१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हाम्रो खानामै पृथ्वीको स्वास्थ्य

कृष्णप्रसाद पौडेल

जलवायु परिवर्तनको तीव्रतासँगै मानव अस्तित्वकै बारेमा वैज्ञानिक चिन्ता हुन थालेको धेरै भइसकेको छ । हालै पनि नर्वेस्थित खाद्य मञ्चमा संलग्न दर्जनौं वैज्ञानिकले यस्तै सन्देश दिएका छन् । चार दशकको तथ्याङ्कको विश्लेषण गरी उनीहरूले तयार गरेको प्रतिवेदन तर्साउने खालको छ । यसअनुसार, हरित ग्यास उत्सर्जनले अन्ततः मानव सभ्यता ठूलो जोखिममा पर्नेछ ।

हाम्रो खानामै पृथ्वीको स्वास्थ्य

मानव स्वास्थ्य, माटो, पर्यावरण र प्रकृतिमा संकट थपिँदै छ । खनिज ऊर्जा उत्खनन र दोहन, यसबाट भइरहेको हरित गृह ग्यास उत्सर्जन र वनजंगलको निरन्तरको विनाश यथावत् रहे केही दशकमै पृथ्वीमा मानवको अस्तित्वमा चुनौती आउने चिन्ता बढ्दो छ ।

मानिसले वनस्पति र जनावर पालेर आफैंले उत्पादन गरेको खाना खाने गर्छ ।


हामीले खाँदै गरेको खाना अहिले हामी र पृथ्वीको स्वास्थ्य समस्याको मूल कारक बन्न पुगेको छ । एकातर्फ रसायन, विषादी, हर्मोन र प्लास्टिकको अत्यधिक प्रयोगले माटो, पर्यावरण र खानेकुरा विषाक्त भएका छन् भने, अर्कातर्फ हरित गृह ग्यास उत्सर्जनले जलवायु परिवर्तन भएर पृथ्वीको स्वास्थ्यमा व्यापक गडबडी भएको छ ।


मानिसले खानाको जोहो गर्न गरेको कृषि प्रणाली नै यसको कारक हो । हरित गृह ग्यास उत्सर्जनको एकचौथाइभन्दा बढी योगदान कृषि क्षेत्रको छ । यस्तो उत्सर्जन घटाउनु पनि छ, बढ्दो जनसंख्यालाई पर्याप्त र पोसिलो खाना पुर्‍याउनु पनि छ । यसको सामना गर्न हामीले खनिज ऊर्जामा आधारित, खास गरी रसायन, विषादी, हर्मोन र प्लास्टिकमा भर परेको, खेती प्रणालीलाई दिगो कृषिको मापदण्ड अपनाई रूपान्तरण गर्नुपर्नेछ ।


खानेकुरा जोहो गर्न भन्दै गरिएको वनक्षेत्र विनाश, वन्यजन्तु र समुद्री जीवको बासस्थानको विनाशले जैविक विविधता पनि घट्दै गएको छ । अहिले पृथ्वीको लगभग ४० प्रतिशत भूभाग कुनै न कुनै रूपमा मानवीय प्रयोजनका लागि उपयोग भएको छ । यसबाट ठूलो संख्यामा वनस्पति र जीवजन्तु लोप भइरहेका छन् । जीवजन्तुको झन्डै आधा हिस्सा ओगटेको र जीव जगत्को सबैभन्दा महत्त्वपूर्ण पुनर्जीवन प्रणालीको आधार निरन्तर खस्कँदो छ ।


एउटा अध्ययन अनुसार, गत ४० वर्षमा आधाभन्दा बढी मौरी लगायतका कीराफट्याङ्ग्रा लोप भएका छन् । यस्तै अवस्था रहे अबको दस वर्षमा अरू आधाभन्दा बढी कीराफट्याङ्ग्रा हराउनेछन् । वनस्पति जगत्को परागसेचनका मुख्य कर्ता यी कीराफट्याङ्ग्राबिना हाम्रो खानेकुराको मूल स्रोत जमिनमा गरिने कृषि सम्भवै हुँदैन । उता, पृथ्वी, जलवायु र समग्र प्रकृतिको सन्तुलन बनाउने समुद्रको विविधतापूर्ण जीवन प्रणाली तहसनहस भएको छ । यहाँ रहेका जीव र वनस्पतिको अवस्था झनै कहालीलाग्दो छ ।


खाद्य प्रणालीका दुई मुख्य सीमा छन्— पृथ्वीको उत्पादनशील क्षमता र मानव स्वास्थ्यको सीमा । यिनको सन्तुलन दिगो खाद्य प्रणालीको आधार हो । सन् २०५० मा १० अर्ब पुग्ने जनसंख्यालाई स्वस्थ खाना पुर्‍याउँदै दिगो प्रकृति भावी पुस्तालाई बुझाउनुपर्नेछ । यसो गर्न सक्षम खाद्य प्रणाली बनाउन हामीले अहिलेको कृषि प्रणालीका समस्यालाई ठीक ढंगले बुझ्न जरुरी छ । हाम्रो खाद्य उत्पादन केही सीमित बाली र वस्तुभाउमा आधारित छ । समस्याको मूल जरो यही हो । यसबाट आउने खानेकुरा सन्तुलित र स्वस्थकर पनि छैन ।


