समाजवादी दलदलमा मार्क्सवाद

राम गुरुङ

७० वर्षयता धेरै समाजवादीको रूप र चरित्र बदलियो । समाजवादका धेरै हाँगाबिँगा पलाए, झरे । प्रतिसामन्त तथा उत्तर–पुँजीवादीको बीचबाट असंख्य सहरिया नवधनाढ्यको उदय भयो । पुँजीवादको विकल्प खोज्दै उठेका दलहरू नै पुँजीपति क्लब बने । अहिले यही पुँजीपति क्लबले समाजवादी आन्दोलन र समाजवाद–उन्मुख सत्ताको व्याख्या गरिरहेको छ । 

सन् १९६५ अघि नै लेनिनको दिमागमा परम्परागत अर्थतन्त्रको क्रमभंगताले घर गर्‍यो । उनको निष्कर्षमा पुँजीवाद टुप्पामा पुग्यो । उनले आर्थिक तथा राजनीतिक छलाङको उद्घोष गरे । समाजवादी अभ्यास गर्न भन्दै क्रान्तिकारी मार्क्सवाद–लेनिनवाद रच्न पुगे ।

लेनिनवादलाई अन्य मुलुकका लागि पनि काम लाग्ने अन्तर्राष्ट्रिय अवसरवादका रूपमा अर्थ्याए । सापेक्ष मार्क्सवाद नै वैधानिक मार्क्सवाद भएको हल्ला भयो । वैधानिक मार्क्सवादलाई निखार्न भन्दै प्लेखानोभको ‘सामाजिक–लोकतन्त्र’ (इस्क्रा, १९०१) लाई पुँजीवादको विकल्प बनाए । ५० वर्षपछि १९५० मा लेनिनवादी मार्क्सवाद नेपाल छिर्‍यो । अहिले झन्डै ७० वर्षपछि माओवादसँग मिसिएर लेनिनवादी मार्क्सवादले सामाजिक कल्याणका कमसल कार्यक्रममा समाजवादको भविष्य खोजिरहेछ ।

नेपालमा ‘लाइक–माइन्डेड’ हरूले लेनिनवादी मार्क्सवादको संवर्धन र प्रचार गरे । अन्तर्राष्ट्रिय सञ्जालको अघोषित आर्थिक सहयोगमा चलेको मार्क्सवादी आन्दोलन १९९० को अन्तरिम सत्तारोहणले हल्लाइदियो । नेतृत्व वर्गलाई विलासी जीवनशैली, शाही चरित्र र सत्तालाभले गाँज्यो । लाभहानिको कित्ताकाटले संगठनभित्र अलोकतान्त्रिक नेतृत्व र गुट विकसित गर्‍यो । गुट बलियो बनाउने होड चल्यो ।

नेतृत्व विकास र अभ्यासमा आर्थिक प्रभावले काम गर्न थाल्यो । संगठनमा दलाल पुँजीपतिले सजिलै प्रवेश पाए । राष्ट्रिय हितका कार्यक्रम किनारा लागे । विचार र आदर्श कमजोर हुँदै समाजवादले उत्तर–उत्पादन उपभोक्तावादी पुँजीवादलाई बोक्यो । नेतृत्व निर्माण, विकास र हस्तान्तरणमा सत्ता–माफिया हावी भए ।

गाली पछाडिको स्वार्थ
परम्परागत मार्क्सवादी हुन पुँजीवादलाई गाली गर्नैपर्ने सैद्धान्तिक मानक स्थापित छ । मार्क्सवादी दल स्वयं ‘साहूजी’ को खटनमा पर्दै गएको भने हेक्का छैन । साहूजी मार्क्सवादले सत्ता र निर्वाचनलाई अपरिहार्य बनायो । अन्ततः निर्वाचनमा सफल हुँदै जाँदा पुँजीवादलाई गाली गर्ने मार्क्सवादी मत पनि भुत्ते भयो ।

निर्वाचनले पुँजीतुल्य मार्क्सवादको निर्माण गर्‍यो । १९९५ पछि पुँजीतुल्य मार्क्सवादमा राजकीय नेतृत्व विकसित भयो । ‘रेन्ट–सिकरर्स’ को राजकीय झुन्डले समाजवादी आन्दोलन (?) सत्ता र सहर–आसक्त आन्दोलन बन्यो । सुविधामुखी सहरका पक्षमा उभिँदै जाँदा सुविधामुखी गाउँहरू सहरिया मार्क्सवादीको प्राथमिकतामा परेनन् । गाउँ र सहरबीच ठूलो खाडल बन्यो । गाउँ छोड्न उक्साउने राजनीतिक आदर्शलाई नै समाजवाद भन्न थालियो ।

