वाग्मतीको अर्थ–राजनीति

डेटलाइन तराई
चन्द्रकिशोर

काठमाडौँ — संस्कृतिनिष्ठ भारतीय राजनीतिज्ञ राममनोहर लोहिया आफ्नो देशको दक्षिणी भूगोलको यात्रामा थिए । नदी, पहाड र जंगललाई असाध्य माया गर्ने उनी त्यस क्षेत्रको कुनै नदीमा नुहाउने तरखर गर्दैगर्दा माझीले सोधे, ‘तपाईं कुन नदी किनारको ?’ लोहिया एक छिन सोचमग्न भएपछि बोले, ‘म त सरयूपुत्र हुँ ।’ माझीले फेरि सोधे, ‘त्यसो भए तपाईं राजा रामचन्द्रको गाउँको ?’

लोहिया मुस्कुराए । लोहिया आफ्नो कुन चाहिँ चिनारी मन पराउँथे, त्यो त अनुमान मात्रै गर्न सकिन्छ, यति चाहिँ भन्न सकिन्छ— उनले नदीसँग जोडिएको चिनारीलाई भने आजीवन बिर्सेनन् ।

व्यक्तिको परिचय कतिपय सन्दर्भमा नदी आधारित हुन्छ । प्र्रत्येक व्यक्ति र उसको मूल समाज कुनै विशिष्ट भूगोलको अभिव्यक्ति नै हुन्छ । थातथलो प्रकट हुने भूगोल नै प्रथम पहिचान हुन्छ । यस मेसोबाट हेर्दा काठमाडौं उपत्यकालाई चिनारी दिने वाग्मती सभ्यता नदी आधारित नै हो, जसले मधेसलाई समेत जोड्छ । मधेसका वाग्मती छेउछाउका बासिन्दा उपत्यकाका जस्तै ‘वाग्मतीका सन्तान’ हुन् । भयो के भने, राज्यको विगतको चरित्रले गर्दा वाग्मती नदी भन्नेबित्तिकै काठमाडौं खाल्डोमा सीमित उसको स्वरूप र सम्पदाको विम्ब मुखर भयो ।

मधेस झरेपछि वाग्मती नदीले नुनथरदेखि दक्षिणी सिमानाको ब्रह्मपुरी गाउँसम्म फैलिएर सर्लाही र रौतहटलाई छुट्याउँछ । कर्मैया ब्यारेजबाट फुत्किएपछि बचेको वाग्मतीको स्थिति त्यस्तो इमानदार मान्छेको जस्तो छ, जो समाजको अव्यवस्थित तप्कासँग जुझेर थाकिसकेको छ र यतिखेर कसैको पनि नभएर चुपचाप दक्षिणमुखी हुन चाहन्छ । वाग्मतीलाई मधेसमा कसैले
आफ्नो मान्दैनन् ? फगत दोहन गर्न मात्रै चाहन्छन् ? यसो हो भने, यसलाई जनसामान्यले ‘आमा’ भनेर अझै पुज्ने र पुकार्ने कारण के हो ? कसरी एउटा सभ्यता, संस्कृति, एउटा जीवनरेखा केवल एउटा नदीमा रूपान्तरित भयो ? आखिर नदी संस्कृति भनेको पुर्खाहरूले युगयुगदेखिजम्मा गरेको मह हो !

कुरा यही टुंगिँदैन । वाग्मती भारतीय भू–भाग भएर पनि बग्छ । सन् १९७५–७७ मा बिहारको ढेङ वरिपरिदेखि रुनी सैदपुरसम्म तटबन्ध निर्माण गरियो, जसका कारण लामो समयसम्म रौतहटको सदरमुकाम गौरवरपरका तथा सर्लाहीका विभिन्न गाउँ वर्षेनि डुबानमा पर्दै गए । यतिखेर फेरि तटबन्ध अग्लो गर्नुपर्ने योजना उतातिर प्रस्तावित छ । तर्क छ, नदीको सतह अग्लिँदै गएकाले तटबन्ध अग्ल्याउनु आवश्यक छ । काठमाडौं र बिहार (भारत) बीच मधेसमा रहेको वाग्मतीको आफ्नै कथा र व्यथा छ, जुन सधैं ओझेल पर्ने गरेको छ । बाढी आउँदा यहाँको सरोकारले चर्चा पाए पनि बिस्तारै सेलाउँछ ।

