हुड्केलीलाई होस्टे हैंसे

सम्पादकीय

स्मृतिबिना न संस्कृति रहन्छ न सभ्यता र अभ्यासबिना स्मृति अडिन्न । सुदूरपश्चिम र कर्णाली क्षेत्रको लोकप्रिय संस्कृति ‘हुड्केली नृत्य’ अहिले यस्तै अनुशीलनको खोजीमा छ । एउटा भव्य संस्कृतिको पुस्ता हस्तान्तरणमा संकट नपरोस् भनेर केही गैरसरकारी प्रयास हुन थालेका छन् ।

यसको संरक्षण, बजारीकरण र प्रचार–प्रसारमा जुटेको कर्णाली आर्ट सेन्टरको प्रयास प्रशंसनीय छ । यसका अभियन्ता हिरा बिजुलीले संघीय राजधानी काठमाडौंमा बुधबार तीनदिने हुड्केली कार्यशाला सके । कार्यशालाका सहभागीलाई हुड्के बाजा र ‘हुड्केली नृत्य’ सिकाए । यसको परिचय, नृत्य, ताल, कथावाचन शैली, वेशभूषा र महत्त्वबारे जानकारी गराए । आफैंले हुड्केली नृत्यको अगुवाइ गरे ।


संगीत, हुर्को र नृत्यको संयोजनसहित हुने यो नृत्य सुदूरपश्चिम र कर्णालीको मौलिक संस्कृति हो । परम्परागत रूपमा उक्त भेगको मनोरञ्जनको महत्त्वपूर्ण माध्यम । अचेल पहिलेजति व्यापक छैन । डमरुजस्तै बाजा हुड्के बजाउँदै कथा या सन्देश भन्ने यो परम्परा समाजबाट बिस्तारै हराउँदै छ । लोकजीवनको प्रतीकका रूपमा रहेको बाजा गाउँठाउँमै बिरानो बन्दै छ । नयाँ पुस्तामा सीपसहित हस्तान्तरण हुन सकेको छैन ।


नाचकै क्रममा खस भाषामा कथा भन्ने उत्कृष्ट शैली हो– हुड्केली । एकजना मुख्य मान्छेले हुड्के बजाउँदै गीत गाउँछ । उसले टाउकामा सेतो फेटा, रातो ध्वजा अनि झाँक्रीले लगाउने जामाजस्तै सेतो पहिरन लगाएको हुन्छ । कम्मरमा पटुका, छातीमा क्रस माला लगाएर हुड्के बजाउँछ । अरू पाँच–दस जनाले पछाडिबाट उसलाई सहयोग गर्छन्, टुक्काहरू जोडिदिन्छन् । यो नृत्य आक्रामक किसिमको हुन्छ, पूरै हेर्नलायक । दर्शकहरूलाई पट्यार नलाग्ने खालको । हुड्केली नृत्य खुसी र दुःख दुवैमा नाचिन्छ । उहिले यसमा इतिहासको कथा भनिन्थ्यो । राजा–महाराजाहरूको विजय गाथा, हर्षबढाइँका कथा गाइन्थ्यो ।


अचेल प्रेमकथा, कर्णाली पीडा, लोककथा, परिवेश र रहनसहनबारे बताइन्छ । विजयोत्सव, जात्रा, मेला या अन्य रमाइला सांस्कृतिक उत्सवहरूमा यो नृत्य नाचिन्छ । संगीतको ताल खुसीका बेला तीव्र हुन्छ, ध्वनि उमंगमय सुनिन्छ । शोकमा ताल बिस्तारै धिमा भएर जान्छ । उत्सवहरूमा रातभरि हुड्के बजाइन्छ । संस्कृति जोगाउनकै लागि केही समूहले देउसीभैलोमा समेत हुड्के नाच्ने गरेका छन् । पछिल्लो समय चुनावमा पनि हुड्के नाच्न थालिएको छ ।


बाह्य प्रभाव रैथाने संगीत र संस्कृतिमा प्रत्यक्ष पर्ने गरेको छ । विशेष गरी युवा पुस्तामा पुराना सांस्कृतिक पुँजी हस्तान्तरण अहम्पूर्ण चुनौती छ । सूचना प्रविधिको विकासले झन् स्थानीय मौलिकता खियाइदिएको छ । हुड्केलीजस्ता हाम्रा निधिलाई समाज र समयसँग जोड्दै नयाँ पुस्तामा ज्ञान र शिल्प सार्ने कसरी ?


