शिवपुरी चराको पनि

कृष्णप्रसाद भुसाल

काठमाडौँ — २०७२ साल मंसिरको एउटा शनिबार हामी गोदामदेखि चन्द्रागिरि शिरसम्म पुगेका थियौं, जहाँ ८१ प्रजातिका चराचुरुंगी देख्न पाएका थियौं । करिब चार घण्टाको छोटो अवधिमा त्यति धेरै चराका प्रजाति काठमाडौं नजिकै अवलोकन गर्न पाउँदा हामी अत्यन्त उत्साहित थियौं । त्यसै वर्ष गरिएको चरासम्बन्धी अर्को सर्वेक्षणमा चन्द्रागिरि क्षेत्रमा १३७ प्रजातिका चरा अभिलेख गरिएको थियो ।

अवस्था सधैँ त्यस्तो रहेन । चन्द्रागिरिमा केबलकार र अन्य भौतिक संरचनाको निर्माण र मानिसहरूको तीव्र आवतजावतले चरा तथा अन्य वन्यजन्तुको बासस्थान खण्डीकरण र विनाश हुन थाल्यो । त्यसबाट ती असुरक्षित मात्र भएका छैनन्, रातभर झिलीमिली बत्तीका कारण सयौं निशाचर चरा र वन्यजन्तु प्रभावित भइराखेका छन् । आँखैअघिको यो दोहन देखेर होला, मलाई चन्द्रागिरि केबलकारमा पुग्ने रहर कहिल्यै लागेन । यसो भनेर मैले निरपेक्ष विरोध गरेको होइन ।

हामीले पर्यावरणमैत्री व्यवहार, कानुनको पालना र दीर्घकालीन सोचले उपयुक्त स्थानमा परियोजना सञ्चालन गरेका छौं कि छैनौं कि भन्ने हो । यस्तो विकासबाट स्थानीय बासिन्दालाई के प्रभाव पर्‍यो भन्ने हो । आमरूपमा हेर्दा स्थानीय बासिन्दाले वातावरणीय स्वच्छता र पर्यावरणीय सन्तुलन गुमाउनुबाहेक अर्थोक पाएजस्तो देखिएको छैन ।

नेपाल पन्छी संरक्षण संघ र चराहरूको विश्वव्यापी अध्ययन–अनुसन्धान र संरक्षणमा काम गर्ने बर्डलाइफ इन्टरनेसनलले २०६२ मा शिवपुरी–नागार्जुन निकुञ्ज र दक्षिणको फूलचोकी पहाडलाई चरा तथा जैविक विविधताका लागि महत्त्वपूर्ण क्षेत्रका रूपमा पहिचान गरेको थियो । विश्वमै दुर्लभ चराहरूको बासस्थान, जैविक विविधताको अध्ययन–अनुसन्धान र वातावरणीय सेवा प्रदानका दृष्टिले महत्त्वपूर्ण तथा परिचित यस्ता क्षेत्र नेपालमा हाल ३७ वटा छन् ।

उपत्यकाको लाइफलाइन मानिने शिवपुरी, नागार्जुन, चन्द्रागिरि र फूलचोकीलाई भने हामीले तत्कालीन लाभका लागि लगातार आक्रमण गरी क्षयीकरण गरिरहेका छौं । यसैको निरन्तरता हो— बहुआयामिक महत्त्वको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा जंगल सफारी, केबलकार र रिसोर्ट सञ्चालन तयारी । यसले दीर्घकालमा पार्ने असरका सम्बन्धमा संरक्षणकर्मी, विषयविज्ञ, सरोकारवाला निकाय र आम समुदायमाझ बहस सिर्जना गरेको छ, जुन स्वाभाविक छ ।

