कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फरक परिकल्पनाको नेपाल

अच्युत वाग्ले

परिदृश्य १ः माध्यमिक तह (एसईई) को परीक्षाफल प्रकाशित भयो । चार लाख परीक्षार्थीमध्ये १ लाख ५५ हजारले २ भन्दा कम अंक (सीजीपीए) ल्याए । तिनलाई राज्यले अनुत्तीर्ण भएको होइन भनेर ढाँटिरहेको छ । जबकि २ वा त्योभन्दा कम सीजीपीए ल्याउने यी कसैले पनि न उच्चशिक्षा नत रोजगारीको अवसर नै पाउनेछन् ।

फरक परिकल्पनाको नेपाल

त्यसैले यो संख्या वास्तवमा अनुत्तीर्ण नै भएको हो । र यो सामुदायिक विद्यालयबाट परीक्षा दिने ३ लाख २५ हजार परीक्षार्थीको करिब ४८ प्रतिशत हो । एसएलसीको लब्धांक प्रणालीमा ‘यति प्रतिशत अनुत्तीर्ण भए’ भन्ने निरन्तरको अपगालबाट बच्नमात्र सरकारले यो सिधै फेल भएको घोषणा गर्नु नपर्ने ग्रेडिङ प्रणाली लागू गर्‍यो ।


सारमा, मुलुकको माध्यमिक शिक्षामा यो परिवर्तनले कुनै गुणात्मक परिवर्तन र परिणाम ल्याएन । यति ठूलो वयस्कोन्मुख जमातलाई प्रत्येक वर्ष गन्तव्य र दिशाहीन अवस्थामा छोडिदिने राज्य सबै दृष्टिमा गैरजिम्मेवार हो । लाखौंको भविष्यको हत्या गर्ने अपराधी हो ।


परिदृश्य २ः काठमाण्डु पोष्टले गत शनिबार ७५ लाख रुपैयाँ खर्चेर कष्टसाध्य अवैध बाटो हुँदै अमेरिका पुग्नासाथ ‘डिपोर्ट’ गरिएका एक दङ्गाली युवाको समाचार छापेको छ । यस्ता दर्जनौं कथा केही वर्षयता निरन्तर आइरहेका छन् ।


गतसाता नै केन्यामा बेचिएका नेपाली नर्तक महिलाहरूका दर्दनाक विवरण त्यहाँको अखबारमा छापिएपछि सामाजिक सञ्जालमा व्यापक भएको थियो । दोष मानव तस्करीका एजेन्ट वा मानव बेचबिखनकर्ताहरूको पक्कै छ । गरिबी र जीविकोपार्जन असम्भव भएका कथा पनि आंशिक सत्य होलान् । तर त्यसको सबभन्दा ठूलो दोषी नेपाली युवाहरूका अनौठा र विकृत महत्त्वाकांक्षाहरू नै हुन् ।


अमेरिका जान पौने करोड रुपैयाँ नगदै खर्च जुटाउन सक्ने युवा अमेरिकी मापदण्डमै मध्यमवर्गीय हो । ७५ हजार डलर नगदै हातमा हुनु अमेरिकामा पनि ठूलो रकम हो । थोरै संख्याका अपहरण, छलछाम र करकापमा पारेर बेचिने बाहेक, खासगरी तेस्रो मुलुक पुग्ने युवतीहरू पनि थाहा नपाएर होइन, अस्वाभाविक महत्त्वाकांक्षाले त्यहाँ पुगेका हुन् ।


मुलुकको नेतृत्वकर्ता र निर्णयको उपल्लो तहमा बस्नेका छोराछोरीहरू, प्रायः सबै नै, राज्यको स्रोत दुरुपयोग गरेर विकसित विश्वमा पलायन भएपछि उतै पुग्ने सपना देख्ने आम नागरिकका छोराछोरीले गरेको भद्दा र असफल नक्कलको परिणति हो यो ।


युवाहरूलाई सके अमेरिका र नसके अफ्रिका भए पनि पुग्नैपर्ने मनोविज्ञान जसरी नेपालको राजनीति, अर्थतन्त्र र समाजले विकास गरिदिएको छ, त्यो प्रवृत्ति मुलुक विघटनको अवश्यंभावी प्रारम्भ हो । एसईईको परीक्षाफलमा प्रतिविम्बित, नेपालको मृत भइसकेको सार्वजनिक शिक्षा प्रणालीको प्रेतात्मा यस्ता विकृत सपनाको मुख्य कारक भइरहेको छ ।


