कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

गुठी, फोक्लोर र बहस

समय रेखा
अभि सुवेदी

नेपाली लोकवार्ता समाज/नेपाली ‘फोक्लोर सोसाइटी’को तेस्रो राष्ट्रिय सम्मेलन २०७६ जेठ ३१–३२ मा काठमाडौंमा भइरहेछ । यसमा खासै हलचल हुँदैन, किनकि यो अर्जुन अप्पादुराईको हामीले दोहोर्‍याउने गरेको ‘सेलुलर’ समाज हो । यो राजनीतिक दल र संस्था बाहिरका मानिसले चलाउने समाजको सम्मेलन हो ।

गुठी, फोक्लोर र बहस

अहिले त सानातिना सम्मेलनमा कसैका आँखा लाग्दैनन् । त्यही कारण केही समस्या र केही उपलब्धि दुबै हुन्छन् । यो अवस्था गतिशील हो । हामीलाई थाहा छ, अब नेपालमा संस्थाका स्वरूप निर्मित भइसकेका छन् । तिनका राजनीतिक सम्बन्ध हुन्छन् । त्यसैले तिनका धनप्रवाहका स्नायु प्रणाली हुन्छन् । यो प्रणालीभन्दा बाहिर चल्ने संस्था संरक्षित हुँदैनन् भनिन्छ ।


‘क्रोनी क्यापिटलिजम’ वा आसेपासे पुँजीवादका प्रभाव क्षेत्र हुन्छन् । ती बाहिरका संस्थालाई अस्मिता धान्न सजिलो छैन । तैपनि चलिरहेका छन् । तर अमूक संस्थाका केही जमिन छन् भने र ती सहरी क्षेत्रमा छन् भने समस्यामा पर्छन् । उनीहरूका केही आयका स्रोत छन् भने तिनमाथि आँखा पर्छन् ।


लोकवार्ता समाज/‘फोक्लोर सोसाइटी’को यो राष्ट्रिय सम्मेलन चलिरहेका बेला अर्को संजोग परेको छ । सरकारले ल्याउन लागेको गुठी विधेयकमा गुठीको होइन, भोगाधिकार गरिरहेका किसानको संरक्षण गर्ने भनिएको छ । तर यसमा सरकारको नियत अर्कै रहेको भन्ने विषयले विरोधका अनेकौं चक्रवात चलाइरहेको अवस्था छ ।


यो विषयमा कान्तिपुरको जेठ २६ को सम्पादकीयले ‘सरकारले देशका गुठीहरू व्यवस्थापनका नाममा प्राधिकरण गठन गर्न स्वार्थ समूह पोस्ने प्रावधानसहित विधेयक ल्याएको छ । गुठी परम्परा बचाउनभन्दा गुठीका नाममा रहेका अमूल्य जग्गा उपयोग गर्ने रणनीति देखिएकाले सरोकारवालाहरू आन्दोलित भएका छन्’ भन्ने निष्कर्ष निकालेको छ । यो विवादको कडी यिनै व्याख्यामा देखिएको छ ।


लोकवार्तासँग यो गुठी व्यवस्थाको सोझो सम्बन्ध नदेखिए पनि मानिसका चलन, विश्वास, संस्कृति र तिनका सूक्ष्म पद्धतिसँग यसको सोझो सम्बन्ध छ । खासगरी नेपाल उपत्यकामा अनि बाहिर पनि संस्कृति र त्यसलाई चलाउने पद्धतिका स्वरूप छन् । ती राम्ररी व्यवस्थित नभएका कथाहरू पनि बाहिर नआएका होइनन् ।


तर नेपाल उपत्यका वा नेपाल मण्डलमा भने गुठी प्रणालीको यहाँको सांस्कृतिक कलेवरसँग अत्यन्त नजिकको सम्बन्ध रहिआएको छ । गुठी जमिन हो, गुठी मठमन्दिरको नाउँ हो । गुठी समय कालक्रम अनुसार आकाश र मौसमले देखाए अनुसार गरिने जात्रा र उत्सव, सामाजिक लय र चलनको नाम हो । यस अर्थमा लोकवार्ता वा फोक्लोरका आधार छन्, यी चलनमा । हाम्रो सम्बन्ध त्यसैले लोकजीवन अनि परम्परासँग छन् ।


सम्पादकीय र अन्य विज्ञहरूले लेखेका भाष्यमा किन आलोचना देखिन्छ ? त्यसको उत्तर हो, सरकारी प्रस्तावमाथि अविश्वास । अविश्वास किन छ ? किनभने यो सरोकारवालाहरूसँग छलफलै नगरी एक्कासी आएको छ । धेरै वर्ष बिते । एकादेशको कथा होइन । अथवा लोककथाको भाष्यमा भन्दाखेरि एकादेशमा गुठीका ठिक प्रयोग भए, जीवन चले, संस्कृतिका संरचना भए । जीवनको लय त्यही अनुसार चल्यो । तर त्यही पद्धतिभित्र गरिब किसानहरू पीडित पनि भए ।