हामी धेरैलाई ख्याल नहुन सक्छ, शिवपुरी– नागार्जुन र फूलचोकीजस्ता महत्त्वपूर्ण जैविक विविधता क्षेत्रमा चरा अवलोकनका लागि मात्र पनि हजारौं विदेशी पर्यटक आउँछन् । नेपाल आउने पर्यटकमध्ये करिब १० प्रतिशतले चरा अवलोकन गर्ने गर्छन् र अधिकांशको रोजाइ काठमाडौं आसपासका यिनै क्षेत्र पर्छन् । त्यस्ता पर्यटक खर्चिला र लामो समय बिताउने खालका हुन्छन् । शिवपुरी–नागार्जुन निकुञ्जमा ३२७ प्रजातिका चरा पाइन्छन्, जसमध्ये ६ प्रजाति विश्वमै दुर्लभ, ४ प्रजाति संकटापन्न र नेपालमा मात्र पाइने काँडे भ्याकुर पर्छन् ।

यीमध्ये एकतिहाइ चरा बसाइँसराइ गरी आउने प्रजाति हुन् । तसर्थ हिउँदमा हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै ग्रीष्मकालीन आगन्तुक पाहुना चराहरूलाई यहाँ देख्न सकिन्छ । शिवपुरी र नार्गाजुन दुवै क्षेत्रमा चरा अवलोकन र प्रकृति पथ प्रदर्शनको तालिम पाएका करिब ३० जना स्थानीय युवाले नेचर गाइडको काम गरेर मासिक २५–३० हजार रुपैयाँ कमाइरहेका छन् । त्यहाँ बन्ने केबलकारले स्थानीय बासिन्दाको पर्यावरणमैत्री यस्तो रोजगारीको प्रवर्द्धन गर्ला ? निकुञ्ज र मध्यवर्ती क्षेत्र तथा स्थानीय बासिन्दाले परिकल्पना गरेको प्लास्टिकमुक्त र जंक फुडरहित शिवपुरी त्यहाँ रिसोर्ट सञ्चालनबाट देख्न पाइएला ?

उत्तरी ध्रुवमा हिमपातको सुरुवातसँगै हिउँदयामको बढ्दो जाडो छल्न मंगोलिया क्षेत्रबाट आउने विश्वमै दुर्लभ गोमायु महाचील नेपालको मध्यपहाड हुँदै पूर्व–पश्चिम बसाइँसराइ गर्छ, जुन काठमाडौं उपत्यकामा पनि उल्लेख्य रूपमा देखिन्छ । यहाँ प्रस्तावित केबलकारको संरचनाले यसको उडान मार्ग र विचरणमा अवरोध पुग्न सक्छ । पुराना रूख भएको र मान्छेको आवतजावत एकदमै कम हुने स्थानमा बस्ने चश्मे उलूक शिवपुरीमा पाइन्छ, जुन वनजंगलको स्वास्थ्य र भाग्यको सूचक मानिन्छ । अब यसको अवस्था के होला ?

सन् १९८० को दशकमा शिवपुरी क्षेत्रको रैथाने र उपत्यकामा सहजै देखिने अति संकटापन्न डंगर गिद्ध पछिल्ला दशकमा हराए । फुर्के हाँस, घाउँके हावासिल, तिलहरी चरा र बगाले बगेडी जस्ता दुर्लभ चरा यस क्षेत्रमा देखिन छाडिसकेका छन् । यस्ता योजनाका कारण भविष्यमा अरू थप प्रजाति पनि यसरी नै हराएर जाने निश्चित छ । अन्ततः हामीले प्राकृतिक सम्पदा तथा जैविक विविधता संरक्षणमा गरेका प्रतिबद्धतामै प्रश्न उठ्न सक्छ ।

हामीले टौदहको जैविक अस्तित्व सिध्याइसक्यौं । हाल विश्वबाटै लोप भइसकेको अनुमान गरिएको गुलाफी टाउके हाँस, विश्वमै दुर्लभ कैलो टाउके हाँससँगै हजारौं पाहुना चरा कुनै समय टौदह क्षेत्रमा अभिलेख गरिएका थिए । अहिले पोखरीको सिमेन्टको सिँढी र वरिपरि कटेज बनायौं, तर पाहुना चराहरूलाई सधैंका लागि धपायौं । पछिल्ला दशकहरूमा हाम्रा आत्मकेन्द्रित क्रियाकलापबाट बासस्थान संकुचन तथा विनाश, वन फँडानी र अतिक्रमण, डढेलो, घाँसे मैदानको नास, अवैध चरा सिकार तथा व्यापार, रासायनिक मल र विषादीको बढ्दो प्रयोग जस्ता कारणले थुप्रै प्रजातिका चराले संकट झेलिरहेका छन् । हालसम्म नेपालबाट ८ प्रजातिका चरा लोप भइसकेका छन्, १६७ प्रजातिका चराहरू राष्ट्रिय रूपमा संकटापन्न अवस्थामा छन् । नेपालमा बासस्थान विनाश नै चराहरूका लागि मुख्य खतरा हो, जसका कारण ८६ प्रतिशत चरा संकटापन्न अवस्थामा पुगेका छन् ।

समग्रतामा हेर्दा केन्द्रदेखि स्थानीय तहसम्म हामी प्राकृतिक स्रोतको ध्वंस गर्नमै केन्द्रित छौं । प्राकृतिक स्रोत, जैविक विविधता संरक्षण र दिगो उपयोगमा जनसहभागिता, जनचासो, सरोकारवाला निकायहरूको समन्वय, वैज्ञानिक अध्ययन–अनुसन्धानका नतिजा र सुझावभन्दा पनि विशुद्ध व्यावसाहिक हिसाबकिताबमा मात्र केन्द्रित भयौं । राजनीतिक नेतृत्व, नीतिनिर्माता र प्रशासनिक नेतृत्वले सोच्नुपर्ने आगामी पुस्ता, दीर्घकालीन उपलब्धि र सन्तुलित तथा दिगो विकासबारे नै हो । स्थानीय समुदायको सहभागितामा परम्परागत ज्ञानमा आधारित जैविक विविधता संरक्षण र त्यसको सफलता नेपालबाट विश्व संरक्षण समुदायले अनुसरण गर्ने गरेको विषय हो ।

स्थानीय निकायहरू स्वायत्त र शक्तिसम्पन्न भएको वर्तमान अवस्थामा स्थानीय तहले पर्यावरण मैत्री दीर्घकालीन योजना तर्जुमा गर्नुपर्छ । केन्द्र सरकारले पनि नेपाल पक्ष राष्ट्र भएका वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, अभिसन्धि तथा सम्झौताको मूलप्रभावीकरण र आत्मसात् गर्नु र गराउनु जरुरी छ ।

सर्वोच्च अदालतले २०७२ वैशाख ३ मा फूलचोकीमा महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रको पर्यावरण, जैविक विविधता र मानवबस्ती संरक्षणका लागि मार्बल उद्योग बन्द गर्ने फैसला गरेको थियो । तसर्थ त्यस्ता क्षेत्रमा ठूला भौतिक संरचना निर्माणपूर्व नै चिन्तन–मनन गर्न नबिर्सौं ।

प्रकाशित : असार ४, २०७६ ०८:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

राजधनेशलाई देऊन वनमा बास

कृष्णप्रसाद भुसाल

सन् २०१८ को अन्त्यमा बर्डलाइफ इन्टरनेसनलले प्रकाशित गरेको चराहरूको वर्तमान संरक्षण अवस्था प्रतिवेदनमा राजधनेशलाई संवेदनशील सूचीमा राखिएको छ । नेपालमा पनि पाइने राजधनेश विश्वमै दुर्लभको सूचीमा परेसँगै संरक्षणकर्मीहरू चिन्तित छन् । पछिल्ला दशकमा मानवीय क्रियाकलापहरूको परिणामस्वरुप बासस्थान संकुचन तथा विनाश, वन फँडानी र अतिक्रमण, डढेलो, घाँसे मैदानको नाशका कारण थुप्रै प्रजातिका चराले संकट झेलिरहेका छन् ।


