निस्सार हुलाक

हुलाकी
उज्ज्वल प्रसाईं

आजकल टुक्रे सूचना र खुद्रे विश्लेषणको कमी छैन । इन्टरनेटको सुविधा भए खबरका विद्युतीय पसलहरूमा पुग्न कति पनि गाह्रो छैन । त्यसो त संसारभरका राम्रा पत्रिकाले प्रकाशन गर्ने सामग्रीको पहुँच पनि उति अप्ठ्यारो छैन ।

पर्याप्त खोजी, आवश्यक सूचनाको उचित गठजोड र अभिव्यक्ति शिल्पले सजिएका पठनीय एवं संग्रहणीय सामग्री पाउन भने गाह्रो छ । शब्द संख्यामा कञ्जुसी नगरी तयार पारिएका असल सामग्री पढ्न पाइने वेबसाइट नभएका होइनन् । तर सबैले त्यस्ता सामग्री सित्तैमा उपलब्ध गराउँदैनन् । परिश्रमको मोल खोज्नु मनासिब हो । मूल्य तिरेर पढ्न खोज्दा पनि महामुस्किल छ, यहाँ ।


नयाँदिल्लीबाट प्रकाशित हुने क्याराभान मासिकमा मिहिनेतपूर्वक लेखिएका र सम्पादन गरिएका सामग्री छापिन्छन् । राजनीति र संस्कृतिलाई प्राथमिकता दिइएका कारणले क्याराभान पढ्ने रुचि बढेको हो । हरेक महिना केही सामग्री वेबसाइटमा राखिने भए पनि सबै सित्तैमा उपलब्ध हुँदैनन् । विद्युतीय ग्राहक बन्न झन्झट हुने भएकाले मासिक पत्रिका नै हातमा लिएर पढ्ने निधो गरेँ । भारतमा लामो समय बसेका एक साथीको क्रेडिट कार्ड प्रयोग गरेर पत्रिकाको वार्षिक ग्राहक बनेँ । काठमाडौंको ठेगानामा पत्रिका पठाउने सर्तमा स्वयं पत्रिकाको मोलभन्दा धेरै ढुवानीका लागि लगभग ५ हजार नेरु तिरेँ । तर ठेगानामा पत्रिका कहिल्यै आइपुगेन ।


दुई महिनासम्म नआएपछि पत्रिकाको कार्यालयमा सम्पर्क गरेर सोधपुछ गरेँ । वितरण विभागका मान्छेले समस्या बुझ्ने र सम्बोधन गर्ने जाँगर देखाएनन् । पत्रिकाको सम्पादन समूहका एक चिनारुलाई विन्ती बिसाएँ । उनले पहल गरेपछि वितरण शाखाले चासो दिएर इमेल लेख्यो । आफूहरूले समयमै पत्रिका पठाउने गरेको इमेलमा बताइएको थियो । दिल्ली पुगेका एक साथीलाई पत्रिकाको कार्यालयमा पुगेर कुरा बुझिदिन आग्रह गरेँ । उहाँबाट एयरमेलमार्फत पत्रिका नियमित रूपमा पठाइएको रेकर्ड कार्यालयमा सुरक्षित थियो । तर पत्रिका यता आइपुगेन । लाग्यो, समस्या काठमाडौंको गोश्वारा हुलाकमा छ, जहाँ सबभन्दा पहिले पत्रिकाको खाम आइपुग्छ ।