संघीय राजधानी र दक्षिणी सीमा जोड्ने एउटै नदी हो, वाग्मती । तर यसबारे केवल काठमाडौंकेन्द्रित बहस चल्छ । यसमा उनीहरूको मात्र दृष्टिदोष छैन । समथरका वाग्मतीका बासिन्दाले पनि नदीलाई केवल बालुवा व्यापार होइन, जीवनको आधारका रूपमा स्विकार्नुपर्छ । भारतको सहयोगमा वाग्मतीका दुइटै किनारमा तटबन्ध बनिसकेका छन्, तर पनि त्यस क्षेत्रका बासिन्दा बाढीबाट सुरक्षित छैनन् । भनिन्छ, तटबन्ध गलामा बाँधिएको त्यस्तो सर्प हो जसले नटोक्दा पनि आतंक यथावत् रहन्छ । अरू केही नभए पनि जहिल्यै फुंकार त सहनैपर्छ ! दुई वर्षपहिला नै तटबन्ध भत्किएर सर्लाही र रौतहटवासीले ठूलो क्षति बेहोर्नुपरेको थियो ।

तटबन्ध बन्नुपूर्व यस क्षेत्रको सामाजिक–आर्थिक अवस्था कस्तो थियो ? समुदायको जीवनमा नदी कति समीपमा थियो ? नदी माथिको निर्भरता कति थियो ? तटबन्ध निर्माण भइसकेपछि वाग्मतीका बासिन्दाको जीवनमा कस्तो परिवर्तन आयो ? तटबन्ध भित्रका क्षेत्रमा बालुवा कति जमेको छ भनी अध्ययन भइरहेको छ ? तटबन्धको परिधिभित्र चञ्चला वाग्मती कत्तिको स्थिर धारामा बगिरहेको छ ? वाग्मतीमा बन्दै गरेका चार पुलको भविष्य कहाँ अड्किएको छ ? यी प्रश्नको अभिरेखांकनबाटै वर्तमानमा वाग्मतीको अर्थ–राजनीति पहिल्याउन सकिन्छ ।

तटबन्ध बनिसकेर पनि बाढीप्रभावित जनता सुस्केरा हाल्ने गर्छन्, ‘काहे रे नदिया तू बौरानी !’ यता तटबन्ध भत्किनु भनेको मूलतः भ्रष्टाचार, सरकारी अदूरदर्शिता र लापरबाहीको नतिजा हो । पटक–पटकको बाढीबाट बेवास्ता र लाचारीको उही गल्ती दोहोर्‍याउन अभ्यस्त राज्यसँग फेरि अर्को विपद्बाट पाठ सिक्ने सुविधा छैन । पछिल्लो चैत १७ गते आएको ‘बारा चक्रवात’ अहिलेका लागि ‘केस स्टडी’ हुन सक्थ्यो । स्थानीय तहमा उपलब्ध सूचनाको उचित विश्लेषण गरिनुपर्थ्यो, तर बाढी नियन्त्रणलाई लिएर खासै कुनै विमर्श देखिँदैन ।

‘वाग्मती की सद्गती’ पुस्तकका भारतीय लेखक डा. दिनेशकुमार मिश्र भन्छन्, ‘तटबन्ध भत्कनु एउटा शाश्वत सत्य हो । बनेपछि भत्कन्छ अवश्य, तर सवाल के हो भने कहिले र कहाँ भत्कन्छ ? कहिलेकाहीं जनता स्वयंले पनि बाढीको कहरबाट जोगिन बाँध भत्काउँछन् ।’

कतिपय ठाउँमा पानीको प्रवाह रोक्ने भौतिक संरचना नै डुबानको मुख्य कारण बन्दै आएको छ । पानी बग्न नपाएर जमेको ठाउँमा सानै बाढी आउँदा पनि ठूलो क्षति हुने गर्छ । भूगोल र आवागमनको हिसाबले सुगम मानिने ठाउँमा कैयौं टापु जस्तो क्षेत्र बन्छन् । डेढ दशकमा ‘ज्यादती’ को तहमा पुगेको वन विनाश र ढुङ्गा, गिट्ट्री, बालुवा उत्खननले चुरे र भावरको पानी सोस्ने क्षमतामा ठूलो ह्रास आएकाले वर्षातको सबै पानी दक्षिणतिर बग्ने गरेको छ ।

वर्षौंको बाढी, डुबान, कटान र विस्थापनका कारण रौतहट–सर्लाहीको समथर भूभाग अझै ओभाइसकेको छैन । मानव विकास सूचकांकमा यी जिल्ला पछाडि पर्नुको मुख्य कारण यो पनि हो ।