अवैध चरा सिकार तथा व्यापार, रासायनिक मल र विषादीको बढ्दो प्रयोग, बदलिँदो तापमान र मौसम परिवर्तनजस्ता अन्य कारण पनि छन्। नेपालबाट आठ प्रजातिका चरा लोप भैसकेका छन् । १६७ प्रजातिका राष्ट्रिय रूपमा संकटापन्न अवस्थामा छन् । विश्वमै दुर्लभ मानिएका ४४ प्रजातिका चरा नेपालमा पाइन्छन् । बासस्थान विनाश यहाँ चराका लागि मुख्य खतरा हो । यही कारण, ८६ प्रतिशत चरा संकटापन्न अवस्थामा पुगेका छन् ।

विश्वका ५७ प्रजातिका धनेशमध्ये नेपालमा चार प्रजाति पाइन्छन् । होमराई धनेश विश्वमै पहिलोपटक नेपालमा सन् १८५० मा रेकर्ड गरिएको थियो । त्यो नेपालबाट भने २० औं शताब्दीमा लोप भैसकेको छ । बाँकी तीन प्रजाति सानो धनेश, कालो धनेश र राजधनेश हुन् । तीमध्ये राजधनेश लोपोन्मुख अवस्थामा पुगेको हो । फलफूलका रुखहरू भएको तराईका सदावहार विकसित चौडापाते जङ्गलमा बस्ने राजधनेश मुख्यतया पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यस आसपासका क्षेत्रमा पाइन्छ ।

संरक्षित क्षेत्र बाहिर झापा, सुनसरी, मकवानपुर, कपिलवस्तु र कैलाली जिल्लाको जंगलमा मात्र पाइन्छ । अन्यत्र चरा भारत, चीन, भूटान, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड, म्यानमार, लाओस, भियतनाम, कम्बोडिया र इन्डोनेसियाको सुमात्रा टापुमा पाइन्छ । अंग्रेजीमा ग्रेट हर्न बिल भनिने हेलमेटजस्तो रङ्गिन शिर भएको राजधनेश सबैभन्दा ठूलो धनेश हो । प्रायःजसो सानो–सानो झुन्डमा देखिने यो पन्छी निकै आकर्षक देखिन्छ । नेपालमा राजधनेश डेढ सय वटाभन्दा कम रहेको अनुमान छ । वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित ९ पन्छीमध्ये यो पनि एक हो । यो साइटिस अनुसूची–१ मा सूचीकृत छ । यस अनुसूचीमा अन्तर्राष्ट्रिय व्यापारका कारण लोप हुने अवस्थामा पुगेका प्रजातिहरू पर्छन् र तिनको व्यापारमा पूर्ण प्रतिबन्ध लगाइएको हुन्छ ।

राजधनेशले गुँड निर्माण र ओथारो प्रक्रियामा रोचक र अनौठो स्वभाव देखाउँछ । यसले ठूला र बूढा रुखको टोड्कोमा गुँड बनाई वर्षायाममा प्रजनन गर्छ । भालेले पोथीलाई अन्डा पारेपछि बच्चा नहुर्कन्जेलसम्म टोड्कोमा रहेको गुँडमै थुनेर राख्छ । धनेश दम्पतिले हिलो र पोथीको विष्टाको सहयोगमा टोड्काको मुख पुरै टाल्छन् । त्यसमा बनाइएको सानो प्वालबाट पोथीले हावा र आहारा लिने गर्छे । ओथारो अवधिभर पोथीलाई र पछि बच्चालाई भाले राजधनेशले नियमित आहारा खुवाउँछ ।

