कीर्तिपुर क्याम्पसको अस्तित्व

अभि सुवेदी

काठमाडौँ — कीर्तिपुर केन्द्रीय क्याम्पसको नयाँ भवनको एउटा कक्षा अगाडि उभिएको छु, एमफिल अंग्रेजीको कक्षा लिन । आफूले शिक्षक भएर जीवनका दशकौं बिताएको त्यो थलो र वरपर हेरेर उभिँदा त्यही विभागमा आफूले वर्षौंअघि पढाएको ‘स्ट्रिम अफ् कन्ससनेस’ वा चेतना प्रवाह शैलीमा लेखिएको उपन्यासको पात्रजस्तै मनका प्रवाहले तरङ्गित हुन्छु ।

स्वदेश र विदेशबाट पढेका र पढ्न गएका विद्यार्थीका हिजोआज धेरै मेल–पत्रहरू आइबस्छन् ।

सबैका प्रश्न छन्, ‘अहिले विश्वविद्यालयमा के भएको त्यस्तो ?’ भन्छु, ‘यसबाट विश्वविद्यालय निस्किन्छ । मैलेचाहिँं तिमीहरूका कामलाई सम्झेर अनि अहिले अध्ययन गरिरहेका विद्यार्थीलाई पढाएर आफ्नो प्राज्ञिक कर्मको विश्वास कायम राखेको छु ।’

अग्नि सूत्र पनि प्रयोग गरे विद्यार्थीले विभागमा, परीक्षाका नतिजामा असन्तोष भएर । म विभागीय प्रमुख थिएँ । त्यो ब्याचका विद्यार्थीलाई अग्निहोत्री भन्ने नाम राखेंँ । अस्ति अमेरिकाबाट एकजनाले फोन गरेर आफूलाई ‘म अग्निहोत्री ब्याचको, सर’ भनेर चिनाए । एकजना अमेरिकाको अमूक राज्यमा विधायक पनि भएका छन् । त्यो बेला देशको भाषा नै अग्नि थियो । मैले अग्नि सूत्रहरू जोडेर ‘अग्निको कथा’ नाटक लेखेंँ । सुनील पोखरेलको निर्देशनमा गुरुकुल र विश्वका निकै ठाउँमा त्यो देखायौं । यो नाटकमा सहयोग गर्न तिनै अग्निहोत्रीहरू सक्रिय भए । एकाध अग्निहोत्रीलाई पीएचडी पनि गराएँ । यो एउटा विनाश होइन, आत्मवञ्चना होइन, अन्तरमन्थनको घडी थियो । हामीले प्राज्ञकर्मको मर्यादा बिगारेनौं ।

मलाई भेट्न समाजशास्त्र विभागमा अध्यापन गर्ने युवा प्रेम चलाउने आएका छन् । ती पश्चिमका, उनकै शब्दमा, ‘गाउँले’ । ६ फिट २ इन्च अग्ला जीवन्त प्राज्ञिक युवक चिन्ता लिएर मेरा अगाडि उभिन्छन् । म भावातित हुन्छु । डा. शिव रिजाल भन्छन्, ‘यी प्रेम चलाउने मार्क्सवादको पनि गहन अध्ययन गरेका व्यक्ति हुन् । केदारभक्त माथेमाले त्रिचन्द्र कलेजलाई अब यो कसैको होइन रहेछ भनेको वाक्यको प्रसङ्गबाट आरम्भ गरेर ‘त्रिभुवन विश्वविद्यालय कसको हो ?’ शीर्षकको लेख तिनले नयाँ पत्रिका (२४ असार, २०७६) मा प्रकाशित गरेका छन् । कान्तिपुरका पत्रकार मकर श्रेष्ठले २७ पुस २०७५ मा पहिलोपटक यस्तो सर्भे निकालेका थिए । तिनले दुईपटक निकालेका छन् ।

चलाउनेलाई म त्यो सम्झाउँछु । थाहा पाएर उनी खुसी हुन्छन् । लगभग मकर श्रेष्ठको रिपोर्टमा उल्लेख भएका त्रिवि क्याम्पस कीर्तिपुरले गुमाउँदै गएका जमिनका खण्डकै बयान गरेका छन्, चलाउनेले । चलाउने भन्छन्, ‘यो लेखेपछि मलाई निकै आक्रामक भाष्यमा प्रतिक्रिया आएका छन् सर, आजै ।’

