अनि उसले लक्ष्मणरेखा टेक्यो

सुभेच्छा भण्डारी

काठमाडौँ — तयारी बेजोडले भैरहेको थियो । अस्तिको बिहेभन्दा निक्कै । पोखराको लेकसाइडमा क्रिसमस आउँदा जस्तो झिलिमिली । राता र सेता बटारिएका जस्ता पर्दा । खुबै रमाइलो देखिएको थियो, बिहे घर ।

‘खर्च टन्नै गरेछन् । हुन त गुरुङ गाउँ अनि लाहुरेको घर । गाउँघरतिर यस्तै हो मिस । हुनेखानेले अलिअलि झिलिमिली त देखाउनैपर्‍यो नि,’ बिहान ८ बजेको क्लास भ्याएर खाना खाँदै गर्दा एउटा विद्यार्थीले भन्यो ।

मनमनै सोचेँ— मानिसलाई इज्जतको कति चिन्ता छ । अरुले बनाइदिएको इज्जतरूपी ऐनामा ऊ आफूलाई हेर्छ र मूल्यांकन गर्छ— यो समाजमा अरुसँग काँध मिलाएर उभिनलायक छ कि छैन । ऊ अनविज्ञ छ, जुन दिन अरूले त्यो ऐना फुटालिदिनेछन्, उसको अस्तित्व त्यही ऐनासँग टुक्रिएर जानेछ । कति कमजोर छ, मानिस ।

३ गते शुक्रबार । साढे २ बजे टिनिनिनी घन्टी बज्यो । म कक्षाकोठाबाट निस्किएर सिधै स्टाफ रुममा गएँ । सबै सर–मिस आ–आफ्नो कुर्सीमा । मुसुक्क हाँस्दै म पनि चुप लागेर गएर आफ्नै कुर्सीमा बसेंँ । आफ्नै अगाडि टेबुलमाथि राखिएको ‘हार्दिक निमन्त्रणा’ लेखिएको कार्ड खोलेर हेरेँ । त्यसैदिन प्रितीभोज । मन प्रफुल्ल भयो । आँखा अगाडि पुलाउ र मासु घुम्न थाल्यो । मासु नखाएको एक महिना बढी भएको थियो ।

हेडसरले जिस्काउँदै भन्नुभयो, ‘ल मिस आज त तपाईंकै घरतिर खाने निम्तो छ । सबै उतै जानपर्‍यो अब ।’ मैले पनि हाँसोकै पारामा उत्तर फर्काएँ, ‘हजुरहरू आउनुहुन्छ भनेर त त्यत्रो भोज राखिछु । जानैपर्‍यो नि ।’

घरमा म बस्ने धन्सारको दायाँपट्टिको गह्रामा एउटा ठूलो टेन्टभित्र थुप्रै टल्किएका कुर्सी । अनि त्यसको दुई गह्रामुनि सानो टेन्टभित्र केही थान कुर्सी । आहा ! ठानेंँ— तयारी बेजोड नै हो । जता मन भयो, त्यतै बसे हुने । फेरि सोचेँ, सानो टेन्ट झोल पदार्थ खानेका लागि हो कि । त्यसपछि
मैले ठूलो टेन्टमै छिर्ने निष्कर्ष निकालेँ । तर नजिक जाँदैगर्दा मानिसका अनुहार जति प्रस्ट हुँदै गए, मेरो अघिको सोचाइको बाँध चर्किँदै गयो । एक हुल प्रश्नले मनको दैलो बेस्सरी ढक्ढकायो ।

जब सधैँ मिस भन्दै अँगालो मार्न दौडने चार वर्षीया विश्वकर्मा नानीसँग मेरा आँखा जुधे, तब मेरो मनमा भक्कानो फुट्यो । भगवानको रूप भन्छन् हैन र बच्चालाई ? तर ती निर्दोष हातले छोएको भात चल्दैन भनेर त्यो सानो टेन्ट बनाइएको रहेछ । निसासिएझैँ भएँ म ।

आँखा हुँदै छछल्किन लागेका भावलाई रोक्दै त्यो नानुलाई हेर्दै मनमनै प्रश्न गरेँ, ‘के तिमीलाई थाहा छ, किन दुइटा टेन्ट लगाइएका ?’ ती निर्दोष आँखाले मेरो मनको प्रश्न बुझेर मासुको एउटा चोक्टा च्याप्दै मुस्कुराउँदै भनेझैं लाग्यो, ‘हामीले छोको अरूले खान हुँदैन रे मिस, पाप लाग्छ रे । मलाई ममीले भन्नुभाको ।’ त्यही बेला मैले एक दिनको दृश्य सम्झिएँ— मैले पकाउने बेला भान्छाको ढोकानिर बसेर म ’नि भित्र पस्न हुन्छ र भनेर सोधेकी थिइन् ।

मेरो मस्तिष्कमा खैलाबैला मच्चियो । मनबाट रमझमको मोह हट्यो । मासुको मोह मनबाट
हट्यो । तल्लो गह्राको वरपर हेरेंँ । सबै हाँसेर खाइरहेका थिए । दुःखले पेलिएर निस्किएको हाँसो थियो कि त्यो परिस्थिति र समाजले बनाएर देखाइदिएको ऐना ? प्रश्नको भुमरीमा रुमलिएँ म । दुई गह्रा तल मेरा विद्यार्थीका निर्दोष आँखा । दुई गह्रामाथि लाइनमा ठेलिँदै टोलाइरहेकी म ।

अचानक ट्रेनिङको याद आयो । दोस्रो दिन (हंगर ब्याङ्केट) निलो कार्ड पाएर भुइँमा बसेको दिन । म पनि खुसी थिएँ । नुन, प्याज र निस्तो भात खाँदा म सबैसँग मिलेर गीत गाउँदै थिएँ । अनि रातो कार्ड पाएर कुर्सीमा बसी मासु र सुप खाने पनि आफ्नै धुनमा मस्त थिए ।