एक मित्रको साथ लागेर सुनधारास्थित हुलाक कार्यालय पुगेँ । हुलाकले बेहोरेको हेपाइबारे केही अनुमान थियो । सहरको चलायमान सडक छेउ उभिएको त्यो कार्यालयमा उसले बेहोरेका हेपाइका डोबहरू प्रस्ट देखिन्थे । भवनको बाहिरी रूप आफैले बेवास्ताको कहर सुनाउन खोजेजस्तो प्रतित हुन्थ्यो । यो वा त्यो अंकको पहिचान बोकेका दर्जनौं कोठाहरूमा पनि उस्तै उदास दृश्य देखिन्थे । हुलाकी बस्ने कोठामा रौनक हुने कुरै भएन । छोटो चौडाइको लामो कक्षाकोठामा जस्तो हार मिलाएर राखिएका डेस्क–बेन्चमा टोलाइरहेका मान्छे नै चिठी पुर्‍याउने हल्कारा रहेछन् । राम्रो पाठ्य–पुस्तक र असल शिक्षक नपाएर यसै बसिरहेका विद्यार्थीजस्तो मलिन अनुहार लिएर बसेका थिए, ती सबै । माथिल्लो तलामा कम्प्युटरको स्क्रिन अघिल्तिर बसेका मान्छेका छेउमा असरल्ल खामबन्द चिठी छरिएका थिए । ठेगाना अपुग भएका, सम्बन्धित मान्छे फेला नपरेर फर्केका र फिर्ता पठाउन नभ्याइएका अनेक नामका ती चिठीहरू त्यही संस्थाजस्तै बेवास्तामा परेका थिए । धेरैजसो नेपाली विद्यार्थीका नाममा विदेशी विश्वविद्यालयले पठाएका खाम देखिन्थे त्यहाँ ।


हामीले ठेगानामा नपुगेको आफ्नो पत्रिकाबारे जिज्ञासा राख्यौं । एउटा कोठामा पुग्दा त्यहाँ बसेको उदास मान्छेले अर्को कोठामा पठायो । अर्कोमा पुग्दा, उसले अर्को अंक तोक्यो । तोकिएको अंक खोज्दै कोठामा पुग्दा त्यहाँ बसेकाले अर्कैको नाम लियो । भनिएको मान्छे फेला पर्दा उसले बतायो, ‘त्यसरी ठेगानामा नपुगेको पुरानो खाम यहाँ बस्दैन, फिर्ता जान्छ । फिर्ता गएका खामको रेकर्ड राख्ने चलन छैन ।’ कम्प्युटरमा सामान्य फाइल बनाएर राख्न सकिने यति सानो रेकर्ड पनि नराखेको किन होला ?


एकपछि अर्को कर्मचारी भेट्दा तिनको अनुहारमा देखिने प्रतिक्रिया लगभग उही हुन्थ्यो– लेप्रिएको ओँठ, अन्योल पोतिएको अनुहार र पट्यारले गाँजेका आँखा । एक नम्र कर्मचारीले सहयोग गर्ने कोसिस गरे । पुग्न नसकेका चिठीको थुप्रो देखाइदिए, धुलो टकटक्याएर पल्टाउँदा आफ्नो नामको खाम कतै फेला परेन । त्यहाँ बताइए जस्तो पत्रिकाको खाम फर्केर नयाँदिल्ली पनि पुगेको थिएन ।


लोकसेवा आयोगको परीक्षा पास गरेका कर्मचारी नै पुग्ने हुन्, हुलाकमा पनि । अलि अघिसम्म हुलाक समूह तोकेरै परीक्षा लिइन्थ्यो । हुलाकको महत्त्व घट्न थाल्यो, त्यहाँ जागिर खानु कुनै इज्जतिलो काम गर्नु होइन भन्ने बुझाइ बन्यो । हुलाक समूहमा फारम भर्नेको संख्या न्यून भयो । प्रशासनमा जागिर खान पुगेका कर्मचारीबाट नै हुलाक सेवामा पठाउन थालियो । प्रशासनतर्फ लिखित र मौखिक पास गरेर पुगेका कर्मचारीमध्ये कसैको पनि हुलाकमा काम गर्ने रुचि हुँदैन । कुनै खास काम र अतिरिक्त दामसमेत नभएको परित्यक्त संस्थाका रूपमा परिचित हुलाकमा माथि भनिएको दृश्य देखिनु अनौठो होइन । निजामती सेवामा काम गरिरहेका तन्नेरी साथीले सुनाए, ‘सरकारी कागजपत्र पठाउँदा पनि निजी कुरिअर बढी प्रयोग गर्छौं, हामी । सरकारी हुलाकको कुनै भरोसा छैन ।’ डीएलएफ र फेडेक्स जस्ता अनेकन कुरिअर सेवाले राम्रो दाम उठाइरहेका बेला व्यस्त सडकमा परित्यक्त उभिएको छ, गोश्वारा हुलाक ।


