक छुट्याउन गाह्रो हुनथालेको छ ।

सीमितता बुझ्न नचाहने संस्कार :विश्वमा सफल राज्यहरू हेर्ने हो भने सरकारसंँगको समाजको अटुट विश्वास र त्यसलाई जोगाइराख्न हरपल प्रयत्नशील समूह रहेको भेटिन्छ । हरेक कुरा आफै गर्न सक्छु भन्ने विश्वास राख्नु राम्रो कुरा हो । तर व्यावहारिक हुनसक्दैन । त्यसैले गर्नेभन्दा गराउन सक्ने क्षमता चाहिन्छ । हरेक व्यक्तिको विशिष्टता सँंगसँंगै सीमितता पनि हुन्छ । सम्बन्धित पक्षलाई सामूहिक भावनाले काम गर्नेगरी तयार पार्नुको सट्टा एक्लै सबै क्षेत्र भ्याउने भ्रम पनि सरकारको सकस हो ।

अनुसन्धान अभाव : कुनै पनि क्षेत्रमा नयाँ काम थाल्न, भइरहेको कार्यअवस्था र सम्बन्धित विषयको आवश्यकता बुझ्न अनुसन्धानको महत्त्व हुन्छ । कुनै व्यक्ति सबै क्षेत्रको विज्ञ हुन सक्दैन र अनुमानको भरमा गरिने कार्य सही नहुन सक्छ । सम्बन्धित क्षेत्रमा चाहिने ज्ञान उत्पादन अनुसन्धानमार्फत गर्न आवश्यक छ । सरकारमा त्यस्तो सोच अभाव देखिन्छ ।यसको परिणाम ठूलो मात्रामा साधनस्रोत दुरुपयोग हुन्छ ।

संवेदनहीन समूहको जमात : वर्तमान सरकारमा रहेका, सरकारलाई प्रतिनिधित्व गर्ने सरकारी निकायसंँग आबद्ध व्यक्तिहरूको शब्द, संकेत, व्यवहार र कार्यले द्वन्द्वलाई प्रोत्साहित गर्ने र नागरिकप्रतिको संवेदनहीनता झल्काउने किसिमका छन् । तिनका मिडियामा देखिने शैली होस् वा ‘छौंडा’ प्रकरण । वा इटहरीमा सार्वभौमसत्ता सम्पन्न नेपाली महिलालाई सार्वजनिक रूपमै गरिएको गाली । यी सबै संवेदनहीनताका प्रतीक हुन् र सरकारसंँग यसको ठूलो जमात छ ।

राजनीतिक संस्कार : राम्रा होइन, हाम्राले भरिएका संवैधानिक निकायदेखि लिएर विश्वविद्यालय समेत अछुण्ण राख्न नसकेको अवस्था छ । आफ्नो क्षमतामा दक्ष व्यक्ति चाहे ती ज्ञान उत्पादनका क्षेत्रमा हुन् अथवा सेवा प्रवाहमा, कुनै पनि राजनीतिक कोटामा पर्दैनन् ।

कसैलाई चाकडी गर्न नरुचाउने तर आफ्नो आत्मसम्मानलाई सर्वोपरी ठान्ने तिनका विज्ञताको उपयोग देशले गर्नसकेको छैन । यसका पछाडि लोभ, लाप र विलापको राजनीतिक संस्कारको दोष छ, जहाँ व्यक्तिको क्षमताभन्दा पनि राजनीतिक आबद्धता बढी उपयोगी हुन्छ ।

अब प्रश्न उठ्छ— प्रधानमन्त्री ओली यिनै सकसहरूबीच अल्झिन्छन् कि आफ्नो समूह परिमार्जन गर्दै हरेक क्षेत्रमा हाम्रालाई भन्दा राम्रालाई प्रोत्साहित गर्न सुरुवात गर्छन् ? शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपरहित बनाई ज्ञान उत्पादनमा रहेका बाधाहरूलाई पन्छाई बौद्धिक पलायन रोक्छन् कि रोक्दैनन् ? युवा श्रम निर्यातलाई मात्रै होइन, वस्तु उत्पादन र निर्यातका लागि ठोस कार्ययोजना लिएरबढ्छन् कि बढ्दैनन् ? साँच्चै देशलाई समृद्धितर्फ डोर्‍याउँछन् र इतिहासमा सम्मानित पात्र बन्छन् कि थप प्रधानमन्त्री कार्यालयको भित्तामा झुन्डिने थप एउटा फोटोमात्र ?हेर्न बाँकी छ ।