परिदृश्य ३ः गत शनिबारकै नयाँपत्रिकामा छापिएको पूर्वमाओवादी छापामारले आफ्नी छोरी त्यागेर तथाकथित जनयुद्धमा होमिएको कथाले धेरैको मन छोएको होला । त्यो हिंस्रक युद्धले देखाएको सपना कति नक्कली थियो र केही चलाख मानिसहरू कालान्तरमा सत्तामा पुग्ने आसमा कसरी विदेशी शक्तिहरूको योजना अनुरुप नेपालीहरूको हत्या उद्योग चलाइरहेका थिए भन्ने फेहरिस्त अब दोहोर्‍याउनु परेन ।


मूल कुरा, ती सपनाहरू कति नक्कली र झुठा भनेर खुट्टयाउने र त्यो हिंसा कति अनावश्यक थियो भनेर केलाउन सक्ने निर्णायक चेत (क्रिटिकल थिङकिङ) दिन मुलुकको शिक्षा प्रणाली असक्षम सावित थियो । यही ‘क्रिटिकल थिङकिङ’को सर्वथा अभावले यस्ता असम्भव र कुटिल सपनाहरूप्रति युवा मस्तिकलाई मोहित बनाउने अवसर दियो । जीवन उपयोगी शिक्षा अभावकै कारण त्यो अनावश्यक युद्धका योजनाकारहरूलाई वयः सन्धिका हजारौंको सपना देख्नेहरूको कमजोरी दोहन गर्न सम्भव भएको हो ।


एकातर्फ नसुध्रिएको कमजोर शिक्षा र अर्कोतर्फ यही कमजोरी दोहन गर्न उद्यत दस्ता, दुवैको नियति, त्यो छापामार युद्ध सुरु भएको अढाई दशकपछि पनि नेपालको भविष्यमाथि उत्तिकै ज्युँदो र भयावह छन् ।


फरक परिकल्पना

यी केही उदाहरण मात्र हुन् । नेपालको भविष्यलाई खण्डित गर्ने र एउटा क्रियाशील राष्ट्रको अस्तित्वलाई नै निमिट्यान्न पार्ने दिशाउन्मुख यी प्रवृत्तिहरूलाई उल्ट्याउन सकिएला कि नसकिएला ? आशावादी हुने हो भने पनि उल्ट्याउन कति समय लाग्ला ? त्यति बेलासम्म संसार नेपाललाई पछाडि छोडेर कति अगाडि पुगिसक्ला ?


एउटा समुन्नत, आधुनिक र विश्वले गर्वका साथ नाम लिने एउटा फरक नेपालको परिकल्पना गर्ने सम्भावनाहरू क्रमशः टाढा हुँदैछन् कि नजिक ?


यी अत्यन्तै जटिल प्रश्नहरू हुन् । शिक्षा प्रणाली हामीले अपेक्षा गरे अनुरुप आजै सुधार गर्न सम्भव भयो भने पनि त्यसले इप्सित ‘क्रिटिकल थिङकिङ’ भएको, मुलुकभित्रै सहज जीवनयापनको सपना देख्ने युवापङ्क्ति उत्पादन गर्न अर्को दुई दशक लाग्छ । मुलुकको सबै पक्षको सुधार र समृद्धिका लागि शिक्षा सर्वाधिक शक्तिशाली निर्णायक आयाम हो । तर यहाँको सार्वजनिक शिक्षा प्रणालीलाई सुधार्न सकिंँदैन र त्यो प्रयास गर्नु निरर्थक हो भन्ने निष्कर्षमा सिङ्गो नेपाल राज्य पुगेको जस्तो देखिन्छ ।


राज्य सञ्चालकहरूको व्यवहारले त्यही पुष्टि गर्छ । जुन रङको राजनीतिक शक्ति सत्तामा पुगे पनि यसलाई सुधार र आधुनिकीरकण गर्ने ध्येयमा भन्दा सिङ्गै प्रणालीलाई नै आफ्नो स्वार्थ अनुकूल जतिसक्दो दोहन गर्न उद्यत हुन्छ । अहिलेको सरकारले पनि गुणस्तर सुधारभन्दा भएका सबै साना–ठूला शैक्षिक निकायमा आफ्ना कार्यकर्ता भर्ना गर्ने बाटो खुला गर्ने कानुन बनाउनमा अर्जुनदृष्टि लगाइरहेको छ ।