म फेरि झस्किन्छु, त्रिवि क्याम्पसको भूमि र परिवेश पनि अब यहाँका प्राज्ञिकहरूका निम्ति त्रासको विषय भयो त ? मकर श्रेष्ठको अनुभव मलाई थाहा छैन । मकर पत्रकार हुन् । चलाउने प्राज्ञिक हुन् । उनको लेखमा स्वाभाविक रूपले विश्वविद्यालयका पठन–पाठनमा आएका गिरावटको चर्चा छ । उनले उत्तरदायी प्राज्ञहरूका सिद्धान्तका पनि चर्चा गरेका छन् । चलाउने मसँग कुरा गर्दैजाँदा खुसी हुन्छन्, किनभने म एउटा आधी शताव्दीदेखि पढाउने, एमफिल र पीएचडीका विद्यार्थीसँग अन्तरंग छलफल गरिबस्ने सायद एउटा अनौठो नैरन्तर्य उनको समक्ष उभिएको छु । हिजोका कुरा गर्छु, उनका आजका कुरामाथि छलफल गर्छु ।

अनि भर्खरै ‘एकेडेमिक्स एन्ड पोलिटिकल वालो’ शीर्षकमा काठमाडौं पोस्टमा (९ जून २०१९) र अगाडि कान्तिपुरमा आफूले यहाँको विषय, थलो र पठन–पाठनका कुरामाथि लेखेका अनेकौं लेखका उनलाई प्रसङ्ग सुनाइरहन्छु । नाटक लेख्ने व्यक्ति भएकाले मलाई लाग्न थाल्छ, सायद म आफ्नै नाटकमा आफैंले रचेको सूत्रधार वा ‘कोरस’ भएको छु, जसले घटेका नाटकको चित्र ल्याउँछ, अनि आगतका गतिविधिमाथि धारणा राख्छ । तर एउटा फरक छ । नाटकको सूत्रधारले भने अनुसार विगत खुल्दै जान्छ, तर म आगतलाई धुमिल चित्रभित्र धेरै देख्न सक्तिन । विगतका अनुभव लिएर केही अनुमान भने गर्छु ।

विभागमा धेरै विद्यार्थी पढ्न आउँछन् । अनि एउटा खुसीको सम्झना हुन्छ । अंग्रेजी विभागले पछिल्लो समय प्रभाव पार्ने मिडियादेखि साहित्य, जीवन र जगतका विषयहरू पढाउने पाठ्य सामग्री जोडेर सेमिनार कक्षाको शैलीमा यो एमफिल कार्यक्रम चलाएको हो । आफू अवकाश नहुँदै सुरु भएको यो कार्यक्रम निरन्तर चलेको कुराले खुसी छु । विभागमा प्रमुखहरू पनि विद्यार्थी नै, पढाउने पनि विद्यार्थीहरू नै । म नयाँ विषयहरू पढिरहने मानिस भएकाले उनीहरू मलाई राम्ररी जान्दछन् । कहिलेकाहीं भने झसंग हुन्छु ।

निकै वर्ष बिते । के वाल्टर बेन्जामिनले भनेजस्तो इतिहास उफ्रेर आएको हुँ, कीर्तिपुरमा ? होला, किनभने इतिहासलाई म एक सुषुप्त र बिर्सिने विषय वा ‘एम्नेसिया’को रूपमा हेर्न मान्दिन । तर मेरो उद्देश्य सरल छ । झन्डै आधी शताब्दीदेखि गरेकै कर्म गर्न आएको छु । सन्दर्भहरू अलिक फरक छन् । यो अंग्रेजी विभागले प्रयोग गरेका अध्ययनको विविधता अनि यस विभागले खोलिदिएका अध्ययनमा जोडिने विषयहरू धेरैले ग्राह्य मानेका छन् । म पाठ्य सामग्री बनाएको त्यो बेलाको एउटा न्यारेटिभ जोड्छु ।