पछिल्लो समयमा पालिकाहरूले आ–आफ्ना क्षेत्रका नदी भू–भागमा आफूखुसी उत्खनन गर्ने छुट दिएका छन् । नदीभित्र ठूलठूला खाल्डा बनेका छन् । बालुवा झिक्नुले नयाँ रोजगार र अर्थतन्त्र जन्माएको छ । माथिल्लो र तल्लो जलाधार क्षेत्र तथा वारिपारिका उपभोक्तामा अंकुरित किचलो स्थानविशेष अनुसार फरक छन् ।

जल विज्ञानका दृष्टिले वाग्मती जलाधार प्रणाली ज्यादै जटिल छ । भूमिगत र सतहको पानी, जोडिन आएका सहायक खोला तथा नदीको पानीले गर्दासमेत नदीको औसत अवस्थामा जलसतह मोटो हुँदैन । वाग्मती क्षेत्रको भूमिगत जल प्रणाली गंगा बेसिनको विशाल भूमिगत जल प्रणालीको एउटा अंगका रूपमा क्रियाशील छ । कुलेखानीको पानी कुनै समय वाग्मतीमा मिसिन्थ्यो । जलविद्युत् परियोजना आएपछि त्यो पूर्वी राप्तीमा छिर्‍यो । यो थाहा पाएका समथरका वाग्मतीका बासिन्दाहरू भन्छन्, ‘कुलेखानीको बिजुलीमा हाम्रो पनि हिस्सा छ ।’

वाग्मतीका बासिन्दाहरूले परम्पराका रूपमा जोगाइआएका खोला, पोखरी, इनार, सिमसार जस्ता पानीका स्रोतहरूको अस्तित्व फेरिएको छ । सहायक नदीहरूका किनारमा खडा उद्योग र खेतीमा बढ्दो विषादी प्रयोगको मात्राले पानी प्रदूषित भइरहेको छ । प्र्रदूषणको मात्रा बढेपछि विगतमा झैं साउन–भदौतिर माछाको बाढी ‘अवार’ आउन छोड्यो । काठमाडौंबाट बग्दै आएको प्रदूषित पानी प्राकृतिक रूपमा केकति प्रशोधित हुन पाउँछन् ? यसको कुनै लेखाजोखा छैन ।

तटबन्धले गर्दा त्यसभित्र निर्माण भएको सुक्खा जग्गाको उपयोग हुन सकेको छैन । नदीले स्थापित गरेको प्राकृतिक, सामाजिक र वातावरणीय सन्तुलन खलबलिएको छ । जल भण्डार र नदीजन्य पदार्थको अपुरणीय दोहन र स्र्रोतमाथिको अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएकाले अर्थतन्त्र र समाजको अवस्था डगमगाउन थालेको छ ।

विगतमा समुदायमा परम्परागत सिंचाइ प्रणाली थियो । सर्लाही र रौतहटको बृहत् सिंचाइका लागि वाग्मती सिंचाइ आयोजना ‘सेतो हात्ती’ भएको छ । नदीसँग टाढिँदै गएको समुदायलाई राज्यले पनि यो त ‘जीवन’ हो भनेर अर्थ्याउन सकेको छैन । उता भारतपट्टि तटबन्ध अग्लो गरिँदा त्यसको सीमाञ्चलमा के प्रभाव पर्छ ? ‘भारत रिसाउँछ कि ?’ भनेर यस क्षेत्रका राजनीतिकर्मीहरू बोल्दैनन् । काठमाडौंलाई झन् मतलब छैन । आफ्नो नदी र त्यससँग जोडिएको संस्कृतिबारे बेखबर राजनीतिकर्मीहरूको बाहुल्य भएका बेला नदी र बाढी दुइटै आर्जनका अवसर भएका छन् ।

जबकि जमिन, जनशक्ति र जलभण्डार यस क्षेत्रको समृद्धिको आधार हो । संघीय प्रणालीमा नदी स्रोतको बाँडफाँड, वितरण र स्वामित्वको पहुँचका लागि संवादमा भएको ढिलाइले द्वन्द्व चर्किने स्थिति छ ।
datelineterai@gmail.com

प्रकाशित : असार २६, २०७६ ०८:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हातहातमा स्यानिटरी प्याड

अम्बिका गैह्रे

काठमाडौँ — हरेक महिला आफ्नो जीवनकालमा करिब ६.२५ वर्ष महिनावारीसँग जुध्ने गर्छन् । विश्व अभ्यासलाई हेर्दा एक महिलाले सरदर १५,००० वटा स्यानिटरी प्याड प्रयोग गर्ने तथ्यांक देखिन्छ ।