भुइँमा बसेर निस्तो भात खाँदा कुर्सीमा बसेर मासुभात खानेका विरुद्ध किन आवाज उठाउन सकिन होला मैले ? किन यसै रमाएँ होला ? के त्यो निलो कार्डले मलाई समाज बनेर ऐना देखाइदिएको थियो ? लक्ष्मणरेखा कोरिदिएको थियो ? जसलाई नाघ्न खोज्दा मेरो अस्तित्वमा प्रश्न उठ्ने थियो । के सानो टेन्टकाहरूले पनि त्यही सोचेर रमाएर खाएका होलान् ? के असमानताको भारीलाई घाँसको भारीझैं सजिलै बोक्ने बानी पारिसकेका छन्, उनीहरू ?

सोचैसोचमा डोरिँदै लाइनमा धेरै अगाडि पुगिसकेछु । निराशाका बादल लागेका आँखाले अरु खुसी अनुहारलाई हेर्दै पाइला सार्दासार्दै हातमा प्लेट लिएर कुर्सीमा बसिसकेछु । तर गलामा अड्केको पीडाले भात निल्न दिएन । अशान्त आँखाहरूले भौँतारिँदा–भौँतारिँदै एउटा अनमोल दृश्य देखेंँ । ठूला–ठूला कदका भिडलाई छिचोल्दै ती साना कद । मानिसको गुँडमा जन्मिएर पनि आकाश ताकिरहेका ती आँखा ।

जसका भागमा छ— एक प्लेट खुसी जहाँ दुई चोक्टा मिठास होस् र एक डाडु ठट्टा । र त्यसलाई निल्न एक गिलास हाँसो । ती ४ जनामध्ये एकजना साथीलाई छोड्न नसकेर सानो टेन्टबाट भागेर आएको रहेछ । कदमा सानो भए पनि सबैभन्दा आँटिलो थियो ।

परिवर्तनको सम्वाहक थियो । वरपर हेरेँ, धेरैका चिल नजर उसलाई नै ताकिरहेका रहेछन् । तर ऊ अघि बढ्यो । केही नसोची अघि बढ्यो । सबैको अगाडि अघि बढ्यो । समाजले बनाइदिएको ऐना तोड्न अघि बढ्यो । उसले लक्ष्मणरेखा टेक्यो । आँखा के झिम्किएको मात्र थियो, पछाडिबाट उसलाई कसैले तानेर उसलाई त्यो रेखा नाघ्न दिएन । त्यो दिन असमानताको भिडलाई चुनौती दिँदै परिवर्तनको झिल्को त्यहाँ पस्यो । मैले कामना गरेंँ— तिमी कहिल्यै हार नमान्नु । अनि प्रतिज्ञा गरेंँ– म पनि लागिपर्ने छु, दिनदिनै यस्तै जनशक्ति विकास गर्न ।

त्यस दिनदेखि दुइटा प्रश्नहरूले गिज्याइरहेछन्— शिक्षक भनेर सम्मान गरेको समाजले यदि म दलित परिवारकी भएको भए कुन टेन्टमा स्वागत गर्थ्यो होला ? र चलनचल्तीको पट्टी आँखामा लगाइदिएर मुख चुप गराइदिन सक्ने शक्तिशाली समाजलाई परिवर्तन गर्न हामी कति शक्तिशाली बन्नुपर्ला ?

लेखक टिच फर नेपालमार्फत श्री त्रिभुवन माध्यमिक विद्यालय, लमजुङमा अध्यापन गर्छिन् ।


प्रकाशित : असार २८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्

कोसीमा पानीको बहाव बढ्दै, सतर्क रहन आग्रह

माधव घिमिरे

विराटनगर — लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । कोसी ब्यारेजस्थित कन्ट्रोल रुमका अनुसार पछिल्लो पटक गरिएको मापनमा कोसीमा पानीको बहाव २ लाख क्युसेकभन्दा बढी पाइएको छ ।

पानीलाई निकास दिन ब्यारेजका ५६ मध्ये २९ वटा ढोका खुला गरिएको छ । कोसी ब्यारेजमा सतर्कता सूचक रातो बत्ती बालिएको छ । यसैगरी सुनसरीको चतरामा भएको पानीको बहाव शनिबार बिहान सतर्कता संकेतभन्दा माथि पुगेको छ । स्थानीय प्रशासनले कोसी वारिपारिका सुनसरी र सप्तरीका गाउँ बस्तीहरुमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

जनजीवन कष्टकर
वर्षा हुने क्रम नरोकिएपछि प्रदेश १ का विभिन्न जिल्लाको जनजीवन कष्टकर बनेको छ । पहाडी क्षेत्रमा पहिरो र तराईका जिल्लामा बाढीका कारण डुबान भएकाले जनजीवन प्रभावित बनेको हो । प्रदेश १ का विभिन्न जिल्लामा बाढीपहिरोका कारण शुक्रबार रातिसम्म ९ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार खोटाङमा तीन, भोजपुरमा दुई, ओखलढुंगा, सुनसरी, इलाम र पाँचथरमा एक–एक गरी ९ जनाको मृत्यु भएको हो । धनकुटा, ओखलढुंगा, उदयपुरलगायत जिल्लाका सडकमा पहिरो खसेपछि यातायात अवरुद्ध बनेको छ ।

तराईका झापा, सुनसरी, मोरङलगायत जिल्लामा बाढीका कारण सयौं घर डुबानमा परेका छन् । जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २८, २०७६ ०८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्