गुठी, फोक्लोर र बहस

समय रेखा
अभि सुवेदी

नेपाली लोकवार्ता समाज/नेपाली ‘फोक्लोर सोसाइटी’को तेस्रो राष्ट्रिय सम्मेलन २०७६ जेठ ३१–३२ मा काठमाडौंमा भइरहेछ । यसमा खासै हलचल हुँदैन, किनकि यो अर्जुन अप्पादुराईको हामीले दोहोर्‍याउने गरेको ‘सेलुलर’ समाज हो । यो राजनीतिक दल र संस्था बाहिरका मानिसले चलाउने समाजको सम्मेलन हो ।

अहिले त सानातिना सम्मेलनमा कसैका आँखा लाग्दैनन् । त्यही कारण केही समस्या र केही उपलब्धि दुबै हुन्छन् । यो अवस्था गतिशील हो । हामीलाई थाहा छ, अब नेपालमा संस्थाका स्वरूप निर्मित भइसकेका छन् । तिनका राजनीतिक सम्बन्ध हुन्छन् । त्यसैले तिनका धनप्रवाहका स्नायु प्रणाली हुन्छन् । यो प्रणालीभन्दा बाहिर चल्ने संस्था संरक्षित हुँदैनन् भनिन्छ ।

‘क्रोनी क्यापिटलिजम’ वा आसेपासे पुँजीवादका प्रभाव क्षेत्र हुन्छन् । ती बाहिरका संस्थालाई अस्मिता धान्न सजिलो छैन । तैपनि चलिरहेका छन् । तर अमूक संस्थाका केही जमिन छन् भने र ती सहरी क्षेत्रमा छन् भने समस्यामा पर्छन् । उनीहरूका केही आयका स्रोत छन् भने तिनमाथि आँखा पर्छन् ।

लोकवार्ता समाज/‘फोक्लोर सोसाइटी’को यो राष्ट्रिय सम्मेलन चलिरहेका बेला अर्को संजोग परेको छ । सरकारले ल्याउन लागेको गुठी विधेयकमा गुठीको होइन, भोगाधिकार गरिरहेका किसानको संरक्षण गर्ने भनिएको छ । तर यसमा सरकारको नियत अर्कै रहेको भन्ने विषयले विरोधका अनेकौं चक्रवात चलाइरहेको अवस्था छ ।

यो विषयमा कान्तिपुरको जेठ २६ को सम्पादकीयले ‘सरकारले देशका गुठीहरू व्यवस्थापनका नाममा प्राधिकरण गठन गर्न स्वार्थ समूह पोस्ने प्रावधानसहित विधेयक ल्याएको छ । गुठी परम्परा बचाउनभन्दा गुठीका नाममा रहेका अमूल्य जग्गा उपयोग गर्ने रणनीति देखिएकाले सरोकारवालाहरू आन्दोलित भएका छन्’ भन्ने निष्कर्ष निकालेको छ । यो विवादको कडी यिनै व्याख्यामा देखिएको छ ।

लोकवार्तासँग यो गुठी व्यवस्थाको सोझो सम्बन्ध नदेखिए पनि मानिसका चलन, विश्वास, संस्कृति र तिनका सूक्ष्म पद्धतिसँग यसको सोझो सम्बन्ध छ । खासगरी नेपाल उपत्यकामा अनि बाहिर पनि संस्कृति र त्यसलाई चलाउने पद्धतिका स्वरूप छन् । ती राम्ररी व्यवस्थित नभएका कथाहरू पनि बाहिर नआएका होइनन् ।

तर नेपाल उपत्यका वा नेपाल मण्डलमा भने गुठी प्रणालीको यहाँको सांस्कृतिक कलेवरसँग अत्यन्त नजिकको सम्बन्ध रहिआएको छ । गुठी जमिन हो, गुठी मठमन्दिरको नाउँ हो । गुठी समय कालक्रम अनुसार आकाश र मौसमले देखाए अनुसार गरिने जात्रा र उत्सव, सामाजिक लय र चलनको नाम हो । यस अर्थमा लोकवार्ता वा फोक्लोरका आधार छन्, यी चलनमा । हाम्रो सम्बन्ध त्यसैले लोकजीवन अनि परम्परासँग छन् ।