नेपालका सहरी महिलामा स्यानिटरी प्याड प्रयोगको आँकडा राम्रै हुनुपर्छ । बाहिर निस्कनु नपर्ने सहरी महिलाले भने घरायसी सामग्री नै प्रयोग गरेको पाइन्छ । गाउँघरमा प्याड प्रयोग गर्ने चलन त्यति छैन, जानकारी भए पनि प्याड किन्ने खर्च जुटाउन गाह्रो छ । जीवन धान्न दुई छाक जोहो गर्न धौधौ पर्ने हाम्रा धुलाम्मे जीवनहरूमा महिनावारीको रगतको के कुरा ! धूलोसँगै मिल्छ ।

उनीहरूका लागि महिनावारी स्वास्थ्य र सुरक्षा प्राथमिकतामा पर्दैपर्दैन । आर्थिक रूपमा समस्या नहुनेहरूले पनि परम्परागत कपडाले हुने ठाउँमा प्याड फजुल खर्च जस्तो बनिदिन्छ । प्याडमा खर्च गर्ने पैसाले छोराछोरी वा परिवारका अन्य आवश्यकता पूरा हुन्छन् । तर गम्भीर रोग निम्तिनुमा महिनावारीमा प्रयोग गरेकै फोहोर र घाममा नसुकाइएको कपडाको असर पनि हुन सक्छ भनी तिनलाई हेक्कै हुँदैन ।

महिनावारीका कारण धेरै छात्राले विद्यालय छाड्नुपरेको समस्यालाई ख्याल गर्दै सरकारले सबै विद्यालयमा निःशुल्क स्यानिटरी प्याड कार्यक्रम अगाडि सारेको छ । तर नेपालमा उपलब्ध, आयातित वा स्वदेशी उत्पादन, स्यानिटरी प्याड कति सुरक्षित होलान् ? जवाफ कसैसँग छैन ।

नेपालमा पाइने स्यानिटरी प्याडको गुणस्तर कस्तो छ ? सुरक्षित महिनावारीको कल्पनामा एउटी छात्राले मक्ख पर्दै प्रयोग गर्ने प्याडले उसको स्वास्थ्य थप जटिल बनाउँदैन भनेर ढुक्क हुने अवस्था छ त ? अबको बहस स्यानिटरी प्याडको गुणस्तर तथा प्रयोग गरी फालिएका प्याडले वातावरणमा पार्ने असरतिर मोडिनु अत्यावश्यक छ ।

नेपालमा भारतसहित चीन, जापान, सिंगापुर लगायतबाट प्याडको आयात हुन्छ । स्वदेशी उत्पादन पनि उल्लेख्य छ । नेपालमा प्याड उत्पादन गर्न आवश्यक कच्चा पदार्थमा भन्दा तयारी प्याडमा भन्सार थोरै हुँदा नेपाली उत्पादनले भारतीयसँग प्रतिस्पर्धा गर्न नसकेको व्यवसायीको गुनासो छ । तर प्याडमा प्रचारमा देखाइए जस्तो नभएर कटनबाहेक सिन्थेटिक फाइबर, नाइलन, प्लास्टिक, सेलुलोज जेल राखिएका हुन्छन् । यी सेतो नहुने हुँदा सेतो पार्न गरिने ब्लिचिङका क्रममा निस्कने डाइअक्जिन तथा सोस्ने क्षमता बढाउन प्रयोग गरिने जेलले महिलाको पाठेघरको मुखमा क्यान्सर तथा बाँझोपन ल्याउन सक्छन् ।

अचेल महिलाहरूमा पाठेघर सम्बन्धी क्यान्सरको समस्या निकै बढ्दो छ । यसको एउटा कारण असुरक्षित स्यानिटरी प्याडको प्रयोग पनि हो । प्लास्टिसाइजिङ रसायनहरूले मुटुरोग र क्यान्सर तथा भ्रूण नष्ट गर्ने समस्या निम्त्याउन सक्छन्, मधुमेह र थाइराइड समेत हुनसक्छ । दुर्गन्ध हटाउन तथा बास्नादार बनाउन प्रयोग हुने रसायनहरू स्वास्थ्यका लागि निकै हानिकारक हुन्छन्, रसायनले गर्भ नै नरहने समस्या उब्जाउँछ । समय–समयमा प्याड परिवर्तन नगर्ने तथा ६ घण्टाभन्दा बढी एउटै प्याड प्रयोग गरेमा ब्याक्टेरियाको संक्रमण हुन सक्छ । फोहोर संकलन गर्ने र छुट्याउने कर्मचारीको स्वास्थ्यमा पनि असर पर्न सक्छ ।