यसको संरक्षण मात्र होइन, प्रवर्द्धन गर्नसके व्यवसायीकरण पनि सम्भव छ । अहिलेसम्म दलित समुदायले मात्र यस संस्कृतिलाई निरन्तरता दिइरहेको छ । त्यसो त उक्त भेगको नृत्य तथा संगीत संस्कृति लगभग दलित समुदायले नै धानेका छन् । राज्यका निकायहरूको ध्यान यसतर्फ पुगेको छैन । सांस्कृतिक प्रवर्द्धनका लागि आवश्यक नीति पहल गर्न सकेको छैन । व्यापारिक स्वार्थले ओतप्रोत नीतिहरूमा मात्र राज्यको चाख बढ्न थालेका बेला हुड्केलीको चर्चा आफैंमा एकान्तको मुरली बाजा हुन सक्छ ।


हामीले झकझक्याउन छाड्नु हुँदैन– स्थानीय सरकारको एउटा दायित्व हो, रैथाने संस्कृतिको जगेर्ना गर्नु । यसका लागि उनीहरूले विद्यालय तहमा यसबारे सिकाउन सक्छन् । संस्कृति संरक्षण र पुस्ता हस्तान्तरण दुवैका लागि यसको खाँचो छ । हाम्रा कक्षाहरूमा संसारका कहाँ–कहाँको पढाइ हुन्छ, आफ्नै गाउँठाउँको संस्कृति किन नसिकाउने ? राज्यले संस्कृति संरक्षणका उपाय अपनाउनुपर्छ– स्थानीयस्तरमा सांस्कृतिक केन्द्र खोलेर, मेलाहरू गरेर, सिकाइ केन्द्रहरू चलाएर ।


प्रकाशित : असार २०, २०७६ ०९:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विपद् निम्त्याउने विधेयक

ध्रुव कुमार

ओली सरकारले कानुनी हैसियत प्रदान गर्न संसद्मा दर्ता गरेका सबैजसो विधेयक विवादित भएका छन्  । गुठी विधेयकले उठाएको विवाद र बबन्डरले सरकारलाई विधेयक फिर्ता लिन बाध्य गरेको छ  ।

मिडिया काउन्सिल, मानव अधिकार आयोग, नागरिकता, राहदानी लगायत सार्वजनिक सरोकारका विधेयकहरू विरुद्ध संसद्भित्र र बाहिर असुन्तष्टि पोखिएका छन् । सरकारको स्वेच्छाचारिता विरुद्ध जनस्तरमै उठेको असन्तुष्टि प्रधानमन्त्री ओलीले स्वीकारेका छैनन् । राम्रो काम गर्न खोज्दा पनि सरकारलाई असफल पार्न सक्रिय तत्त्वहरूको षडयन्त्र भइरहेकाले आफ्ना सांसदहरूलाई सचेत रहन प्रधान मन्त्री केपी शर्मा ओलीले सुझाएका छन् ।


ओलीले गर्न खोजेको राम्रो कामको शृंखलामा ‘पारमाणविक तथा रेडियो धर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि परेको छ । संसद्मा २०७५ पुस ८ मा दर्ता गरिएको यो विधेयक शिक्षा तथा स्वास्थ्य समितिमा छलफलको क्रममा रहेको छ । विधेयकप्रति सत्तापक्ष र विपक्षका सांसदहरूको राय बाझ्नुभन्दा मिल्न पुगेको छ । नेपालमा युरेनियम खानी पत्ता लागेकोले (?) त्यसको उत्खनन, प्रशोधन, ओसारपसार र बेचबिखन गर्ने व्यापारिक प्रयोजन निम्ति शक्तिशाली ऐन चाहिएको हुँदा विधेयक ल्याइएको शिक्षामन्त्रीले एकोहोरो तर्क गरेका छन् ।