सम्पादकीय र अन्य विज्ञहरूले लेखेका भाष्यमा किन आलोचना देखिन्छ ? त्यसको उत्तर हो, सरकारी प्रस्तावमाथि अविश्वास । अविश्वास किन छ ? किनभने यो सरोकारवालाहरूसँग छलफलै नगरी एक्कासी आएको छ । धेरै वर्ष बिते । एकादेशको कथा होइन । अथवा लोककथाको भाष्यमा भन्दाखेरि एकादेशमा गुठीका ठिक प्रयोग भए, जीवन चले, संस्कृतिका संरचना भए । जीवनको लय त्यही अनुसार चल्यो । तर त्यही पद्धतिभित्र गरिब किसानहरू पीडित पनि भए ।

भूदास जस्तो अवस्थामा कति गरिबका पुस्तौं गुज्रिए । सामन्ती पद्धति बलियो थियो, हावी थियो । नेपालमा राजनीतिक परिवर्तन भए । राणाको एकतन्त्री शासन सकिएको झन्डै ७० वर्ष बित्यो । अनेकौं राजनीतिक उथल–पुथल भए । तर गुठी संरचनाले धानेको संस्कृतिको इतिहास, भूमिको सही उपयोग गर्ने इतिहास, त्यसको आधारमा मठमन्दिर र चलन चलेको इतिहास चलिरह्यो । तर त्यो व्यवस्थाभित्र त्यसलाई अझ राम्ररी संगठित गरेर, सुधार गरेर, हिजोदेखि प्रयोगमा आएको, कामयावी भएको यो व्यवस्थालाई राम्ररी सबैलाई भलो हुनेगरी, मठमन्दिरको संरक्षण हुनेगरी, गरिब किसानको शोषण नहुनेगरी व्यवस्था गर्ने काम सरकार र सरोकारवालाहरूले किन गरेनन् ?

मेरो विचारमा गुठीको सिर्जनात्मक प्रयोग गर्ने नियत र चाहना खासै कुनै सरकारका पनि थिएनन् । अहिले राजारजौटा नभएको गणतान्त्रिक संविधानमा गुठीको व्यवस्थालाई हेर्न सकिने सुन्दर अवसर थियो । अझ छन् । अहिलेको सरकारको निम्ति भूमिको ठिक उपयोग, गुठीले धानेका महान संस्कृतिको रक्षा, गुठीका अत्यन्त महत्त्वपूर्ण ठाउँमा रहेका भूमिमा तिनै गुठीको परम्पराको जनमुखी संस्कृतिको रक्षा र संरचना बनाउने पद्धति, गरिब किसानको रक्षा र उद्धार गर्ने धेरै अवसर छन् । कुरा कहाँ बिग्रियो त ?

एउटा मुख्य विषय भनेको भूमि भनेपछि जसरी पनि हत्याउने मानिसको जगजगी भएका बेला अब माथि सम्पादकीयले शंका गरेजस्तो गुठीका जमिनको दुरुपयोग हुने शंका देखियो । अर्को कुरा, यो नेपाल उपत्यकाका संरचनाहरू रक्षित हुनुपर्छ भन्ने धारणा र भावना कमजोर हुँदै गयो । त्यसले जन्माएको अविश्वास र असुरक्षाको भावना बलियो भएकाले विरोध हुनथालेका हुन् । एउटा अर्को कुरा पनि छ । नेपाल उपत्यकाका नेवारहरूको संस्कृति, नागर सभ्यता, कला र निर्मित मठमन्दिर, मूर्ति बहाः, चोक र पुराना सहर क्षेत्रमाथिको अवहेलनाको मनोग्रन्थि । त्यो सबभन्दा घातकमनोग्रन्थि हो ।