विभागमा विद्वान प्राध्यापकहरू थिए । हामीले सिलेबस परिवर्तन गर्दा ‘र्‍याडिकल’ काम गर्‍यौं । चसर र शेक्सपियरको मात्र अध्ययन, अध्यापन गर्ने एमए कार्यक्रम होइन यो भन्ने कुरा प्रमाणित गर्न सिलेबसमा आमूल परिवर्तन गर्‍यौं । अन्तरविषयक बनायौं, अध्ययन कार्यक्रम । अरु विभागका मानिस ल्याएर सहकार्य र छलफल चलायौं । जे होस्, सिलेबसमा समाजशास्त्र, राजनीतिशास्त्र, इतिहास, संस्कृति अनि कलालाई साहित्यको पाठसँग ल्याएर जोड्यौं ।

स्यामुअल पी. हन्टिङटनको ‘दक्ल्यास अफ् सिभिलाइजेसन’ किताबसमेत राखेको देखेपछि मेरा गुरु स्वर्गीय कमलप्रकाश मल्लको ‘विभागीय प्रमुख भएर यस्तो नचाहिने काम गर्ने ?’ भन्ने खप्की खाएको थिएँ । तर मलाई विभागका प्राध्यापकहरूको समर्थन र सहयोग थियो, बलियो थिएँ । संघर्ष र उपलब्धिका कथा छन् । ठाउँ नभएकाले धेरै लेख्न सक्तिन । हामी अवकाश भएपछि विभागमा युवा पुस्ताले यो अभियानलाई झन् बलियो र व्यापक बनाएर लगे ।

म भन्छु, अब यो कसको हो भनेर छुट्याउने काम युवा पुस्ताको हो । कीर्तिपुरको गुमेको जमिन फर्काउन सकिन्छ । भौतिक सम्पत्तिको लेखाजोखा गर्न सकिन्छ । तर कीर्तिपुर केन्द्रवर्ती एकेडेमियामा अर्को सूक्ष्म अनि भयानक क्षति हुँदै गएको कुरा विस्मृतिमा गएको छ, जसको छलफलै हुँदैन । विभागहरू शून्य हुँदै गए । ती विभागमा पढाउने विद्वानका माग विभागभन्दा बाहिर बढी हुँदै गए । उनीहरू देशसेवामा अनि अनुसन्धान कन्द्रहरूले प्रतिनिधित्व गर्ने काममा पनि लागे ।

निकै वर्षअघि फ्याकल्टी बोर्डको साधारण सभामा आमन्त्रित थिएँ । त्रिविले देश/विदेशमा शिक्षित गराएर योग्य बनाएका तर त्यो बेला (अहिले पनि ?) विश्वविद्यालय अनि अरु संस्थाहरू खोलेकाहरूले त्रिविलाई गाली गरेको खप्न नसकेर मैले भावात्मक र वैचारिक रूपले प्रतिवाद गर्दै भनेको थिएँ, ‘यस्तो भावना पाखण्डी हो, कृतघ्नतापूर्ण र मातृघाती हो ।’ त्रिविको विडम्बना बुझ्न यो कुरा नबिर्सौं । आफैंलाई सोधौं, हामीले विभागहरूमा पीएचडी गराउने, अनुसन्धान र पठन–पाठन अनि सभा, सेमिनार गरेर राजनीतिक चेतनालाई बल दिनेतिर कति काम गरेका छौं ? सिलेबसलाई जीवन्त बनाएर राजनीतिक, सांस्कृतिक, आर्थिक उल्झनमाथि छलफल गर्ने विद्वानहरू कति तयार गर्‍यौं ? ।

स्तरीय प्राज्ञिक जर्नल विश्वविद्यालयबाट निस्कन्छन् कि मार्टिन चौतारीबाट ? हामीले आफैं स्तरीय प्राज्ञिक लेख लेखेर प्रकाशित गर्नेहरूलाई कतिको न्याय गरिआएका छौं ? लाग्छ, अहिले लगभग विखण्डनको अवस्था हो । तर यो विश्वविद्यालयमा धेरै मेधावी विद्यार्थी पढ्छन् ।

बाहिर गएर यहींको शिक्षाले नाम कमाएका छन् । विज्ञानमा त्यस्तै उपलब्धि हासिल गर्नेहरू छन् । यहाँका प्राज्ञिकहरूले विश्वका अनेकौं ठाउँमा गएर सेमिनार, अनुसन्धान र लेखनमा नाम कमाउँदै छन् । सकारात्मक पक्षमाथि राजनीतिज्ञ, नागरिक समाज, विद्यार्थी, प्राज्ञिक, सरकार सबैको ध्यान जाओस् ।

