२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

स्वैरकल्पनाको शोकगीत

सीके लाल

काठमाडौँ — जनकपुर । प्रस्थान स्थल नफर्किनेगरी गरिएको यात्रा विस्थापन हुनसक्छ । पलायन कहलिन सक्छ । त्यो दुइटै नभए स्वनिर्वासनको लक्ष्य पनि फर्किनु नै रहेको हुन्छ । सायद त्यसैले दार्शनिकहरूले फर्किनुलाई यात्राको मूल उद्देश्य ठहर्‍याएका छन् ।

स्वैरकल्पनाको शोकगीत

गतसाता जनमत पार्टीका प्रणेता जनकपुर विमानस्थल हुँदै घर फर्कंदै थिए । उनको स्वागतनिम्ति विमानस्थलको अति विशिष्ट कक्षबाहिर भेला भएका दर्जनौं युवा समर्थकको उत्साह यथावतजस्तो देखिए पनि तिनका अनुहारमा पराजयको भाव स्पष्ट पढ्न सकिन्थ्यो । झन्डै एक दशकसम्म ‘मधेस स्वराज’ नाराका पछाडि बेतोडले कुदेका राउत आजभोलि ‘विकास वार्ता’ अगाडि बढाउँदै देश/विदेश भ्रमण गरिरहेका छन् ।


बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयमा राउतले ‘तराईको आकांक्षा’ विषयमा भाषण दिए । लन्डन विश्वविद्यालयमा उनको प्रस्तुतिको प्रसंग ‘नेपालको दौडमा पछाडि परेका वञ्चितहरू’ विषयक थियो । भियना विश्वविद्यालयमा उनले ‘कसको विकास’ प्रश्नमा नेपालको असमानताबारे चर्चा गरे । युरोपबाट फर्कने क्रममा नयाँदिल्लीमा खुला छलफलमा सहभागी भए । काठमाडौंमा सरकारी अस्पतालमा उपचार गराइरहेका प्रतिनिधिसभा सदस्य रेशम चौधरीसँग तस्बिर खिचाए । केही दिन आफन्तहरूसँग बिताएर उनी संयुक्त राज्य अमेरिका भ्रमणनिम्ति प्रस्थान गर्नेछन् । उनका सबै प्रस्तुति एवं अन्तरक्रियाको उल्लेख्य पक्ष के हो भने उपप्रधानमन्त्री उपेन्द्र यादवजस्तै उनी पनि ‘मधेस’ शब्द उच्चारण गर्नबाट हच्किन थालेका छन् । जुन घोषित उद्देश्यका लागि उनी संयुक्त राज्य अमेरिकाको आकर्षक नोकरी त्यागेर घर फिरेका थिए, त्यस राजनीतिक कार्यसूचीलाई चिसो बाकसमा थन्काएको जस्तो देखिँदैछ ।


मृत्युपछिको अवस्थाबारे मतैक्यता नभएकाले सनातन धर्ममा ‘फताहा’ वा ‘रेक्विएम’ जस्तो ‘शोक श्लोक’ वा मृत्यु प्रार्थनाको चलन छैन । मृतात्माले जन्म र मृत्युको चक्रबाट मुक्त भएर परमात्मामा समाहित भएको हो भने मरणलाई उत्सव मान्नुपर्छ । स्वर्ग जाने भए खुसियाली, नर्क पाउने भए दु:खमनाउ, पुनर्जन्म हुने भए शुभकामना जस्ता अवधारणा व्यक्ति एवं समय–सापेक्ष हुन्छन् । परिकल्पनाले निर्वाण पाउने होइन । स्वप्नले स्वर्ग वा नर्कमा ठाउँ पाउने कुरा असंगत ठहर्छ । मृगतृष्णाको मृत्युले जीवनका जटिलता उजागर गर्छ । त्यसैले स्वैरकल्पनाको अवसान आत्मपरीक्षणको अवसर हो । आफ्नो युवा वयको झन्डै एक दशक समर्पण गरेको प्रस्तावनाबाट अचानक राउत किन पलायन भए ? उनको अमूर्त प्रस्तावनाका पछाडि लागेका युवाहरूले अव प्रतिरोध, सत्ताभक्ति वा पलायनमध्ये कुन बाटो रोज्नेछन् ? मूलधारको राजनीतिमा रमाइरहेका समाजवादी पार्टी वा राष्ट्रिय जनता पार्टीका कर्ताधर्ताहरूलाई अहिले राउतको खिसी गर्न सजिलो होला । तर नेतृत्वले आत्मसमर्पण गर्दैमा विचार मर्दैन ।