हुलाक नेपाली समाजले भोगिरहेको पतनको सग्लो प्रतीक हो । संविधान नामको खाममा पुग्ने गन्तव्य ‘समाजवाद’ लेखेर पञ्चायतको बाटो मोडिएको सिंगो मुलुक नै उही परित्यक्त हुलाकजस्तो देखिन थालेको छ । संघीयता लेखेको खाम एकात्मक अभ्यासमा टुंगिन खोज्दैछ । समानुपातिक समावेशिता आखिर पुरानै रीतमा दौडिन कोसिस गरिरहेको छ । वाक् स्वतन्त्रता संविधानको पानाबाट कानुनको दफामा पुग्दा आफ्नो सग्लो स्वरूप गुमाएर विद्रुप बन्ने तरखरमा छ ।


एउटा मसिहाको जादुगरी पर्खेर बस्ने व्यवस्था लोकतन्त्र हुँदैन । समाजवादको सार सम्झनै परेन । लोकतन्त्रमार्फत सुखी समाजको निर्माण गर्ने उचित विधि र त्यस अनुसार चल्ने संस्थाहरूले हो । कमबेसी हुनसक्छ, तर सबै संस्था आखिर हुलाकजस्तै त छन् । हुलाकभन्दा के फरक छन्, हाम्रा विश्वविद्यालय ? दिन–प्रतिदिन दुःखदायी समाचारका स्रोत बनिरहेका विश्वविद्यालयभन्दा कुन मानेमा विश्वसनीय छ, प्रधानमन्त्री कार्यालय ? खासै प्रतिभा नभएका दुई–चार मान्छेले सुखमयी जीवन जिउने अड्डा बनेको पीएमओभन्दा कुन मानेमा सफल छ, सर्वोच्च अदालत ? नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुखिया कथा कति दोहोर्‍याउनु ? न्याय सेवामा काम गरिरहेका एक जोशिला युवाले ओँठ लेप्रयाउँदै सुनाए, ‘न्याय क्षेत्रका जिम्मेवार मानिसले एउटै मन्त्र पटक–पटक दोहोर्‍याइरहेझैं लाग्छ– यहाँ ज्ञान, बुद्धि, निष्ठा र पेसागत इमानदारीको कुरा गर्ने होइन, सकेको खाने हो ।’


सत्ता–चास्नीको स्वादमा पल्केका दलाल र तिनका इष्टहरू बाहेक सबैका अनुहार हुलाकको निस्सार जीवन व्यतित गरिरहेका कर्मचारीजस्तो बनेको छ । चाहे ती नयाँ काम गर्न खोजिरहेका उद्यमी हुन् वा विद्यालयका इमानदार शिक्षक, चाहे ती असल पत्रकार हुन् वा जनसेवामा समर्पित हुन खोजिरहेका चिकित्सक । अविश्वासका कारण तिनका लेप्रिएका ओँठमा बर्बादीको संकेत देखिन्छ, अन्योल पोतिएको अनुहारमा यात्राको अनिश्चितता झल्किन्छ र पट्यारले गाँजेका आँखामा अनिश्चित भविष्यको चित्र देखिन्छ ।


हुलाकले गन्तव्यमा नपुर्‍याएका खामले मलाई गरेको नोक्सानी धेरै ठूलो होइन । तर न्यायालयले वितरण गरेको अन्यायले आधारभूत जनतामाथि घात गरेको छ । विश्वविद्यालयले स्थापित गरेको ज्ञानद्वेषी चरित्रले सिंगो नेपाली समाजको बेइज्जती गरेको छ । सुरक्षा संयन्त्रको पहराभित्र सुरक्षित बसेको बेथितिले परिवर्तनकै धज्जी उडाएको छ । यस्ता नाम र दुःखका फेहरिस्त धेरै लामो बनाउन सकिन्छ । आखिर कहरको यो लम्बेतान फेहरिस्त कुन हुलाकमार्फत कसको ठेगानामा कहाँ पठाऊँ ? ताकि सुनुवाइ होस् ।

प्रकाशित : असार २०, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राष्ट्रवाद होइन देशभक्ति

वीणा झा

विभिन्न उद्देश्य बोकी अभियान चलाएकाहरूको आह्वानमा ‘हाम्रो राष्ट्रियता खतरामा छ, त्यसैले एकजुट होऔं’ भन्ने गरेको सुनिन्छ तर नेपालजस्तो जात, धर्म, संस्कृति अनि भौगोलिक विविधताले भरिएको समाज, जहाँ कुनै निश्चित समुदाय सधैं राज्यद्वारा उपेक्षित र कुनै समुदाय सधैं लाभान्वित छ, त्यहाँ एउटै राष्ट्रियता हुन सम्भव छ ?

