केटाले जस्तै केटीले गर्न किन नहुने ?

बिना राई

काठमाडौंको गौशालाबाट म कोटेश्वरतर्फ जाँदै थिएँ । त्रिभुवन विमानस्थल पुग्नै लाग्दा ट्याक्सीले मेरो स्कुटरलाई ठक्कर दियो । म बीस फिट पर पछारिएँ । तत्काल उद्धार गर्न कोही अघि सरेन । अलि पछि एक जना महिलाले उठ्न सघाउनुभयो ।


उहाँ मेरो पछिपछि स्कुटरमै आउनुभएको रहेछ । उहाँले मलाई भरथेग मात्रै गर्नुभएन, ट्याक्सी चालकसँग चर्काचर्की गर्नुभयो र मेरा श्रीमान् घटनास्थलमा आइनपुगुन्जेल साथ पनि छोड्नुभएन । यसमा उहाँले एउटै कारण दिनुभयो, ‘छोरीमान्छेलाई हेप्छन् क्या ! त्यही भएर म बसिरहेको ।’

स्कुटर दुर्घटनाको भोलिपल्टै मैले श्रीमान्कोउपचारार्थ चार दिन धुलिखेल अस्पताल बस्नुपर्‍यो । त्यहाँ एक दिन कैदीलाई उपचारार्थ ल्याएका प्रहरीसँगको गफगाफमा थाहा भयो– उनी कार्यरत कारागारमा अधिकांश कैदी करणी मुद्दाका रहेछन् ।

यही बेला सामाजिक सञ्जालमा एउटा श्रव्यदृश्य सामग्री चर्चामा रह्यो, जसमा गाडी भाडामा विवादपछि एक सहचालकले एक महिलालाई दुर्व्यवहार गरेको दृश्य छ । यस घटनामा पनि मूकदर्शक प्रशस्तै देखिन्छन् ।

भनिन्छ, हाम्रो संविधानले महिला अधिकारको सवालमा एसियामै नमुनायोग्य कानुनहरू तर्जुमा गरेको छ । केही व्यक्ति त यस्तो पनि दाबी गर्छन्, मानौं नेपालमा महिला र पुरुषको स्तर र हैसियत समान भइसकेको छ तर यथार्थमा यस्ता दाबी वाहियात र अलमल्याउने खालका लाग्छन् । गत साताका उपर्युक्त तीन घटनाले पनि यस्तै उजागर गर्छन् ।

यी प्रतिनिधि घटनाहरूले के प्रस्ट पार्छन् भने हाम्रो समाजमा महिला हिंसा खुलेआम हुँदै आएका छन् र तिनमा प्रायः पुरुष रमिते मात्रै बन्ने गरेका छन् । यस्ता अनुभव भोगेका, सुनेका, पढेका वा देखेका महिलाले यस्तो हुँदा कस्तो कदम चाल्नुपर्ला भन्नेबारे महिला अधिकारकर्मी र आम महिलाबीच बहस हुँदै आएको छ ।

एउटा धार, विशेष गरी युवा पुस्ताकाहरू पुरुषसँग बराबरीका लागि ’छोरी’ भनेर प्रतिबन्ध लगाइएकाकार्य र व्यवहार झन् गर्नुपर्ने तर्क राख्छन् । उनीहरू भन्छन्— पुरुष राति ढिलो घर फर्कंदा खासै आपत्ति नहुने समाजमा अब महिलाले घर फर्किन हतार गर्नु भएन । पुरुषले झैं अपशब्द बोल्न, धूमपान र मद्यपान गर्न धकाउनु भएन । ती काम केटाले गर्न हुन्छ भने केटीले गर्न किन नहुने ?

अर्को धारका महिलाहरू यस्ता छन्, जो आफूमाथिको विभेद र हिंसालाई स्वाभाविकै ठान्छन् । मार्क्सको भाषामा भन्नुपर्दा यो धारका महिला चेतना नभएको समूहमा पर्छन्, जो पुरुषसामु सम्पूर्णतः दासीकै रूपमा समर्पित हुन्छन् । प्रत्येक समाजमा महिला र पुरुषबीच घरेलु, सांस्कृतिक, संस्कारगत र सामाजिक–आर्थिक कामकर्तव्य र कार्यगत विभाजन भएको हुन्छ । महिला र पुरुषको भूमिका र क्षेत्राधिकारछुट्याइएको हुन्छ तर मानवशास्त्रीय दृष्टिकोणमा, संस्कृति परिवर्तनशील बहुआयामिक व्यवहारहरूको समष्टि हो, जुन सामाजिक अन्तरक्रियाका क्रममा पुस्तान्तरण हुँदै जान्छ ।

उत्तराधुनिक मानवशास्त्रीले भन्दा दशकौंअघि पनि महिलावादीहरूले संस्कृतिभित्रका विवादास्पद पक्ष र संस्कृति निर्माण प्रक्रियाको राजनीतिलाई केलाउन सक्नुपर्छ भन्नेमा जोड दिएको पाइन्छ । यस अर्थमा दोस्रो धारका महिलाले महसुस गर्न नसकेको पक्ष हो– संस्कृति निर्माणभित्रको लैङ्गिक विभेद र बन्देज ।

लामो सामाजिकीकरणका क्रममा सिर्जना गरिएको यस्तोभ्रममा परेका महिलाहरू लैङ्गिक आधारमा गरिने महिला–पुरुष चित्रणलाई अङ्गीकार गर्ने मात्रै होइनन्, लैंगिक हिंसाको सिकार हुँदा पनि चलिआएको परम्परा भनी सहेरै बस्ने गरेका छन् । कहिलेकाहीँ त कस्तोसम्म हुन्छ भने कुनै महिलाले आफू पुरुषबाट पीडित भएको अनुभव सुनाए, उनलाई उल्टै थप सहनशील हुन सुझाव दिने गरिन्छ !

