कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विद्यालय क्यालेन्डरको गोलचक्कर

गौरी तमू

यस पालिको शैक्षिक सत्र सुरु भएदेखि नै प्रायः विद्यालय नयाँ वार्षिक क्यालेन्डर अनुसार चलिरहेका छन् । जेठको क्यालेन्डरमा पाँच शनिबारबाहेक सत्ताइस दिन विद्यालय खुल्ने र पढाइ हुने भनिए पनि २२ गते इद परेकाले सरकारले सार्वजनिक बिदा दियो । यो बिदा घोषणाभन्दा दुई दिनअगाडि नै मेरो विद्यार्थी गुल हसन इद मनाउन पोखराबाट कपिलवस्तु पुगिसकेको थियो । उसले घर हिँड्नुभन्दा अघिल्लो दिन मसँग एक साता बिदा माग्दा मैले भनेकी थिएँ, ‘चाड मनाउने भनेरै एक साता पढाइ त छोड्नु भएन नि !’

‘के गर्ने टिचर, आफ्नू धर्म पनि त छोड्नु भएन नि !’ त्यति बेला उसले आफ्नै लवजमा भनेको थियो, ‘हाम्रो स्कुलको क्यालेन्डरमा दसैं, तिहार, शिवरात्रि, माघे संक्रान्ति र एकादशीमा रातो लगाएको छ । दसैंतिहारमा त झन् एक महिनाभन्दा ज्यादा बिदा छ, तर इदमा एक दिन पनि बिदा छैन । मेरो एक साताको हाजिर गर्दिनुस् है !’


इदको बिदा मुस्लिम समुदायले सजिलै पाएका थिएनन् । मुस्लिम, आदिवासी जनजाति संघ–संगठनद्वारा बिदा कटौतीको विरोध, संघर्ष र वार्तापछि सरकारले २०७६ का लागि विभिन्न तेह्र दिन बिदा थप गर्ने निर्णय गरेको थियो । इद त्यसैमा परेको थियो ।

बिदाका मामिलामा देशका अधिकांश विद्यालयको अवस्था गुल हसनले भने जस्तै छ ।


प्रायः विद्यालयले दसैंतिहारमा पन्ध्र दिनदेखि एक महिनासम्म बिदा दिन्छन् । यसको ज्वलन्त उदाहरण मेरै विद्यालय हो, जहाँ गत वर्ष दसैंतिहारमा छत्तीस दिन बिदा भएको थियो । यस वर्षको क्यालेन्डरमा पनि एक महिना बिदा तोकिएको छ । तर, छठ मनाउने विद्यार्थीका लागि विद्यालयले दुई दिन स्थानीय बिदा न गत वर्ष थप गर्न सक्यो, न त यस पालि थपेको छ ।


गत वर्ष दसैंतिहारपछि जब विद्यालय खुल्यो, मैले पढाउने कक्षाका छ विद्यार्थी आठ दिनसम्म आएनन् । दसैंदेखि छठसम्म मनाएर तराईका सर्लाही, सिरहा र धनुषाबाट पोखरा आइपुग्दा उनीहरू एक साता, मतलब करिब त्रिपन्न वटा पिरियडमा अनुपस्थित रहिसकेका थिए । परिणामस्वरूप, लगत्तै लिइएको परीक्षामा कक्षाको सेकेन्ड ब्वाई सलमान महमद एघारौं स्थानमा झर्‍यो ।


सलमानले दसैंतिहार मनाउँथेन, तर विद्यालयले दिएको छत्तीसदिने बिदा मनाउन ऊ बाध्य थियो । ऊ र ऊ जस्तै अन्य विद्यार्थीको इद पर्व आउँदा चाहिँ विद्यालयले एक दिन बिदा मिलाउन सकेन । गत वर्ष दसैंतिहारमा छत्तीस दिन बिदा दिएको विद्यालयले कात्तिकमै परेको ठूलो एकादशीमा फेरि एक दिन बिदा दियो ।


पुसमा आधाजति विद्यार्थीले मनाउने क्रिसमसमा विद्यालयले एक दिन बिदा दिन सकेन । उक्त दिन कक्षामा र पूरा विद्यालयमा आधाभन्दा बढी विद्यार्थी अनुपस्थित भए । आउनेहरूले पढे, नआउनेहरूले त्यो दिन सात पिरियड पढाइ छुटाए । त्यस्तै, पुस १० देखि १५ सम्म क्रिसमस, अङ्ग्रेजी नयाँ वर्ष र गुरुङ समुदायको तमु ल्होसार गरी तीन महत्त्वपूर्ण पर्वमा ल्होसारको एक दिन प्रदेशस्तरीय बिदाबाहेक अन्य बिदा भएन । तर जब माघे संक्रान्ति आयो, विद्यालयले संक्रातिको दुई दिनअघिदेखि आठदस दिनको जाडो बिदा दियो ।


जबकि अत्यधिक जाडो पुसमै हुन्छ र यही बेला नेपाली समुदायले मनाउने अति महत्त्वपूर्ण चाडपर्व पनि पर्छन् । क्यालेन्डरमा जाडो बिदा माघे संक्रान्तितिर पुर्‍याइन्छ । शैक्षिक सत्र २०७६ को वार्षिक क्यालेन्डर पनि ठ्याक्कै गत वर्षको जस्तै छ ।


समाज परिवर्तनको संवाहक भनिने थलो विद्यालय चलाउने प्रशासनले कुनै पनि शैक्षिक संस्थामा विभिन्न जातजाति, भाषाभाषी र धर्मावलम्बीहरूका विद्यार्थी हुन्छन् भनी बुझ्नु जरुरी छ । विद्यालयले सबैका चाडपर्वलाई उत्तिकै महत्त्व दिनुपर्छ, दसैं, तिहार, माघे संक्रान्ति र शिवरात्रिलाई जस्तै ।


दसैंतिहारमा सरकारले दिएको आठदिने बिदामा विद्यालयले बीसपच्चीस दिन थपेर तिहारसम्म छुट्टी दिन सक्छ भने आदिवासी जनजाति, मुस्लिम लगायतका समुदायका विद्यार्थीले मनाउने चाडपर्वमा किन एकदुई दिन बिदा थप्न सकिँदैन ? किन हाम्रा विद्यार्थीहरूले प्रतियोगिताहरूमा तीज, दसैं, तिहार र शिवरात्रिबारे जस्तै सजिलोसँग ल्होसार, इद र उँधौली–उँभौलीबारे बोल्न–लेख्न किन सक्दैनन् ? यो कटु यथार्थले के प्रस्ट पार्छ भने, केन्द्र सरकारदेखि विद्यालय तहसम्मका वार्षिक क्यालेन्डरले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राज्य हो भन्ने बिर्सिरहेका छन् ।


यसरी चाडपर्वलाई काख र पाखाको व्यवहार गर्नुले विद्यार्थीमा राम्रो सन्देश गएको छैन । विद्यालय तहबाटै देशका एक थरी नागरिकप्रति भएको दोस्रो दर्जाको व्यवहारको दृष्टान्त हो यो । ज्ञानको ज्योति छर्ने, एकता र समानताको शिक्षा दिने विद्यालयजस्तो पवित्र स्थलमै विभेदको पाठ पढाउँदा झविष्यका कर्णधारहरूको जीवनको क्यालेन्डर चाहिँ कस्तो हाला ?


[email protected]

प्रकाशित : असार ६, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?