मुलुकलाई समृद्धितिर अघि बढाउनुछ भने पारमाणविक भट्टी चलाउन आवश्यक छ । त्यसको नियमनका निम्ति शक्तिशाली ऐन तर्जुमा गर्न विधेयक ल्याइएको भनाइले शिक्षामन्त्रीको वैचारिक दरिद्रता पुष्टि गर्छ । नेपालमा रेडियोधर्मी पदार्थको प्रयोग चिकित्सा क्षेत्रमा न्यूनतम तवरमा क्यान्सरजस्तो घातक रोगको उपचारमा प्रयोग हुँदै आएको छ । तर अस्तित्वमै नरहेको पारमाणविक भट्टी स्थापनार्थ ल्याइएको विधेयकलाई मुलुकको समृद्धिको नारासित गाँसिएको छ । नेपाल पिछडिएको कारण यत्रतत्र सर्वत्र भ्रष्टाचार नभई पारमाणविक भट्टी सञ्चालित नहुनुले नै हो भनेझैं गरिँदैछ सायद, रेल र पानीजहाज नहुनु पनि होइन !


संसदीय समितिमा विवादबीच शिक्षामन्त्रीले राष्ट्रिय सुरक्षा सम्बर्द्धनकै निम्ति विधेयक अपरिहार्य भएको अर्को दलिल पेस गरेको पनि सुनियो । रेडियोधर्मी पदार्थ र विकिरण सम्बन्धी गतिविधिको निम्ति आणविक भट्टी सञ्चालन गर्नाले मुलुक सुरक्षित हुने तर्क कति हदसम्म औचित्यपूर्ण छ, त्यो मननयोग्य छ । यो अनुचित मात्र होइन, सर्वथा अज्ञानतावश तर सुनियोजित ढंगबाट आफ्नो अभिष्ट सिद्ध गर्न अघि सारिएको तर्क हो । यसको वास्तविकता संसद्मा प्रस्तुत विधेयकका दफाहरूले नै उघारेको छ । विधेयकका केही दफा पढ्दा नै शरीरका रौं ठाडा हुन्छन् ।


संसद्को यही अधिवेशनमा विधेयक पारित गर्न प्रयत्नशील शक्तिशाली ओली सरकारको विवेकहीनताप्रति लज्जाबोध हुन्छ । समृद्धिको सपना सजाउने विधेयकको दफा १७ (४) ले ‘युद्ध, बाह्य आक्रमण वा सशस्त्र विद्रोहका कारणले दुर्घटनाबाट उत्पन्न हुने हानि/नोक्सानीका लागि इजाजतपत्रवाला जिम्मेवार हुने छैन’ भनी किटान गरिएको छ । यो भनाइको तात्पर्य के ? के राष्ट्रिय क्षतिको जिम्मेवारीबाट आणविक भट्टी सञ्चालक वा सञ्चालनको निम्ति लाईसेन्स बेच्ने सरकार उन्मुक्त हुन मिल्छ ? यो दफाले उठाएको संवेदनशील प्रसंग आणविक भट्टी र स्वयंले निर्माण र सञ्चालन नगरी नियमनको निम्तिमात्र विधेयक ल्याउन खोजेको छ । व्यक्ति वा निजी क्षेत्रको तजबिजमा आणविक भट्टी सञ्चालनको दायित्व सुम्पी ओली सरकार ‘रेन्ट सिकिङ’ अभ्यासमा तल्लिन हुन खोज्दै छ ।