प्रेम चलाउनेसँग कुरा गर्दागर्दै उतापट्टिका रुखहरू वर्षाको सिमसिमे पानी र हावामा हल्लिन्छन् । साँझ पर्न लागेको छ । चलाउने भाइलाई भन्छु, ‘म ती हामीले विद्यार्थी हुँदा रोपेका वृक्षहरू रहेसम्म यहाँ जीवन लहराइरहेको देख्छु । त्यसपछि एमफिलको आफ्नो सेमिनार कक्षा लिन पस्छु । विषय ‘इन्टर्डिसिप्लिनरी’ छ । सेप्टेम्बर ११, २००१ अमेरिकामाथि भएको आतंककारी हमला, त्यसको रङ्गमञ्चीय सामर्थ्य र आतङ्कवादीको सिद्धान्त विषयमा छ । ‘पोस्ट–पोलिटिक्स’ वा उत्तरवर्ती राजनीतिको विषय आउँछ । हामी अहिले राजनीति र सिद्धान्तको निष्ठावानयुगमा छौं कि उत्तरवर्ती युगमा छौं ? प्रश्न उठ्छ । निष्कर्ष छ, ट्रेड सेन्टर ध्वस्त भएपछि त्यसको जगमा विशाल भवन बनेन, सफा गरेर एउटा खाली भूमि राखियो । त्यसलाई ‘जिरो ग्राउन्ड’ भनियो ।

आतङ्ककारी हारे, किनभने त्यसपछिको मानव प्रतिक्रिया सकारात्मक रह्यो । सरल भूमि, ऐक्य भावना र प्रेमले जित्यो । ‘थिएटर’ वा नाट्यको आत्मा त्यही हो, व्याख्या गर्छु ।

कीर्तिपुर क्याम्पस केवल सम्झनाको ‘जिरो ग्राउन्ड होइन’ । यो हाम्रासामु सबै किसिमले जीवन्त छ ।

प्रकाशित : असार २८, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्

निवास, यात्रा र कांग्रेस

समय रेखा
अभि सुवेदी

केही समयदेखि नेपाली समय विम्बमा देखिने गरेको छ । समयलाई विम्बमा देख्नु साहित्यिक काल्पनिकी हो । अर्कोतिर विचारका महत्त्वपूर्ण छलफल पनि भएका छन् । यी सबै कुराले हल्लाएको छँदो म तिनै केही कुरा यो पत्रमा राख्दैछु । यस निम्ति केही किताब र अखबारलाई आधार मानेको छु । अखबारमा कान्तिपुर र नयाँ पत्रिकाका प्रसङ्ग छन् ।

‘सुन्दरीजलको माटो बोकेर कोइराला निवासको भुइँ ढोग्न पुगे कार्यकर्ता’ शीर्षकको एउटा सचित्र समाचारले बिहानै ध्यान खिच्यो । २०७६ असार २ को नयाँ पत्रिकाको मुखपृष्ठमा भावविभोर कांग्रेसजनहरू कुनै पवित्र मन्दिर अगाडि भक्तिभावमा प्लावित भए जस्तो अवस्थामा हात टेकेर शिरले कोइराला निवासको भूमि ढोगिरहेका छन् ।

झन् ठूलो अक्षरको उपशीर्षक बोल्छ, ‘तर निवासको जग्गा कित्ताकाट गरेर बेचे कोइरालाकै सन्ततिले ।’ सँगै छापेको छ, अर्को चित्र । इन्सेटमा मातृकाप्रसाद कोइरालादेखि सुजातासम्म वा पछिका गरी ७ जनाका चित्र छन् । एउटा झुरुप्प चित्रमा बीपीका ३ पुत्रका चित्र पनि छन् । किञ्चित् पीडाको भावमा विराटनगरकी कवि सीमा आभास लेख्छिन्, ‘बीपीका तीनवटै छोरा प्रकाश, श्रीहर्ष र शशांकले उनीहरूको भागमा आएका जमिन व्यापारीलाई बेचे ।’ (२०७६ जेठ ३२) । समाचारले इन्सेटका सबै चित्रको व्याख्या गर्छ । यसले बीपी र अरु जस्ता राष्ट्रिय नेताका नाममा म्युजियमहरू कसरी राख्नुपर्छ र व्यवस्था गर्नुपर्छ भन्ने कुरा उठाउँदैन ।

