कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

ग्रेडिङको गह्रौं भारी

हरिहर तिमिल्सिना

एसईईको नतिजाको मौसम छ । अभिभावकले आफूले पूरा गर्न नसकेका सपना छोराछोरीको दिमागको ब्याडमा रोप्ने समय पनि यही हो । विद्यार्थीलाई विषय छान्ने र शिक्षालयलाई विद्यार्थी तान्ने मौका पनि यही हो । एघार कक्षामा भर्ना गराउन शिक्षा प्रदायकहरूबीच अघोषित भागदौड हुने समय पनि यही । भेल छोप्ने मौसम नै हो यो ।

ग्रेडिङको गह्रौं भारी

बर्खे भेल छोपिएन भने टारीखेते किसानको रोपाइँ हुँदैन । एसईईको भेल छोपिएन भने एघार–बाह्र कक्षा सञ्चालन गर्ने शिक्षालयहरूको आर्थिक मुहान सुक्छ । यो उपक्रममा विद्यार्थीका सपना र भावनाको कदर भने खासै भएको पाइँदैन । हाम्रो मुलुकमा एसईई (एसएलसी) लामो समयसम्म त्रासदीको शृङ्खला बनेर आयो ।


अझै पनि त्यो पूर्णतः समाप्त भएको छैन । यसैको डर देखाएर स्कुलहरूले विद्यार्थी र अभिभावकको अतिरिक्त दोहन गरेकै हुन् । अझै पनि सबैको ध्यान एसईईको नतिजामै हुन्छ । स्कुल र पढाउने शिक्षकको मूल्याङ्कन यसैबाट हुन्छ । पढाएर, घोकाएर, थर्काएर, कोच्याएर जे गरेर भए पनि विद्यार्थीको राम्रो नतिजा ननिकाली सुखै छैन ।


ट्युसन र कोचिङको घोटीचौथी पनि राम्रै बिक्ने गरेको छ । पहिलापहिला नतिजा निस्किएपछि स्कुलहरूलाई सोधिने प्रश्न हुन्थ्यो— प्रथम श्रेणी कति जनाको आयो ? त्यसपछि विशिष्ट श्रेणीको याम आयो । अहिले ए प्लसको जगजगी छ ।


ए प्लसको अड्को

ए प्लस ल्याउने सबै विद्यार्थी राम्रा हुन्छन् भन्ने होइन । असफलताको बिल्ला भिर्न बाध्य सबै विद्यार्थी नराम्रा पनि हुँदैनन् । निजी स्कुलमा पढेका र सहरी क्षेत्रको पहुँच पुगेका कतिपय विद्यार्थी ए प्लस ल्याउन सफल ह्न्छुन् ।

तथ्याङ्कहरूले पुष्टि गरेका छन्— ए प्लसको भागीदार हुने सरकारी/सामुदायिक विद्यालयका विद्यार्थीको सङ्ख्या ज्यादै न्यून छ । सन्ततिको ए प्लस र ए आउनेबित्तिकै केही अभिभावकमा एकखाले भ्रम उत्पन्न हुने गरेको छ ।


राम्रो ग्रेड ल्याउनु आफैँमा नराम्रो होइन । माथिल्ला ग्रेड आउँदैमा गाह्रो विषय पढाउनुपर्छ भनेर सोच्नुचाहिँ नराम्रो हो । अहिले हाम्रो शिक्षा बजारमा एसईईपछि विद्यार्थीले रोज्ने मुख्य पाँच क्षेत्र छन्— विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र केही व्यावसायिक विषय ।


ए प्लस आउने अधिकांश विद्यार्थीको रोजाइ बुझेर हो या नबुझेर, विज्ञान नै हुने गरेको छ । कतिपय विद्यार्थी अभिभावक र आफन्तको दबाब र करबलले विज्ञान पढिरहेका हुन्छन् । ए प्लस लगायत राम्रो ग्रेड ल्याएका विद्यार्थीले अरू विषय पढ्न खोजे भने अभिभावक र आफन्तको टिप्पणी हुने गर्छ— ‘ए प्लस ल्याएर पनि किन साइन्स नपढेको ?’


ए र ए प्लस ल्याएर बिग्रिएका धेरै विद्यार्थी मैले भेटेको छु । राम्रो जीपीएको भारीले तिनीहरू यसरी थिचिएका छन्, जिन्दगीमा फेरि उठेर अघि बढ्न तिनलाई हम्मेहम्मे परेको छ । कतिले ११–१२ पढ्दापढ्दै बीचैमा छोडेका छन् । कति जसोतसो ११–१२ सकेर स्नातक पढ्ने बेला सजिलो विषयतिर फर्केका छन् ।


कतिले एकदुई महिना पढेपछि अभिभावकलाई रोई–कराई मनाएर विषय फेरेका छन् । यसरी बेलैमा विषय फेर्नेले बरु केही उन्नति गरेका छन् । एसईईमा ए प्लस र ए ल्याउने कतिपय विद्यार्थी ११–१२ को परीक्षामा फेलै भएका छन् । यस्तो कसरी हुन सक्छ ? यो कसको त्रुटि हो ? कि त हाम्रो एसईईको मापन ठीक भएन कि ११–१२ को ।


मान्छेको नापतौल र शारीरिक मोटाइ–दुब्लाइ तलमाथि भएजस्तै के प्रतिभा र क्षमता पनि एकाध वर्षमा तलमाथि हुन्छ ? दिमाग पनि घट्ने र बढ्ने क्रम भइरहन्छ ? नत्र एसईईमा उम्दा भनेर हामीले दिएको लब्धाङ्कपत्र किन एक वर्ष नपुग्दैमा गलत साबित हुन्छ ?


