कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

माओवादी दुर्दशाको चुरो

पञ्चायती
आहुति

गणतन्त्र, समावेशिता, संघीयता, धर्मनिरपेक्षता लगायतका विषय, जुन आज नेपाली समाजमा राजनीतिक उपलब्धि मानिन्छन्, तिनको मुख्य स्रोत माओवादी कम्युनिस्ट आन्दोलन थियो । यो तथ्य सँगसँगै अपूर्ण एवम् बिब्ल्याँटो संघीयता, विकृत धर्मनिरपेक्षता र षड्यन्त्रकारी समानुपातिक समावेशिता भएको कचल्टिएको संविधान बन्न पुग्यो, जसमा पनि शान्तिप्रक्रियामा आएपछि माओवादी कम्युनिस्ट आन्दोलनको नेतृत्व डफ्फामा विकसित विकृतिको नै मुख्य भूमिका छ ।

माओवादी दुर्दशाको चुरो

आज माओवादी कम्युनिस्ट आन्दोलनको मुख्य हिस्सा, प्रचण्ड नेतृत्वको डफ्फा, गणतन्त्रलाई बयलगाडाको यात्रा देख्ने ओलीको ‘हेल्पर’ मा परिणत भएपछि त संविधानमा लिपिबद्ध कचल्टिएका उपलब्धिमाथि दिनदिनै नांगो खेलबाड राज्यले तीव्र पारेको छ । गतिलो जनसंघर्षबिना उपलब्धिहरू उल्टिने प्रतिगमनको सिलसिला पनि सुरु भइसकेकै छ ।


माओवादी कम्युनिस्ट आन्दोलनको दुर्दशाबाट खुसी वा त्यस आन्दोलनको प्रचण्ड नेतृत्वको डफ्फासँग आक्रोशित कम्युनिस्ट दुवै थरीको एउटै निष्कर्ष देखिन्छ । अर्थात्, प्रचण्ड डफ्फा कम्युनिस्ट आदर्श र निष्ठाबाट पतन भयो, त्यसैले आजको अवस्था आयो । त्यो डफ्फा स्खलित भएको जगजाहेर भए पनि त्यो परिणाम मात्र हो ।


पागल मानिस नांगै हिँड्नु परिणाम हो, कारण होइन । कारण त पागल मानिसको दिमागमा समस्या हुनु हो । चौध वर्ष जेल बस्ने ओली र युद्ध समयमा मर्न पनि तयार प्रचण्ड त्यति बेलै आजको जनविरोधी क्रियाकलापको तयारी गर्दै थिए भनी सोच्नु उनीहरूमाथि अपराधसमेत हुनेछ । तसर्थ, माओवादी आन्दोलनको आजको दुर्दशाको उत्तर विचारमै खोज्नुपर्छ, विचारको विकासमा परेको जोल्ठिङमै हेर्नुपर्छ ।


२०५२ फागुन १ मा सुरु भई दस वर्ष चलेको जनयुद्ध नेपाली समाजको इतिहासमा सबैभन्दा ठूलो जनताको विद्रोह थियो । त्यो यस्तो बेला चलेको थियो, जब संसारभरि कम्युनिस्टहरू संकटग्रस्त थिए । दस वर्षको जनयुद्धले नेपाली समाजको पिँधमा रहेको सामन्तवादलाई भताभुंग पार्ने गरी हल्लाइदियो, शोषक वर्गहरूबीचको अन्तरविरोधलाई सबैभन्दा बढी चर्काइदियो, विश्वव्यापी रूपमा श्रमिक वर्गमा आशा र उत्साहको सञ्चार गर्‍यो । जनयुद्धले जात व्यवस्था, पितृसत्ता, जातीय र क्षेत्रीय उत्पीडनका कारण प्रगतिबाट कोसौं टाढा रहेका महिला, दलित, जनजाति, मधेसी र पिछडिएको क्षेत्रका लाखौं मानिसमा जागरणकारी चेतनाको सञ्चार गर्‍यो तथा त्यस्ता समुदायबाट अकल्पनीय रूपमा हजारौं नेताको उत्पादन गर्‍यो ।