निर्विकल्प मार्ग

प्रतिरोधको राजनीतिका लागि जनकपुर उर्वर भूमि रहँदै आएको छ । समर्थन गर्नेले प्रश्न पनि गर्छन् । राउतको अप्रत्यासित आत्मसमर्पणबाट केही युवा उत्साहित पनि नभएका होइनन् । सत्ताको सान्निध्यबाट लाभान्वित हुन चाहनु नितान्त मानवीय प्रवृत्ति हो । प्रश्न भने तिनले पनि गर्छन् । सबैलाई थाहा छ, ‘जनअभिमत’ जस्ता शब्दावलीलाई शक्तिशाली पक्षले आफ्नो सुविधा अनुसार अर्थ्याउँछ । सर्वेसर्वा खड्गप्रसाद शर्मा ओलीसँग सौदेबाजी गर्ने कुनै हतकण्डा अब राउतसँग बाँकी छैन । उनले गर्ने भनेको सत्तालाई सहयोग पुर्‍याउने राजनीतिमात्रै हो । त्यस्तो राजनीतिका सीमितता छन् । वेदानन्द झा मन्त्री र राजदूत भए । लबेदा, सुरुवालमा सज्जिएर मन्त्री त गजेन्द्रनारायण सिंह पनि भए । विजय गच्छेदारले पनि आफ्नो गच्छे अनुसार उपप्रधानमन्त्रीको पद पड्काएका थिए । तात्कालिक राजनीतिमा चामत्कारिक परिवर्तन भएन भने राउतले बढीमा राष्ट्रियसभा वा प्रदेश प्रमुखको आकांक्षा राख्न सक्छन् । त्योभन्दा बढी मान, सम्मान एवं योगदान उनले ग्रामपालिकाको अध्यक्ष भएर गर्न सक्थे । उनको निर्णय सही वा गलत जे भए पनि ढिलो भएको भने पक्का हो ।


वैज्ञानिक दाजुको दबाब एवं परिवारको चाहनालाई सम्मान गर्दै भावनामा बगेर राउतले मूलधारको बहावमा आफ्नो राजनीतिक डुङ्गा हालेका होइनन् । उनका विकल्पहरू सुस्तरी सीमित हुँदै गइरहेका थिए । महात्मा गान्धी एवं नेल्सन मण्डेलाको नाम जप्न सजिलो छ । तिनको जस्तो त्याग एवं तपस्याका लागि भने समय र परिस्थिति उपयुक्त छैन । मधेसी आन्दोलनकर्मीलाई गोली हान्न नेपालको सत्ता कति पनि हच्किँदैन भन्ने उनले तेस्रो मधेस आन्दोलनको नृशंस दमनताका नै देख्न पाएका थिए । उनका आफ्नै कार्यकर्ता राममनोहर यादवको हिरासतमा प्रहरीको चरम लापरबाहीका कारण भएको मृत्युबाट उनले ‘संकटको नैतिकता’ अंगिकार गर्ने निर्णयमा पुगेको हुनुपर्छ ।

