तदर्थवादको नयाँ संस्करण

सम्पादकीय

काठमाडौँ — संस्थाहरूको साख क्षयीकरण हुँदै जाँदा पनि सकुशल रहेको सम्भवतः एउटै संवैधानिक अंग हो, लोकसेवा आयोग । आयोगबाट छानिएका कर्मचारीले लोकको सेवा गरे–गरेनन् बेग्लै विषय हो, छनोट प्रक्रियामा यस संस्थाले आफ्नो निष्पक्षता र शुद्धतामा औंला उठाउन दिएको छैन ।

तदर्थवादको नयाँ संस्करण

अन्यत्र असफल हुनेले परीक्षकलाई दोष दिन्छन्, लोकसेवा अनुत्तीर्ण हुनेले आफ्नो पढाइ नपुगेको स्विकार्छन् । राष्ट्रको एउटा संस्थासित हुनुपर्ने पुँजी यही हो । सबै संस्थाको गरिमा यस्तै भए देश उँभो लाग्ने हो ।


हाम्रो सरकार र राजनीतिक नेतृत्वले संघीयता कार्यान्वयनका लागि गरेको ढिलाइ र आलटालले यही संस्थालाई पनि अनावश्यक विवादमा तानेको छ ।


आयोगले ५ सय १५ स्थानीय तहमा ९,१६१ पदपूर्तिका लागि गरेको विज्ञापन रद्द गर्न प्रतिनिधिसभाको राज्य व्यवस्थापन तथा सुशासन समितिले आइतबार निर्देशन दिएपछि अन्योल बढेको छ । विज्ञापन समावेशी नभएको समितिको ठहर छ । संविधानतः आयोगका कामकारबाहीमा समितिले निर्देशन दिन पाउँछ ।


यस निर्देशनमा भने विवेक प्रयोग नभएको कतिपयको आरोप छ । प्रदेश सरकारहरूले स्वागत गरेका छन् । सत्तारूढ दलका सांसदहरूको समेत मत विभाजित छ । ठूलो तप्काबाट विज्ञापन समानुपातिक भएन भन्ने पहिल्यैदेखि विरोध हुँदै आएको छ । विज्ञापनका आवेदकहरू भने विरोधमा सडकमै ओर्लिएका छन् । अहिलेसम्म ८० हजारभन्दा बढीले आवेदन दिइसकेका छन् ।


संविधान पूर्ण कार्यान्वयनमा जाँदा स्थानीय तहका लागि प्रदेश लोकसेवा आयोगले विज्ञापन गर्नुपर्ने हो । हाम्रो नेतृत्वको तदर्थवादी कार्यशैलीका कारण प्रदेश लोकसेवा आयोग गठनमा धेरै ढिलाइ भयो । संविधानबमोजिम प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य, अधिकारसम्बन्धी आधार र मापदण्ड निर्धारण गर्न संघीय कानुन गत चैतमा मात्रै बन्यो । त्यसपछि मात्र प्रदेशहरूले प्रदेश लोकसेवासम्बन्धी विधेयकको मस्यौदा गर्न पाए । केहीले प्रदेशसभामा पेस गरेका छन् । प्रदेश २ छिटै पारित गर्ने तरखरमा छ । लोकसेवा आयोग छिटो गठन गरेर त्यसैबाट कर्मचारी भर्ना प्रक्रिया थाल्ने उसको सुर छ ।


स्थानीय तहहरूमा निर्वाचन भई सरकार बनेको दुई वर्ष भइसक्दा पनि काम गर्न नसक्नुको दोष पालिकाहरूले कर्मचारी अभावलाई दिएका छन् । स्थानीय तहका लागि स्वीकृत ६६ हजार दरबन्दीमध्ये समायोजनपछि २४ हजार रिक्त छन् । सेवा प्रवाहमा समस्या भएकाले स्थानीय तहकै मागअनुसार संघीय सरकारको आग्रहमा लोकसेवा आयोगले पदपूर्ति प्रक्रिया अघि बढाएको हो ।


प्रदेश र स्थानीय तहले करिब १६ हजार ५ सय कर्मचारी मागेका थिए । प्रदेश लोकसेवा आयोग गठन नभएसम्म स्थानीय र प्रदेशले माग गरे केन्द्रीय लोकसेवाले विज्ञापन गरेर पदपूर्ति गरिदिने समायोजन ऐनमा व्यवस्था छ ।


समितिले आयोगको विज्ञापन असमावेशी र संविधानको मर्म एवं भावनाविपरीत भएको निर्क्योल निकालेको छ । समावेशी अधिकारवादीहरूले पनि यही आवाज उठाएका छन् । आयोगले समग्र कर्मचारी संख्यालाई आधार मानेर आरक्षणका लागि सिट छुट्याएको छैन । उसले प्रत्येक स्थानीय तहलाई आधार मानेको छ । प्रत्येक पालिकाबाट जति कर्मचारी माग भए त्यही अनुसार कोटा छुट्याइएको छ । यसो गर्दा आरक्षण सिट कम भएका छन् ।


