कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

विकासको विध्वंस मोडल

अच्युत वाग्ले

नेपालले अहिले अवलम्बन गरेको आर्थिक विकासको मोडललाई के नाम दिन सकिएला ? स्वच्छन्द (लेसे फेयर), वाम–समाजवादी, लोकतान्त्रिक समाजवादी, केन्सियन, (नव)उदारवादी वा अरु केही ? यथार्थमा नेपालले अपनाएका बजेट र खर्च प्रणाली, सामाजिक र भौतिक पूर्वाधार लगानी पद्धति तथा उत्पादकत्वका लागि आवश्यक वित्तीय मध्यस्थता संरचना केही पनि वर्तमान विश्वमा प्रचलित यी आर्थिक मोडलहरू निकटसमेत छैनन् ।

विकासको विध्वंस मोडल

राजनीतिक भाषणको प्रयोजनका लागि नेपालले आफ्नै माटो सुहाउँदो आर्थिक मोडल विकास गर्ने, गर्दै गरेको वा अहिले जे गरिरहेको छ, त्यो नै नयाँ मोडल भएको दाबी गर्ने धृष्टता भने बाक्लै सुनिन्छ । त्यसको परिणाम कहीँ कतै देखिएको छैन । भनिरहनु आवश्यक परोइन, नेपालका आर्थिक सूचकांकहरू भूटानको भन्दा पनि धेरै तल खस्किसकेका छन् ।


यो आकार र नीतिशून्य मोडलको प्रतिरक्षामा विगत दुई दशकयता सबै रङका सरकारमा बस्नेहरूले दिने एउटै तर्क हो, ‘नेपालले मिश्रित अर्थव्यवस्था लागू गरेको छ ।’ अहिलेको संविधान लागू भएपछि मिश्रित अर्थतन्त्रको यो परिभाषामा ‘सहकारी’को घुलन अनिवार्यजस्तै भएको छ । अर्थव्यवस्थाको नाम ‘समाजवाद उन्मुख’ भन्न छुटाइने गरेको छैन ।


विकेन्द्रित वा अधिकार निक्षेपित संघीय मोडलको नामकरण पनि अचेल फाट्टफुट्ट सुनिन्छ । ती कुनै भाष्य व्यवहारमा रूपान्तरित भएका भने छैनन् । वास्तवमा, नेपालले अहिले आर्थिक विकासका नाममा जे गरिहेको छ, त्यसको कुनै पुष्ट परिभाषा वा दार्शनिक आधार छैन, प्रयोगधर्मी दृष्टिमा पनि दिशाहीन र भयावह जोखिमयुक्त छ ।


हाम्रो आर्थिक विकासका नाममा भइरहेका गतिविधिले मुलुकको भविष्यलाई जसरी थप अनिश्चित बनाउँदैछ, त्यस दृष्टिले यसलाई ‘विध्वंस मोडल’ भन्नु सबभन्दा उपयुक्त हुने देखिएको छ । आउँदो आर्थिक वर्षको बजेटमाथि संघीय संसदमा छलफल झइरहेको छ । कुनै टुत्रे योजनामा पैसा पर्‍यो कि परेन भन्ने भाषण केही दर्जन सांसदले सभाहलका खाली कुर्सीका लहरलाई सुनाउँदैछन् । तर विकास मोडलको सिङ्गो अर्थराजनीतिक दर्शनमा देखिएको विद्यमान अन्योलबारे कतै पनि बहस–चर्चा छैन । त्यसैले यो विध्वंस मार्ग सच्चिने आशा झन् धमिलो हुँदै गएको छ । चरम जोखिम यही हो ।


गिजोलिएको संघीयता

स्थानीय तहमा कर्मचारी भर्नाका लागि लाकसेवा आयोगले गरेको विज्ञापनको संवैधानिकतामाथि यतिखेर चर्को बहस छ । सम्पूर्ण बहस ‘संघीय’ आयोगले यो विज्ञापन गर्नु हुन्थ्यो कि हुँदैनथ्यो भन्नेमा केन्द्रित छ । संविधान लागू भएको चार वर्षसम्म पनि धारा २२४ ले व्यवस्था गरे बमोजिमको प्रदेश लोकसेवा आयोग गठन गर्ने पहल नै किन भएन ? यो प्रश्नमा कोही पनि प्रवेश गर्नै चाहेको छैन ।