विशेष किसिमको मेसिनले बाहेक सामान्य तरिकाले जलाउन नसकिने, पानीको स्रोतमा पुगे पानी बन्द गर्ने, ढलनिकास बन्द गर्ने तथा माटामा ५०० देखि ८०० वर्षसम्म पनि नकुहिने हुँदा प्याडले जमिन प्रदूषण गर्छ ।

नेपालमा लगभग ९० प्रतिशत प्याडको मागलाई आयातले धानेको छ । आयात गर्दा महिलाको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता प्याडको गुणस्तर हेरिँदैन । स्वास्थ्यमा पार्न सक्ने प्रतिकूल असर र संवेदनशीलतालाई गौण रूपमा नलिई अरू सामानसरह आयात गर्ने प्रचलन छ । स्वदेशी उत्पादनमा पनि अन्य उद्योगसरह दर्ता गरिदिँदा काम सकिन्छ । स्वदेशी उद्योगलाई त झन् टेलिभिजनका विज्ञापनका आधारमा चर्चा कमाएका विदेशी कथित ब्रान्डले उँभो लाग्न दिएका छैनन् ।

त्यो कथित ब्रान्डभित्रको सामानको गुणस्तर भने कसैलाई थाहा हुँदैन । नेपालमा स्यानिटरी प्याडको गुणस्तर के हुनुपर्ने र कसरी हेर्ने भन्ने राष्ट्रिय मापदण्ड छैन । प्याडको गुणस्तरमा ध्यान नदिई रगत सोस्ने हिसाबले मात्रै लिइँदा स्वास्थ्यका दृष्टिले परम्परागत कपडाभन्दा केही फरक नहोला, तर खर्च भने बढाउँछ ।

अहिले संसारभर स्यानिटरी प्याडबाट महिलाको स्वास्थ्मा हुन सक्ने तथा वातावरणमा पार्न सक्ने असर न्यूनीकरणबारे अध्ययन–अनुसन्धान र नयाँ प्रविधिको विकास भइरहेको छ । विकल्प खोजिन थालेका छन् । नेपालमा पनि प्याडको सट्टा मेन्सुरल कपको प्रविधि भित्रिइसकेको छ । तर पनि नेपाली महिलाहरूमा प्याडकै पहुँच छैन । प्याड सस्तो, गुणस्तरीय र सर्वसुलभ हुनु जरुरी छ ।

नेपालमा व्यक्तिगत प्रयोगबाहेक स्यानिटरी प्याडको ठूलो बजार हस्पिटल सप्लाईको छ । कसरी सस्तोमा सप्लाइ गर्ने भन्ने होडबाजीले गर्दा गुणस्तर गौण बनेको छ । कुनै पनि सामग्रीको बजार सस्तो हुनु राम्रो हो, तर गुणस्तरसँग सम्झौता गर्नु पक्कै राम्रो होइन ।

हाम्रा गाउँ–गाउँमा कपडाबाट पुनः प्रयोग गर्न सकिने प्याड उत्पादन गर्ने तालिम धमाधम सञ्चालन भइरहेका छन् । प्याड घरमै बनाउँदा सहज र सस्तो पर्ने हुँदा सबैको पहुँचमा पुर्‍याउन सकिन्छ र यो वातावरणीय दृष्टिले केही सुरक्षित पनि छ । प्रयोग गरिने कपडाको गुणस्तर तथा प्रयोगमा सरसफाइको अवस्थामा भने विशेष ध्यान पुर्‍याइनुपर्छ ।

नेपालमा वातावरणमैत्री जैविक प्याडको उत्पादन पनि छ । प्रयोगकर्तालाई त्यस्तो प्याडबारे थाहा छैन । सामान राम्रो र नराम्रो छुट्याउने त्यसको गुणस्तरले हो । हाम्रा प्रयोगकर्तालाई गुणस्तरका आधारमा छनोटको सुविधाछैन, किनकि यसबारे कहीँ कसैको ध्यान पुग्नसकेको छैन ।

तसर्थ सरकारले नै गुणस्तर संस्कृतिलाई गम्भीरताका साथ लिनुपर्छ । गुणस्तर मापदण्ड र नियमनकारी निकाय तोकी गुणस्तर परीक्षणपछि मात्र आयात गर्नुपर्छ । स्वदेशी उत्पादनको हकमा पनि परीक्षणको व्यवस्था गरी स्यानिटरी प्याडको प्रयोगबाट महिलाको स्वास्थ्य र सुरक्षामा पर्न जाने असर घटाउन तुरुन्त पहल गरिनुपर्छ ।

लेखक नेपाल गुणस्तर तथानापतौल विभागकी केमिस्ट हुन् ।

प्रकाशित : असार २६, २०७६ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×