यही स्वभावका कारण यसलाई पत्नीवर्ता पन्छी भनिन्छ । बढीमा दुइटासम्म अन्डा पार्ने पोथी चालीस दिनसम्म ओथारो बस्छे । ओथारो अवधिमा प्वाँखहरू झरेर कुरूप बनेकी पोथी त्यसपछि पलाएका प्वाँखहरूले भने झन् सुन्दर बन्छे । करिब दुई महिनापछि मात्र बच्चा उड्न सक्षम हुन्छन् । जोडी बनिसकेपछि राजधनेशका भाले–पोथीले एकअर्कालाई दीर्घकालसम्म साथ दिन्छन् । तीस वर्ष वा त्यसभन्दा बढी आयु हुने यो पन्छीले उडानको बेला पखेटाको फटफटावट आवाज निकाल्छ । करिब एक किलोमिटर टाढासम्म पनि सुन्न सकिने उक्त आवाजको मद्दतलेटोड्कोमा थुनिएर बसेको पोथीले भालेको आगमन र क्रियाकलाप पहिचान गर्छे ।

प्रकृतिमा भएका कतिपय हानिकारक किराफट्याङग्रा, मुसा तथा छिपकलीहरू खाई राजधनेशले पर्यावरणीय सन्तुलन तथा खाद्यचक्र गतिशील राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । विभिन्न बिरुवा तथा फलफूलको विउ विस्तार र वितरणमा पनि यसले योगदान पुर्‍याएको हुन्छ । खास किसिमको बासस्थानमा मात्र पाइने यो चरा त्यस्ता क्षेत्रहरूको वातावरणीय सूचक मानिन्छ । पछिल्ला दशकमा वन विनाश र अतिक्रमणले ठूला र पुराना रुखहरूको अभावमा राजधनेशको संख्या दिनानुदिन घटिरहेको हो ।

चोरी सिकारी पनि चुनौती हो । मासु र यसको आकर्षक शिरका लागि अवैधानिक सिकार र व्यापार गरेको भेटिन्छ । ओथारो अवधिभर थुनिएर बसेको पोथी कमजोर र कम चलायमान हुने हंँदा मानव सिकारी र प्राकृतिक सिकारी जीवजन्तुको आक्रमणमा पर्ने सम्भावना हुन्छ । नेपाल तथा भारतका कतिपय आदिवासी समुदायले यसको ठोँड, प्वाँख र शिरलाई परम्परागत संस्कार तथा रीतिरिवाजमा प्रयोग गर्ने गर्छन् ।

राजधनेश जैविक विविधताको महत्त्वपूर्ण सूचक र पर्यापर्यटनको प्रमुख आकर्षण हो । बूढा र सुकेका धोद्रा रुखहरू नै राजधनेशका घर हुन् । यसर्थ यस्ता रुख जोगाउन जरुरी छ । सामान्यतया हामीले पुराना र सुकेका रुखहरूलाई त्यति महत्त्व दिँदैनौं । वन व्यवस्थापनका अभ्यासमा त्यस्ता रुखहरू मास्ने वा जंगलबाट निकाल्ने गरिन्छ ।

संरक्षित पन्छी राजधनेशको चोरी सिकार गरेमा १५ देखि ३० हजारसम्म जरिवाना वा ३ देखि ९ महिनासम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ । चरा संरक्षण विशुद्ध एकल अभियान होइन, यसलाई सहभागितामूलक जैविक विविधताको संरक्षण तथा दिगो व्यवस्थापन एवं पर्यटन उद्योग र विकास सँगसँगै हेरिनुपर्छ । नेपालमा चरा अवलोकनका लागि थुप्रै बाह्य पर्यटक आउँछन् ।

खास प्रकारका चराहरूको संरक्षण, बासस्थान व्यवस्थापन र प्रचार–प्रसारले देशलाई चरा अवलोकनका लागि आकर्षक गन्तव्य बनाउन सकिन्छ । स्थानीय निकायले राजधनेश जस्ता चरा र तिनको बासस्थान संरक्षणमा समन्वयकारी तथा अभिभावकीय भूमिका निभाउन सक्छन् । यस कार्यमा केन्द्र सरकार र सरोकारवाला निकायले पहल गर्नुपर्छ । अन्यथा राजधनेश यस धर्तीबाटै लोप भएर जानेछ । त्यसको कारक पुस्ता हामी हुनेछौं ।

प्रकाशित : वैशाख ७, २०७६ ०८:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT