कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

मेयरको मनपरी

नारायणी देवकोटा

असार ४ गते इटहरीका मेयर द्वारिका चौधरीले महिलाको यौनिकतालाई लिएर गरेको अपमानजनक अभिव्यक्तिका कारण आलोचित छन् । उनले महिलामा पर्न गएको चोटप्रति माफी मागेर प्रेस विज्ञप्ति पनि जारी गरे तर भाषणमा आम महिलालाई एउटै घानमा हालेर बोलेका छन् ।

मेयरको मनपरी

महिलाको स्वास्थ्य, सौन्दर्य, जीविकाका बाटाहरूलाई उनले यौन व्यवसायको चरम नकारात्मक कोणबाट बोलेका छन् । उनको भनाइ सुन्दा लाग्छ, ब्युटीपार्लर जाने वा सिंगारिएर हिँड्ने महिला, होटल चलाउने र त्यहाँ बास बस्न जाने महिला, स्वास्थ्यचौकी जाने महिला सबै यौनकर्मी हुन्, जुन उनको नजरमा समाजिक विकृति हो ।


उनको अभिव्यक्तिले आम महिलाको आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन भएको भन्दै नगरपालिकाका महिला सञ्जालका दिदीबहिनीले तत्कालै प्रेस विज्ञप्ति जारी गरे । देशभरिका महिला, यस क्षेत्रमा काम गरिरहेका सामाजिक संघ/संस्था र महिलाप्रति समभाव राख्ने धेरैको अपेक्षा उनले नैतिकताको आधारमा राजीनामा दिउन् भन्ने छ । उनको उक्त भाषण पटक–पटक हेरेँ, रिस उठ्यो, उठिरह्यो । मलाई मात्र होइन, महिलाप्रति अलिकति सम्मान राख्ने पुरुष–महिला सबैलाई रिस उठेको समाजिक सञ्जालमा व्यक्त धारणाबाट बुझ्न सकिन्छ ।


महिलाको आत्मसम्मानमा चोट पुग्ने अभिव्यक्ति दिने मेयर चौधरी सजायका भागिदार छन् । पितृसत्ताले महिलाको सारा अतित्वलाई उसको योनिको वरिपरि सीमित गरिदिएको छ । एउटा जैविक अंगलाई आधार बनाएर सयौँ विभेदका पर्खाल ठड्याइएको छ । उक्त विभेदलाई मलजल गर्न धर्म, कानुन, संस्कृति र साहित्यको रचना भएको छ । यौन पुरुषका लागि अधिकार र महिलाका लागि बाध्यताको रूपमा परिभाषित गरिएको छ । अनि पुरुष भोक्ता बन्यो, महिलालाई भोग्या वा भोगिने वस्तु बनायो ।


मान्यताहरू बनायोः हाँस्नेहरू वेश्या हुन्, नाच्नेहरू चरित्रहीन हुन् । महिलाले आफ्नो अनुहार सजाएको पुरुषलाई आकर्षण गर्न हो । रातविरात हिँड्ने किशोरी वा महिला छाडा हुन् वा यस्तै–यस्तै । यिनै मान्यतामा आधारित भएर कतै महिलाको यौनिकतालाई दबाउन, कतै महिनावारी नहुँदै कन्यादान गर्न थालियो, महिनावारी भएका महिलालाई अछूत बनाइयो, वंश र अशंबाट उनीहरूलाई टाढा राखियो । लेख्दै जाने हो भने सूची लामो हुन्छ ।


महिलाको यौनिकतालाई व्याख्या गर्ने पितृसत्ताको कुरूप परिभाषा दिमागमा बोकेर देश र समाज परिवर्तन गर्छु भन्नेहरूको भिड छ, अहिले । जसले गर्दा विदेशमा काम गर्न जाने महिलाको योनिलाई देखाउँदै, विदेशमा काम गर्न जान उमेरको हदबन्दीको कानुन बनाउँछ, मन्त्री भइसकेको कुनै नेता उच्चशिक्षा हासिल गर्न गएकी छोरीहरूको योग्यतालाई लल्कार्दै भन्छ, ‘प्राध्यापकलाई यौन सन्तुष्टि दिएर मात्र प्रमाणपत्र पाउँछन् केटीहरू’, प्रहरीको अधिकृत कुनै होटलमा छापा मार्छ र यौनकार्यमा सँगै भएका पुरुषलाई छाड्दै महिलालाई मात्र पक्रिन्छ र भन्छ, ‘यौनकार्यमा रंगेहात पक्राउ परेका महिलाहरू’ ।