नाम मात्रको भए पनि संघीयता कार्यान्वयनले राउतको स्वाधिनतारूपी बेलुनको हावा फुस्काइदिएको पनि हुनसक्छ । संघीय सरकारसँग अधिकारको बाँडफाँडमा जतिसुकै किचलो भए पनि मुख्यमन्त्री लालबाबु राउत भारतीय प्रधानमन्त्रीसँग शिर ठाडो गरेर उभिन सक्छन् । राउतले बढीमा अमर्त्य सेनसँग खिचाएको तस्बिर देखाउने मात्रै हो । दास मनस्थिति व्याप्त रहेको समाजमा सत्ताको तामझामको ठूलो महत्त्व हुन्छ । साथै स्थानीय सरकारलाई दिइएको अधिकार एवं आर्थिक स्रोतले पनि राउतका कतिपय समर्थकलाई लोभ्याएको हुनुपर्छ । ठेक्कापट्टाको अवसरले महात्त्वाकांक्षी जमातलाई आकर्षित गर्नु नयाँ होइन । सन् १९९० पछि एमाले एवं २००६ पश्चात माओवादीका कार्यकर्ताहरूलाई स्थायी सत्ताले त्यस्तै बाक्लो चास्नीमा डुबाएर मूलधारको राजनीतिमा लिप्त गराएको थियो । सांसदहरूमार्फत खर्च गरिने करोडौं रकमको विरोध गर्नेहरू के बिर्सिदिन्छन् भने सत्ताका लागि समर्थन खरिद गर्नु त्यस्तो बजेट वितरणको जोखिम नभएर मूल उद्देश्य नै हो । राउतले राजनीतिक वैज्ञानिक स्यामुएल हन्टिङ्टन पढेको हुनुपर्छ । हन्टिङ्टनको कथन अनुसार नवप्रजातन्त्रमा जनप्रतिनिधिको तजबिजी खर्चले व्यवस्थाको विरोधलाई मत्थर गर्न सहयोग पुर्‍याउँछ । सर्वेसर्वा शर्मा ओलीले दशैंसम्म सरकारको आलोचना समाप्त हुने दाबी हावामा गरेका होइनन् । त्यतिबेलासम्म तलदेखि माथिसम्म रकम वितरणको छेलोखेलो प्रभावकारी भइसक्नेछ । आलोचना गर्नेको जमात सानो हुन्छ । तिनलाई थर्काउनु पनि पर्दैन, बेवास्ता गरे पुग्छ ।


समसामयिक काल चेतना (जाइटगाइस्ट) पनि ससाना देशहरू सिर्जना गर्ने पक्षमा छैन । नेपालका दुई भूस्थल एवं एक आकाशे छिमेकीमध्ये कसैको पनि भूराजनीतिक स्वार्थ ‘मधेस स्वराज’ सँग मेल खाँदैन । प्रत्यक्ष वा परोक्ष बाहिरी सहयोगबेगर स्वायत्तताका आन्दोलनहरू सफल हुँदैनन् । मधेस भूराजनीतिक रूपमा अनाथ रहेको कुरा ठम्याउन राउतले आवश्यकताभन्दा बढी समय लगाए । आन्तरिक रूपमा स्वदेशी पुँजीपतिहरूको भरथेगबेगर स्वराजको इन्जिनले इन्धन पाउँदैन । मधेसका साहुकारहरूले राउतलाई पटक्कै पत्याएनन् । मिडियाको भूमिका जुनसुकै राजनीतिक आन्दोलनको सफलताका लागि आवश्यक हुन्छ । नेपालको मधेसद्वेशी मिडियाका द्वारेहरू मधेसबारे गरिएको समाचार प्रकाशन एवं प्रसारणलाई ‘बोक्सी, दाइजो, नक्कली नागरिकता एवं जनप्रतिनिधिको भ्रष्टाचार’ चतुष्कोण बाहिर निस्कन दिँदैनन् भन्ने तिनका आफ्नै संवाददाताहरूले भन्ने गर्छन् । राउतको दानवीकरणमा नेपाली मिडियाको भूमिका महत्त्वपूर्ण रहेको थियो ।