मासु र अन्नपातको विश्वव्यापी प्रयोग दुई गुना बढी छ । गेडागुडी, तरकारी, फलफूल र दाख प्रजातिका खानेकुराको प्रयोग चाहिनेभन्दा आधा कम छ । यी दुवैले मानव स्वास्थ्यमा प्रतिकूल असर पारेका छन् । अघिल्ला दुईको प्रभावले मानिस मोटाउने रोगबाट ग्रस्त छ र यसले पृथ्वीको स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पारेको छ । पछिल्ला खानेकुराको अभावले मानिस ख्याउटिने र कुपोषित भएको छ । वनस्पतिजन्य खानेकुराले मानव र प्रकृतिको स्वास्थ्य सन्तुलन राख्न सघाउँछन् । यसले स्वास्थ्य समस्याका कारण भइरहेको वयस्क मृत्युदर घटाउन सहयोग पुर्‍याउँछ ।


हरित गृह ग्यास, भू–उपयोगमा आएको फेरबदल खासगरी अन्नबाली र घाँस उत्पादन, यी उत्पादनका लागि भएको पानीको प्रदूषण र भूजलमा ह्रास, नाइट्रोजन र फस्फोरसको अत्यधिक प्रयोग तथा जैविक विविधतामा आएको ह्रास र लोप हुँदै गएका प्रजाति हाम्रो पृथ्वीको स्वास्थ्यका मूल समस्या हुन् । यी सबै सम्हाल्न सक्ने पृथ्वीको क्षमता नाघिसकेको छ । प्रजाति लोप हुने प्रक्रिया निकै तीव्र छ र यसले प्रकृतिको सन्तुलनमा पार्ने प्रभाव अन्दाज गर्नसमेत कठिन छ ।


हाम्रो खानेकुरा सन्तुलित बनाउँदै आफ्नै र पृथ्वीको स्वास्थ्य सपार्न लाग्नुको विकल्प छैन । यसका लागि ठूला जनावरमा आधारित मासुजन्य खानेकुरा घटाउँदै जैविक विविधतामा आधारित वनस्पतिजन्य खानेकुरा खाने बानी बसाल्नु रणनीतिक समाधान हो । मासु तथा चामल, गहुँ र मकै उत्पादनका लागि भैरहेको प्रकृतिको विनाश र हरित गृह ग्यास उत्सर्जन एकै चोटि घटाउन सकिन्छ । यसका लागि हामीले व्यवहार बदल्नुपर्नेछ ।


यस्तो कार्य परिस्थितिजन्य र स्थानीय सन्दर्भमा आधारित हुन्छ । त्यसो भए अब के गर्ने ? प्रश्न जति पेचिलो छ, उत्तर त्यत्तिकै स्पष्ट र सटिक ।


उत्पादन प्रणाली रूपान्तरण गर्नु मुख्य उपाय हो । यसका लागि रसायन, विषादी, हर्मोन र प्लास्टिकमुक्त खेतीपातीका लागि अन्तर्राष्ट्रिय, अन्तरदेशीय र आन्तरिक समझदारी र सहमति आवश्यक छ । स्थानीय सरोकारवालाको चेतना र चासो बढाउँदै जैविक खेतीपातीमा नवीकरणीय ऊर्जा र वातावरणमैत्री प्रविधिको मात्र उपयोग गरी विविध उत्पादन गर्न उत्प्रेरित गरिनुपर्छ ।


अर्कोतर्फ, औद्योगिक खेतीपातीको मानसिकता त्याग्नुपर्छ । खाद्यका लागि उत्पादन गर्ने र त्यसलाई टेवा दिने सामाजिक उद्यमको ढाँचा बनाउन आवश्यक छ । एकीकृत, मिश्रित, सघन र दिगो खेती प्रणालीको विकास गर्ने रणनीति लिँदै भूमि, पानी जस्ता स्रोतको उपयोग बढाउन जरुरी छ ।


अस्वस्थ र असभ्य खाद्य तथा कृषि प्रणाली हुनुको कारण दलाली गरेर पैसा कमाउने मानसिकता हावी हुनु हो । ज्ञान, विज्ञान र शिक्षा पलायन हुनु हो । आम नागरिकमा जागरुकता जरुरी हुन्छ । तपाईं के गर्नुहुन्छ ? आधुनिक सभ्यताको मानक नै खनिज र रसायनमा आधारित भौतिक विकास मात्र देख्ने विकासे मानसिकताको पछि लाग्नुहुन्छ कि समृद्धिका नाममा पानीजहाज र रेल यात्रामा सयर गर्न निस्कनुहुन्छ ? या, खानेकुरा, जीविका, आम्दानी, रोजगारी र सिंगो मानव सभ्यताको मानक दिगो कृषि बिर्सेको मूल प्रवाहको भीडका पछि लाग्नुहुन्छ, जसले खानेकुरा, मानव र पृथ्वीको स्वास्थ्यका लागि समग्र कृषि रूपान्तरणको मर्म बुझिसक्दा यो सच्याउने समय धेरै नै घर्किसकेको हुनेछ ? या, बिराएको बाटो फेर्न तयार हुँदै, आफ्नै बलबुतामा दिगो पृथ्वी र मानव भविष्य निर्माणको यात्रा तय गर्न निस्कनुहुन्छ ? के गर्ने, यहाँकै मर्जी !

प्रकाशित : असार १२, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?