मैले अहिलेको लोकवार्ता सम्मेलनमा प्रस्तुत गरेको विषय २०७२ सालको भूकम्प र त्यसले जन्माएको‘फोक्लोर’ हो । यसै सिसिलामा यहाँ त्यो भूकम्पले उठाएका केही मूल विषय गुठीको कुरासँग जोड्न चाहन्छु । भूकम्पपछि यो नेपाल उपत्यकाको सबभन्दा जटिल र डरलाग्दो विषय यहाँका सम्पदाहरू नष्ट भएको कुरा थियो ।

ती सम्पदाहरू, मन्दिर, खुला ठाउँ र परिवेशमात्र भग्न भएनन्, तिनको व्यवस्थाको पाटो पनि भताभुङ्ग हुने स्थितिमा पुग्यो । एउटा खुुुसीको कुरा पनि छ । निकैवटा मन्दिर र भवनहरू पुनर्निर्माण भए र हुँदैछन् । तर ती मठमन्दिरसँग जोडिएका प्राचीन व्यवस्थाको विषयमा कति सोच गरियो ? उत्तर छ, कत्ति पनि गरिएन ।

रानीपोखरी जस्तो महत्त्वपूर्ण सम्पदा झन्डै कङ्क्रिटको पार्क भएको । स्थानीय जनता र अरुले बहस उठाएपछि चेतना भएको कुरा सर्वविदितै छ । अरु अनेकौं उदाहरण छन् । आफू विज्ञ नभएकाले लेख्ने धृष्टता गर्दिन । तर यत्ति भन्छु, केही आशावादी छु । यहाँ बहस हुन्छन्, भएका छन् र गल्ती सुधार भएका छन् । अहिलेको गुठी विवादमा पनि दृष्टि खुल्नेछन् भन्ने मेरो विश्वास छ ।

भूकम्पपछि कहाँबाट सुरु गर्ने र कस्तो सम्पदा बचाउने अनि कसले बचाउने भन्ने विषय मुख्य थियो । मार्टिन चौतारीमा त्यो बेला एउटा प्रस्तुति गर्दा आर्किटेक्ट विद्वान सुदर्शन तिवारीले देखाएका केही स्लाइडका चित्रहरूले हामी झस्केका थियौं । उनले एकाध साना सुन्दर कुँदिएका टुँडालजस्ता आकारहरू देखाएर भने, ‘यो लिच्छविकालीन कला हो ।

यो ट्रकमा उठाएर फालिएका कुँडाकर्कटमा हामीले भेटेका हौं ।’ भूकम्पपछि सम्पदाको रक्षा गर्ने विषय जटिल भयो । तर त्यो बेला र अहिले पनि सरकार, नगरपालिकाहरूले गर्नसक्ने विषय भनेको हिजोको गुठी व्यवस्था, पहिलेदेखि चलेको संरक्षण व्यवस्थालाई सक्रिय बनाएर तिनका कमी–कमजोरी, ती भित्रका बेथिति सुधार गरेर कामयावी बनाउनु सबभन्दा आवश्यक हो । तर अहिलेको विधेयकको भाष्य, सरोकारवालाहरूसँग छलफल नगर्ने अभ्यास र यो हिजोको सभ्यता हो र जे गरे पनि हुन्छ भन्ने भित्र लुकेको मनोग्रन्थि सबभन्दा गम्भीर विषय हो ।

हामी ‘फोक्लोर’को राष्ट्रिय सम्मेलनमा कुनै कसैलाई हल्लाउने नीतिका छलफल गर्दैनौं । यो समाजका अध्यक्ष तुलसी दिवस, मुख्य सेक्रेटरी चूडामणि बन्धु, सेक्रेटरी भीम रेग्मी तीनजना लुरुलुरु हिँंडेर भनसुन गर्दै सम्पन्न भइरहेको यो सम्मेलनको आफ्नै नैरन्तर्य छ । म कुनै संस्थामा बस्दिन, तर यो संस्थासँग जोडिएको छु । त्यसैले यो समाजलाई राम्ररी बुझ्छु । यसका अन्तर्राष्ट्रिय संस्करणमा हामीकोमा विश्वभरिबाट विद्वान, विदूषी आइपुग्छन् ।