विधेयकको दफा ६ (१) ले सरकार कति हदसम्म गैरजिम्मेवार छ भनी प्रस्ट्याएको छ । उक्त दफाले ‘पारमाणविक वा रेडियोधर्मी पदार्थ र संयन्त्र सम्बन्धी क्रियाकलाप वा अभ्यास सञ्चालन गर्न चाहनेले तोकिए बमोजिमको प्राविधिक र व्यावसायिक क्षमता भएका कुनै व्यक्ति वा संस्थाले तोकिए बमोजिमको ढाँचामा त्यस्तो क्रियाकलाप वा अभ्यास गर्न चाहेको व्यहोरासहित नियमनकारी निकायले इजाजतपत्रका लागि तोकेको दस्तुर संकलन गरी नियमनकारी निकायमा निवेदन दिनु पर्नेछ’ भनी जानकारी गराएको छ ।


यस दफा अनुसार इजाजतपत्र (लाइसेन्स) लिएपछि जुनसुकै व्यक्ति, देशी होस् वा विदेशीले आणविक भट्टी सञ्चालन गरी रेडियोधर्मी वा पारमाणविक पदार्थको उत्पादन, बिक्री–वितरण तथा निकासी–पैठारीसमेत गर्न पाउनेछ । सरकारले व्यापारिक प्रयोजन निम्ति आणविक भट्टी सञ्चालन गर्न दिनु नै खतरामुक्त छैन । कतिपय राष्ट्रमा औद्योगिक फोहर व्यवस्थापन गर्नुसमेत चुनौतीपूर्ण भएको छ । पारमाणविक फोहरको व्यवस्थापन र विसर्जनको चुनौती थपिएकै छ । यो समस्या सबैले भोगेको छ । हामीकहाँ अस्पतालमा प्रयोगपछि रेडियोधर्मी पदार्थ जमिनमुनि गाड्ने चलन छ, जुन सुरक्षित छैन । ५० सौं वर्षपछि पनि विकिरणले प्रभावित गर्न सक्छ । जलवायु परिवर्तनसितै बढ्दो प्रदूषण तथा सम्भावित विकिरणको प्रकोपले जनजीवन कसरी प्रभावित हुनसक्छ भनी गम्भीर विमर्श हुनुपर्छ । सरकारको मूल उद्देश्य अनुसन्धान केन्द्र स्थापना गर्न विधेयक ल्याइएको भन्ने मन्त्रीको भनाइ पत्याउने आधार छैन ।


आणविक भट्टी सञ्चालन कार्यले माओवादी हिंसात्मक विद्रोहताका झैं प्रत्यक्ष त्रास नफैलाए पनि भट्टी चुहिएर विकिरण फैलिने हो कि भन्ने सन्तापले कम्तीमा ५ देखि १० किमिको परिधिभित्र बस्ने वरिपरिका बासिन्दा पिरोलिनुपर्ने हुन्छ । परिआएका बेला ती बासिन्दाको तत्परतासाथ आपत्कालीन उद्धार गर्ने क्षमता सरकारले लिनुपर्ने हुन्छ । आणविक भट्टी स्थापना र सञ्चालन गरिने स्थलको भौगर्भिक उपयुक्तता छ वा छैन भनी हाम्रोजस्तो भूकम्पनीय ‘फल्टलाइन’ मा परेको मुलुकमा भूगर्भविदहरूद्वारा अध्ययन गराइनुपर्छ । आणविक भट्टी सञ्चालन गर्ने लाइसेन्स बेची हुने लाभबाट तरंगित भएर त्यसबाट पर्नसक्ने जोखिमको वैज्ञानिक आधारमै सूक्ष्म आँकलन नगरी हचुवाको भरमा राजनीतिक निर्णय गर्नाले मुलुकले व्यहोर्नुपर्ने दूरगामी परिणामबाट कसैले छुट पाउने छैन ।