अनि संसदको समितिमा सांसदको फुली लगाएको मान्छे कुर्लन्छ, ‘आमाको नामबाट नागरिकता दिने हो भनेसमाजमा व्यभिचार बढ्छ’ । यी त केही उदाहरण मात्रै हुन् ।


यही सिलसिलामा महिलाको यौनिकतालाई हेर्ने कुरूप चस्मा पहिरेका मेयर द्वारिका चौधरीले बके । जे बके त्यो सार्वजनिक ठाउँमा दुईजना मान्छे अगाडि बोल्न मिल्दैन । पटक पटक यस्ता अभिव्यक्तिका पछि प्रश्न उठ्छन्, ‘के महिला हरदम यौन कार्यका लागि तयारी भएर बसेका हुन्छन् ?’ उत्तर अहिलेसम्म महिलालाई सोधिएको छैन ।


यौनकर्मीलाई हेर्ने नजरिया

महिलाको यौनिकतालाई नैतिकताको कसीमा राख्ने र त्यसलाई नैतिकताको मूल्य जोडिएको वस्तुको रूपमा गर्व गर्नेहरूले यौनकर्मलाई कि अनैतिक कार्यको रूपमा लिन्छन्, कि नाफा कमाउने माध्यमको रूपमा । सरकार सञ्चालन गरिरहेको पार्टीमा त्यस विषयमा सायद छलफल नै हुँदैन ।


त्यसका उदाहरण हुन् : गत हिउँदमा गण्डकी प्रदेशका मुख्यमन्त्रीले पोखरालाई ‘सेक्स हब’ बनाउने भाषण र वामदेव गृहमन्त्री भएका बेला ठमेल क्षेत्रमा राति ११ बजेपछि होटल, रेस्टुरेन्ट बन्द गर्न लगाउने कार्य । यौन व्यवसायबारे सरकार सञ्चालन गर्ने पार्टीले ठोस नीति बनाउनसकेको छ ।


सरकार सञ्चालन गर्ने व्यक्ति वा पार्टीले धारणा र नीति नबनाउँदैमा संसार रोकिँदैन, रोकिएको छैन । पितृसत्ताले ‘ग्लोरिफाइ’ गरेको महिलाको यौनिकता पुँजीवादी बजारको लागि बहुमूल्य माल हो । त्यसैले त बढिरहेको छ, महिलाको व्यापार र यौनकर्मी महिलाहरूको संख्या । तर यौनकर्मी हुन पनि महिला स्वतन्त्र छैनन् । उनीहरूको शरीरको व्यापारमा संसारभर पहुँचवालाहरूको बर्चस्व छ ।


यौनकर्म पनि काम हो

यौनकर्मी महिलाको अधिकारका लागि काम गर्ने संस्थाहरूको सञ्जाल जागृति महिला महासंघका अनुसार नेपालमा अहिले ५५ हजार महिला यौनकर्ममा संलग्न छन् । उनीहरूका आ–आफ्नै कथा, कथाभित्र पनि कथाहरू छन् । तीमध्ये धेरैको एउटा समान कथा छ, ‘उनीहरू आफ्ना रहरले यो क्षेत्रमा आएका होइनन्’ । उनीहरूलाई आफ्नो शरीर बेच्न बाध्य बनाउने यही समाजभित्रको विभेदकारी व्यवहार र विभेदकारी संरचना हो । जसका जगमा छ, जातीय दलन, वर्गीय दलन र बढी छ, महिला हुनुको दुःख ।


यौनकर्मलाई सकारात्मक, नकारात्मक जसरी लिए पनि सबै महिलालाई यौनकर्मी भन्न पाइँदैन । यदि महिला यौनकर्मी नै भए पनि उनीहरूको मानमर्दन गर्न पाइँदैन । त्यसमाथि सम्पूर्ण महिलालाई नै मानमर्दन गर्नेगरी दिएको चौधरीको अभिव्यक्तिले उनी आफैँ नैतिक रूपमा सार्वजनिक पदमा बस्नलायक मानिस होइनन् । सरकारले यस्ता अभिव्यक्ति दिने जनप्रतिनिधिलाई पदमुक्त गरे सम्पूृर्ण महिलाको आत्मसम्मानमा लागेको चोटमा अलिकति मल्हमको काम गर्थ्यो कि ? महिला पनि मान्छे हुन् भनेर स्वीकार गर्ने कि ?

प्रकाशित : असार १३, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?