अहिलेको राष्ट्रिय सम्मेलनमा मुख्य दलहरूसँग पनि निकट र स्वतन्त्र सबै थरीका विद्वत् मानिस आएर आफ्ना अध्ययनका निचोड राख्छन् । यसको संगठन कुनै दलको नजिक भएका मानिस राखेर गरिँंदैन । ‘फोक्लोर’को आत्मा बुझेका नरनारी यसमा आउँछन् । अनि अर्को कुरा यसको भविता कस्तो छ र कतिसम्म के गर्दै जान्छ, त्यो पनि ठेगानै गर्न नसकिने विषय हो । सबै थरीका अध्ययनले एकाध चुनौती सामना गर्नुपर्छ । ती हुन्, अहिले स्वतन्त्र संस्थाका अस्मिता नरहने समय आइरहेकाले ‘फोक्लोर सोसाइटी’ जस्ता संस्थाले आफ्नो काम कसरी गर्न सक्छन् ?

गुठी र तिनले संरक्षण गरेका संस्कृति र कलाको अन्तर्यमा लोवार्ताको शक्ति लुकेको थियो र छ । त्यो भनेको सिर्जनशील काल्पनिकीको दृष्टिगोचर प्रयोग हो । ‘फोक् आर्किटेक्चर’/लोक वास्तुकला भन्ने प्राज्ञिक विषय छ । त्यो नेपालमण्डलमा छ । अर्को चलनमा देखिन्छ । ती चलन यहाँको हावापानी, भूमि र खोलानालाको चरित्रमा भेटिन्छन् । जमिनको लोभमा गुठीहरूमात्र भत्किँंदैनन्, खोलाहरू पनि थुनिन्छन्, नदीहरू निस्सासिन्छन् र फोहोर जम्मा हुन्छन्, रुखहरूनिमिट्यान्न हुन्छन्, पानीका सपना बोकेर यो
उपत्यका काकाकुल हुन्छ । यी सबै कुराको अन्तरसम्बन्ध हुन्छ । लोकवार्ता कथा भन्ने र सुन्नेको साझा गति र कर्मको नाम हो ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

एभरेस्टमा ठेलमठेल सपना

समय रेखा
अभि सुवेदी

काठमाडौँ — गणतन्त्र दिवस, समारोह कहीं हुँदै छन् । ठूलो जाम पार गरेर फर्केको छु । यसै अन्यमनस्क, बीबीसी रेडियो खोल्छु । भन्दैछ, झन्डै २५० जना आरोही ठेलमठेल गरेर एभरेष्ट चढ्दैछन् । त्यसो त २ सय जनाले चढिसके । ‘देथ जोन’ अथवा ८००० मिटरमाथिको मृत्यु क्षेत्रमा पालो पर्खेर उभिनु आफैंमा डरलाग्दो कुरा हो । त्यसमा एघारौं एभरेष्ट आरोहीको शिखरमा पुगेपछि हृदयगति बन्द भएर मृत्यु हुन्छ । सुनेर दिक्क लाग्छ ।

अझ एकाएक समाचार वाचकले थप्छ– नेपालका नीति बनाउनेहरूको अव्यवस्थाको कारणले यसरी दुर्घटना भएको हो । भन्छ, नेपालमा भ्रष्टाचार धेरै छ । संसारको सर्वोच्च शिखरमा ज्यान बचाउन पनि घुस दिनुपर्ने अवस्था छ । अनि लाग्छ, म पनि कुनै हिमपहिरोबाट चिप्लेर खस्तैछु ।

यसरी खस्तैछु, जसमा खसेर कुनै दैहिक चोट लाग्दैन, कुनै अर्को सतहमा पुगिँंदैन । कुनै अभियान बीचैमा रोक्नुपर्ने पनि हुँदैन । यो यस्तो चिप्लेँटी हो, जसबाट हामी प्रभावित छौं । मलाई दिक्क लाग्छ, सम्झिन्छु, हाम्रोमा भ्रष्टाचार अब एउटा शब्दमात्रै रहेन । झस्किन्छु, त्यो एउटा राष्ट्रिय यथार्थ भैसक्यो कि ।

