२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

घरकै खान्कीले घटाउँछ रक्तअल्पता

अरुणा उप्रेती

करिब ३२ वर्षअघि एक रात म प्रसूति गृहमा इमर्जेन्सीमा थिएँ । भोलिपल्ट बिहान छ बजेतिर वीरगन्जकी एक महिला आइपुगिन् । उनको सुत्केरी व्यथा थियो, पहेँली देखिन्थिन् । उनको रगतको कमी कति रहेछ भनी जाँचियो । लगत्तै उनलाई बेसरी पेट दुख्यो र इमर्जेन्सी कक्षामै बच्चा जन्माइन् । बच्चा सानो भए पनि ठूलो स्वरले रोयो ।

तर, आमाको रक्तअल्पताको परिणाम थाहा पाएपछि हामी सबै स्वास्थ्यकर्मी अचम्मित भयौं । विज्ञानको नियम अनुसार त उनको मृत्यु भइसक्नुपर्ने थियो । स्वस्थ व्यक्तिको हेमोग्लोबिनको स्तर १२–१५ हुनुपर्नेमा उनको २ मात्र थियो ! उनी आफू मात्रै बाँचिरहेकी थिइनन्, भर्खर सानो भए पनि स्वस्थ बच्चा जन्माएकी थिइन् ।


कसरी यस्तो हुन सक्छ भनेर मैले सिनियर स्त्रीरोग विशेषज्ञ डा. हीरा डंगोललाई सोधें । उहाँले भन्नुभयो, ‘उनको शरीरमा रगतको काम बिस्तारै हुँदै गयो, शरीरले आफै सन्तुलन मिलायो । सुत्केरी हुँदा धेरै रगत बगेको भए उनलाई बचाउन गाह्रो पर्थ्यो । प्रकृतिमा कहिलेकाहीं अचम्म पनि हुन्छ । हाम्रो ज्ञानले सायद बुझ्दैन ।’ अस्पतालमै राखेर छ दिन रगत चढाएपछि ती महिलाको हेमोग्लोबिन ८ पुग्यो अनि उनलाई घर पठाइयो । परिवारले उचित खानपिनको व्यवस्था गरिदिएको भए उनी यस्तो कमजोर हुने थिइनन् । उनले छोरो पाउँदाचाहिँ सबै हर्षित थिए । उनले छोरी पाएकी भए गर्भावस्थामा झैं घरका मान्छेले सायद वास्तै गर्दैनथे ।


कतिपय ग्रामीण समुदायमा घरपरिवारले गर्भवतीको स्वास्थ्यको उति वास्ता गर्दैनन् । ‘वंशको रक्षा गर्ने गरी छोरा जन्माइन्’ भने मात्रै उनको हेरविचार हुन्छ । यस्तै कारणले गर्दा धेरै महिला रक्तअल्पताको सिकार हुन्छन् । तर, जुनसुकै महिला रक्तअल्पताको सिकार हुनुको अर्थ हो— शरीरमा लौहतत्त्वको मात्र होइन, प्रोटिनको पनि कमी हुनु । त्यस्ता गर्भवतीलाई भिटामिन, क्याल्सियम र अन्य पोषक तत्त्वको पनि कमी हुन्छ, किनभने उनले घरमा भएका स्वस्थकर खानेकुरा पनि पेटभरि खान पाएकी हुन्नन् । उनको चिन्ता र वेदनाले गर्दा खाएको कुरा पनि राम्रोसँग आन्द्रामा सोसिन पाउँदैन । पोषण भनेको भोजन मात्र होइन ।


शिशुहरूलाई आमाको दूधबाटै लौहतत्त्व प्राप्त हुन्छ । तर आमाले पनि प्रोटिनयुक्त र लौहतत्त्व पर्याप्त खाएको हुनुपर्‍यो । शिशुले खाने लिटो फलामको भाँडामा पकाउँदा पनि शरीरले लौहतत्त्व प्राप्त गर्न सक्छ । दूध उत्तम भोजन हो, तर यसमा लौहतत्त्व हुँदैन । त्यसैले गाई, भैंसी वा डेरीको दूध बच्चालाई फलामको भाँडामा तताएर दिनाले केही लौहतत्त्व प्राप्त हुन्छ ।