संस्मरण जोडौं । अभिनारायण नामधारी मैले विराटनगरमा १९ सालतिर आएको विद्यार्थी हुँदा बाहिर ‘मानृड’ वा मातृकाको गुँड लेखिएको मातृका निवासमा केही समय बिताएको हुँ । मोरङ कलेजको एउटा संघर्ष समितिको सदस्य भएकाले अलिक पछि उग्र भएको ठानी पुलिसको धरपकड छल्न संघर्ष समितिका अध्यक्ष मातृकाका ज्येष्ठ पुत्र विमल कोइराला उर्फ विमल दाइको सल्लाहले त्यहाँ बसेको थिएँ ।

उतातिर अभयनारायण भन्ने मेरा अग्रवाल साथीलाई मेरो नाममा पक्रेर पुलिसले निकै पिटेछ । साथी पछिसम्म मैले तेरो नाममा पिटाइ खाएको छु पुलिसको, ‘अब के गर्छस् हँ ?’ भनेर मलाई सोध्थे । पुनरावृत्ति गर्न नमिल्ने कालक्रमको घटना भएकाले मैले मेरा अत्यन्त प्रिय साथीको मन बुझाउन केही गर्नसक्ने कुरै थिएन । कोइराला निवास त्यो बेला पनि मेरानिम्ति एउटा संघर्षशील अभिव्यञ्जना बोकेको थलो थियो ।

कोइराला निवासको भुइँ चुम्ने ती यात्रीहरूले त्यो दलमा कत्रो असर पार्न सक्छन् ? प्रश्न उठेको सुनेको छु । ‘महासमितिका सदस्यले भेला भएर पास गरेका प्रस्ताव त तिनीहरू घर पुगेपछि आफ्नो खुसी फेर्ने केन्द्रीय समितिले निवासको माटो चुम्ने अकिञ्चन कांग्रेसजनको सन्देश केको सुन्थे र सर !’ मेरा एकजना पोस्टग्राजुयट कांग्रेस मान्ने विद्यार्थीले भने ।

नेपाली कांग्रेसको पछिल्लो गतिहीन अवस्थामा आएका विचारमध्ये बाहिरतिर कांग्रेसी विचार फैलाउँदैहिंँड्ने एउटा सुझ देखियो । पार्टीको निर्णयमाठूलठूला खालका नेताको नेतृत्वमा देशका विभिन्न भागमा ती हिंँडे । अनि टीभी र अखबारले भने, जहाँ गयो त्यहीं एकअर्कालाई पाँडेगाली गरेर तिनका यात्रा असरल्ल भए ।

राजनीतिमा अभियान भन्ने एउटा पदावली छ । निकै समय लगाएर पछिपछि पर्दै गरिएको, अङ्ग्रेजीमा ‘लङ्ग मार्च’ नामले परिचित सन् १९३४–१९३५ को ३७० दिन लगाएर सम्पन्न ५ हजार ६ सय माइलको माओत्सेतुङहरूको यात्रा त्यसमा सबभन्दा प्रसिद्ध छ । अंग्रेजलाई थर्काउनुपर्‍यो कि लुरे खुट्टा भएका गान्धी लौरो टेकेर रवीन्द्रनाथ टेगोरको ‘आक्ला चलु आक्ला चलु’ वा एक्लै हिंँड् भाइ अब भन्ने कविता बोल्दै निस्कन्थे ।

गान्धीका अनेकौं विरोधको शैलीको अंग्रेज सामना गर्थे । तर ती लुरे महात्मा हिंँडेपछि अंग्रेजलाई पिनास हुन्थ्यो । साम्राज्यवादीको शक्ति भनेको यात्रा हो । इम्पेरियल आई (२००३ दोस्रो) भन्ने हामीले प्रयोग गर्ने मेरी लुई प्राटको किताबमा युरोपेलीहरूले कसरी अफ्रिका र ल्याटिन अमेरिकामा यात्रा गरेर शक्ति हात पारे भन्ने लेखिएको छ । त्यो किताब पढेपछि गान्धी किन अंग्रेजलाई तर्साउन हिंँड्थे भन्ने बुझिन्छ । गान्धीले अंग्रेजको त्यो कमजोरीको पाटो त्यही बेला बुझेको कुराले म चकित पर्छु ।