भूदास जस्तो अवस्थामा कति गरिबका पुस्तौं गुज्रिए । सामन्ती पद्धति बलियो थियो, हावी थियो । नेपालमा राजनीतिक परिवर्तन भए । राणाको एकतन्त्री शासन सकिएको झन्डै ७० वर्ष बित्यो । अनेकौं राजनीतिक उथल–पुथल भए । तर गुठी संरचनाले धानेको संस्कृतिको इतिहास, भूमिको सही उपयोग गर्ने इतिहास, त्यसको आधारमा मठमन्दिर र चलन चलेको इतिहास चलिरह्यो । तर त्यो व्यवस्थाभित्र त्यसलाई अझ राम्ररी संगठित गरेर, सुधार गरेर, हिजोदेखि प्रयोगमा आएको, कामयावी भएको यो व्यवस्थालाई राम्ररी सबैलाई भलो हुनेगरी, मठमन्दिरको संरक्षण हुनेगरी, गरिब किसानको शोषण नहुनेगरी व्यवस्था गर्ने काम सरकार र सरोकारवालाहरूले किन गरेनन् ?


मेरो विचारमा गुठीको सिर्जनात्मक प्रयोग गर्ने नियत र चाहना खासै कुनै सरकारका पनि थिएनन् । अहिले राजारजौटा नभएको गणतान्त्रिक संविधानमा गुठीको व्यवस्थालाई हेर्न सकिने सुन्दर अवसर थियो । अझ छन् । अहिलेको सरकारको निम्ति भूमिको ठिक उपयोग, गुठीले धानेका महान संस्कृतिको रक्षा, गुठीका अत्यन्त महत्त्वपूर्ण ठाउँमा रहेका भूमिमा तिनै गुठीको परम्पराको जनमुखी संस्कृतिको रक्षा र संरचना बनाउने पद्धति, गरिब किसानको रक्षा र उद्धार गर्ने धेरै अवसर छन् । कुरा कहाँ बिग्रियो त ?


एउटा मुख्य विषय भनेको भूमि भनेपछि जसरी पनि हत्याउने मानिसको जगजगी भएका बेला अब माथि सम्पादकीयले शंका गरेजस्तो गुठीका जमिनको दुरुपयोग हुने शंका देखियो । अर्को कुरा, यो नेपाल उपत्यकाका संरचनाहरू रक्षित हुनुपर्छ भन्ने धारणा र भावना कमजोर हुँदै गयो । त्यसले जन्माएको अविश्वास र असुरक्षाको भावना बलियो भएकाले विरोध हुनथालेका हुन् । एउटा अर्को कुरा पनि छ । नेपाल उपत्यकाका नेवारहरूको संस्कृति, नागर सभ्यता, कला र निर्मित मठमन्दिर, मूर्ति बहाः, चोक र पुराना सहर क्षेत्रमाथिको अवहेलनाको मनोग्रन्थि । त्यो सबभन्दा घातक मनोग्रन्थि हो ।


मैले अहिलेको लोकवार्ता सम्मेलनमा प्रस्तुत गरेको विषय २०७२ सालको भूकम्प र त्यसले जन्माएको ‘फोक्लोर’ हो । यसै सिसिलामा यहाँ त्यो भूकम्पले उठाएका केही मूल विषय गुठीको कुरासँग जोड्न चाहन्छु । भूकम्पपछि यो नेपाल उपत्यकाको सबभन्दा जटिल र डरलाग्दो विषय यहाँका सम्पदाहरू नष्ट भएको कुरा थियो ।


ती सम्पदाहरू, मन्दिर, खुला ठाउँ र परिवेशमात्र भग्न भएनन्, तिनको व्यवस्थाको पाटो पनि भताभुङ्ग हुने स्थितिमा पुग्यो । एउटा खुुुसीको कुरा पनि छ । निकैवटा मन्दिर र भवनहरू पुनर्निर्माण भए र हुँदैछन् । तर ती मठमन्दिरसँग जोडिएका प्राचीन व्यवस्थाको विषयमा कति सोच गरियो ? उत्तर छ, कत्ति पनि गरिएन ।


रानीपोखरी जस्तो महत्त्वपूर्ण सम्पदा झन्डै कङ्क्रिटको पार्क भएको । स्थानीय जनता र अरुले बहस उठाएपछि चेतना भएको कुरा सर्वविदितै छ । अरु अनेकौं उदाहरण छन् । आफू विज्ञ नभएकाले लेख्ने धृष्टता गर्दिन । तर यत्ति भन्छु, केही आशावादी छु । यहाँ बहस हुन्छन्, भएका छन् र गल्ती सुधार भएका छन् । अहिलेको गुठी विवादमा पनि दृष्टि खुल्नेछन् भन्ने मेरो विश्वास छ ।