यसरी दस वर्षभित्रै त्यो स्तरमा विकास हुनुका अरू धेरै कारणका अलावा जनयुद्धमा दक्षिण एसियामा त्योभन्दा पहिले नगरिएका केही महत्त्वपूर्ण प्रयोग भएका थिए । ती हुन्– उत्पीडित राष्ट्रियता र उत्पीडित क्षेत्रको मुद्दा । उनीहरूलाई समानान्तर शासक बनाउने गरी व्यवहारमा लागू गर्न सुरु गरिएको थियो । त्यसै गरी महिला, दलित र मुस्लिमलाई विशेष अधिकारको अभ्यास, व्यवहारमा थोरै भए पनि, सुरु गरिएको थियो ।


क्रान्तिलाई नयाँ ढंगले निरन्तरता दिने घोषित राजनीतिसहित शान्ति प्रक्रिया सुरु भएपछि जनयुद्धको नेतृत्व गर्ने नेतृत्वको मूल डफ्फामा क्रमशः अस्पष्टता, स्खलन, ढुलमुलपन र तदर्थवाद हुँदै तीव्र गतिमा समस्याहरू प्रकट हुँदै गए । प्रचण्डंलगायतको नेतृत्वको मूल डफ्फा कम्युनिस्ट आन्दोलनमा निम्न मध्यम वर्ग र कथित हिन्दू उच्च जात तथा कथित ‘नमासिन्या मतवाली’ जनजातिबाट आएको थियो ।


कम्युनिस्ट आन्दोलनमा लागेपछि सर्वहाराकरणको कुरा गरे पनि भौतिक रूपमा समेत सर्वहाराकरणपछि कस्तो परिपाटी बनाउने भन्ने विकल्पको संश्लेषण नगरी युद्ध सुरु गरिएको थियो । त्यस्तो विकल्पको संश्लेषण नगरेको हुनाले नै जनयुद्धपछि हेर्दा जनयुद्धपूर्वको भौतिक सम्पत्ति त्यो डफ्फाले मूल रूपमा बचाएर राखेको पाइयो ।


सामन्तवादविरोधी आन्दोलनमा त्यतिसम्म सफलता उनीहरूलाई केले दिएको थियो त ? एक, मार्क्सवादको अध्ययन र क्रान्ति गर्ने चाहना । दुई, सर्वहारा–श्रमिक वर्गसँगको निरन्तर संगत र तीन, उनीहरूमा भएको प्रतिभा–क्षमता ।


तर, शान्ति प्रक्रिया सुरु भएपछि त्यस नेतृत्वको डफ्फा क्रमशः विचलित हुँदै जानुमा तीन वटा गम्भीर परिघटनाले काम गरे । एक, प्रतिक्रान्तिकारी वर्गका प्रतिनिधिहरूसँग भेट्नैपर्ने, उनीहरूसँगको लसपसमा रहनैपर्ने वस्तुगत आवश्यकता नै भयो । दुई, सर्वहारा–श्रमिक जनतासँगको भौतिक संगत ह्वात्तै कट्यो र तीन, नेपाली कम्युनिस्ट आन्दोलनमा रहिआएको आर्थिक अपारदर्शिताको महारोगलाई शान्ति प्रक्रियामा पनि निरन्तर रूपमा पार्टीभित्र अभ्यास गर्न थालियो ।


प्रतिक्रान्तिकारी वर्गका प्रतिनिधिहरूसँग उठबसको वस्तुगत आवश्यकता रोक्न सम्भव थिएन तर सर्वहारा–श्रमिक जनतासँगको निरन्तरको सम्बन्धलाई हिजोभन्दा बढी सुदृढ गर्न सम्भव थियो । त्यसै गरी आर्थिक अपारदर्शितालाई पार्टीभित्र रोकेर पारदर्शी प्रणालीमा जान त झन् सजिलै सकिन्थ्यो । त्यस नेतृत्व डफ्फाले सर्वहारा–श्रमिक जनतासँगको सम्बन्धलाई किन उपेक्षा गर्‍यो त ? किनकि तलबाट अब क्रान्ति सम्भव छैन भन्ने निष्कर्षमा पुगिसक्नुबाहेक अर्को निष्कर्ष निस्कँदैन । अपारदर्शी आर्थिक प्रणालीलाई किन जारी राखियो त ?


त्यसका दुइटा कारण देखिन्छन् । पहिलो, प्रचण्ड नेतृत्वको उपडफ्फा र बाबुराम नेतृत्वको उपडफ्फा निरन्तर गुट चलाउँदै आइपुगेका थिए । पार्टी नभईंकन ती गुट भएकाले षड्यन्त्रकारी कार्यशैली एकले अर्कोमाथि लागू गर्नु स्वाभाविक थियो । आफ्नो गुटको आर्थिक व्यवस्थापन आफैंले अपारदर्शी ढंगले गर्नुपर्‍यो । पारदर्शी ढंगले कोष चलाउँदा त अर्को गुटको व्यक्तिका लागि पनि खर्च उपलब्ध गराउनुपर्ने हुन्थ्यो ! नेपालको कम्युनिस्ट आन्दोलनमा फरक मतलाई दबाउने हतियारका रूपमा आर्थिक नाकाबन्दी प्रयोग हुने संस्कृतिको निरन्तरता नै गुट–कोषको निर्माण थियो ।


यसरी आफ्नो गुटको कोष बलियो पार्न आर्थिक अपारदर्शिताको षड्यन्त्रकारी कार्यशैली अपनाउँदा फरकफरक गुट नै गुटका रूपमा रहेनन्, बरु फरकफरक आर्थिक समूहमा फेरिन पुगे ।


आफ्नो गुटको मूल नेता गुटको अपारदर्शी कोषले पनि शक्तिशाली भएको देखेपछि गुटका अन्य सदस्यले पनि अपारदर्शी आर्थिक गतिविधिमार्फत उपगुट वा उपआर्थिक समूह बनाउन थाले । दोस्रो, पुँजीवादी संसदीय व्यवस्थाकै सफल राजनीतिज्ञ वा शासक बन्न जसरी पनि अथाह पैसा जम्मा नगरी निर्वाचनमा सफल हुन नसक्ने विवर्गीय लालसाले पनि अपारदर्शी आर्थिक प्रणालीमा माहिर हुन त्यो नेतृत्व डफ्फाले बाध्यात्मक रूपमा घुँडा टेक्दै गयो ।


यस प्रकार, प्रतिक्रान्तिकारी वर्गसँगको निरन्तरको हिमचिमले जेजसरी हुन्छ शासक बन्ने सपनामा पुग्नु, सर्वहारा–श्रमिक जनतासँगको सहकार्य टुटाउनु र आर्थिक रूपमा दलाल पुँजीपतिको वर्गको स्तरमा पुग्नुले अबको युगको क्रान्तिलाई अगाडि बढाउने सपना नै त्यागेर दलाल पुँजीवादसमक्ष आत्मसमर्पण गर्न पुग्ने अवस्था उत्कर्षमा देखा परेको हो । यो वस्तुगत अवस्था, कार्यप्रणाली र विवर्गीयतामा पतनको पक्षको दृश्य हो तर यति मात्रको विश्लेषणले व्यक्तिहरू बिग्रेकाले मात्र क्रान्ति बिग्रेको भन्ने संश्लेषण हुन पुग्छ । यसो गर्दा सहायक पक्ष प्रधान बन्न पुग्छ, जुन सही पद्धतिको विश्लेषण ठहर्दैन ।

मुख्य पक्ष के हो त ?