पर्यटकहरू हिमाली यात्रामा बिमारी भएर हेलिकप्टरबाट ल्याएको, अस्पतालहरूमा भर्ना गरेको आदि प्रपञ्चका न्यारेटिभ पनि पढ्दै र सुन्दै आएको छु । ‘इन्भेस्टिगेटिभ’ पत्रकारहरूले यो कथाले अन्तर्राष्ट्रिय रूप लिएको वर्णन निकालिसकेका छन् । लाग्छ, यस्तो अवस्था आउनुमा खासै योजनामा ध्यान नदिने सरकार, आरोहण गराउने संस्था र स्वयं आरोही पनि जिम्मेवार छन् ।

एउटा कुरा प्रस्ट छ, एभरेष्टले अब २९ मे १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारी पहिलोपटक शिखरमा पुगेको उत्तेजना बोक्दैन । आफैंले पहिले लेखेको ‘फ्लानको डायरी’ (२०७२) मा संग्रहित निबन्धका यी हरफहरूका पुनः पाठ गर्छु, ‘एभरेष्ट विजयको रजत जयन्तीको उपलक्ष्यमा अलजजिरा टीभीले त्यो बेला खिचेका एकाध छोटा फिल्मका झलक देखायो । त्यसमा एउटा दृश्यले मलाई छोयो ।

त्यसमा तेन्जिङ र हिलारीलाई विजय यात्राबाट फर्केपछि लिन गएका मानिस फटाफट हिंँडेको देखियो । तीमध्ये नाटककार बालकृष्ण सम साथै हिंँडेको दृश्यले भूगोल र नेपाली चिन्ताको सह–नाटक गराएको देखियो । समले सूत्रधार भएर बोले, ‘अब सगरमाथामाथि एकजना मानिसको उचाइ थपिएको छ ।’ त्यस घटनापछि हजारौं मानव उचाइहरू उठ्दै र बिलाउँदै गएको त्यो महान चुचुरो अहिले पुँजीयुगका उपभोक्ताको तारो भएको छ । एभरेष्टको नामकरण अनि उचाइका मोहको विषयमा धेरै उत्तर–औपनिवेशिक छलफल भएका छन् ।

नापी विभागका कर्मचारीहरू यही बेला एभरेष्टको उचाइ नाप्न ज्यान जोखिममा पारेर त्यहाँ पुगेको अनि काम सम्पन्न गरेर फर्किंदा भीडमा झन्डै ज्यान गएको कथा अहिले व्याप्त छ । नवऐतिहासिक चेतनाले हेर्दा यी नेपाली कर्मचारीहरूको महत्त्व धेरै छ । यिनीहरूमध्ये एकजनाले दुइटै पाउ आधा–आधा गुमाएका छन् । यिनीहरूले नापेको उचाइ सार्वजनिक हुनेछ । इतिहासतिर फर्किनुपर्छ । एभरेष्टको उचाइ पहिले पत्ता लगाउने एकजना राधानाथ सिक्दार (सन् १८१३–१८७०) थिए ।

ती साधारण बंगाली गणकले एक सपना देखेका थिए । सर्भे अफिसका यी सबाल्टर्न कर्मचारीले एभरेष्टको उचाइको हिसाब निकाल्ने जिम्मा पाएका थिए । निकै प्रयासपछि तिनले एभरेष्टको मूलतः अहिले मानिएको उचाइ पत्ता लगाए । अनि उनका हाकिम कर्नेल एन्ड्रयु वगलाई अत्यन्त खुसी भएर पत्र लेखे ।

पत्रमा यसो भने, ‘सर, मैले संसारको सबभन्दा उच्च शिखर पत्ता लगाएँ ।’ उनले सोझै ठाने, अब यो शिखरको नाम राधानाथ सिक्दार चुचुरो रहनेछ । उचित सपना थियो, वैध सपना थियो । तर औपनिवेशिक भारतमा त्यो कसरी लागू हुन्थ्यो र ? शिखरको नाम राधानाथ सिक्दार पर्वत नराखेर एन्ड्रयु वगले जर्ज एभरेष्ट नामका एकजना साधारण कर्नेलको नाममा नाम राख्ने प्रस्ताव गरे । ती एभरेष्ट एक असम्बद्ध मानिस थिए । कथा छन् ।