बच्चाहरूलाई लौहतत्त्व र अन्य पौष्टिक तत्त्व राम्रोसँग मिलोस् भन्न विभिन्न फलफूल, जुन सस्तो हुनुका साथै सहजै पाइन्छन्, खानु उचित हुन्छ । आफ्नै करेसाबारीमा पाइने आरु, आरुबखडा, अम्बा, अमला, नासपातीबाटै उपयुक्त पौष्टिक तत्त्व पाइने भएकाले महँंगा स्याउमा पैसा खर्च गर्नुपर्दैन, बट्टाका महँगा खाना नै दिनुपर्छ ।


खाद्यपदार्थका कतिपय विज्ञापनमा ‘घरमा भएका खानेकुराले बच्चालाई र गर्भवतीलाई पोषण पुग्दैन, त्यसैले बाहिरको पोषण किनेर क्याल्सियम र आइरन तत्त्व तिनको पोषण पुर्‍याउनुपर्छ’ भनिएको हुन्छ । यस्ता गलत विज्ञापनले मानिसहरूमा भ्रम छरिरहेका छन्, किनभने यिनलाई स्वास्थ्यकर्मीले पनि गलत भन्ने गरेका हुन्नन् । प्याकेटका खानेकुरा किन्दा पैसाको दुरुपयोग मात्रै हुन्छ ।


बकुला, सिमी, बोडी जस्ता तरकारीमा पर्याप्त प्रोटिन त पाइन्छ नै, क्याल्सियम र लौहतत्त्व पनि धेरै हुन्छ । तिनको मूल्य बजारिया वा विदेशी संस्थाहरूले दिने खानेकुराभन्दा निकै कम हुन्छ, पोषण चाहिँ बढी हुन्छ ।


एक–दुई वर्षको शिशुलाई परिवारका अन्य सदस्य नै खाने साग, गेडागुडी नै खुवाउन सकिन्छ । खानेकुरामा रहेको लौहतत्त्वलाई शरीरमा सोसाउन सजिलो उपाय छ । दाल भात तरकारी कागतीको रस वा गोलभेंडाको अचारसँग खाइयो भने यसमा रहेको भिटामिन सीले लौहतत्त्व सोसिन निकै मद्दत गर्छ । लट्टेको सागमा भिटामिन ए र लौहतत्त्व दुइटै प्रशस्त पाइन्छ । भटमासमा फोलिक एसिड, आइरन र प्रोटिन पर्याप्त हुन्छ ।


गेडागुडीलाई उमारेर पकाउनाले यसमा पौष्टिक तत्त्वको मात्रा बढ्छ । पाकिसकेपछि अलिकता कागतीको अमिलो वा गोलभेंडा हालिदिनाले भिटामिन सीले यिनमा रहेको लौहतत्त्व राम्ररी सोसिन पाउँछ । त्यसैले होला, पहिले–पहिले दालभात, साग, अमिलो मोही खाने चलन थियो ।


स्वास्थ्य मन्त्रालय चाहिँ गर्भवतीलाई आइरन चक्की दिएर नै रक्तअल्पता कम हुन्छ भनी जताततै आइरन चक्की बाँड्छ । कति महिलालाई त्यसले वाकवाकी लाग्छ, अनि खान छोड्छन् । अहिले त कतिपय प्रदेशमा किशोरीलाई समेत आइरन चाहियो भन्दै फोलिक एसिड बाँड्ने कार्यक्रम चलाउने रे ! मानव पोषणलाई टुक्रा–टुक्रामा विचार गरेर, टुक्रे–टुक्रे कार्यक्रम गरेर महिला र किशोरीको स्वास्थ्य राम्रो हुने वा रक्तअल्पता कम हुने हुँदैन ।


हाम्रो ‘स्वास्थ्य’ कि ‘रोग’ मन्त्रालयले धेरै पैसाले आइरन चक्की र फोलिक एसिड किन्छ, तर त्यसले महिलाको रक्तअल्पता घटाउन सकेको छैन । सन् २००६ मा ३६ प्रतिशत गर्भवती महिलामा रक्तअल्पता थियो भने २०१६ को सरकारी तथ्यांक अनुसार यो ४१ प्रतिशत पुगेको थियो । यति धेरै फोलिक एसिड, आइरन चक्की बोक्दा पनि रक्तअल्पता कम भएन । रक्तअल्पता सामाजिक समस्या हो र आइरन चक्की बाँडेर समाधान हुँदैन भनी यो मन्त्रालयले कहिले बुझ्ने होला ?

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?