जनयुद्धको समय भनेको अर्धसामन्तवाद रहेको समय थियो । संसारमा विकसित विज्ञान प्रविधि नेपालमा आइसकेका थिएनन् । सैन्य क्षेत्र पनि पूरै आधुनिक थिएन । सहरी क्षेत्रमा दलाल पुँजीवाद तीव्र गतिमा प्रवेश गरे पनि ग्रामीण क्षेत्र अर्धसामन्तवादअन्तर्गतकै जीविकामुखी अर्थतन्त्रमा थियो । विश्वको मुख्य उत्पादक शक्तिमा गुणात्मक परिवर्तन आउन थाले पनि नेपालमा पुरानै मानव श्रम र ज्यावल–मेसिनको प्रधानता थियो । त्यस अवस्थामा पुरानै उत्पादक शक्तिलाई मुख्य बनाएर सिर्जनात्मकतासहित अघि बढ्दा नेपाली समाजमा उत्पीडनमा रहेका सबै अन्तरविरोधको विस्फोट भयो र जनयुद्ध बलियो हुँदै गयो ।


तर, जनयुद्धको उत्तरार्द्धमा पुग्दा विज्ञान प्रविधि नेपालमा तीव्र रूपमा भित्रियो । आधुनिक हेलिकप्टरहरू घनीभूत रूपमा प्रयोग हुन थाले । अमेरिकी साम्राज्यवाद आफैंले तत्कालीन शाही सेनालाई आजको विज्ञान प्रविधिमा आधारित भएर सैन्य रणनीतिद्वारा प्रशिक्षित गर्न थाल्यो । त्यसपछि नै जनयुद्ध संकटग्रस्त हुन पुग्यो ।


मुख्य उत्पादक शक्ति विज्ञान प्रविधि भइसकेको युगमा जब साम्राज्यवादले आजको विज्ञान प्रविधिमा आधारित भएर जनयुद्धमाथि प्रहार गर्न थाल्यो, त्यसपछि जनयुद्धको मुख्य नेतृत्वसँग त्यो उचाइमा प्रतिरोध गर्न सक्ने कुनै रणनीति भएन । जनताको समर्थन नभएकाले जनयुद्ध संकटग्रस्त भएको थिएन, बरु विपक्षीको रणनीतिलाई विज्ञान प्रविधिमै आधारित भएर प्रतिरोध गर्न नसक्दा समस्यामा परेको थियो ।


नेतृत्वको टोली विश्वमा उत्पादक शक्तिमा गुणात्मक परिवर्तन आएर विज्ञान प्रविधि नै मुख्य उत्पादक शक्ति भइसकेको र लेनिनको युग अन्त्य भइसकेको जस्तो निष्कर्षमा पुगेकै थिएन । यही कारण भीषण असफलताबाहेक नेतृत्व टोलीले कुनै भविष्य देखेन । यसैले समग्र तयारीबिनै शान्ति प्रक्रियामा हामफाल्न पुग्यो ।


शान्ति प्रक्रियामा आएपछि यदि त्यो नेतृत्वको डफ्फा क्रान्तिप्रति निष्ठावान् रहिरहेको, विवर्गीय उत्थानतिर नलागी श्रमिक वर्गसँगको सामीप्य नतोडेको भए विनम्रतापूर्वक आजको भूमण्डलीकृत पुँजीवादी विश्वमा क्रान्तिको नयाँ रणनीति के हुन सक्छ भनी खोज्नतिर लाग्न पनि सक्थ्यो तर विवर्गीय उत्थानमा वेग मारेर, श्रमिक वर्गबाट कोसौं टाढा भएर अनि पुँजीवादी संसदीय व्यवस्थाकै नायक बन्ने ‘ख्वाब’ देखेर क्रान्तिको नयाँ कार्यदिशाको निर्माण सम्भवै थिएन र भएन । मुख्य चुरो यहीँनेर छ ।

प्रकाशित : असार १, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?