नेपाल सरकारले डिसेम्बर १९८४ को युनियन कार्बाइड कम्पनीमा भएको ग्यास चुहावटका कारण छिमेकी मुलुकको भोपाल सहरमा जलवायु, जीवजन्तुका साथै करिब ६ लाख मानिस प्रभावित भएको र १६ हजार भन्दा बढीको मृत्यु भएको सम्झे पुग्छ । ब्याट्री बनाउने फ्याक्ट्रीको औद्योगिक दुर्घटनाको असर आणविक भट्टी चुहावट भई विकिरण फैलिएर पर्नसक्ने प्रभावसित दाँज्न सकिँंदैन । अप्रिल १९८६ मा युक्रेनको चेर्नोबिलमा नं. ४ को आणविक भट्टी चुहावटले मच्चाएको वितण्डाले मृतकको संख्या बाहेक ६०–७० हजार मानिसलाई अन्यत्र स्थानान्तरण गराउनुपरेको थियो । चेर्नोबिल अहिले भूताहा सहरमा परिणत भएको छ ।


यही दशकको सुरुआत २०११ मा भूकम्पपछि आएको सुनामी लगत्तै जापानको फुकुसिमामा भएको आणविक भट्टी दुर्घटना हाम्रो स्मृतिमा ताजै छ । चेर्नोबिल दुर्घटना त्रुटिपूर्ण आणविक भट्टी डिजाइनको परिणाम थियो । फुकुसिमा महाभूकम्प र सुनामीको परिणति । हामीले भारतको उत्तरप्रदेशस्थित नरोरा आणविक भट्टी चुहिने जोखिम र पश्चिमी वायुको बहावसितै रेडियोधर्मी विकिरण फैलिएर पश्चिम नेपाल आक्रान्त हुने भयबाट त्राण पाउनसकेका छैनौं । शान्तिपूर्ण प्रयोगका लागि आणविक भट्टी सञ्चालनको लाइसेन्स बेच्नुअघि त्यसबाट पर्नसक्ने जोखिम मोल्न राष्ट्र सक्षम छ वा छैन, पहिले त्यसकै निर्क्योल गरिनुपर्छ ।


प्राकृतिक विवद् व्यवस्थापन कार्यमा समेत अलमल, असक्षम तथा ढिलासुस्ती हुने मुलुकमा आणविक भट्टी चुहावटले ल्याउन सक्ने विपत्तिबारे अहिले कल्पना पनि गर्न सकिंँदैन । तसर्थ यो सम्भावित त्रासदी निम्त्याउने विधेयकको विरोध अपरिहार्य छ । लोकतन्त्रमा सरकारले जनहित अनुकूल कार्यसम्पादन गरेर विरोध निरुत्साहित गर्छ । हामीकहाँ उल्टो भएको छ । नागरिक समाजको शिथिलताले गर्दा शान्तिपूर्ण विरोध अभियान सशक्त हुनसकेको छैन । आणविक भट्टी चुहावटको सम्भावित खतराबाट सर्वसाधारणलाई अवगत गराउन पनि शान्ति आन्दोलनको थाल्न जरूरी छ । सञ्चार माध्यमहरूले जनचेतना फैलाउने उद्यम गर्नु पर्छ ।


शान्ति अभियानले सरकारको उद्देश्य गलत ठहर्‍याउन सकोस् । समस्या भने हामीकहाँ शान्ति अभियानकर्ताकै अभाव छ । मानव अधिकारकर्मीहरूको निम्ति यो प्रसंग अझै असम्बन्धित छ । केही अपवादका स्वरहरू बाहेक सञ्चार माध्यमसमेत यस संवेदनशील मुद्दाबारे प्रायशः निरपेक्ष रहेको छ । संसद् र संसदीय समितिसमेत दुई तिहाइ मदमस्त सरकारको छायामा परेको छ । विधेयकको दफाहरूले नै सरकारको दुर्नियल स्पष्ट गरेको छ । तसर्थ राष्ट्रिय सुरक्षा तथा मुलुकको अस्मिता साथै भविष्यको त्रासदीपूर्ण स्थितिबाट जोगिन ‘राष्ट्रवादी सरकार’को राष्ट्रघाती विधेयक विरुद्ध सशक्त जनमत निर्माण कार्य ढिलो भइसकेको छ ।


प्रकाशित : असार २०, २०७६ ०९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×