नेपाली राजनीतिमा यात्रा भएका छन्, तर तिनको खासै इतिहासबाट झिकेर अर्थ लगाउन मिल्ने चरित्र त्यति भेटिँदैनन् । नेपालको भूभागलाई पहाड, मैदान, जङ्गल र नदीहरूलाई प्रभावित पार्ने अत्यन्त चलायमान शक्ति भनेका यो दशका कमिनिष्ट हुन् । तर यिनका यात्राका गति र नक्साका आकार खासै निश्चित थिएनन् ।

माओवादी ‘जनयुद्ध’का यात्राका नक्सा र केही पश्चिमदेखि पूर्वतिर हुँदै बढ्ने पद्धति देखिए, तर ती खासै भूगोल र राजनीतिका सम्बन्ध देखाउने किसिमका थिएनन् । उनीहरूको यात्रा पछि गएर उनीहरूकै शब्दमा, राजधानी केन्द्रित भयो । त्यसले गर्दा सिद्धान्तको हिसाबले त्यो यात्राको नक्सा प्रस्ट भएन । जस्तो कि कमिनिष्टले यो देशका विपन्न र निमुखा मानिस, खासगरी गरिब किसानदेखि तिनको उद्धार गर्नेतिरको राजनीतिक यात्रा गरेको मानिनुपर्ने हो, तर तिनको सरकारका नीति र बजेटले त्यस्तो यात्रा देखाएन भन्ने आलोचना गर्नेमा कमिनिष्ट अर्थशास्त्री र पत्रकारहरू नै पर्छन् ।

वामपन्थी अर्थशास्त्री हरि रोकाका सरकारको नीति र बजेटको आलोचनाका नयाँ पत्रिकाका विस्तृत र सटिक लेखबाट कमिनिष्ट विचार यात्राका समस्या देखिन्छन् । त्यस्तै विचार पूर्व माओबादी नेता हरिबोल गजुरेलको ‘राजनीतिक आकाशमा कालो बादल’ शीर्षक (कान्तिपुर २०७६ असार ११) लेखमा भेट्न सकिन्छ । अहिले विचार र व्यवहारको अनौठो द्वन्द्व चलेको अवस्था छ, नेपालमा । यही कारणले गर्दा व्याप्त भ्रष्टाचारको संस्कृतिको निरुपण गर्ने तरिकाको अभावमा विचारको संकट देखिँदै गएको छ । दलाल पुँजीवाद यसको कारक हो ।

सुन्दरीजलको बीपी संग्रहालयका परशुराम पोखरेलको समूहले गरेको यो यात्राको कुराले मलाई तानेको प्रसङ्ग अर्को पनि छ । मैले बीपीका उपन्यास र संस्मरणमा आधारित नाटक ‘सान्दाजुको महाभारत’ लेखेंँ । त्यो बेला नाट्यकलाकारहरू र निर्देशकसँग म फेरि पनि भदौ २०७२ मा सुन्दरीजल पुगेँं । लेखेको छु, ‘आधीउधी भत्केको बन्दीगृहमा आफ्नो घर भत्केर यसो बसेका परशुराम पोखरेल, धरापजस्तो बन्दीगृहको संरचना अनि शक्तिलाई होर्डिङ गरेर क्षीण बनाउँदै गरेका सांसद र राजनीतिज्ञहरू, अनि देशैभरि... धनजनको नाश भइरहेको यो अवस्था...।’

त्यही बेला परशुराम पोखरेल मलाई प्रचण्डका भावात्मक उद्गार देखाउँछन् । प्रचण्डले लेखेका छन्, ‘... विश्वेश्वरप्रसाद कोइरालाको यो संग्रहालयको अवलोकनले मलाई इतिहाससँग वर्तमानको वार्तालाप महसुस भयो । यथार्थमा मैले नयाँ ऊर्जा प्राप्त गरेको अनुभूत गरेंँ । अविस्मरणीय क्षण ।’ (कान्तिपुर २०७२ भदौ २१)