मानसिकताको मार

एसईई दिने उमेरको विद्यार्थीले अपवादबाहेक आफूलाई राम्ररी चिनिसकेकै हुँदैन । यो खाने, खेल्ने, उफ्रने उमेरै हो । एसईईको यही उमेरमा उसले समाजको चौतर्फी मार सहनुपर्छ । शिक्षकले आफूले जानेजति ज्ञान विद्यार्थीलाई कोच्याउन खोज्छ ।


विद्यालयले पनि सकेजति रणनीति अपनाएर विद्यार्थीलाई एकोहोरो बनाउँछ । अभिभावकले पनि ‘ल है यस पालि त एसईई’ भन्छ । विद्यार्थीचाहिँ एसईईपछि कहाँ के पढ्ने भन्ने अलमलमा हुन्छ । धेरै विद्यार्थी यही आम मानसिकताको सिकार हुन पुगेका छन्— ‘विज्ञान एक नम्बरको विषय हो । उम्दा नम्बर ल्याउने विद्यार्थीले विज्ञान पढ्नैपर्छ ।’


शिक्षा मन्त्रालयले न्यूनतम २ जीपीएसहित विज्ञान र गणित जस्ता विषयमा सी प्लसभन्दा माथि ल्याउनेलाई विज्ञान पढ्ने अनुमति दिन्छ । अर्कातिर, न्यूनस्तरको ग्रेड ल्याएर उत्तीर्ण हुने विद्यार्थीको पनि त विज्ञान पढ्ने चाहना हुन सक्छ, तर अनेक मापदण्ड र नियम लगाएर तिनको चाहनामा अङ्कुश लगाइएको हुन्छ ।


पढ्न चाहनेले आफूलाई मन लागेको विषय पढ्न पाउनुपर्छ । एकातिर तिमी कमजोर छौ, तिमी सक्दैनौ भनेर २ जीपीए मुनिकालाई प्रक्रियामै सामेल नगराई बहिष्कार गरिन्छ, अर्कातिर ए प्लस र ए ल्याउनेलाई विज्ञानबाहेकका विषयमा भर्ना हुन पनि लाज मान्नुपर्ने अवस्था सिर्जना भएको छ । यसले गर्दा ‘मानविकी र शिक्षा जस्ता विषय कमजोरले पढ्ने हो’ भन्ने मानसिकतामा मलजल गरेको छ ।


विभेदको शृङ्खला

शिक्षामा गरिएका पछिल्ला अनुसन्धानहरूले के देखाएका छन् भने, परीक्षा भनेको नितान्त प्राविधिक कुरा हो । परीक्षा प्रणालीले विद्यार्थीको सीप, प्रतिभा र क्षमताको पूर्ण रूपमा मापन गर्न सक्दैन । नम्बर या ग्रेड घट्नु भनेको दिमाग घट्नु होइन । कहिलेकाहीँ नम्बर तलमाथि हुँदा कोकोहोलो गर्नुको तुक छैन । धेरै नम्बर ल्याउने हीरा र थोरै नम्बर ल्याउने कीरा होइन ।


मानिसको दिमागलाई अङ्क या अक्षरले मापन गर्न सक्दैन । हामी भने राम्रो नम्बर ल्याउनेलाई बढी उचालिरहेका छौँ र अलिकति थोरै ल्याउनेलाई हतोत्साहित गरिरहेका छौँ । एउटै उदाहरण हेरौं, हाम्रो प्रणालीले ११–१२ मा विज्ञान–गणित नपढ्नेलाई पछि गएर मेडिकल, इन्जिनियरिङ र नर्सिङ पढ्ने ढोकै बन्द गरिदिन्छ ।


जबकि हाम्रोमा कक्षा ११–१२ मा विज्ञान–गणित नपढेका विद्यार्थीेले पनि विदेशका कतिपय शिक्षण संस्थामा नर्सिङ पढ्न पाउँछन् । बेवकुफ तिनीहरू हुन् कि हामी ? कहिलेकाहीँ विद्यार्थीले चाहँदा–चाहँदै पनि राम्रो नम्बर ल्याउन सकेका हुँदैनन् । उसै पनि नौदेखि बाह्र कक्षासम्मलाई माध्यमिक शिक्षा भनेर तोकिसकिएको छ ।


एउटै तहको माथिल्लो कक्षामा जाने सवालमा किन विभेद गर्नु ? यो र त्यो ग्रेडका नाउँमा तिनीहरूलाई विषय तोकिदिएर एउटा सीमारेखामा किन बाँध्नु ? एकातिर ए प्लस र ए को भारी बोकाएर केही विद्यार्थीलाई गाह्रा मानिएका विषय पढ्न बाध्य पार्नु, अर्कातिर तलका ग्रेड ल्याउनेलाई ठूला विषय पढ्ने चाहना हुँदा पनि रोक्नु त्यति राम्रो होइन कि ? कतै हामी धेरै अङ्क ल्याउने र नल्याउने दुवै थरी विद्यार्थीको सपना दुर्घटित बनाउँदै त छैनौँ ? यसतर्फ नेपाली शिक्षा जगत्ले पुनर्विचार गर्ने हो कि ?

प्रकाशित : असार १०, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?