लेखक समाजशास्त्री हुन् ।

प्रकाशित : असार ३०, २०७६ ०८:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रवाद होइन देशभक्ति

वीणा झा

विभिन्न उद्देश्य बोकी अभियान चलाएकाहरूको आह्वानमा ‘हाम्रो राष्ट्रियता खतरामा छ, त्यसैले एकजुट होऔं’ भन्ने गरेको सुनिन्छ तर नेपालजस्तो जात, धर्म, संस्कृति अनि भौगोलिक विविधताले भरिएको समाज, जहाँ कुनै निश्चित समुदाय सधैं राज्यद्वारा उपेक्षित र कुनै समुदाय सधैं लाभान्वित छ, त्यहाँ एउटै राष्ट्रियता हुन सम्भव छ ?

राष्ट्रियता भनेको राष्ट्रवादमा आधारित हुन्छ, जसले आफूजस्तै सामाजिक–सांस्कृतिक पृष्ठभूमि भएका, समान वेशभूषा र बोलीचाली भएका भन्दा फरकलाई ससम्मान स्विकार्दैन । आफू अरूभन्दा उत्कृष्ट रहेको विश्वास गर्छ । आफ्नो शक्ति बढाउन जुनसुकै हत्कण्डा अपनाउन पछि पर्दैन ।

जस्तो– हिटलरलाई कट्टर राष्ट्रवादीको रूपमा चित्रण गरिन्छ । त्यसैले राष्ट्रवादलाई कतिपय विद्वान्ले ‘इम्पेरियालिजम’ को संज्ञासमेत दिने गरेका छन् । नेपालका सन्दर्भमा हेर्ने हो भने पहाडी राष्ट्रवाद, मधेसी राष्ट्रवाद, आदिवासी जनजाति राष्ट्रवाद मुख्य रूपमा अस्तित्वमा छन्, जुन आफैंमा गलत होइन । तर समस्या तब सुरु हुन्छ, जब कसैले आफूमात्रै देशप्रेमी र अरू सबैलाई देशद्रोहीको रूपमा हेर्ने गर्छ । यसले समाजमा द्वन्द्वको बिउ रोप्छ र कालान्तरमा देशले ठूलो मूल्य चुकाउनुपर्छ । घृणाले कहिले पनि प्रेम जन्मेको इतिहास छैन । उदाहरणको रूपमा, मधेसबाट कैयौं पहाडी लखेटिनु र हृतिकरोशन काण्डका नाममा नेपालगन्जमा मधेसीहरूमाथि बर्बरता हुनुलाई लिन सकिन्छ । मधेसका प्रायः आन्दोलनमा नेपाल प्रहरीको गोली आन्दोलनकारीको टाउकोमै लाग्नु र अन्य ठाउँको समान प्रकृतिको आन्दोलनमा फरक प्रतिक्रिया दिइनु पनि राष्ट्रवादी सोचकै प्रभावका कारण हुन् । नागरिकता लिन आउने व्यक्तिको छालाको रंग, थर अनि बोलीचाली र भेषभूषाका आधारमा नेपाली वा गैरनेपालीको रूपमा दृष्टिकोण निर्माण गर्नुमा पनि राष्ट्रवादी सोच नै रहेको हुन्छ ।


राष्ट्रवादी र देशभक्त कतिपय सन्दर्भमा एकअर्काका पर्यायवाचीका रूपमा प्रयोग गरिएको भेटिन्छन्, तर यी समान होइनन् । राष्ट्रवादीले देशलाई प्रेम त गर्छ, सँगसँगै अरूलाई घृणा पनि गर्छ । आफ्नो देशको कमजोर पक्षलाई स्वीकार्दैन र परिमार्जन गर्न त कल्पनासमेत गर्दैन, बरु भिड्न तयार हुन्छ । विश्वकै उत्कृष्ट मान्दै विभिन्न गीत, कथा र कविता रच्दै जोश भर्ने काम गर्छ । राष्ट्रवादको भावना बाह्य शक्तिसँग लड्नुपर्दा मात्रै महत्त्वपूर्ण हुन्छ, किनकि यही भावनाले मानिसमा जोश भर्ने गर्छ ।


