१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गुमराहमा सरकार

राज्य शासनका प्रमुख प्राधिकारी प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्, ‘मलाई अनभिज्ञ राखियो । म भ्रममा परेंँ । गुमराहमा पारिएँ ।’ प्रसंग हो, भारतबाट आयातित तरकारी र फलफूलको विषादी परीक्षण नगर्न भारतीय दूतावासले पत्रमार्फत दिएको दबाबमूलक सूचनाको ।

गुमराहमा सरकार

उनलाई त थाहै रहेनछ, देशमा के भइरहेको छ । तर उनी बोलिरहे, ठानिरहे कि निर्णय आफू गर्दै छु । एउटा मन्त्रीलाई सचिवले ढाँटेर भारतबाट तरकारी र फलफूल ल्याउँदै गरेका ट्रक प्रवेशनाकामा रोकाइदिएछन् । तर नाकामा विषादी भए–नभएको यकिन गर्ने उपकरण नै रहेनछ, त्यसैले दयावश रोक्का खुला गरिदिएछन् । जबकि रोक्का खुलाचाहिँ नेपालस्थित भारतीय दूतावासको पत्रको प्रभावले गरेको रहेछ । दूतावासको चहलपहल प्रधानमन्त्रीले असार २३ मा बल्ल थाहा पाएछन् ।


त्यसबीच उनले जति बोले, हावाका भरमा बोलेका रहेछन् । सचिव मन्त्रीलाई ढाँट्ने र मन्त्री ढाँटिने ! गल्ती कसको ? कुनै पनि निर्णय गर्नुपूर्व आफै यकिन गर्नुपर्छ भन्ने नै मन्त्रीलाई थाहा नहुनु भनेको लथालिंगे पारा हो । मन्त्रालयहरू कति लथालिंगे पाराका छन्, यस वास्तविकतासँग प्रधानमन्त्री ओली ठ्याम्मै अनभिज्ञ रहेछन् ।


यत्तिका भइसक्दा बल्ल प्रधानमन्त्रीले, त्यो पनि सञ्चार माध्यमहरूमा पत्रको प्रतिलिपि सार्वजनिक भइसक्दा उनको नजरले त्यो पत्र पढ्ने, हेर्ने कष्ट गरेछ । यसरी प्रस्ट भयो, निर्णय उनले गरिरहेका थिएनन् । के अर्थ लाग्छ त यसको ? निर्णय अन्यत्रै हुँदो रहेछ । ओलीका भनाइबाट बुझिन्छ— उनी यन्त्रवत् परिचालित छन् । अर्थात्, उनी देखिनलाई प्रधानमन्त्री हुन्, साँच्चैचाहिँं होइनन् । अचम्म, जसलाई दुनियाँले प्रधानमन्त्री भनेर चिनिरहेको छ, ऊ कामले प्रधानमन्त्री नै होइन ! फेरि होइनन् कसरी भन्नु ? हुन् । तर हुन् पनि कसरी भन्नु, राज्यकार्यसँगै अनभिज्ञ छन् ! तब के नेपालमा प्रधानमन्त्री पद दायित्व, उत्तरदायित्व, कर्तव्य केही नभएर मानार्थ विद्यावारिधि जस्तै उपाधिमा सीमित हुन पुगेको हो ?


त्यस्तो नहुनुपर्ने । यो त गणतन्त्र हो । उहिल्यै राजा हुँदाका बेला भनिन्थ्यो, राजाले गर्न दिएनन् । हो, दिँदैन पनि थिए । दरबारले अप्ठ्यारो पारिरहन्थ्यो । दरबारिया मुख बंग्याउँदै सबै सोहोर्न खोज्थे । प्रधानमन्त्रीमाथि बाधा–अवरोध आइरहन्थे । आज राष्ट्रपति छिन् । निर्वाचित, आलंकारिक । भलै सवारी नक्कल राजाकै गर्न खोज्छिन्, तर आलंकारिक । हुन् फगत आलंकारिक । यद्यपि मुखमुद्रा बनाएर राजाकै जस्तो प्रदर्शन गर्न खोज्छिन् । जनतालाई आशिष दिने मुद्रामा हात उठाउँछिन् । तर राजा किमार्थ होइनन् । शून्य–कार्यकारी अधिकारले सज्जित छिन् ।