भूकम्पपछि कहाँबाट सुरु गर्ने र कस्तो सम्पदा बचाउने अनि कसले बचाउने भन्ने विषय मुख्य थियो । मार्टिन चौतारीमा त्यो बेला एउटा प्रस्तुति गर्दा आर्किटेक्ट विद्वान सुदर्शन तिवारीले देखाएका केही स्लाइडका चित्रहरूले हामी झस्केका थियौं । उनले एकाध साना सुन्दर कुँदिएका टुँडालजस्ता आकारहरू देखाएर भने, ‘यो लिच्छविकालीन कला हो ।


यो ट्रकमा उठाएर फालिएका कुँडाकर्कटमा हामीले भेटेका हौं ।’ भूकम्पपछि सम्पदाको रक्षा गर्ने विषय जटिल भयो । तर त्यो बेला र अहिले पनि सरकार, नगरपालिकाहरूले गर्नसक्ने विषय भनेको हिजोको गुठी व्यवस्था, पहिलेदेखि चलेको संरक्षण व्यवस्थालाई सक्रिय बनाएर तिनका कमी–कमजोरी, ती भित्रका बेथिति सुधार गरेर कामयावी बनाउनु सबभन्दा आवश्यक हो । तर अहिलेको विधेयकको भाष्य, सरोकारवालाहरूसँग छलफल नगर्ने अभ्यास र यो हिजोको सभ्यता हो र जे गरे पनि हुन्छ भन्ने भित्र लुकेको मनोग्रन्थि सबभन्दा गम्भीर विषय हो ।


हामी ‘फोक्लोर’को राष्ट्रिय सम्मेलनमा कुनै कसैलाई हल्लाउने नीतिका छलफल गर्दैनौं । यो समाजका अध्यक्ष तुलसी दिवस, मुख्य सेक्रेटरी चूडामणि बन्धु, सेक्रेटरी भीम रेग्मी तीनजना लुरुलुरु हिँंडेर भनसुन गर्दै सम्पन्न भइरहेको यो सम्मेलनको आफ्नै नैरन्तर्य छ । म कुनै संस्थामा बस्दिन, तर यो संस्थासँग जोडिएको छु । त्यसैले यो समाजलाई राम्ररी बुझ्छु । यसका अन्तर्राष्ट्रिय संस्करणमा हामीकोमा विश्वभरिबाट विद्वान, विदूषी आइपुग्छन् ।


अहिलेको राष्ट्रिय सम्मेलनमा मुख्य दलहरूसँग पनि निकट र स्वतन्त्र सबै थरीका विद्वत् मानिस आएर आफ्ना अध्ययनका निचोड राख्छन् । यसको संगठन कुनै दलको नजिक भएका मानिस राखेर गरिँंदैन । ‘फोक्लोर’को आत्मा बुझेका नरनारी यसमा आउँछन् । अनि अर्को कुरा यसको भविता कस्तो छ र कतिसम्म के गर्दै जान्छ, त्यो पनि ठेगानै गर्न नसकिने विषय हो । सबै थरीका अध्ययनले एकाध चुनौती सामना गर्नुपर्छ । ती हुन्, अहिले स्वतन्त्र संस्थाका अस्मिता नरहने समय आइरहेकाले ‘फोक्लोर सोसाइटी’ जस्ता संस्थाले आफ्नो काम कसरी गर्न सक्छन् ?


गुठी र तिनले संरक्षण गरेका संस्कृति र कलाको अन्तर्यमा लोवार्ताको शक्ति लुकेको थियो र छ । त्यो भनेको सिर्जनशील काल्पनिकीको दृष्टिगोचर प्रयोग हो । ‘फोक् आर्किटेक्चर’/लोक वास्तुकला भन्ने प्राज्ञिक विषय छ । त्यो नेपालमण्डलमा छ । अर्को चलनमा देखिन्छ । ती चलन यहाँको हावापानी, भूमि र खोलानालाको चरित्रमा भेटिन्छन् । जमिनको लोभमा गुठीहरूमात्र भत्किँंदैनन्, खोलाहरू पनि थुनिन्छन्, नदीहरू निस्सासिन्छन् र फोहोर जम्मा हुन्छन्, रुखहरू निमिट्यान्न हुन्छन्, पानीका सपना बोकेर यो

उपत्यका काकाकुल हुन्छ । यी सबै कुराको अन्तरसम्बन्ध हुन्छ । लोकवार्ता कथा भन्ने र सुन्नेको साझा गति र कर्मको नाम हो ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?