प्रचण्डलाई बीपीको संग्रहालय र बन्दीगृह देखेपछि इतिहाससँग वर्तमानको वार्तालाप महसुस भएको थियो । प्रचण्ड प्रधानमन्त्री भएको बेला किञ्चित निराश भएको अवस्थामा बीपीको त्यो संग्रहालयमा आएर दिनभरि बसेका थिए भनी सुनाए, परशुराम पोखरेलले ।

पोखरेलसँगै बीपीको निवास विराटनगर पुगेका कांग्रेसजनको इतिहाससँग कसरी वार्तालाप भयो, त्यो भन्ने आधार छैनन् । एउटा सुन्दरीजलको संग्रहालयको त त्यो हालत छ भने कोइराला निवासमा कस्तो संग्रहालय बन्ने होला भन्ने कल्पना गरिरहनु पर्दैन । तर त्यो थलोमा कवि सीमा आभासले लेखेजस्तो स्वतन्त्र नारीका कथा पनि जोडिएका छन् । कृष्णप्रसाद कोइरालादेखिका इतिहास छन् । नेपाली कांग्रेसका यी यात्री मनुवाहरूले यो मार्चबाट गान्धीको जस्तो शक्ति जन्माउने सोझो चाहना नराखे पनि यिनका केही चेतना जगाउने चाहना भने प्रस्ट देखिन्छन् ।

तर नेपाली कांग्रेसलाई हेर्दै जाँदा अहिले यी रूपकहरूले बुझाउने, भित्रबाट निःसृत हुने लोकतान्त्रिक सिर्जनशील शक्ति खोज्ने खासै क्रियाकलाप देखिएका छैनन् । अहिले सरकारसँग जनताका छलफल र मुद्दा अनि केही समाजवादी, मिडिया स्वतन्त्रता सम्बन्धी विषयमाथि आधारित छन् । युवा र जनतामा ती विषयका छलफल, लोकतान्त्रिक संस्कारका बहस, प्रकाशन र अति नै विकृत रूप लिंँदै गएका शैक्षिक संस्थाका ह्रास र विचलन रोक्ने विषयमा चेतना फैलाउने, तिनलाई दलका दलदलबाट बचाउने कुनै काममा पनि प्रतिपक्षी नेपाली कांग्रेसको शक्ति खर्च भएको देखिँंदैन ।

संसदमा नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका खेलेकै छ, तर त्यो पनि त्यति प्रभावकारी छैन । पूर्व सभामुख दमननाथ ढुङ्गानाले त सभामुखले बोल्ने समय दिएका प्रधानमन्त्रीलाई बोल्न नदिएर डङ्क मच्चाउने नेपाली कांग्रेसले आफ्नो राजनीतिक सिद्धान्त र आचारलाई मिल्ने संस्कार देखाएको थिएन भनी आलोचना गरे । निष्कर्ष हो, आक्रोशमात्र होइन, विवेकले काम गर्ने बेला हो, कांग्रेसले । त्यस्तो काम क्रान्तिभन्दा जटिल हुन्छ । कांग्रेसले बुझ्ने हो ।

नेपालमा अहिले कोही पनि यात्रा गर्दैनन्, न विचारमाथि न भूतलमाथि । अहिले अस्थायी थलाहरूमा सकेसम्म कसेर आफ्नो नाम र दाम राख्ने होड चलेको छ । त्यसैले यस देशका स्थापित संस्कृति, जीवनशैली र यथार्थ उपेक्षित हुँदै गएका हुन् । मैले बाल्यकालदेखि किसानको शक्ति, संस्कार र समय देखेंँ ।

भन्छौं, नेपालको यात्रा विपन्न किसान र निमुखा नरनारीको मुक्तिविना सम्पन्न हुँदैन । त्यसैले सुन्दरीजलदेखि समाजवादी कोइरालाको निवाससम्म पुगेर भूमि चुम्नेहरूको यात्रा प्रतीकात्मक हो, कविता हो, जसको सन्देश कांग्रेस पार्टीका मानिसले बुझुन् ।

प्रकाशित : असार १४, २०७६ ०७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्