राज्यको सम्पूर्ण कार्यकारी अधिकार मन्त्रिपरिषद्मा निहित छ, र सम्झाइरहनु नपर्ला, संसदीय प्रथामा मन्त्रिपरिषद्का अध्यक्ष प्रधानमन्त्री नै हुन्छन् । प्रधानमन्त्री मन्त्रीहरूका पनि मन्त्री हुन् । सबै मन्त्री प्रधानमन्त्री मातहत हुन्छन् । सबै मन्त्रालय प्रधानमन्त्रीकै मन्त्रालय हुन् । यस्ता प्रधानमन्त्री एउटा दूतावास मन्त्रालय–मन्त्रालय चहार्दै हिँंडेको थाहा पाउँदैनन्, र झन् उदेकै लाग्ने त के भने, कुनै मन्त्रीले प्रधानमन्त्रीलाई सुइँकोसम्म दिँदैनन् । प्रधानमन्त्री आफूसँग सूचना लिने कुनै स्रोत नै नभए जस्तो । अनुसन्धान विभाग छ । प्रहरी र सेनाका पनि सूचना संकलन गर्ने प्रभाग छन् । तर प्रधानमन्त्री सम्पूर्ण घटनाबाट अनभिज्ञ !


ओलीले भन्छन, ‘मलाई अनभिज्ञ राखियो । लज्जित छु । किन राखियो, म अब खोजी गर्छु ।’ उनी अनभिज्ञ रहे । ‘खोइ, कहाँ आयो पत्र, कसले पढ्यो’ भन्दै हिँंडे । अब प्रश्न उठ्छ— उनलाई अनभिज्ञ राख्नेचाहिँं को ? अब उनले खोजी गर्छन् । कहाँ खोज्नु ? उनको आफ्नै अध्यक्षताको, कार्यकारित्वको राज्य संयन्त्र । राज्य संयन्त्र सञ्चालनको जिम्मेवारी कसको ? उनको आफ्नै ।


राज्यकार्यमा भइरहेका यावत् क्रियाकलाप र गतिविधिको संज्ञान कसले राख्नुपर्ने ? उनी आफैले । तर आफै अनभिज्ञ । अब खोज्ने ! यति भइसकेपछि अगाडि भन्न केही बाँकी रहँदैन । दुर्भाग्यवश यसको अर्थ हुन्छ— सरकार सिंहदरबारबाट चलिरहेको छैन । प्रधानमन्त्री कार्यकारी नभएर आलंकारिक हुन गएका छन् । उहिले पञ्चायतकालीन प्रधानमन्त्रीजस्तै थपना हुन पुगेका छन् । मरिचमान बन्न पुगेका छन् । निर्णयको काम अर्कै कोही गरिरहेको छ, उनी दुईतिहाइयुक्त मानार्थ प्रधानमन्त्री हुन् । के यही भन्नु ?


यत्तिका जिल खाएपछि अब त बुझ्नुपर्ने, देशमा काम होइन, नकाम धेरै भएको छ । घाम लाग्दा धूलो–धूवाँ, पानी पर्दा हिलाम्मे हुने काठमाडौं सधैंझैं रोइरहेकै छ । देश डोजर क्रान्तिले बेहाल छ । दुनियाँले दुईतिहाइ आयो, अब सरकारले काम गर्छ भनेर धेरै आश गरेका थिए । तर जिम्मेवार हुनु त परै जाओस्, दुईतिहाइको संख्या सुनाउँदै सत्ताधारीहरू अरिंगाल मुद्रामा प्रस्तुत भइरहेका छन् । फेरि दोष कसलाई लगाउनु ? अरिंगाल हुनू भन्ने प्रेरणा अन्त कतैबाट होइन, स्वयं ओलीबाटै पाएका हुन् । उनले त भन्नुपर्थ्यो, ‘जनताले विश्वास गरेर मत दिएका हुन्, त्यो विश्वास म तोड्दिनँ ।


अरूले पनि नतोड्नू ।’ भन्नुपर्थ्यो, ‘साथीहरू, यो लोकतन्त्र हो । सत्तामा बसेपछि आलोचना हुन्छ । जनता आलोचना गर्न स्वतन्त्र छन्, किनभने नागरिक स्वतन्त्रता लोकतन्त्रको प्राण हो । आलोचना भनेको त सरकारलाई सच्चिनु भनेर दिएको सूचना हो । आलोचकहरू मित्र हुन् र चाकडीबाज शत्रु । चाकडीबाजबाट म पनि सतर्क रहन्छु, तपाईंहरू पनि रहनू ।’