निजामती सेवा ऐनअनुसार ५५ प्रतिशत खुला र ४५ प्रतिशत आरक्षणबाट पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । आरक्षित ४५ प्रतिशतलाई शतप्रतिशत मानेर महिलालाई ३३, आदिवासी जनजातिलाई २७, मधेसीलाई २२, दलितलाई ९, अपांगता भएकालाई ५ र पिछडिएको क्षेत्रलाई ४ प्रतिशत सिट छुट्याइनुपर्छ । तर पालिकापिच्छे इकाई मान्दा समावेशी सिट घटेर करिब २५ प्रतिशत भएको छ । महिलाले २० प्रतिशतभन्दा बढी पाएका छन् । अरू आरक्षित समुदायका लागि आधाभन्दा बढी घटेका छन् । पाउनुपर्नेभन्दा आदिवासी जनजातिले ५४, मधेसीले ९२, दलितले ९२, अपांगता भएकाले ९८ प्रतिशत र पिछडिएको क्षेत्रका लागि ९९ प्रतिशत सिट कम पाएका छन् ।


आयोग र सरकारले कानुनसम्मत र विगतको अभ्यासअनुसारै विज्ञापन गरेको दाबी गरेका छन् । उनीहरूका अनुसार संविधानको मर्मअनुसार हरेक पालिका आफैंमा सरकार भएकाले सबैलाई एउटै डालोमा हालेर कोटा छुट्याउन मिल्दैन । थोरै सिटका लागि मागिएको आवेदनमा सबै समावेशी वर्गलाई समेट्न जटिल भएको हो । उदाहरणका लागि, एक सिटका लागि मात्र विज्ञापन भएकोमा स्वतः खुलाले पायो ।


दुई सिट विज्ञापन भएकोमा एक सिट खुला र अर्को महिलाले पाए । यसैगरी सिट बढ्दै जाँदा मात्र अन्य समावेशी समुदायले पाउँदै गए । अब प्रदेशले विज्ञापन निकाल्दा अहिले नपुगेको संख्या त्यसमा जोडिरे पूर्ति गर्न सकिन्छ । अहिले छुटेका समावेशी सिट अबका विज्ञापनमा समेटिन्छन् । आयोगले गर्दै आएको अभ्यास यही हो । गत आठ वर्षमा आयोगले ४० हजारभन्दा बढी कर्मचारी छनोट गरेकोमा १७ हजार जति समावेशी कोटाकै थिए ।


अधिकारवादी भने पछि पूर्ति हुँदै जाने तर्कमा सन्तुष्ट छैनन् । लक्षित उम्मेदवार लाभान्वित हुन लामो समय कुर्नु न्यायोचित नहुने बताउँछन् । यस्तो जटिलताको अन्योल चिर्ने सूत्र वर्तमान ऐनमा छैन । संसद्मा दर्ता भएको संघीय निजामती सेवा ऐनमा यसबारे व्यवस्था गरे समस्या दोहोरिँदैनथ्यो ।


आयोगले विज्ञापन रद्द गर्नुपर्‍यो भने त्यसको असर ठूलो पर्नेछ । पालिकाहरूमा कर्मचारी नपुगेर काम प्रभावित हुनेछ । समितिले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी दरबन्दी संख्या यकिनपछि मात्र समानुपातिक समावेशी सिद्धान्तका आधारमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन गर्न निर्देशन दिएको छ । त्यसअनुसार अघि बढ्दा लामो प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । प्रदेश लोकसेवा आयोग बनाएर काम थाल्न पनि समय लाग्छ । कानुन निर्माण, आयोग गठन, कार्यालय र कर्मचारी व्यवस्थापन, प्रदेशपिच्छे पाठ्यक्रम, परीक्षा प्रणालीे विकासलगायत धेरै काम गर्नुपर्ने हुन्छ । भलै, तीन महिनाभित्र काम सक्ने दाबी प्रदेशहरूको छ ।


विज्ञापन रद्द हुँदा सडकमा निस्कने नेतृत्वविहीन भीड व्यवस्थापन अर्को चुनौती हुने त निश्चित छ ।

समितिले संघको दरबन्दीमा रहेका फाजिल र पुलका कर्मचारीलाई स्थानीय तहमा काजमा खटाउन भनेको छ । र, स्थायी पदपूर्ति नभएसम्मका लागि निश्चित मापदण्डका आधारमा आ–आफ्नो तहमा कर्मचारी करारमा नियुक्ति गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । जबकि, स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगर प्रहरी, सवारी चालक, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली, बगैंचे र सरसफाइसम्बन्धी बाहेकका अन्य पद तथा सेवामा करारबाट पदपूर्ति गर्न नपाइने व्यवस्था छ ।


अर्कोतिर, स्थानीय तहलाई करारमा कर्मचारी राख्न दिँदा विकृति मौलाउने र नातागोतालाई जागिर खुवाउने थलो बन्ने आम आशंका छ । अन्तर्राष्ट्रिय रूपमा दृष्टिगोचर हुने राजदूत जस्ता पदमा त संघीय सरकार पद्धतिलाई ह्याकुलाले मिचेर सम्बन्धित क्षेत्रमा अनुभवै नभएका व्यक्तिलाई सिफारिस गर्छ भने स्थानीय सरकारहरूले पनि यस्तै सिको गर्लान् भन्ने भय छ । करार आफैंमा स्वेच्छाचारी भर्ना प्रक्रिया हो । सामान्य योग्यता पुगेका पहुँचवालाका आफन्तहरू यो पदमा पुग्छन् । यसले न सेवा प्रभावकारी हुन्छ न सुशासन ।


यस जटिल मोडमा अख्तियारवालाबीच विवेकसम्मत संवादको खाँचो छ । लोकसेवा आयोगको गरिमा बच्ने, पालिकाहरूमा जनशक्ति पुग्ने र समावेशी सिद्धान्तको पनि पालना हुने विवकपूर्ण बाटो खोजिनुपर्छ ।

प्रकाशित : जेष्ठ २९, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?