पदीय लाभमा मात्र समानता खोज्नेलाई अर्ध–समाजवादी भन्नुपर्छ । अर्ध–समाजवादीलाई जनजीविकाका मुद्दाभन्दा उत्तर–उत्पादन पुँजीवादीको दुःखले ज्यादा पिरोल्छ । उत्तर–उत्पादन मार्क्सवादीको ध्यान उत्पादनतिर भन्दा राष्ट्रिय स्रोत हत्याउन सत्ता उपयोग गर्नेतिर मात्र हुन्छ । सत्ताका लागि निर्वाचन उपयोग हुन्छ ।

१९९० को अन्तरिम सर्वदलीय सत्ता, २००१ एवं २००८ को एकलौटी सत्ताका कारण समाजवाद–उन्मुख मार्क्सवादीले सत्ता–सम्पत्ति सम्बन्धको महत्त्व राम्ररी बुझे अनि केन्द्रीय तथा स्थानीय सत्ता हासिल गर्न सम्पूर्ण जोडबल लगाए । अधिकतम पूर्वाधार विकास आयोजना, स्थानीय समाजवाद–उन्मुख (?) सत्ताको अधीनस्थ गए । स्थानीय जनप्रतिनिधि एवं सत्ताधारी दलका नेता केन्द्रीय सत्ताधारीजस्तै बजेट विनियोजन र खर्च गर्न स्वायत्त भए । यसले स्थानीय स्वायत्ततासँगै आर्थिक अनियमिततालाई तलसम्म पुर्‍याइदियो । २०१६ को स्थानीय तथा २०१७ को संसदीय निर्वाचनले आर्थिक अनियमिततालाई झन् वैधानिक बनाइदिए ।

समाजवादी गर्भ, मार्क्सवादी पर्दा
२७ वर्षयता नेपाली मार्क्सवादले एउटा सत्य छोप्दै आएको छ । मार्क्सवादी नेता–कार्यकर्ताको अत्यासलाग्दो आर्थिक हैसियतको रूपान्तरण ! आर्थिक हैसियत निर्माण गर्दा खास सीप, योग्यता वा पुँजीजस्ता आवश्यक कुरा लागू भएनन्, सर्वसत्ताको शक्ति र प्रभावको प्रयोग भयो ।

उद्योगधन्दा निमिट्यान्न हुँदै गर्दा भएको नेतृत्वको धनाढ्यकरण समाजवादी भविष्यका लागि सोचनीय छ । सोच्दै नसोचेको धनाढ्यकरणले नेता–कार्यकर्ताको आर्जनमाथि मात्र प्रश्न उठाएन, ‘भनाइ र गराइ’ बीचको द्वन्द्वले समाजवादप्रतिको प्रतिबद्धता र इमानदारीमाथि नै शंका उब्जाएको छ । धनको आसक्ति र देशको अर्थतन्त्रलाई केलाउँदै मार्क्सवादी धनाढ्यकरणका केही प्रमुख कारणको चर्चा गरौं ।

पहिलो, मार्क्सवादले निको नमान्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था मार्क्सवादी संगठनकै तलसम्म पुगे । राज्यसँग थोरै मतलब राख्ने गैरसरकारी सोसियल इन्जिनियरिङ कार्यक्रम लागू गर्नमा मार्क्सवादी जोडबल राम्रै रह्यो । तथापि थोरै सोसल इन्जिनियरिङ कार्यक्रम नेपालअनुकूल थिए ।

स्वार्थ अनुकूलताका कारण सापेक्ष कार्यक्रम अस्वीकृत भयो । मार्क्सवादीहरू पुँजीवादी देशका सहयोगी र हर्ताकर्ता भए । हर्ताकर्ताको भूमिकाले नेतृत्वको लोभलाग्दो वर्ग उत्थान भयो । र, मार्क्सवादी संगठन ‘विकास सहायता’ परिचालनको नेपाल सञ्जाल बने । विकास सहायता सञ्जालले आलोचनात्मक मार्क्सवाद निषेध गर्दा कर्पोरेट मार्क्सवाद समाजवादको आधार भइरहेको छ ।
दोस्रो, मार्क्सवादी सत्ता (?) विकेन्द्रित वित्तीय कारोबारमा केन्द्रित छ । विकेन्द्रित वित्तीय मान्यता अनुसार, एमाले सरकार (१९९४) ले सहकारी अवधारणालाई अघि सार्‍यो । सहकारी कारोबार तलसम्म विस्तारित भयो । स्थानीय निकायमा साना जमिनदार, अवकाशप्राप्त शिक्षक, कर्मचारीको बाहुल्य भएकाले बहुसंख्यक सहकारी संस्थाको नेतृत्व एमाले नेता–कार्यकर्ताले गरे ।

नाफाको नीतिले सहकारी कारोबारमा बैंकिङ चरित्र घुसायो । सहकारीले असुल्ने चर्को ब्याज र सेवाशुल्क, संकलित निक्षेपको दुरुपयोग गर्दै वर्ग उत्थान गर्ने ह्वात्तै बढे । यसले लक्षित वर्गलाई उपेक्षा गर्‍यो । उपेक्षित वर्ग समूहले लक्ष्य अनुरूप फाइदा लिन सकेन । आर्थिक शोषण संस्थागत भयो । नेपाली समाज विस्तारित दलाल वित्तीय पुँजीवादमा प्रवेश गर्‍यो । स्थानीय अर्थतन्त्र परनिर्भर भयो । उप्रान्त, बैंकिङ सहकारीमा सुदखोर पुँजीवाद फस्टाइरहेको छ ।

तेस्रो, लोकतन्त्रको जरुरी कारण नै अविकास, गरिबी र पछौटेपन हुन् । राज्यले अविकास अन्त्य गर्न पूर्वाधार विकासमा भरपुर जोड दिएको छ । निर्वाचित जनप्रतिनिधिमार्फत विकास सत्ता गाउँसम्म पुगेको छ । स्थानीय एवं केन्द्रीय मार्क्सवादी सत्ता वर्चस्वले विकास सत्ताको पनि नेतृत्व गरेको छ । विकास सत्तामा भएको हालीमुहालीका कारण ठेकेदारी मार्क्सवादी बुर्जुवा जन्मिएका छन् । बुर्जुवा नेतृत्वले मार्क्सवादी आन्दोलनलाई नै ठेकेदारीमा लगेर बिसाइदिएको छ ।

चौथो, क्रान्तिकारी मार्क्सवादले उद्योगलाई वर्गीय असमानताको कारक ठान्छ । नेपाली सन्दर्भमा मार्क्सवादी समाजवादले वितरणलाई बढावा दिएको छ । उत्पादनप्रतिको अरुचिले गर्दा आयात आश्रित उपभोग बढ्यो । फलतः सुताहा अर्थतन्त्र र ‘रेन्ट’ आश्रित राजनीति मौलाए । बहुराष्ट्रिय कम्पनी बजारमा प्रभुत्वशाली भए । आयात सम्बन्धी कानुनको व्यापक हेरफेर गर्दै जाँदा प्रतिपक्ष/सत्तामा रहेर बहुराष्ट्रिय कम्पनीसँगको आर्थिक लाभ मार्क्सवादी नेताले पाउँदै रहे । पुँजीवादअनुकूल ऐन–कानुनमा समाजवादको गर्भ खोतल्नुलाई मार्क्सवादीले ऐतिहासिक मानेको छ ।

समाजवादको झुट
समाजवाद स्वयं पुँजीवादको उत्पादन हो । पुँजीवादको आलोचना गर्दै जन्मिएको मार्क्सवादले गर्दा नै पुँजीवादी आर्थिक सत्ता बलिया भए । मार्क्सवाद समाजवादी अर्थराजनीतिक आदर्श हो । यद्यपि मार्क्सवादी समाजवाद मौलिक नेपाली आदर्श होइन ।

व्यवहारमा मार्क्सवाद, समाजवादी लक्ष्य र पूर्वीय दर्शन प्रभावित नेतृत्वको आचरण अमिल्दा छन् । नेतृत्वको चरम वर्ग निर्माणबाट गुज्रिरहेको नेपाली मार्क्सवादले काल्पनिक समाजवादमा उभिएर पुँजीवादको मजा लिइरहेको छ । पुँजीवादी आचरणमा मध्यबजारबाट मार्क्सवादी अभ्यासको महिमा गाउँदै त्यसले समाजवादमा पुगिने राजनीतिक झुट पस्किरहेको छ । राजनीतिक झुटको टाउको उठाएको मार्क्सवादी उच्छृङ्खलताले त पुँजीवादलाई नै फाइदा गरेको छ ।

भविष्यप्रति चिन्तित हुनु अर्थतन्त्र र समाजको कुण्डली बनाउने जिम्मा लिएका सापेक्ष मार्क्सवादीको विशेषता हो । भविष्यप्रतिमरिमेट्ने मार्क्सवादी आफू र आफ्ना सन्तानको वर्तमानप्रति भने अलि बढ्ता नै सचेत र संवेदनशील छन् । सक्दो पुँजीवाद उपभोग गरिरहेका मार्क्सवादीलाई आजको पुँजीवाद अत्याज्य छ, तथापि पुँजीवादको यो तागतलाई बेकामे देख्छन् । बजारियासँग कुत असुल्ने मार्क्सवादी त्यही बजारमा सर्वहारा खोज्छन् । कुरूप पुँजीवाद देखाएर गतिशील भौतिक सुख भोग्न निरुत्साहित गर्छन् ।

समाजवाद संघर्षविहीन आदर्शवान् सामाजिक तथा अर्थराजनीतिक प्रणाली हो । तर दशकौंदेखि उस्तै उमेर (वृद्ध), लिंग (पुरुष), वर्ग (पहाडिया कुलीन) ले अँठ्याएको संगठनमा नेतृत्व विकास र हस्तान्तरणका लागि भएका संघर्ष रोचक छन् । एउटै मार्क्सवादी दलभित्र भएका वैचारिक संघर्षको झगडा र भागबन्डा टीठलाग्दो छ । वर्ग निर्माणका लागि भएका हानथापको बुर्जुवाकरण भएको छ । बुर्जुवाकृत ट्रेड युनियनिजमबाट उदाएको आर्थिक सम्झ्रान्त ट्रेडिङबाट असुलिने कमिसनसम्म ओर्लिएको छ ।

r8s2s@gmail.com

प्रकाशित : असार १६, २०७६ ०७:४६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हत्ते गरेर अपहत्ते

दीप्स शाह

मध्यपूर्वी खाडी मुलुक ओमानमा दुई नेपाली युवतीको ज्यान गएको खबर जति सजिलै सुनियो, पचाउन त्यति नै जटिल बन्यो । सुन्नमा सरल यस मानेमा कि, यस किसिमको खबर यो पहिलो होइन । पचाउन जटिल किनभने बिरानो मुलुकमा सुनौलो सपना देख्दै गरेका आफ्ना चेलीहरूले जीवन त्यागेको खबर कुनै कोणबाट सहज हुन सक्दैन ।

२५ र २१ वर्षीया ती युवतीमध्ये एकको उनकै बंगाली पुरुष साथीले चक्कु प्रहार गरी हत्या गरेको थियो। ती युवती करिब दुई वर्षअघि रोजगारीको सिलसिलामा ओमान पुगेकी थिइन् र केही समययता काम र कामदाता छोडेर त्यही बंगालीसँग बस्दै आएकी थिइन् ।

अर्की युवतीको शव झुन्डिएको अवस्थामा भेटिएको थियो, जो पर्यटक भिसामा त्यहाँ पुगेर कुनै बंगाली युवकसँगै बस्दै आएकी थिइन् । खबर अनुसार, उनको साथी भनिने बंगाली पुरुष भने उनको मृत्युको केही समय पहिले आफ्नै देश फर्किसकेको थियो ।

यी दुई घटनामा दुइटा समानता छन्— अवैध बसाइ र विदेशीपुरुष साथी ।

कुनै पनि मुलुकमा अवैध तरिकाले रहनु हरेक कोणबाट अत्यन्त असुरक्षित हुन्छ । मातृसत्ता लागू रहेको, लैंगिक हिसाबले हरेक तह र तप्कामा नारी–पुरुषको समान हक सुरक्षित रहेको र मानव अधिकारको उच्चतम सुरक्षा र संरक्षण रहेको इजरायलजस्तो देशमा त कागजात र भिसाविहीन विदेशी कामदारले या त इमिग्रेसनको सुराकी खेप्नुपर्ने या कम पारिश्रमिक र कठिन अनि छनोटविहीन काममा निर्धारितभन्दा अधिक समय पेलिनुपर्ने अवस्था छ भने ओमानजस्तो झनै फरक संस्कृति रहेको मुलुकमा ती युवतीको भोगाइ कस्तो थियो, सहजै अनुमान लगाउन सकिन्छ ।

अर्कातिर, हिम्मत जुटाएर परदेशसम्मको अज्ञात यात्रामा निस्किसकेका हाम्रा चेलीहरू पुरुषबिना बस्नै नसक्ने हुन् ? पुरुषको आड र साथबिना बाँच्नै नसक्ने हुन् ? कोही पुरुषसँगको शारीरिक सामीप्यबिना के कुनै नारी सास फेर्नै सक्दैनन् ? शरीरको भोककै लागि त्यत्रो जोखिम मोलेर दूरदेश पुग्नु जरुरी छ ?

आफू केका लागि किन त्यो गन्तव्यसम्म पुगेकी हुँं भन्ने बिर्सिएर सीमित रमझममै रम्ने हो भने फेरि दोष कसलाई दिने ? आँगन नाघेर केही गर्ने, आफ्नै खुट्टामा उभिने मौकालाई सदुपयोग गर्ने साहस आफूमा छैन भने कहिलेसम्म दोस्रोलाई गलत बताएर आफूलाई नै बरबाद गरिरहने ?

हो, हाम्रो परिप्रेक्ष्यमा धेरै अबगाल सरकारलाई दिन सक्छौं । हुन पनि सरकार निकम्मै छ। सम्बन्धित निकाय गैरजिम्मेवार छन् । नियमकानुन अत्यन्तै फितला र सीमित वर्गको पहुँचमा छन् । प्रणाली लथालिङ्ग छ । पाइला–पाइलामाअप्ठ्यारा र निर्विकल्प बाध्यता छन् ।

तर यसो भन्दैमा सबथोक सकिइसकेको पनि त छैन ! बाध्यताका नाममा जुनसुकै तरिकाले कुनै पनि बाटो गरी धूर्त दलालहरूको सम्पर्कबाट वैदेशिक रोजगारीमा निस्किन पनि त कम से कम केही हजार या लाखको जोहो गर्नुपर्दैन र ? केही लाखसम्मकै जोहो गर्नसक्ने हिम्मत र सम्भावनालाई ‘छाक टार्नसमेत मुस्किल अवस्था’ को बिल्लाले छोपेर हामीले कहिलेसम्म अकाल मरण रोजिरहने ? इच्छाशक्ति हुने हो भने त्यति रकमले स्वदेशमै केही गर्न नसकिने होइन । खतरा मोलेर अन्धकार गन्तव्यमा भासिनुभन्दा स्वदेशमै, सानै सही, कुनै व्यवसाय गर्नु सर्वोत्तम विकल्प हो ।

यहीँ जत्ति ज्याला–मजदुरी गर्न पाइन्छ । हाम्रा सहर–बजार झन् यस्तो मलिला छन्, गमलामा फलाएको सागको मुठो बोकेर चोकमा उभिए केही मिनेटमै पैसा फल्छ । हाम्रा गाउँ पनि कम छैनन् । सरकारले केही गरेन भन्दाभन्दै पनि महिला विकास केन्द्रित धेरै योजना गाउँ–गाउँ पुगेका छन् । केही गर्छु भन्ने आँट र इच्छाशक्ति भएका महिलालाई अनुदानका, साना उद्यमका धेरै कार्यक्रम छन् । जिन्दगीकै बलि चढाउनुपर्ने गन्तव्य ताक्नुभन्दा पाखुरा खियाएर स्वदेशमै बाँच्ने योजना ठीक होइन र ?

अवैध बाटाको वैदेशिक रोजगारी निर्विकल्प बाध्यता हो भन्छन् कतिपय । तर मलाई लाग्छ, यो धेरै हदसम्म हाम्रो विलासी मानसिकताको उपज हो । रमझममा बाँंच्ने लालसाको नतिजा बनिरहेको हुनसक्छ, यो रहर । छिट्टै माथि पुग्ने अधकल्चा सपनाका लागि खतरनाक भर्‍याङ चढ्नु बुद्धिमत्ता होइन । दुःख सही, स्वाभिमानमा रमाउन सिकौं । नमीठो सही, इमानदार कमाइमा स्वाद लिन सिकौं । ठूला सपना देख्नुअघि त्यसको परिणाम अनुमान गरौं । अवैध बाटो अज्ञात गन्तव्यतिर लम्किनुअघिआफ्नाहरूको याद गरौं र धेरै सोचविचार गरेर मात्रै कदमअघि बढाऔं ।

deepssanu@gmail.com

प्रकाशित : असार १६, २०७६ ०७:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×