तर आएदेखि नै सिकाए उल्टो । फलस्वरूप, जनतामा सरकारबारे नकारात्मक प्रभाव पर्दै गयो । आलोचकप्रति आक्रामक, प्रतिपक्षप्रति द्वेषभाव राखेपछि आफ्ना कमी–कमजोरी आफूले देखिँदैन । शुद्ध छु, म आफै प्रबुद्ध छु भन्ने लाग्न थाल्छ ।


त्यस्तो नहोओस् भनेरै लोकतन्त्रमा स्वतन्त्र प्रेस अनिवार्य हुन्छ । प्रतिपक्ष राज्यको आवश्यक अंग हुन्छ । तर दुईतिहाइको मदमा आलोचक वैरी र प्रतिपक्ष नाथे भए । फलस्वरूप दलालहरू प्रिय भए । चाकडीबाजहरूले आफ्नो दुनो सोझ्याउन ओलीका मुखबाट जे निस्क्यो, त्यसैमा ताली बजाउँदै गए । तालीको आवाज धेरै सुनेपछि कान बहिरा हुन्छन् । सुखसयल धेरै गर्दा शरीर बेकामे हुन्छ ।


कालो सिसा चढाएर यात्रा गर्न थालेपछि आँखामा पट्टी बाँधिएसरह हुन्छ । तालीले कान थुनिएपछि, आँखामा पट्टी बाँधिएपछि र शरीर निष्क्रिय भएपछि धृतराष्ट्र भाव विकसित हुँदै जान्छ । बरु धृतराष्ट्र कान सुन्थे ! यहाँ त सत्ताधारीहरू कान पनि नसुन्ने भइसकेका छन् ।


मन्त्रीहरूले प्रधानमन्त्रीलाई गुमराह पारे । सचिवले मन्त्रीलाई ढाँटे । मन्त्रीले संसद्लाई ढाँटे । प्रधानमन्त्रीलाई थाहै नदिई दूतावासको पत्रले पूरा नेपाल परिक्रमा गर्‍यो, तब बल्ल प्रधानमन्त्रीले थाहा पाए ।


थाहा पाए प्रधानमन्त्रीले, त्यो पनि सञ्चार माध्यममा छ्यापछ्याप्ती भएपछि । अब आफै विचार गर्नु प्रधानमन्त्रीले, प्रेस यदि स्वतन्त्र हुँदैन थियो भने के हुन्थ्यो ? उनी थाङ्नामा सुतेका सुत्यै हुन्थे । मन्त्रीहरूले गुमराहमा राखिरहन्थे । प्रधानमन्त्री यथार्थ विपरीत, तथ्य विपरीत बोलिरहन्थे । हास्यपात्र बनिरहन्थे ।


प्रधानमन्त्रीसामु पत्र सम्बन्धी सत्य आज छर्लंग भएको छ र यो नागरिक स्वतन्त्रताकै प्रभाव हो । मेलम्ची प्रगतिबारे प्रधानमन्त्री गुमराहमा रहे । काठमाडौंको धूलो–धूवाँबारे गुमराहमा रहे । गुठी विधेयकबारे प्रधानमन्त्रीसँग तथ्यगत जानकारी थिएन । यस्तै यावत् अरू धेरै प्रकरणमा प्रधानमन्त्री अन्धकारमा रहे । देखाए कसले ? मन्त्रीले, चम्चा चाकडीबाजहरूले कि स्वतन्त्रचेता अभिव्यक्तिका स्रोतहरूले ?


देखाए स्वतन्त्रचेता अभिव्यक्तिका स्रोतहरूले । गल्ती देखियो । सच्चिन मौका पाइयो । प्रधानमन्त्रीले अब मनन गर्नु । गल्ती कसको ? स्वयं प्रधानमन्त्रीको । किनभने यो व्यवस्थाका कार्यकारी प्रमुख प्रधानमन्त्री नै हुन् । राज्य प्रशासन चुस्त–दुरुस्त छैन, जिम्मा कसको ? सरकारको । सरकार प्रमुख को ? प्रधानमन्त्री ।


गल्ती, भ्रम, गुमराह, अनभिज्ञता वास्तवमा दम्भको सिरानी हालेर सुतेको नतिजा हो । सार्वजनिक समारोहमा फरक सोफामा बस्ने मोहको परिणाम हो । सरकार गैरजिम्मेवार किन भयो ? यो दोष कसको ? स्वयं प्रधानमन्त्रीको ।

प्रकाशित : असार २७, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?