राष्ट्रियता भनेको राष्ट्रवादमा आधारित हुन्छ, जसले आफूजस्तै सामाजिक–सांस्कृतिक पृष्ठभूमि भएका, समान वेशभूषा र बोलीचाली भएका भन्दा फरकलाई ससम्मान स्विकार्दैन । आफू अरूभन्दा उत्कृष्ट रहेको विश्वास गर्छ । आफ्नो शक्ति बढाउन जुनसुकै हत्कण्डा अपनाउन पछि पर्दैन ।

जस्तो– हिटलरलाई कट्टर राष्ट्रवादीको रूपमा चित्रण गरिन्छ । त्यसैले राष्ट्रवादलाई कतिपय विद्वान्ले ‘इम्पेरियालिजम’ को संज्ञासमेत दिने गरेका छन् । नेपालका सन्दर्भमा हेर्ने हो भने पहाडी राष्ट्रवाद, मधेसी राष्ट्रवाद, आदिवासी जनजाति राष्ट्रवाद मुख्य रूपमा अस्तित्वमा छन्, जुन आफैंमा गलत होइन । तर समस्या तब सुरु हुन्छ, जब कसैले आफूमात्रै देशप्रेमी र अरू सबैलाई देशद्रोहीको रूपमा हेर्ने गर्छ । यसले समाजमा द्वन्द्वको बिउ रोप्छ र कालान्तरमा देशले ठूलो मूल्य चुकाउनुपर्छ । घृणाले कहिले पनि प्रेम जन्मेको इतिहास छैन । उदाहरणको रूपमा, मधेसबाट कैयौं पहाडी लखेटिनु र हृतिकरोशन काण्डका नाममा नेपालगन्जमा मधेसीहरूमाथि बर्बरता हुनुलाई लिन सकिन्छ । मधेसका प्रायः आन्दोलनमा नेपाल प्रहरीको गोली आन्दोलनकारीको टाउकोमै लाग्नु र अन्य ठाउँको समान प्रकृतिको आन्दोलनमा फरक प्रतिक्रिया दिइनु पनि राष्ट्रवादी सोचकै प्रभावका कारण हुन् । नागरिकता लिन आउने व्यक्तिको छालाको रंग, थर अनि बोलीचाली र भेषभूषाका आधारमा नेपाली वा गैरनेपालीको रूपमा दृष्टिकोण निर्माण गर्नुमा पनि राष्ट्रवादी सोच नै रहेको हुन्छ ।


राष्ट्रवादी र देशभक्त कतिपय सन्दर्भमा एकअर्काका पर्यायवाचीका रूपमा प्रयोग गरिएको भेटिन्छन्, तर यी समान होइनन् । राष्ट्रवादीले देशलाई प्रेम त गर्छ, सँगसँगै अरूलाई घृणा पनि गर्छ । आफ्नो देशको कमजोर पक्षलाई स्वीकार्दैन र परिमार्जन गर्न त कल्पनासमेत गर्दैन, बरु भिड्न तयार हुन्छ । विश्वकै उत्कृष्ट मान्दै विभिन्न गीत, कथा र कविता रच्दै जोश भर्ने काम गर्छ । राष्ट्रवादको भावना बाह्य शक्तिसँग लड्नुपर्दा मात्रै महत्त्वपूर्ण हुन्छ, किनकि यही भावनाले मानिसमा जोश भर्ने गर्छ ।


