कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सार्वजनिक बसकी ती युवती

उषा थपलिया

सार्वजनिक यातायातमा एक साँझ एक युवतीसँगैको सिटमा थिएँ म । कुराकानी हुँदा थाहा भयो— उनी सिंहदरबारमा जागिरे रहिछन् । साँझ त्रिचन्द्रमा स्नातकोत्तरको कक्षा लिएर साढे साततिर घर फर्कने रहिछन् । ग्रामीण विकास (आरडी) को पढाइ सजिलो के हुन्थ्यो ? त्यसमाथि बिहान भातभान्सा, दिउँसो जागिर र राति थकाइ ।

‘दिउँसो कामका बेला पढ्नलाई अलिअलि समय निक्लन्छ कि ?’ सरकारी कर्मचारीहरूलाई कामको चाप हुन्न भन्ने सुन्दै आएकी मैले सोध्दा उनले भनिन्, ‘अहिले सरकारी भनेर कहाँ त्यस्तो छ र ? एक छिन फुर्सद पाइँदैन । खाजा पनि प्रायः काम गर्दै खानुपर्छ । हरेक तहले प्रत्येक हप्ता माथिल्लो तहलाई प्रगति विवरण बुझाउनुपर्छ । त्यही भएर नसोचेको व्यस्तता हुन्छ ।’


प्रतिवेदनको डरले भए पनि सरकारी कार्यालयमा नयाँ जागरण आएको पहिलो पटक सुन्दै थिएँ म । ती युवतीको सकारात्मकता प्रशंसनीय लाग्यो । कार्यालय समयमा पढ्न नपाएकामा उनमा कुनै अफसोस थिएन ।


नेपालको सरकारी सेवा प्रायः आलोच्य हुने गर्छ । भ्रष्टाचार, ढिलासुस्ती, चाकरी, सेवाग्राहीको बेवास्ता, काममा लापरबाही समग्र कर्मचारीतन्त्रको पर्याय जस्तो रहँदै आइरहेको छ । नियमन र नियन्त्रणको प्रभावकारी प्रयास भएन । यदाकदा केही हुन खोजे जस्तो देखियो तर ती सबै निष्प्रभावी साबित भए ।


राजनीतिक दल र नेतृत्व स्वयं कमजोरीमुक्त नहुँदा कर्मचारीतन्त्रमा त्यति विघ्न बेथिति मौलाएको विश्लेषणसहित केही समाधानका प्रयास पनि भए तर सरकारी सेवाभित्रको विकराल अवस्था सधैं चर्चा हुने तर समाधान नहुने समस्याका रूपमा रहिरह्यो । सेवासुविधा सकेजति लुट्ने तर कर्तव्यबाट सधैं टाढा भाग्ने कर्मचारीहरूको प्रवृत्तिप्रति अनभिज्ञ हुने कमै होलान् । राजधानीभित्रकै अवस्था गन्जागोल हुँदा बाहिरको अवस्था राम्रो कसरी हुन सक्थ्यो ? विकट र दुर्गम स्थानमा कर्मचारीको सधैं अभाव । कोही जानै नचाहने । कथंकदाचित् सरुवा भइहाले काज सुगममै मिलिहाल्ने ।


सेवासुविधाका लागि कागजमा मात्रै सरुवा हुने पहुँचवालाको संख्या पनि कम छैन । भत्ता/सुविधा दुर्गमको तर भौतिक उपस्थिति आफ्नै घरभित्र, काजको समेत झन्झट बेहोर्न नपर्ने । कर्मचारीतन्त्रभित्रका यी र यस्तै अवगुणबारे सरकार, दल तथा शीर्ष नेतृत्व जानकार हुँदाहुँदै पनि अवस्था सप्रनुभन्दा बिग्रनुतिरै अघि बढिरह्यो ।


उपयुक्त तलबभत्ता अभावका कारण सुरुमा पढेलेखेकामा सरकारी सेवाप्रति खासै आकर्षण थिएन । निष्ठाको कमाइले जीवन धान्न गाह्रो परेरै सरकारी निकायमा भ्रष्टाचार बढेको ठम्याइयो, जसका कारण कर्मचारीको सेवासुविधा परिमार्जित हुँदै आयो । निरन्तरको परिमार्जनपछि अहिले सरकारी सेवा देशको हैसियतअनुसार आकर्षक क्षेत्र दरिएको छ । सेवा अवधिका लागि मात्र होइन, सेवानिवृत्तिपछिको सुनिश्चितता पनि उत्तिकै छ । यति हुँदा पनि कर्मचारीमा आफ्नो कर्तव्यप्रतिको जागरुकता अझै स्वतःस्फूर्त आउन नसक्नु, भ्रष्टाचार नघट्नु विडम्बना हो ।


कर्मचारीतन्त्रलाई लयमा बाँध्न नसक्नु सरकार सञ्चालकको अक्षमता त हो नै, यसमा स्वयं कर्मचारीको निष्ठा र नैतिकतासमेत उत्तिकै जिम्मेवार छ । त्यससँगै प्रत्येक नागरिकको कमजोरीसमेत मिसिएको देखिन्छ । विकास/समृद्धि, मुलुकको आवश्यकता हो तर मुलुकवासीको सभ्य र सुसंस्कार आनीबानी सँगसँगै अघि नबढी यसले सार्थकता पाउँदैन । कुनै कर्मचारीले गरेको नराम्रो कामप्रति समाजमा ग्लानि महसुस गर्ने वातावरण बनाउन नागरिक तह जसरी चुक्दै आयो, त्यसले पनि समस्यालाई यो तहमा ल्याइपुर्‍याएको हो ।


नेपालको कर्मचारीतन्त्र जेजति समस्याले ग्रस्त छ, ती सबैबाट पूर्ण उन्मुक्ति पाउन लामै समय लाग्ला । जति काम भइरहेका छन्, समस्याको तुलनामा ती कमै छन् तर भएका उपलब्धि बाहिर आउने प्रणाली बस्यो भने यसले बेग्लै सकारात्मकताको प्रवाह गराउँछ । कर्मचारीहरूको सानो कर्तव्यपरायणता पनि एउटा उत्साहजनक उदाहरण हुन सक्छ । ती युवतीले जस्तै सबै कर्मचारीले ‘सरकारी काम, कहिले जाला घाम’ आहानलाई अलिअलि गर्दै उल्ट्याउँदै लगे समग्र कर्मचारीतन्त्रप्रति जनमानसमा सकारात्मक सोच आउने थियो ।


ती युवतीसँग अर्को दिन पनि सार्वजनिक यातायातमै भेट भयो । उनले जागिरलाई अप्ठ्यारो नपारी स्नातकोत्तर मात्र होइन, पीएचडी नै सक्ने लक्ष्य लिएको सुनाइन् । उनको उत्साह र सकारात्मकताको म फेरि पनि कायल भएँ ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?