यहाँ लेख्ने ठाउँ छैन । तर त्यो कुरा ब्रायन हडसन भन्ने त्यहांँका एक तल्लो तहका युवक अफिसरले यतैतिरका मानिसको नाम राखिनुपर्छ भनेर विरोध गरे । ती मानिस पछि नेपालमा ब्रिटिस रेजिडेन्ट दूत भएर निकै वर्ष बसे । तिनको विषयमा धेरै लेखिएको छ । त्यो चुचुरो नेपालमा थियो, तर खासमा त्यो नेपालीलाई नै थाहा थिएन । पछि बाबुराम आचार्यले सगरमाथा भनी नेपालमा यसको नामकरण गरे । यस चुचुराको स्थानीय नाम चोमोलोङमा हो । तर त्यो नाम शेर्पाहरू आफैंले पनि त्यति प्रयोग गरेको देखिएन ।

एभरेष्टको उचाइ, यसको उत्तुङ कलेवरले खिचिएर इतिहासमा कीर्ति स्थापना गर्ननिम्ति होइन, यसमाथि चढेर एउटा सामर्थ्यको पहिचान दिने, औपनिवेशिक भाष्यमा भन्दा एउटा जितको परिचय दिने चाहनाको रूपमा चढेका छन्, इतिहासमा आरोहीहरू । यो चेतना उन्नाइसौं शताव्दीमा अंग्रेजी उपेनिवेशको चेतनासँग जोडिएको छ । जसरी पनि जित्नुपर्ने, केही ज्ञान छ भने त्यो जान्नैपर्ने, आफैंले जित्नुपर्ने अंग्रेजी चेतनासँग जोडिएको थियो, यो विषय ।

पहिले एभरेष्ट चढे कि भन्ने आशंका गरिएका तर बेपत्ता भएका युवक आरोही जर्ज मेलोरीलाई सोधियो, ‘तिमी किन एभरेष्ट चढ्छौ ? उनले भनेका थिए, ‘प्रस्टै छ नि त्यो महान आकार ऊ त्यहाँ ठडिएको छ, त्यसैले ।’ त्यो छ र चढ्नुपर्छ भन्ने ब्रिटिस साम्राज्य चेतनाको पर्याय थियो । उत्तर र दक्षिण ध्रुव पत्ता लगाइसकिएको अवस्थामा यो एभरेष्ट तेस्रो ध्रुवको रूपमा रहेकाले यो पनि हामीले नै पहिले जित्नुपर्छ भन्ने आङ्ल चेतना थियो । कर्णेल हन्टले महारानीलाई यो विजयको कथा यसरी नै सुनाएका थिए ।

दार्जिलिङ निवासी तेन्जिङको राष्ट्रियताको विषयमा तरङ्ग उठे । जुलाई ४, १९५३ को डेली मिरर अखबारमा दुइटै हातमा नारी घडी बाँधेका हातले हँसिलो अनुहारले नमस्कार गर्दै नेहरूले दिएको खद्दरको लुगा लगाएका तेन्जिङको श्रीमतीसहितको लन्डनमा पुगेको फोटो छापियो । दुबै हातका घडीको एउटा सरल चित्रका अनेका व्याख्या भए । नेपाल त्यो बेला धर्मराज थापाको ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ भन्ने गीतले गुञ्जायमान थियो ।

तर आज एभरेष्ट उपभोक्तावादी युगमा नेपालमा घुस दिइन्छ भन्ने कथा बोक्दै मानिसको भीड चढाएर के हासिल गर्दैछ र यसले अहिले नेपालको कीर्तिमानलाई कसरी कायम गरेको छ भन्ने कुरा बुझिनसक्नु छ । त्यसो त तेन्जिङकै शेर्पा परम्परामा एभरेष्ट चढ्ने ४९ वर्षका कामिरिता शेर्पा २४ पटक शिखरमा पुगे । जेठ १, २०७६ को दिन तिनले एक हप्तामै दुईपटक एभरेष्ट चढे । एभरेष्ट चढाउने शेर्पाहरूको निजत्व र उनको योगदानबारे त्यति जानकारी प्रकाशित हुँदैनन् ।

एभरेष्ट आरोहण रूपक र बहादुरीको ‘मेटाफोर’ मान्नेहरू अब पश्चिमीमात्रै रहेनन् । पर्वत आरोहणलाई भन्ने विषय नेपाली राजनीतिमा चर्चामा आइबस्छ । राजनीतिक दलका कार्यकर्ताहरू, कीर्तिमान कायम गर्ने युवा वर्गका मानिस अनि देशले समर्थन गरेका समूहहरू एभरेष्ट चढेर आएको इतिहास छ । केही वर्षअघि एकजना अंग्रेजी एमफिल कक्षाकी थोरै बोल्ने, शान्त प्रकृतिकी माओवादी आन्दोलनकी अन्तरङ्ग महिला विद्यार्थीले भनिन्, ‘म एभरेष्ट आरोहणका महिलाका अन्तरकथामाथि थेसिस लेख्न चाहन्छु ।’

मैले भने, ‘यसको विषयमा तिमी कसरी जानकारी लिन्छ्यौ ?’ उनले भनिन्, ‘म केही समयअघि एभरेष्ट चढेर आएकी ।’ मेरो सामु मेलोरी, तेन्जिङका दुई नाडीमा बाँधेका घडी, अनि एभरेष्ट र उत्तर–औपनिवेशिक डिस्कोर्स एकैसाथ चक्रवात भएर आए । मैले पहिलो कुरा उनलाई केही किताब र लेख पढ्न लगाएँ ।

८ वर्षअघि, पहिले नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य, २०१७ सालपछि जेल बसेका, पछि पञ्चायत शासन प्रणाली मानेर मन्त्री र कूटनीतिक सेवामा काम गरेका, प्रेमराग र राजनीतिलाई जोडेका अनि जीवनको अन्तिम प्रहरमा एभरेष्ट चढ्न जाने मान्छे शैलेन्द्रकुमार उपाध्यायको एभरेष्ट आरोहणको क्रममा मृत्यु भएको समाचार मेरोनिम्ति वाचाल विषय थियो । त्यसो त वृद्धहरूले एभरेष्ट यथाकदा चढेका छन् ।

तर मैले कान्तिपुर (२ जेठ २०६८) मा एउटा ओबिचुअरी शैलीमा शैलेन्द्रकुमारको यसरी शव्दचित्र उतारेको थिएँ, ‘राजनीति र कूटनीतिमा आधुनिक नेपाली समयकै चर्चित एउटा बयासी वर्षको वृद्ध मानिस एभरेष्ट अभियानमा जाँदा आधार शिविरको परिवेशमा हृदयगति बन्द भएर दिवंगत भएको कुराले मलाई निकै तानेको छ । एउटा वृद्ध मानिसका झिना खुट्टामा पर्वतारोहीले लगाउने सुरुवाल यसो बाङ्गो भएको अनि उसले याक्स बोकेर चढ्न लागेका चित्र छापामा आए ।’

एभरेष्टको सपनाबाट एकाएक निस्किन्छु । हामीलाई ‘अल्टिच्युड सिकनेस’ होइन, उचाइ पार गर्ने उत्तेजना धेरै भएको छ । हामी एभरेष्ट र हिमालको उतापट्टि जोडिन आतुर मानिसका अभियानका सपना रेलमार्गले पूरा गर्ला कि त । तर एभरेष्ट एक प्रिय पर्वत हो, जहाँ विश्वभरिकै मानिस उनका सपनाका कुँडाकर्कट लगेर थुपारिन्छन् । यसलाई मर्यादा, माया र इज्जतले प्रयोग गरौं, बेथितिका योजनाले होइन । यसमा हाम्रै दायित्व ठूलो छ ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्