जब कुनै राष्ट्रवादी सोच देशका प्रमुख संवैधानिक अंग, सामाजिक संघ/संस्था र राज्यका अन्य निकायमा हावी भैदिन्छ, तब सामाजिक न्याय खतरामा पर्छ । अनि समाजले थेग्नै नसक्नेगरी अराजकता मौलाउँछ । विभेदले अपनत्व जन्माउँदैन, द्वन्द्वलाई नै प्रोत्साहित गर्छ । पछिल्ला दशकमा राजनीति गर्न, आफू शक्तिमा पुग्न राष्ट्रवादको साँघुरो घेरा बनाउनेहरू हाम्रैमाझ छन् । त्यही हत्कण्डा अपनाई देशलाई दीर्घकालीन द्वन्द्वमा फँसाउन खोज्ने समूह पनि सक्रिय छन् । यो राष्ट्रवादकै प्रभाव हो— नेपालमा जुनसुकै व्यवस्था आए पनि एउटा सीमित समूह, जसको साझा इतिहास र संस्कृति छ, त्यही घुम्दै–फिर्दै सत्ताको केन्द्रमा स्थापित हुन्छ । राष्ट्रवादले जहिले पनि शक्तिलाई मुख्य प्राथमिकता दिन्छ । यसका लागि जतिसुकैको जीवन मासियोस्, खासै महत्त्व राख्दैन । रवीन्द्रनाथ टैगोरले आफ्नो प्रसिद्ध उपन्यास ‘चार अध्याय’ मा राष्ट्रवादलाई समाजको शत्रुका रूपमा वर्णन गरेका छन् । उनले राष्ट्रवादलाई परिभाषित गर्दै यसको इतिहास रक्ताम्मे रहेको स्मरणसमेत गराएका छन् । जर्मनी र इटलीमा राष्ट्रवाद यसरी फैलिएको थियो, त्यसको आडमा हिटलर र मुसोलिनीले आआफ्नो देशमा नरसंहार गरेका थिए । हिटलरको शासनकालमा नाजीहरूले गरेको यहुदी नरसंहार राष्ट्रवादका नाममा इतिहासले चुकाएको ठूलो मूल्य हो ।


राजनीतिमा राष्ट्रवादको सहारा लिई चुनाव जित्दै सत्तामा पुग्ने परम्परा देखिन्छ । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि राष्ट्रवादको कुरा उराल्दै मेक्सिकन, मुस्लिम अनि अफ्रो–अमेरिकन विरुद्ध द्वेषपूर्ण भावना फैलाई चुनाव जिते । राष्ट्रवाद द्वन्द्वोन्मुख बाटो हो, जसले समावेशितालाई स्वीकार्दैन, सहअस्तित्वलाई सम्मान गर्दैन । आरोप र प्रत्यारोपका कारण सामाजिक वातावरण तनावग्रस्त बनाइदिन्छ, अनि भौगोलिक रूपमा जोडिए पनि नागरिकहरू मनले एकअर्कासँग जोडिन सक्दैनन् । सद्भाव देखाउनुको साटो प्रतिद्वन्द्वीका रूपमा अस्वस्थ प्रतिस्पर्धा गर्न पुग्छन् । एउटालाई अन्याय पर्दा अरूलाई महसुस हुँदैन । अनि कुनै एक भाषा, कला, संस्कृति र इतिहासलाई सर्वोपरि मानिँदा अन्य भाषा, कला र संस्कृति गौण हुन पुग्छन् ।


हामी नेपाली विभिन्न समयमा विभिन्न स्वार्थवश ल्याइएका, बुझाइएका वादहरूमा अल्झिने कि नेपालवाद निर्माण गर्ने ? जहाँ एकअर्काप्रति सम्मान होओस्, एकअर्कालाई भएको अन्याय–अत्याचार विरुद्ध संयुक्त आवाज होओस्, एउटाको पीडामा अर्को मौन नरहोस् । यो तबमात्रै सम्भव छ, जब हामी हरेक कुरालाई आलोचनात्मक हिसाबले बुझ्न थाल्छौं, नकि अरूले निर्माण गरिदिएको दृष्टिकोणबाट । त्यसैले आजको आवश्यकता देशभक्ति हो, जहाँ हरेक देशबासीले आफूलाई उत्तिकै महत्त्वपूर्ण र सम्मानित महसुस गर्न सकोस् ।

लेखक समाजशास्त्री हुन् ।

प्रकाशित : असार २०, २०७६ ०८:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT