छोरीको बिहे गर्ने उमेर

कुमारी लामा

हालै म दुइटा वैवाहिक समारोहमा सामेल भएँ । दुलहीहरूमध्ये एउटी बीबीएस दोस्रो वर्षमा अध्ययनरत थिइन् भने अर्की १२ कक्षा मात्रै भ्याएकी । दुवै पढालेखा र हुनेखाने घरका । कलिलै उमेरमा किन बिहे गरिदिएका होलान् भन्ने खुलदुली भइरह्यो मलाई । कुरो बुझ्दा, एउटीका दुलाहा युके आईडीवाला र अर्कीका चाहिँ सरकारी जागिरे रहेछन् ।

दुवैका अभिभावकले छोरीका लागि आएको राम्रो प्रस्तावलाई उम्काउन चाहेनन् । त्यसैले पढाइ नै पूरा नभएका छोरीहरूको ‘सुनिश्चित र सुरक्षित भविष्य’ का खातिर विवाह गरिदिएको प्रस्ट बुझियो ।

यी प्रतिनिधि उदाहरण मात्रै हुन् । हाम्रो समाजमा उनीहरूजस्तै धेरै कलिला युवती पढाइ र भविष्यको लक्ष्यलाई कुनातिर थन्क्याएर अन्मिरहेकै छन् । अहिले पनि बाबुआमाले ‘राम्रो प्रस्ताव’ आउनेबित्तिकै छोरी अन्माउन तम्सिहाल्छन्, मानौं त्यो प्रस्ताव उम्किए अरू राम्रो केटै पाउँदैनन् । खासमा प्रत्येक परिवार छोरीको भविष्य सुरक्षित होओस् भन्ने चाहन्छन् । तर पढाइ पूरै नगरी, आफ्ना खुट्टामा नउभिई अर्काको घर पुग्ने छोरीहरूको भविष्य कति सुरक्षित होला ?

वैश्विक नागरिक भएको दाबी गर्छौं हामी । नाफाखोर बहुराष्ट्रिय कम्पनीको पछिल्लो उत्पादन उपभोग गर्न पाउँदा खुब गजक्क पर्छौं । औंलामा नचाइरहेका छौं, वैश्विक घटनाहरूको अपडेट पनि । मानसिकता भने उही पुरातन ! छोरीहरू आफै गरिखान सक्छन् भनी विश्वास गर्न हामीलाई अझै पनि मुस्किल छ । उचित शिक्षा, अवसर र परिवारको सहयोग भएछोरीहरू आफ्नो भविष्य आफै सुरक्षित
पार्न सक्छन् ।

अलि हुर्किनेबित्तिकै छोरीलाई अर्काको जिम्मा लगाइहाल्ने चलन निकै पढालेखा र समृद्ध परिवारहरूमा छ । समय थोरै फेरिए जस्तो लाग्छ, छोरीहरू धमाधम विदेश पढ्न गएका पनि छन्, तर विदेशै पनि एक्लैभन्दा सकेसम्म लगनगाँठो कसेरै पठाइदिने गर्छन् । अझ सबैभन्दा सजिलो त अमेरिका, अस्ट्रेलिया या युरोपतिर सेटल भएका केटाहरूसँग बिहे गरिदिनु नै हुन्छ । त्यसो गर्दा छोरीको ‘भविष्य पनि सुरक्षित,’ विदेश पठाउन ठूलो आर्थिक लगानी पनि गर्न नपर्ने ! मध्यमवर्गीय नेपाली परिवार छोरीका लागि ठूलो धनराशि लगानी गर्न अझ पनि हच्किन्छ ।

त्यसको फल भविष्यमा अर्कै परिवारले खान्छ नि त ! यस्तै अनेक सामाजिक मूल्य–मान्यता र मानसिकताहरूको जन्जालमा जकडिएको छ, नेपाली समाज । यसो हुनुमा उही फ्रेमभित्र लामो कालखण्डदेखि चलिरहेको हाम्रो समाज र त्यसैबाट निर्मित विशेष मनोविज्ञानले भूमिका खेलेको देखिन्छ । आर्थिक रूपले सम्पन्न र सेटल भएका केटाहरूको जिम्मा लाउँदैमा हाम्रा छोरीहरूको भविष्य सुरक्षित हुन्छ त ? नहुने रहेछ ।

छिमेककै एउटी बहिनीका लागि ‘राम्रो परिवार’ बाट प्रस्ताव आएछ । काठमाडौंको ‘प्राइम लोकेसन’ मा घरजग्गा भएको, जागिरे । बस, यत्ति भए पुगिहाल्यो केटी पक्षलाई । स्नातक पढ्दै गरेकी निकै फुक्काफाल बहिनीले अनेक सपना साँचेकी थिइन् सायद । तर, उनले नचाहँदा–नचाहँदै इन्गेजमेन्ट भयो । विवाहको मिति केही समयपछिका लागि तोकियो ।

उनीहरूको भेटघाट हुन थाल्यो । संगत गर्दै जाँदा ती बहिनीले हुनेवाला श्रीमान्लाई आफूले सोचेभन्दा विपरीत स्वभावको पाइन् । अभिभावकका अघि उनले विवाह नगर्ने कुरो गरिन्, तर ‘इज्जत’ को कुराउठ्यो । अभिभावकको रुवाबासी चल्यो । उनी सोच बदल्न बाध्य भइन् । अन्ततः परिवारले उनलाई अन्मायो । पछि परिणाम उनले लख काटेजस्तै भयो । उनी हिंसाको सिकार भइन् । बच्चा भइसक्दा पनि मतभेद सुल्झिने छाँट देखिएन ।

केही नलागेपछि सम्बन्ध विच्छेदको तहमा पुग्यो उनीहरूको झगडा । अब यी बाउआमाको विवादमा बिचरा त्यो नाबालकले सजाय पाउँदै छ । बाउआमाको सम्बन्ध विच्छेदबाट सन्तानमा पर्ने आघात अर्को संवेदनशील विषय हो । ‘इज्जतका खातिर’ छोरीलाई कुलघरानामा जबर्जस्ती बिहे गरिपठाउने ती अभिभावक पनि अहिले तनाव झेलिरहेका छन् । अब न परिवारको ‘इज्जत’रह्यो, न छोरीको ‘सुनिश्चित भविष्य’ नै !

हामी नाक जोगाउने धुनमा निकै ठूलो सम्भावित दुर्घटनालाई अन्देखा गरिदिन्छौं र अन्ततः गहिरो खाल्डोमा जाकिन्छौं । त्यस बेला न नाक रहन्छ, न छोरीको सुखी परिवार । कतिपय जोडी भने परिवारको इज्जतकै खातिर पारपाचुके नगरी जीवनभर निकै तनाव र बेमेल जीवन बाँचिरहेका पनि देखिन्छन् ।

अर्कातिर, पढाइ सकेपछि मात्र बिहे गर्ने अडानमा बसेका कतिपय छोरीहरूलाई केटा पक्षबाट बिहेपछि पनि पढ्न वातावरण दिने आश्वासन दिइन्छ । तर बोलीजस्तो व्यवहार कहाँ हुनु ? घरपरिवारको उचित सहयोग नपाउँदा छोरीहरूले पढ्न चाहेर पनि सक्दैनन् । अन्ततः उनीहरू केटाकेटी हुर्काउँदै गृहिणी भई थन्किन पुग्छन् ।

उनीहरू असल गृहिणी र जिम्मेवारआमा त बन्छन्, तर आर्थिक रूपमा सधैं श्रीमान्कै भर पर्न विवश हुन्छन् । लोग्नेको खटनपटन, हेलाहोचोमा पर्ने सम्भावना बढ्छ । हामीले भुल्न हुन्न, आर्थिक स्वतन्त्रतासँग जीवनका धेरै पक्ष जोडिएका छन्, जस्तो— महिलाको अस्तित्व, आत्मनिर्भरता स्वतन्त्रता, परिवारभित्रको निर्णयमा अधिकार ।

नेपाली समाजले शिक्षा, सञ्चार, प्रविधि लगायतका क्षेत्रमा निकै फड्को मारेको छ । यति भइसक्दा पनि राज्य संयन्त्रका उच्च ओहदामा पुरुष नै बढी छन् । नीति, नियम र योजना बनाउने, निर्णय लिने, कार्यान्वयन गर्ने जस्ता प्रमुख ठाउँ पुरुषले नै ओगटेका छन् । महिला भने अह्राएपह्राएको काम गर्ने, खटनपटन सम्हाल्ने जिम्मामै बढी छन् । यसो भइरहनुमा हामी नै जिम्मेवार छौं ।

हामी छोरीहरूलाई सक्षम र आत्मर्निभर बनाउनेभन्दा ‘सेटल्ड’ केटाकोजिम्मा लाउने सपना बुनिबस्छौं । आवश्यकपढाइ र आत्मनिर्भर नभई विवाह हुनुले अझै बहुसंख्यक महिला घरधन्दा र चुलोचौकोमै सीमित हुन बाध्य छन् । पारिवारिक जिम्मेवारी, बालबच्चाको लालनपालन आदि–इत्यादिमा लाग्दालाग्दै उनीहरूको पढाइ, लक्ष्य र आकांक्षाहरू अलपत्र परिसक्छन् ।

प्रकाशित : असार ५, २०७६ ०७:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गुठी विधेयकविरुद्ध भव्य खबरदारी

गुठी संरक्षणका लागि सडकमा आउादा हामीलाई सामन्तवादी देख्ने ? बरू तपाईंले ल्याएको विधेयकको पाना–पानामा हामी मार्सी भात र दफा–दफामा होली वाइन देख्छौं –नरेश ताम्राकार, अध्यक्ष, नेवाः देय दबू
दामोदर न्यौपाने

काठमाडौँ — चौतर्फी दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिएको भोलिपल्ट बुधबार गुठियार, सम्पदा संरक्षण अभियन्ता, संरक्षणविद् लगायतले माइतीघर मण्डलमा खबरदारीसभा गरेका छन् । उपत्यकाका विभिन्न ठाउँबाट उर्लिएका हजारौं मानिसले गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरे । 

सभामा वक्ताहरूले आफ्नो धर्म, संस्कृतिमाथि आक्रमण गर्ने प्रयास सरकारबाट भएकाले विधेयक खारेज नगरेसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । ‘गुठी परम्परालाई ध्वस्त पार्न खोज्ने सरकारविरुद्ध सडकमा आउँदा तपाईंहरू हामीलाई भाडाका मान्छे देख्नुहुन्छ । उक्साहटमा आएको भन्नुहुन्छ । सामन्तवादी देख्नुहुन्छ,’ खबरदारी सभामा नेवाः देय दवुका अध्यक्ष नरेश ताम्राकारले भने, ‘हामीचाहिँ तपार्इंले ल्याएको विधेयकको पाना–पानामा मार्सी भात देख्छौं । दफा–दफामा होली वाइन देख्छौं ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले राष्ट्रिय सभाबाट मंगलबार विधेयक फिर्ता लिएकी थिइन् । अर्यालले फिर्ता लिएको केही बेरपछि प्रधानमन्त्री केपी ओलीले पत्रकार सम्मेलन गरेर विधेयकमा भएको कुरालाई भ्रमपूर्ण ढंगले उचालेर प्रचार गरिएको टिप्पणी गरेका थिए ।

‘प्रधानमन्त्री उल्टै गुठियारप्रति आक्रामक भएका छन् । यो विधेयक फिर्ता लिएको भनेर अर्को षड्यन्त्र गरिएको छ,’ ज्यापू महागुठीका अध्यक्ष राजभाइ जकमीले भने, ‘नेवारलाई कुनै जातिको पुच्छर भनेर आरोप लगाउँछन् । हामी कसैको पुच्छर होइनौं । हामी तीन सहिदका सन्तान हौं । गणेशमान सिंह, पुष्पलालजस्ता योद्धाका सन्तान हौं ।’ गुठी सुरक्षित भएको प्रत्याभूति नभएसम्म आन्दोलन नरोकिने उनले बताए । ‘विधेयक खारेज गरेर गुठी सुरक्षित हुने वातावरण सरकारले निर्माण गर्नुपर्छ,’ उनले भने, ‘नत्र हामी छाड्दैनौं ।’

मानव अधिकारवादी नेता मल्ल के सुन्दरले केन्द्रीय प्रशासनमा नेवारको उपस्थिति प्रभावकारी नभएकाले राज्यले नेवार समुदायविरुद्ध निरन्तर षड्यन्त्र गरिरहेको बताए । ‘शाहकालदेखि राणाकाल हुँदै गणतन्त्रसम्ममा नेवार शासनमा नहुनुको फाइदा राज्यले उठाएको हो,’ उनले भने, ‘काठमाडौंमा नेवार राज्य नभएसम्म यस्तो षड्यन्त्रभइरहन्छ । नेवारको अधिकार रहँदैन ।’