तेस्रो धारले चाहिँ महिलाको मानव अधिकारमा जोड दिन्छ । कानुन, संविधान, मानव अधिकार, समानता र सामाजिक न्यायको वकालत गर्छ । यो धारको एउटा सबल पक्ष के हो भने महिलामाथिको असमान व्यवहारलाई नियन्त्रण वा कम गर्न कानुनले सघाउँछ भन्ने मान्छ ।

मैले माथि उल्लेख गरेका घटनाले उठाउने अनि पहिलो र तेस्रो धारले सम्बोधन गर्न नसक्ने पक्ष हो– पुरुषले महिलाप्रति राख्ने सोच । महिलाप्रति तुच्छ सोच सुरुमा व्यक्ति मानसिकतामै उत्पन्न हुने हो । समय बित्दै जाँदा यो सामाजिक यथार्थ बन्दै जान्छ । सोच हामी हुर्केको सामाजिकीकरण प्रक्रियामा निर्भर हुने गर्छ ।

तसर्थ महिलाप्रति पुरुषको दृष्टिकोण र महिला स्वयंको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन सामाजिकीकरणको त्यो पाटो आवश्यक हुन्छ, जहाँ छोरीले गर्न नहुने भनिएको व्यवहार नगर्न छोरालाई पनि बाध्य पार्न सकिन्छ । ‘छोरा’ भनेर दिइएको स्वतन्त्रता र छुटले अङ्गीकार गरेको बानी–व्यवहारको सिको गर्नुभन्दा ‘छोरी’ का नाममा खडा गरिएको अवरोध र कडाइ छोरामाथि पनि लगाउन सक्नुपर्छ ।

महिलाप्रति पहिलो धारको आधारभूत समस्या भनेको गलत र असामाजिक व्यवहार महिला या तेस्रोलिंगी कसैले पनि पछ्याउन हुन्न भन्ने मान्यतालाई आत्मसात् गर्न नसक्नु हो । कुनै काम महिलाले गर्दा गलत हुन्छ भने पुरुषले गर्दा पनि ठीक मानिनु भएन ।

संस्कार, संस्कृति वा परम्पराका नाममा महिला र पुरुषबाट समाजले अपेक्षा राख्ने व्यवहार र आचरणभित्रको लैङ्गिक विभेदीकरणको पाटोलाई चिर्ने क्रममा हामीले कुन पक्षलाई आधार बनाउने भन्ने निर्क्योल गर्न सक्नुपर्छ । कतिपय विज्ञ तेस्रो धारको तर्कमा मात्र सीमित हुन्छन् । कानुनले अधिकार सुनिश्चित गरिदिँदाका पक्कै पनि धेरै सहजता छन् तर महिला, पुरुष, तेस्रोलिङ्गी आदिसामाजिक अन्तरक्रियामा आउँदा उत्पन्न हुने परिस्थिति र हामीले आउँदो पुस्तालाई कस्तो शिक्षा दिँदै छौं भन्ने पक्ष बढी महत्त्वपूर्ण हुन्छ ।

हक–अधिकार प्राप्तिको दिशामा हामीकहाँ बेलाबखत सुनिने भनाइ हो– ‘कानुन त राम्रो छ तर कार्यान्वयन फितलो छ ।’ यसको महत्त्वपूर्ण कारक महिलापुरुष सवालमा मनुवाहरूको मस्तिष्कमा गहिरो जरा गाडेको सोच नै हो । त्यसैले नैतिकतावान् समाजको पुनर्निर्माण गर्न लैङ्गिक विभेद अन्त्य गर्ने प्रयासमा सबै लिङ्गका व्यक्तिबाट असल, अनुशासित, नैतिक र सर्वमान्य व्यवहार अपेक्षा गरिनुपर्छ एवं सामाजिकीकरणको प्रक्रिया पनि सोहीबमोजिम अघि बढाउन सक्नुपर्छ । लैंगिक आधारमा सही वा गलत कार्य–व्यवहारको वर्गीकरण गर्ने परिपाटीको अन्त्य गराउनुको विकल्प छैन ।

लेखक लैङ्गिक अध्ययनकी शोधार्थी हुन्।

प्रकाशित : असार ८, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको मन्थली नगरपालिका ६ कुनौरीमा शनिबार राति भएको एम्बुलेन्स दुर्घटनामा एकजनाको ज्यान गएको छ । अर्का एक घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोषकुमार भट्टराईका अनुसार डाडाँखर्क जाने सडक छेउबाट करिब १ सय मिटर ठाडो भिरमा बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स खस्दा चालक सिन्धुली जिल्ला गोलञ्जोर ७ का निरकुमार श्रेष्ठको घटनास्थलमानै मृत्यु भएको हो।

सोही स्थानका सुरज श्रेष्ठ गम्भिर घाइते छन्। उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीको उक्त एम्बुलेन्स विरामी लिन रामेछापको मन्थलीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।

प्रकाशित : असार ८, २०७६ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×