यो धाराले प्रस्ट भनेको छ, (१) प्रत्येक प्रदेशमा प्रदेश लोकसेवा आयोग रहनेछ । (२) प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानुन बमोजिम हुनेछ । साथमा उपधारा (३) ले एउटा कानुनी घाँडो पनि झुन्ड्याइदिएको छ— उपधारा (२) को प्रयोजनका लागि संघीय संसदले कानुन बनाई आधार र मापदण्ड निर्धारण गर्नेछ ।


बदमासी भएको यहीँनेर हो । यदि संघीयता कार्यान्वयनलाई सहजीरकण गर्ने असल नियत सरकारको हुन्थ्यो भने यो ‘आधार र मापदण्ड निर्धारण’ गर्ने कानुन उहिल्यै बनाइदिनु आवश्यक थियो । त्यसपछि धारा २२७ मा व्यवस्था भएको ‘गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्था’ गर्ने कानुन प्रदेश सरकारहरूले बनाउन सक्थे । संविधानको अनुसूची ६ अन्तर्गत नं. ५ बुँदा अनुरुप प्रदेश सरकारहरूलाई प्रदेश निजामती सेवा र अन्य सरकारी सेवा सञ्चालन गर्ने बाटो खुल्ने थियो । सम्भवतः स्थानीय तहमा केही संख्यामा कर्मचारी पुग्ने थिए ।


सरकार यो बाटो हिँडेन । परिणामतः अर्को एउटा सिङ्गै वर्ष स्थानीय तहमा कर्मचारी नपुगेर संघीयता कार्यान्वयन नभएको र बजेट खर्च हुन नसकेको बहानामा समय बिताउन सरकारलाई सहज हुने भयो ।


वित्तीय संघीयता र प्रशासनिक संघीयता दुवै संरचना स्थानीय सरकारको तहसम्म समयमै विस्तार हुन नसक्दाको स्वाभाविक खराब असर आर्थिक र विकास प्रशासन दुवैतर्फ परेको छ । गाउँघरमा विकास भनेको कुनै इन्जिनियरिङ डिजाइनबिनै सडक बनाउने नाममा डोजर चलाउनु हो भन्ने सन्देश ‘आफ्नो गाउँ आफै बनाउँ’ कालदेखि गएकै छ ।


सार्वजनिक पदमा निर्वाचित भएर आएका मेयर, उपमेयर र अन्य पदाधिकारीहरूले विकेन्द्रित अधिकारको चरम दुरुपयोग सुरु गरेका छन् । संघीय विकास अब ‘मेयरको डोजर, वडाध्यक्षको टिपर’ मोडलको पर्याय बन्दै गएको छ । संघीयतालाई निकम्मा बनाउने यी केही उदाहरणमात्र हुन् । यस्ता अभ्यासमार्फत संघीयतालाई सफल बनाउने प्रयास गर्नुको सट्टा जसरी गिजोलिंँदैछ, त्यसले असाध्यै अनपेक्षित राजनीतिक र आर्थिक दुर्घटना निम्त्याउने अवश्यंभावी छ ।


गुठी मासेर सहकारी

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयकको विवादले अहिले मुलुक तातेको छ । विधेयकमा के छ भन्दा पनि सरकारको नियत के हो भन्ने मूल प्रश्न हो । पहिलो, सरकार आफ्ना कामहरूको प्राथमिकता निर्धारण गर्न असक्षम देखिएको छ । संघीयतालाई जनहितकारी शासनका रूपमा स्थापित गर्न आवश्यक दर्जनौं कानुन बनाउने र बनेका कानुनहरूको नियमावली बनाउन निकै ढिला भइसकेको छ ।


सरकारमा यी अत्यावश्यक कानुन बनाउने तत्परताभन्दा शक्ति केन्द्रीकरण गर्ने प्रस्ट बद्नियत देखिन्छ । संविधानको अनुसूची ६ को बुँदा नं. २० ले गुठी व्यवस्थापनको अधिकार प्रस्ट ढंगले प्रदेश सरकारलाई दिएको छ । तर कुनै ठूलो नीतिगत भ्रष्टाचारको लाभ लिने मोहमा संघीय सरकार नै यो कानुन बदल्न उद्यत भयो । आश्चर्य, यो विषयमा प्रदेश सरकारहरूले आफ्नो अधिकार प्रयोग गर्न पर्याप्त अग्रसरता देखाएका छैनन् ।


प्रस्तुत बजेटमार्फत सहकारीको औचित्य स्थापित गर्न दिलोज्यानले कोसिस गरेको सरकारको झन्डै सहकारिताकै सिद्धान्तमा परम्परादेखि सञ्चालित गुठीहरू मास्ने अभिष्ट किमार्थ असल छैन । गुठीका आफ्नै धार्मिक, सांस्कृतिक आयाम छन् । तिनको महत्त्वबारे चर्चा स्वाभाविक र आवश्यक छ । साथमा, यो विधेयक प्रकरणलाई संविधानले दिएको अधिकारसमेत प्रादेशिक सरकारहरूलाई अभ्यास गर्न निषेध गर्न खोजेको कोणबाट बढी गम्भीर ढंगले हेरिनुपर्छ ।


जहाँसम्म नेपालको विकास मोडललाई मिश्रितको संज्ञा दिने र त्यसमा सहकारीहरूको भूमिकालाई अति महत्त्वका साथ प्रस्तुत गर्ने जुन अस्वाभाविक कसरत भएको छ, त्यसले नेपालको प्रगतिको अपेक्षालाई पटक्कै सघाउँदैन । त्यसका कारणहरू छन् । अहिले क्रियाशील भनिएका मुलुकभरका २५ हजार सहकारी संस्थामध्ये करिब दुई तिहाइ बचत तथा ऋण सहकारी छन् ।


तिनले परिचालित गर्ने कोषमा लाग्ने २५ देखि ३० प्रतिशत उच्च लागत (कष्ट अफ फन्ड) का कारण कुनै दिगो आर्थिक उत्पादकत्व, नाफा वा उल्लेख्य रोजगारी सिर्जना हुन असम्भव छ । मूलतः उत्पादनसँग सम्बन्धित बाँकी सहकारीको व्यवस्थापन र प्रभावकारिता अत्यन्तै सीमित छ । नयाँ पुस्ता कृषि उद्यममा पटक्कै आकर्षित छैन ।


र कृषि उत्पादनको मूल्य अभिवृद्धि (भ्यालु एडिसन) र बजारीकरण गर्न ती सहकारीहरूसँग पर्याप्त आर्थिक एवं मानव स्रोत, प्रविधि र बजार सम्पर्क छैन । जीवन निर्वाहमा वा सामाजिक गर्जो टार्न सहायक भए पनि यी सहकारीहरू नै फराकिलो आर्थिक विकासको मूल उत्प्रेरक वा अंश बन्ने अवधारणा नै अपरिपक्व हो ।


सेवामा आधारित गुठी मासेर सुदखोरीमा लिप्त सहकारीको महिमामण्डन आफैंमा कम ध्वंसक वृत्ति होइन । समग्रमा तदर्थवादी र अक्सर बद्नियतपूर्ण शैलीमा सञ्चालित विकास मोडलले सिर्जनात्मकभन्दा बढी ध्वंसात्मक परिणाम दिने संकेत पर्याप्त देखिएका छन् ।


नेपालमा एमए उत्तीर्ण गरेपछि शारीरिक श्रमका लागि कोरिया वा जापान दौडिन मरिहत्ते गर्ने युवा पुस्तालाई हेरेर निष्कर्ष निस्कन्छ— रेमिटान्स निर्भर यो विध्वंसात्मक मोडल मुलुकका विकास आवश्यकताहरूलाई सम्बोधन गर्न असक्षममात्र छैन, यसले नेपालको भविष्यप्रतिको अपेक्षा मानक (एक्सपेक्टेसन बार) लाई नै अस्वाभाविक रूपले तल खसालिदिएको छ ।

प्रकाशित : असार २, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?