२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

फोहोरलाई नहेर्नू फोहोरी नजरले

मधु राई

एक वर्ष भयो हामीले शून्य फोहोरको अवधारणाअनुरूप घर र विद्यालयबाट निस्कने फोहोरको वैज्ञानिक र दिगो व्यवस्थापन गर्न थालेको । त्यसो त तेह्र वर्षयता कागज जस्ता सुक्खा फोहोरबाट शैक्षिक, घरायसी र कार्यालय प्रयोजनका लागि विभिन्न सामग्री बनाउँदै आएका छौं । गत वर्ष जेठदेखि घर र विद्यालयले कागजको लेदो र माटोबाट आकर्षक फलफूल र जनावर बनाउन थालेका छौं । 

हामी प्लास्टिकको झोला पुनः प्रयोग गर्छौं । दूधका साना पोकामा बिरुवा उमार्ने गर्छौं र ठूला पोकामा फलफूल र तरकारी फलाउने गर्छौं । पातलो प्लास्टिक झोलाबाट डोरी बनाउँछौं । भान्साबाट निस्कने कुहिने फोहोरबाट जैविक मल बनाई कौसी र करेसाबारीमा प्रयोग गरेको धेरै वर्ष भयो । अन्य प्लास्टिकजन्य फोहोर बिक्री गर्छौं भने ससाना चक्लेटका खोलबाट खेलौना बनाउँछौं । कामै नलाग्ने फोहोर भने करेसाबारीको छेउछाउमा खाल्डाखुल्डी पुर्ने काममा प्रयोग गर्दै आएका छौं ।


फोहोरको प्रकृति हेरी यसको वैज्ञानिक र दिगो व्यवस्थापनबाट एकातिर विद्यालयको शैक्षिक सामग्री खर्च घटेको छ, अर्कातिर शैक्षिक सामग्री बनाउने जनशक्ति तयार हुँदै छ । जैविक मल प्रयोग गरी फलाएको विषादीमुक्त तरकारीले भान्साको खर्च मात्र घटाएको छैन, शिक्षक–कर्मचारी र छरछिमेकलाई पनि फोहोरको वैज्ञानिक र दिगो व्यवस्थापन गर्दा हुने चौतर्फी फाइदाले आकर्षित गर्न थालेको छ ।


फोहोरप्रति आम नेपालीको परम्परागत सोचले यसको व्यवस्थापन झन्झन् जटिल बन्दै गएको छ । यो काम वैज्ञानिक र दिगो हुन सकेको छैन । विराटनगर महानगरपालिकामा केही वर्षयता जताततै बाटा र नालाको निर्माणले यसलाई खिल्ली उडाइरहेको प्रतीत हुन्छ ।


त्यसो त महानगरपालिकाले दुई दशकदेखि फोहोरमैला व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिँदै आएको छ, तथापि तिनको पुरातन कार्यशैलीका कारण परिवर्तन देख्न सकिएको छैन । फोहोर घटाउनेभन्दा पनि ‘जति फोहोर त्यति मोहोर’ भन्ने मानसिकता पालेको देखिन्छ । हुन त स्थानीय तहको सक्रियता र समन्वयमा कतिपय नगरपालिकामा फोहोरको वैज्ञानिक र दिगो व्यवस्थापन हुँदै आएको छ । यस्ता नगरपालिकामा इलाम, धनकुटा, हेटौंडा र मोरङको सुन्दरहरैंचा अग्रपंक्तिमा पर्छन् । विडम्बना, यिनको सफलताबाट अन्य नगरपालिकाले पाठ सिक्न चासो लिएको देखिँदैन ।


बहुसंख्यक स्थानीय तहका पदाधिकारीले निजी कम्पनीले कसरी फोहोर व्यवस्थापन गरिरहेका छन् भन्नेबारे जिज्ञासा लिएको देखिँदैन । यसको फाइदा तिनै कम्पनीले उठाइरहेका छन् । कम्तीमा प्रकृति हेरी वर्गीकरण मात्र गर्न सके पनि फोहोरको मात्रा स्वतः घट्छ ।


यद्यपि निजी कम्पनीको बुझाइमा फोहोरको मात्रा घट्नु वा घटाउनु भनेको फेरि पनि आफूले स्थानीय तहबाट पाउने रकम घट्नु हो । यस्तै, फोहोरजन्य वस्तु बिक्री गरी आयआर्जन गर्न सकिन्छ भन्ने जनचेतना जगाउन स्थानीय तहलगायत निजी कम्पनी चुकेको देखिन्छ । यस्ता कतिपय कारणले पनि फोहोर ‘उत्पादक’ मासचेतना बढ्न सकेको छैन ।


पछिल्लो समय काठमाडौं र भक्तपुरमा कतिपय निजी कम्पनीले आधुनिक सूचना र प्रविधि प्रयोग गरी घरदैलाबाटै फोहोर किनिदिने गरेका छन् । यस्ता कम्पनीमा भक्तपुरको ठिमीको डोको रिसाइकलर्स र खाली सिसी डटकमहरू अग्रपंक्तिमा छन् । डोको रिसाइकलर्सले किनेको फोहोर पुनः प्रयोग र पुनः चक्रण गरी बिक्रीसमेत गर्दै आएको छ भने खाली सिसी डटकमले सीधै कबाडीलाई बिक्री गर्ने गर्छ ।


पछिल्लो समय विकसित मुलुकहरूको के कुरा, छिमेकी मुलुक भारतको केरला राज्यको कोबलाममा सन् २००४ देखि ‘जिरो वेस्ट’ अभियान सुरु भएको छ । यूएनडीपीको सहयोगमा सञ्चालित सो अभियानलाई परिणाममुखी बनाउन सेल्फ हेल्प समूहका महिला लागिपरेका छन् । यो अभियानले त्यहाँ वातावरण संरक्षण मात्र भएको छैन, महिलाका लागि रोजगारीको भरपर्दो माध्यम बन्दै छ फोहोर ।


जापान सरकारले शून्य फोहोरको अवधारणाअनुरूप कार्य गर्न शैक्षिक संस्थाहरूसँग सहकार्य र समन्वय गर्दै आएको धेरै भइसक्यो । यस्तै घर र विद्यालयबाट निस्कने पैंतीस किसिमका फोहोरलाई वर्गीकरण गर्ने कला स्कुले बालबालिकालाई सिकाउन जापानी सरकार लागिपरेको छ । कुहिने फोहोरबाट जैविक मल बनाई तरकारी र फलफूल उत्पादन गर्ने देशमा जापान अग्रपंक्तिमा पर्छ ।


विश्वको दोस्रो उत्कृष्ट र सफा देश स्विडेनमा समग्र फोहोरको ४७ प्रतिशत पुनः प्रयोग र पुनः चक्रण गरिन्छ । ५२ प्रतिशत अजैविक अर्थात् प्लास्टिकजन्य फोहोरबाट विद्युत् उत्पादन गरिन्छ र विद्युत् आपूर्ति गर्न बेलाबेला स्विडेनले यस्ता फोहोर अपुग हुँदा आयातसमेत गर्दै आएको छ । त्यहाँ १ प्रतिशत काम नलाग्ने फोहोर मात्र ल्यान्डफिल साइटमा लगिन्छ ।


अस्ट्रेलियामा फोहोरको प्रकृति हेरी एक दिन कुहिने र अर्को दिन नकुहिने संकलन गरिन्छ । नेदरल्यान्डमा नकुहिने फोहोर मात्र संकलन गरिन्छ भने फोहोर उत्पादक स्वयंले कुहिने फोहोरको वैज्ञानिक र दिगो व्यवस्थापन गर्नुपर्ने सरकारी नियम छ । फिनल्यान्डमा सहकारी संस्थाहरूको आम्दानीको मुख्य स्रोत फोहोर नै हो ।


पछिल्लो समय हाम्रा तीनै तहका सरकारी पदाधिकारीहरूको विदेश भ्रमण बाक्लिँदै गएको छ, तथापि उनीहरूको विदेश भ्रमण सीप, प्रविधि सिक्नेभन्दा पनि कति आर्थिक सहयोग माग्ने भन्नेमै केन्द्रित देखिन्छ । उनीहरूको प्राथमिकतामा न फोहोरमैला व्यवस्थापन पर्‍यो, न पर्ने कुनै छाँट छ । विकसित मुलुकले जस्तै फोहोरलाई आम्दानीको स्रोत बनाउन सके हामीकहाँ पनि रोजगारीको भरपर्दो विकल्प तयार हुन सक्छ ।

प्रकाशित : असार १५, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?