सैद्धान्तिक शून्यता

राउतको राजनीतिक कायापलटका पछाडि केही व्यावहारिक कारण पनि रहेको हुनसक्छ । युवा त छन्, तर बेलायत वा अमेरिका फर्केर पुन: वैज्ञानिक हुनसक्ने क्षमता सायद उनमा बाँकी छैन । जयकृष्ण गोइतजस्तो स्वनिर्वासन रोजेर आस्था जोगाउन उनी सक्दैनन् । गएको एक दशकमा उनले संघीयता एवं समावेशिताका पक्षधरलाई यति धेरै होच्याएका छन् कि मधेस आधारक्षेत्र भएका समाजवादी पार्टी, राजपा वा नेपाली कांग्रेसभित्र उनी अटाउन सक्दैनन् । मधेसका मतदाताले ‘माले–मण्डले–मसाले’ राजनीतिकर्मीहरूको नृजातीय राष्ट्रवादलाई स्वीकार गर्ने सम्भावना अझै छैन । उनलाई नेकपा दोहोरोले स्वीकार नै गरे पनि न उनलाई नत पार्टीलाई नै त्यस कदमबाट कुनै फाइदा हुन्छ । पहाडमा रविन्द्र मिश्रको राजनीतिक मञ्च नेपालको स्थायी सत्ताको च्याँखेदाउ भएजस्तै मधेसमा राउतको ताजा प्रयोग आपत्कालमा प्रयोग हुनसक्ने उपयोगी औजार ठहरिन सक्छ । राउत विद्वानमात्र नभएर आँटिला पनि छन् । त्यसैले उनको भविष्यबारे चिन्ता लिन जरुरी छैन । प्रश्न के मात्र हो भने उनले खाली गरेको ठाउँ आउँदा दिनमा कसरी भरिनेछ ?


लामो कालसम्म मधेस नेपाली कांग्रेसको खेलमैदान थियो । त्यो अवस्था अब छैन । कोइरालाहरूको पारिवारिक बफादार एवं शेरबहादुर देउवाका कृपापात्रका भरमा राजनीति चल्दैन । लगभग सिद्धान्तविहीन भइसकेको नेपाली कांग्रेस नेतृत्वसँग सपना देखाउने क्षमता बाँकी नरहेकाले नयाँ पुस्ता त्यस दलसँग जोडिन चाहँदैन । हृदयेश त्रिपाठीले हालसालै भनेझैं मधेसतिर नेकपा दोहोरोको आकर्षण खासै छैन । चुनाव त हेमबहादुर मल्लले पनि जित्थे

भने रघुवीर महासेठ त धनीमानी हुनाका साथै इन्जिनियर पनि हुन् । समाजवादी एवं राजपा एकअर्कासँग लडेर ऊर्जा खर्चिरहेका छन् । मधेसको सम्मानको मुद्दा सम्बोधन गर्नसक्ने कल्पनाशीलता एवं क्षमता महन्थ ठाकुर बाहेक अरू कसैसँग छैन । तर मधेसमा व्याप्त जातिवादले गर्दा उनका कुरा आजभोलि कमैले सुन्छन् ।


दक्षिणपन्थी राजनीतिमा सम्मानको मुद्दा अटाउँदैन । नेपालका स्वघोषित वामपन्थीहरू भारतमा जस्तै सारमा बाहुनवादी हुने रहेछन् । त्यसैले दक्षिणपन्थ वा वामपन्थको साटो विकास र समृद्धिको पाण्डित्य छाँट्ने ‘पोङ्गापन्थ’ समसामयिक राजनीतिको एकमात्र विचारधारा बन्न पुगेको छ । नेपाल फर्कंर्दा राउतले आफ्ना गतिविधिको सुरुवात मधेसको विकासबारे सम्मेलनको आयोजन गरेर गरेका थिए । एक चक्र पुरा गरेर उनी आफ्नो प्रस्थानबिन्दुमै फर्केका छन् । मधेस अहिले अर्को रहवर (बाटो देखाउने) व्यक्तिको प्रतीक्षामा छ । मुद्दा यथावत रहेसम्म साहसिक राजनीतिकर्मीको उदयको सम्भावनालाई खारेज गर्न सकिँदैन ।


प्रकाशित : असार १८, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?