१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हुड्केलीलाई होस्टे हैंसे

सम्पादकीय

स्मृतिबिना न संस्कृति रहन्छ न सभ्यता र अभ्यासबिना स्मृति अडिन्न । सुदूरपश्चिम र कर्णाली क्षेत्रको लोकप्रिय संस्कृति ‘हुड्केली नृत्य’ अहिले यस्तै अनुशीलनको खोजीमा छ । एउटा भव्य संस्कृतिको पुस्ता हस्तान्तरणमा संकट नपरोस् भनेर केही गैरसरकारी प्रयास हुन थालेका छन् ।

हुड्केलीलाई होस्टे हैंसे

यसको संरक्षण, बजारीकरण र प्रचार–प्रसारमा जुटेको कर्णाली आर्ट सेन्टरको प्रयास प्रशंसनीय छ । यसका अभियन्ता हिरा बिजुलीले संघीय राजधानी काठमाडौंमा बुधबार तीनदिने हुड्केली कार्यशाला सके । कार्यशालाका सहभागीलाई हुड्के बाजा र ‘हुड्केली नृत्य’ सिकाए । यसको परिचय, नृत्य, ताल, कथावाचन शैली, वेशभूषा र महत्त्वबारे जानकारी गराए । आफैंले हुड्केली नृत्यको अगुवाइ गरे ।


संगीत, हुर्को र नृत्यको संयोजनसहित हुने यो नृत्य सुदूरपश्चिम र कर्णालीको मौलिक संस्कृति हो । परम्परागत रूपमा उक्त भेगको मनोरञ्जनको महत्त्वपूर्ण माध्यम । अचेल पहिलेजति व्यापक छैन । डमरुजस्तै बाजा हुड्के बजाउँदै कथा या सन्देश भन्ने यो परम्परा समाजबाट बिस्तारै हराउँदै छ । लोकजीवनको प्रतीकका रूपमा रहेको बाजा गाउँठाउँमै बिरानो बन्दै छ । नयाँ पुस्तामा सीपसहित हस्तान्तरण हुन सकेको छैन ।


नाचकै क्रममा खस भाषामा कथा भन्ने उत्कृष्ट शैली हो– हुड्केली । एकजना मुख्य मान्छेले हुड्के बजाउँदै गीत गाउँछ । उसले टाउकामा सेतो फेटा, रातो ध्वजा अनि झाँक्रीले लगाउने जामाजस्तै सेतो पहिरन लगाएको हुन्छ । कम्मरमा पटुका, छातीमा क्रस माला लगाएर हुड्के बजाउँछ । अरू पाँच–दस जनाले पछाडिबाट उसलाई सहयोग गर्छन्, टुक्काहरू जोडिदिन्छन् । यो नृत्य आक्रामक किसिमको हुन्छ, पूरै हेर्नलायक । दर्शकहरूलाई पट्यार नलाग्ने खालको । हुड्केली नृत्य खुसी र दुःख दुवैमा नाचिन्छ । उहिले यसमा इतिहासको कथा भनिन्थ्यो । राजा–महाराजाहरूको विजय गाथा, हर्षबढाइँका कथा गाइन्थ्यो ।


अचेल प्रेमकथा, कर्णाली पीडा, लोककथा, परिवेश र रहनसहनबारे बताइन्छ । विजयोत्सव, जात्रा, मेला या अन्य रमाइला सांस्कृतिक उत्सवहरूमा यो नृत्य नाचिन्छ । संगीतको ताल खुसीका बेला तीव्र हुन्छ, ध्वनि उमंगमय सुनिन्छ । शोकमा ताल बिस्तारै धिमा भएर जान्छ । उत्सवहरूमा रातभरि हुड्के बजाइन्छ । संस्कृति जोगाउनकै लागि केही समूहले देउसीभैलोमा समेत हुड्के नाच्ने गरेका छन् । पछिल्लो समय चुनावमा पनि हुड्के नाच्न थालिएको छ ।


बाह्य प्रभाव रैथाने संगीत र संस्कृतिमा प्रत्यक्ष पर्ने गरेको छ । विशेष गरी युवा पुस्तामा पुराना सांस्कृतिक पुँजी हस्तान्तरण अहम्पूर्ण चुनौती छ । सूचना प्रविधिको विकासले झन् स्थानीय मौलिकता खियाइदिएको छ । हुड्केलीजस्ता हाम्रा निधिलाई समाज र समयसँग जोड्दै नयाँ पुस्तामा ज्ञान र शिल्प सार्ने कसरी ?


यसको संरक्षण मात्र होइन, प्रवर्द्धन गर्नसके व्यवसायीकरण पनि सम्भव छ । अहिलेसम्म दलित समुदायले मात्र यस संस्कृतिलाई निरन्तरता दिइरहेको छ । त्यसो त उक्त भेगको नृत्य तथा संगीत संस्कृति लगभग दलित समुदायले नै धानेका छन् । राज्यका निकायहरूको ध्यान यसतर्फ पुगेको छैन । सांस्कृतिक प्रवर्द्धनका लागि आवश्यक नीति पहल गर्न सकेको छैन । व्यापारिक स्वार्थले ओतप्रोत नीतिहरूमा मात्र राज्यको चाख बढ्न थालेका बेला हुड्केलीको चर्चा आफैंमा एकान्तको मुरली बाजा हुन सक्छ ।


हामीले झकझक्याउन छाड्नु हुँदैन– स्थानीय सरकारको एउटा दायित्व हो, रैथाने संस्कृतिको जगेर्ना गर्नु । यसका लागि उनीहरूले विद्यालय तहमा यसबारे सिकाउन सक्छन् । संस्कृति संरक्षण र पुस्ता हस्तान्तरण दुवैका लागि यसको खाँचो छ । हाम्रा कक्षाहरूमा संसारका कहाँ–कहाँको पढाइ हुन्छ, आफ्नै गाउँठाउँको संस्कृति किन नसिकाउने ? राज्यले संस्कृति संरक्षणका उपाय अपनाउनुपर्छ– स्थानीयस्तरमा सांस्कृतिक केन्द्र खोलेर, मेलाहरू गरेर, सिकाइ केन्द्रहरू चलाएर ।


प्रकाशित : असार २०, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?