अमेरिका, अष्ट्रेलिया, जापान वा नभए अफ्रिका नै भए पनि पुगेर मात्र दोहोरो श्वास लिने सपना देख्ने जुन पुस्ता अहिलेको राजनीतिक र अर्थसामाजिक परिवेशले निर्माण गरिरहेको छ, त्यो नेपाली समाज विघटनको ज्वलन्त दृष्टान्त हो । यो निम्न मध्यम वर्गको व्यवहारले निम्त्याएको जोखिम हो ।


तथाकथित उच्च वर्गको व्यवहारले पनि नेपाली समाजलाई अझ द्रुतगतिमा विघटोन्मुख तुल्याएको छ । यो वर्गको उपभोग (उपलब्ध भए पनि) नेपाली उत्पादन हुँदैनन् । तिनका छोराछोरी नेपालमा पढ्दैनन् । नेपाली गीत–संगीत सुन्दैनन् । नेपाली भाषा र कला चिन्दैनन् ।


उनीहरूका आदर्श कुनै नेपाली होइनन् । यो व्यवहार आवश्यकता, चाख र छनोटको मात्रै होइन, विलकुल आडम्बरको उपज हो, जुन विस्तारै बानीमा परिणत भएको छ । पुस्तान्तर भएको छ । यो वर्गको सामाजिक प्रतिष्ठाको मानक युरोप, अष्ट्रेलिया वा अमेरिकाको स्थायी बसोबास अनुमति र त्यहाँ एउटा आफ्नो घर भएको छ ।


चरम संवेदनहीनता

फरक परिदृश्यको निर्माण परिकल्पनाले मात्रै हुँदैन । त्यसका लागि निर्णायक ‘कर्ता’ चाहिन्छ । त्यस्तो निर्णायक क्षमताका लागि परिस्थितिको गाम्भीर्यको सुझबुझ र यथोचित संवेदनशीलता चाहिन्छ । र त्यो कर्ता मुलुकको राजनीतिक नेतृत्व नै हुनुपर्छ । अरु पक्ष वा शक्ति त्यसमा सहयोगी पक्कै हुन सक्छन् ।


नेपालको विगत लामो समयदेखिकै नेपालको राजनीतिक नेतृत्व मुलुकको भविष्यको चिन्तासँग सिधै जोडिएका शिक्षा, समाज र सम्भावनाका तीव्र क्षयप्रति असंवेदनशील भएको आरोप एक प्रकारले रुन्चे थेगो भइसकेको छ । संवेदनशीलताको परिभाषा नै अक्सर साघुँरो पारिने गरेको छ ।


उदाहरणार्थ, छापामार युवतीको अवस्थाप्रति संवेदनशील हुनु भनेको त्यो युद्धका नाइके, खासगरी अहिले राज्यसत्ता सञ्चालनमा रहेकाहरूले उनीप्रति दया देखाउन् । केही आर्थिक सहयोग गरुन्, रोजगारी दिउन् आदि भन्नेजस्तो बुझिन्छ । समस्याको मूलजड शिक्षा, स्वास्थ्य, रोजगारी र समग्र अर्थतन्त्रको समस्याग्रस्त भएको प्रणालीगत सुधारमा राजनीतिक नेतृत्व चरम संवेदनहीन भएको वास्तविकतामा प्रहार हुँदैन ।


यी समस्याको जरोमै प्रहार गर्ने राजनीतिक अंकगणितको भारी बोकेको सरकारका मुख्य सञ्चालकहरूको प्राथमिकता सत्ता लुछाचुँडीमै सीमित छ । मुलुकको भविष्य सुधार्नमा विलकुलै संवेदनशील छैन । यतिखेर मुलुकमा यस्ता चिन्ता व्यवस्थित ढंगले विसाउने, तिनमा चिन्तन र बहस हुने संस्थागत थलोसमेत छैन । अनि मुलुकको भविष्यबारे सकारात्मक फरक परिकल्पनाको सुरुवात कताबाट गर्न सकिएला ?

प्रकाशित : असार १६, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?