गुठी विधेयक प्रतिरोध कार्यक्रमका संयोजक महेशमान प्रधानले नेवार समुदायको भूमिमाथिको अधिकारलाई वञ्चित गर्दै पहिचान समाप्त पार्ने नियतले विधेयक ल्याइएको बताए । ‘कहिले सडक विस्तार त कहिले विकास निर्माण भन्दै नेवार भूमिमाथि आक्रमण जारी छ,’ उनले भने, ‘नेवार जातिको आधारशिलाका रूपमा रहेको गुठीलाई समाप्त गरियो भने पहिचानको आन्दोलन नै समाप्त पार्न सकिने देखेर सरकारले यो विधेयक अगाडि ल्याएको हो ।’

तीन मन्त्रीको राजीनामा माग
खबरदारी सभामा अधिकांश वक्ताले तीन मन्त्रीको राजीनामा माग गरे । गुठी विधेयकसंसद्मा दर्ता गराउने मन्त्री अर्याल, विधेयकको विरोधमा सडकमा आएका गुठियार, अभियन्तामाथि दमन गर्ने गृहमन्त्री रामबहादुर थापा र गुठीलाई सामन्त भन्ने सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा उनीहरूले मागेका हुन् ।

काठमाडौं सडक विस्तार संघर्ष समितिका संयोजक सुमन सायमी, राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ, अभियन्ता शैलेश शाक्य, सेभ नेपा भ्यालीका सुरज महर्जन, राजाराम तन्डुकार, यादवलाल कायस्थले मन्त्रीलाई तत्काल राजीनामा दिन माग राखे । तन्डुकारले भने, ‘प्रधानमन्त्रीले जोक गरेजस्तै हेपेर विधेयक ल्याउनुभयो । गुठी नबुझी तपाईं मर्नुभयो भने तपाईंको जीवन खेर गएजस्तो हुन्छ । गुठी बुझ्नुस् । यहाँभित्रका विशाल सांस्कृतिक पक्ष बुझ्नुस् ।’ पहिचानको लडाइँमा लाग्नेहरूको एकता भाँड्न सरकार लागेको तरत्यो सफल नहुने उनले बताए ।

अत्याचारविरुद्ध लड्न शपथ
खबरदारी सभामा सहभागीले सम्पदामाथिको आक्रमण, माफिया, भ्रष्टाचारलगायत बेथितिविरुद्ध लड्न सामूहिक शपथ खाएका छन् । अभियन्ता अनिश वैद्यले ‘आत्मसम्मानका लागि जोसुकैविरुद्ध लड्नुपरे पनि, जोसुकैविरुद्ध बोल्नुपरे पनि आफ्नो सामर्थ्यले भ्याएसम्म साथ दिन्छु’ भनेर सभामा सहभागीलाई शपथ खुवाएका थिए ।

‘यो जनता एकजुट भए भने देशलाई खोक्रो बनाउने एउटा कुनामा बसेर रुनुपर्छ,’ वैद्यले भने, ‘दलाल सरकारले मातृभूमिविरुद्ध गरेको षड्यन्त्र हो यो । देशको पहिचान मेटाउनेषड्यन्त्रविरुद्ध हामी एक हुने छौं ।’ सभामा नेपाल भाषाका कवि दुर्गालाल श्रेष्ठ, गायक योगेश्वर अमात्य, हरिश माथेमा, प्रकाशचरण श्रेष्ठ, प्रवेशमान शाक्य, न्ह्यु बज्राचार्यलगायतले ऐक्यबद्धता जनाएका थिए । प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभाखड्गी श्रेष्ठ, जनजाति नेता लक्ष्मण थारूलगायतले पनि ऐक्यबद्धता जनाएका थिए ।

काठमाडौं, ललितपुर, भक्तपुरका नेवार बस्तीबाट बाजगाजासहित सर्वसाधारण सभामा सहभागी भएका थिए । ‘हाम्रो हात चोखो छ, भ्रष्टाचार गरेका छैनौं’ भन्दैसबैले हातमा सेतो पन्जा लगाएका थिए ।

प्रहरीलाई फूल
गायक योगेश्वर अमात्यले माइतीघर क्षेत्रमा खटिएका प्रहरीलाई फूल वितरण गरेका थिए । गुठी विधेयकको विरोधमा जेठ २६ गते प्रहरीले दमन गरेको विरोधमा उनले फूल वितरण गरेका हुन् । उनले यसअघि ललितपुरमा भएको कार्यक्रममा पनि प्रहरीलाई फूल बाँडेका थिए ।

प्रकाशित : असार ५, २०७६ ०७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT