हामी साह्रै खुसी छौं सरकार !

साधना प्रतीक्षा

भूकम्पले भत्काएका घर बनाउन नसकी अझसम्म टहरामै बस्नुपरे पनि तिमीले नामी सहरमा बनाउन लागेका सपिङ मल र भ्यु टावरको सुखको कल्पना मात्र गर्दा पनि हामी खुसी छौं, सरकार ! ज्यान हत्केलामा राखेर तुइन र जीर्ण झोलुङ्गे पुलमा झुन्डिएर दैनिकी चलाउन बाध्य हामी दुर्गमबासी तिमीले प्रशान्त महसागरमा कुदाउन लागेको नेपाली ध्वजावाहक पानीजहाज र राजधानीमा गुडाउन लागेको मोनोरेलका सपनामा रमाएर साह्रै खुसी छौं सरकार !

झन् तिमीले आगामी आर्थिक वर्षमा तथ्याङ्क विभागमार्फत् ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारालाई आधार बनाएर हाम्रो खुसी मापनका लागि सर्वेक्षण गर्ने योजना ल्याएको खबर सुनेर त हामीले खुसी थाम्नै सकिरहेका छैनौं । तर त्यस्तो कष्ट नगर, बरु त्यसका नाममा आफ्ना इच्छ्याएका व्यक्तिहरूलाई टीका लगाएर दक्षिणा बाँडिदेऊ ।

व्यर्थै गाउँघर चहारेर विवरण किन संकलन गर्नु ? शिक्षा, स्वास्थ्य, वातावरण, सुशासन, संस्कृति लगायत तिमीले तय गरेका सर्वेक्षणका आधारहरू दुर्गम गाउँवस्तीमा नभेटिन सक्छन् । सिंहदरबार या कुनै तारे होटलमा ककटेल पार्टी गरी जुनेली रातको सुन्दर नजारा हेर्दै तिमीले आम नेपालीको खुसीको अनुमान लगाउन सकिहाल्छौ नि !

खोलेसाग र सिस्नो अनि गिठा, भ्याकुरले जीवन निर्वाह गर्नुपर्ने हामी त्यही सिस्नोका पातहरू पनि झुसिल्कीराले सखाप पार्दा अनि गिठा, भ्याकुरमा खोइरो लाग्दा भोकै बस्नुपरे पनि गुनासो गर्दैनौं । हामी तिमीले बाँड्दै आएका समृद्धिका सपनाले अघाएका छौं ।

हाम्रा कलिला सन्तानको सुनौलो भविष्य इँटाभट्टा र गलैंचा कारखानामा कैद भए पनि, चेतनाको झिल्को नपुगेको घरआँगनबाट गरिबीले खेदिएर सुख खोज्दै सहर पसेका हाम्रा अबोध छोराछोरी सहरका सडक र गल्लीहरूमा ‘डेन्ड्राइट’ को गन्ध सुँघी अघाएर लट्ठिँदै भुस्याहा कुकुरसँगै गुडुल्किए पनि, होटल–रेस्टुरेन्टका अँध्यारा छिँडीमा लुकेर हात कुहाउँदै भाँडा माझिरहेका भए पनि, दूधमुखे बालिका र किशोरीहरू दिनदिनै यौनहिंसाको सिकार भैरहँदा र अपराधी उन्मुक्त भैरहँदा पनि यदाकदा तिमीले घन्काउने बालअधिकारका नारा सुनेर हामी खुसी नै छौं, सरकार !

हाम्रा बारी–फोहोटा जोत्ने, हाम्रोबुढ्यौलीको सहारा लक्काजवान छोराहरू खाडीतिर ओइरिनाले दैलामुनिसम्म तीतेपाती उम्रँदा पनि दुःखी छैनौं, सहरका घरका कौशीमा फलेका तरकारी र फलफूलका दृश्य हेर्दै मक्ख परेका छौं । किसानको गला रेटेर, उपभोक्ताको खल्ती रित्त्याएर बिचौलियाहरू मोटाउँदा पनि, स्वदेशी उद्योगधन्दा ठप्प पारेर मुलुकलाई परनिर्भर बनाए पनि, दस प्रतिशतले तलब बढाउँदा बीस प्रतिशतले महँगी बढाइए पनि तिम्रो सुशासनको नारा जपेर हामी खुसी नै छौं, सरकार !

हाम्रो भाषा, कला, साहित्य र धर्म–संस्कृतिमाथि जति नै प्रहार गरिएका भए पनि, निरन्तर सांस्कृतिक सम्पदा र धरोहरमाथि अतिक्रमण हुँदा अनि तिनको संरक्षण र संवर्द्धनका नाममा गुठी विधेयकको नाटक मञ्चन हुँदा पनि हामी दुःखी हुन पाएनौं, किनकि तिमीले निर्धक्क भित्र्याएको ‘होली वाइन’ को नशामा लट्ठिएर हामी खुसी मनाइरहेकै छौं, सरकार !

नेपाली बोल्दा हीनताबोध गर्नुपर्ने अवस्था आए पनि, हाम्रा चाडपर्वहरू हराउँदै विदेशी संस्कृति फस्टाइरहे पनि, क्यानभासमा नेपालभन्दा विदेशीकै संस्कृतिको वर्चस्व स्थापित भए पनि हामी खुसी हुन विवश छौं, सरकार ! किनकि, पुँजीवाद र विस्तारवादको विरुद्ध लड्ने तिम्रो हुँकार रत्तीभर घटेको छैन, सांस्कृतिक क्रान्ति गर्ने वाचा पटकपटक दोहोरिएकै छन् । त्यसैले नेपालको विशिष्ट सांस्कृतिक विविधतालाई समूल नाश नपार्दासम्म हामी खुसी नै छौं, सरकार !

सिटामोल र जीवनजल नपाएर छटपटिनुपरे पनि, दुर्गमका स्वास्थ्यसंस्थामा दक्ष जनशक्ति र उपकरणको अभावका कारण अकालमा ज्यान गुमाउनुपरे पनि तिम्रो ‘सबैका लागि स्वास्थ्य’ नारा सम्झँदै अनि राजधानी र सहरकेन्द्री सुविधासम्पन्न अस्पतालका सपना देख्दै, स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशन बसिरहने गोविन्द केसीले झोलाभरि बोकेर ल्याउने ओखतीका भरमा पनि हामी खुसी छौं, सरकार !

नातावाद र कृपावादले जेलिएको प्रशासनयन्त्रभित्र सोझा–निमुखा सेवाग्राही हामी रनभुल्ल परिरहँदा, योग्यता र क्षमता होइन व्यक्तिगत सम्बन्ध र आर्थिक लेनदेनका आधारमा सरकारी, अर्धसरकारी तथा गैरसरकारी रोजगारदाता निकायहरूमा पदपूर्ति गरिँदा पनि, दैनिक रूपमा सयौं युवा–युवती विदेसिँदा, शिक्षित युवाहरूको झन्डै दुईतिहाइ बेरोजगार हुँदापनि, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले हामी हौसिएकै छौं, सरकार !

विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठानलाई विशुद्ध प्राज्ञिक नेतृत्व प्रदान गरी अधिकारसम्पन्न गराउनुको साटो झन्डा, बन्डा र डन्डाको संस्कृति स्थापित गरिए पनि, खुला प्रतिस्पर्धाका आधारमा योग्य र सक्षम व्यक्तिहरूलाई नियुक्ति नदिई पहुँचवालालाई ल्याइए पनि, विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूमा माकुराको जालो र गाईको भकारो थुप्रिए पनि, शिक्षाको गुणस्तर सुधारका नाममा खर्चिने बजेटको सुगन्धले नै हामी खुसी छौं, सरकार !

निजी विद्यालयको शुल्कले अभिभावकको ढाड सेकिए पनि, घरखेत नबेची छोराछोरी पढाउन नसक्ने अवस्था आइपरे पनि, दुर्गम गाउँबस्तीमा विद्यालय शिक्षा नाम मात्रको भए पनि सबैका लागि सर्वसुलभ शिक्षा भन्ने तिम्रो भाषण सुनेर हामी मक्ख नै छौं ।

अशिक्षित, चेतनाविहीन गाउँबस्तीमा विद्यमान रूढि र अन्धविश्वासका कारण महिला तथा बालिका लैङ्गिक विभेदको सिकार भैरहेका भए पनि, सीमान्तकृत समुदायमाथि सामन्तवर्गको शोषण जस्ताको तस्तै रहे पनि, दाइजो नल्याउने बुहारी जलाउन नछोडिए पनि, बोक्सीको आरोपमा महिलाले यातना पाएकै भए पनि, छाउ बार्ने क्रममा महिलाहरूको ज्यान जोखिममा परिरहे पनि हामी खुसी नै छौं, किनकि हामीले महिला राष्ट्रपति पाएका छौं ।

हाम्रा बालबच्चाले छातीमा भोटो र गोडामा चप्पल लगाउन नपाए पनि, कुपोषणले उनीहरू हाडछाला मात्र भए पनि राष्ट्रपति चढ्ने करोडौंका गाडी र हेलिकप्टरको कल्पनाले मात्र पनि हामी खुसी छौं, सरकार !

संविधानमा संघीय राज्यको व्यवस्था भए पनि व्यवहार र नियतमा भने केन्द्रीकृत राज्यकै शैली अपनाए पनि, केन्द्रले नदिईकन प्रदेश र स्थानीय सरकारले केही गर्न नसक्ने अवस्था भए पनि संघीय व्यवस्था पाएकामा मक्ख नै छौं । विकासको काममा चतुर्मुख हुने तर आफ्नो सुविधाका लागि एकमुख हुने जनप्रतिनिधि भए पनि उनीहरूलेआफ्नो क्षेत्रको विकासका लागि भन्दै मागेको रकम सुनेरै हामी गदगद छौं ।

सदाचार, नैतिकता अनि सिद्धान्तको राजनीति दलहरूको घोषणापत्रबाट हराउँदै गए पनि आआफ्नो स्वार्थअनुसार टुक्रिने र जुट्ने खेलबाट हामीले मनोरञ्जन गरिरहेकै छौं, सरकार ! प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्मको यात्रामा जुनसुकै दलमा पनि सुकिलामुकिला र परिवारवाद हावी भैरहे पनि, चुनाव जितेपछि गाउँ र मतदातालाई चटक्कै बिर्से पनि चुनावताका गरेका वाचा सम्झेर हामी अझै खुसी छौं ।

टुकी बाल्न मट्टीतेल किन्ने क्षमता नभए पनि घरघरमा ग्यास पाइप बिछ्याइदिने तिम्रो उद्घोषका कारण हामी साह्रै खुसी छौं,सरकार ! हामी सर्वसाधारणलाई दैनिक गुजारा गर्न धौधौ परिरहे पनि, आफ्ना निम्नतम आवश्यकता पूरा गर्न सकस परिरहे पनि तिम्रा उखान–टुक्का सुन्न पाएर हामी झनै खुसी छौं । त्यसैले सरकार, हाम्रो खुसी मापनको औपचारिक अनुष्ठान नगरी राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा निर्धक्क घोषणा गरिदेऊ— नेपाली जनता सर्वाधिक खुसी छन् !

प्रकाशित : असार १२, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्

७ सम्पदालाई खतरा सूचीमा राख्ने युनेस्कोको प्रस्ताव

कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौं उपत्यकाका सबै विश्व सम्पदालाई ‘खतराको सूची’ मा राख्ने प्रस्ताव गरेको छ । प्रस्तावबारे युनेस्कोको आगामी जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा हुने ४३औं सेसनमा छलफल हुने भएको छ । 

प्रस्ताव पारित भए काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदामा सूचीकृत क्षेत्रहरूको अन्तर्राष्ट्रिय पहिचान संकटमा पर्न सक्ने चिन्ता पुरातत्त्व विभाग स्रोतले व्यक्त गरेको छ । उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुर दरबार स्क्वायर, पशुपतिनाथ मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ, चाँगुनारायण मन्दिर क्षेत्र विश्व सम्पदामा छन् ।

युनेस्कोले उपत्यकामा भूकम्पमा क्षतिग्रस्त पुरातात्त्विक दरबार र मन्दिर पुनर्निर्माणमा ढिलाइ गरेको, सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको, पशुपतिनाथ क्षेत्रको बीचबाट सडक खोलेको, कंक्रिटको संरचना बनाएको उल्लेख गर्दै खतराको सूचीमा राख्ने
प्रस्ताव गरेको हो ।

युनेस्कोले सरकारलाई उपत्यकाका सम्पदा खतराको सूचीमा राख्ने चेतावनी दिँदै आएको थियो । तीन वर्षअघिसमेत यस्तो प्रस्ताव सेसनमा राखेकोमा अस्वीकृत भएको थियो ।

काठमाडौं उपत्यकाबाहेक लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदामा सूचीकृत छन् । युनेस्कोले ती सम्पदामाथि भने कुनै प्रश्न उठाएको छैन ।

विश्व सम्पदामा सूचीकृत हुने सम्पदाको विश्व पर्यटन बजारमा विशेष महत्त्व हुन्छ । अर्कातिर युनेस्कोबाट सहयोगसमेत प्राप्त हुन्छ । एकपटक खतराको सूचीमा परिसकेपछि त्यसबाट पुनः विश्व सम्पदा सूचीमा फर्कन समस्या हुने संस्कृति मन्त्रालयकैअधिकारी बताउँछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालका तर्फबाट भूकम्पमा क्षतिग्रस्त सम्पदा पुनर्निर्माणको प्रगति र पशुपतिनाथलगायत सम्पदा क्षेत्रमा अतिक्रमण रोक्ने काम भएकोबारे सेसनमा जानकारी गराएपछि खतराको सूचीमा राख्ने प्रस्ताव फिर्ता हुने विश्वास व्यक्त गरेका छन् ।

युनेस्कोको ४३औं सेसनमा सहभागी हुन सचिव सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजान जाँदै छन् । प्रमण्डलमा पुरातत्त्व विभागका महानिर्देशकलगायत अधिकारी रहने छन् ।

‘भूकम्पबाट क्षतिग्रस्त सम्पदामध्ये बढी महत्त्वका २ सय ५० वटा दरबार र मन्दिरको पुनर्निर्माण भइसकेको छ, २ सयवटा पुनर्निर्माणका क्रममा छन्, पुरातात्त्विक सम्पदाहरूको पुनर्निर्माण स्थानीयको सहभागिता र वैदेशिक सहयोगमा भइरहेको छ,’ उनले कान्तिपुरसित भने, ‘पशुपति क्षेत्रभित्रबाट खोलिएको सडक बन्द गरिसकिएको छ, त्यहाँ कंक्रिटका संरचना हटाई पुरानै पुरातात्त्विक शैलीमा मर्मतसम्भार भइरहेको छ । यसबारे जानकारी गराएपछि युनेस्कोको सेसनले उपत्यकाका सम्पदालाई खतराको सूचीमा राख्दैन । यसमा म विश्वस्त छु ।’

प्रकाशित : असार १२, २०७६ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्