जब कुनै राष्ट्रवादी सोच देशका प्रमुख संवैधानिक अंग, सामाजिक संघ/संस्था र राज्यका अन्य निकायमा हावी भैदिन्छ, तब सामाजिक न्याय खतरामा पर्छ । अनि समाजले थेग्नै नसक्नेगरी अराजकता मौलाउँछ । विभेदले अपनत्व जन्माउँदैन, द्वन्द्वलाई नै प्रोत्साहित गर्छ । पछिल्ला दशकमा राजनीति गर्न, आफू शक्तिमा पुग्न राष्ट्रवादको साँघुरो घेरा बनाउनेहरू हाम्रैमाझ छन् । त्यही हत्कण्डा अपनाई देशलाई दीर्घकालीन द्वन्द्वमा फँसाउन खोज्ने समूह पनि सक्रिय छन् । यो राष्ट्रवादकै प्रभाव हो— नेपालमा जुनसुकै व्यवस्था आए पनि एउटा सीमित समूह, जसको साझा इतिहास र संस्कृति छ, त्यही घुम्दै–फिर्दै सत्ताको केन्द्रमा स्थापित हुन्छ । राष्ट्रवादले जहिले पनि शक्तिलाई मुख्य प्राथमिकता दिन्छ । यसका लागि जतिसुकैको जीवन मासियोस्, खासै महत्त्व राख्दैन । रवीन्द्रनाथ टैगोरले आफ्नो प्रसिद्ध उपन्यास ‘चार अध्याय’ मा राष्ट्रवादलाई समाजको शत्रुका रूपमा वर्णन गरेका छन् । उनले राष्ट्रवादलाई परिभाषित गर्दै यसको इतिहास रक्ताम्मे रहेको स्मरणसमेत गराएका छन् । जर्मनी र इटलीमा राष्ट्रवाद यसरी फैलिएको थियो, त्यसको आडमा हिटलर र मुसोलिनीले आआफ्नो देशमा नरसंहार गरेका थिए । हिटलरको शासनकालमा नाजीहरूले गरेको यहुदी नरसंहार राष्ट्रवादका नाममा इतिहासले चुकाएको ठूलो मूल्य हो ।


राजनीतिमा राष्ट्रवादको सहारा लिई चुनाव जित्दै सत्तामा पुग्ने परम्परा देखिन्छ । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि राष्ट्रवादको कुरा उराल्दै मेक्सिकन, मुस्लिम अनि अफ्रो–अमेरिकन विरुद्ध द्वेषपूर्ण भावना फैलाई चुनाव जिते । राष्ट्रवाद द्वन्द्वोन्मुख बाटो हो, जसले समावेशितालाई स्वीकार्दैन, सहअस्तित्वलाई सम्मान गर्दैन । आरोप र प्रत्यारोपका कारण सामाजिक वातावरण तनावग्रस्त बनाइदिन्छ, अनि भौगोलिक रूपमा जोडिए पनि नागरिकहरू मनले एकअर्कासँग जोडिन सक्दैनन् । सद्भाव देखाउनुको साटो प्रतिद्वन्द्वीका रूपमा अस्वस्थ प्रतिस्पर्धा गर्न पुग्छन् । एउटालाई अन्याय पर्दा अरूलाई महसुस हुँदैन । अनि कुनै एक भाषा, कला, संस्कृति र इतिहासलाई सर्वोपरि मानिँदा अन्य भाषा, कला र संस्कृति गौण हुन पुग्छन् ।


हामी नेपाली विभिन्न समयमा विभिन्न स्वार्थवश ल्याइएका, बुझाइएका वादहरूमा अल्झिने कि नेपालवाद निर्माण गर्ने ? जहाँ एकअर्काप्रति सम्मान होओस्, एकअर्कालाई भएको अन्याय–अत्याचार विरुद्ध संयुक्त आवाज होओस्, एउटाको पीडामा अर्को मौन नरहोस् । यो तबमात्रै सम्भव छ, जब हामी हरेक कुरालाई आलोचनात्मक हिसाबले बुझ्न थाल्छौं, नकि अरूले निर्माण गरिदिएको दृष्टिकोणबाट । त्यसैले आजको आवश्यकता देशभक्ति हो, जहाँ हरेक देशबासीले आफूलाई उत्तिकै महत्त्वपूर्ण र सम्मानित महसुस गर्न सकोस् ।

लेखक समाजशास्त्री हुन् ।

प्रकाशित : असार २०, २०७६ ०८:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT