कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सत्ता र पुँजीको लसपस

राजेन्द्र महर्जन

म जो फेदीमा छु
मेरा मुद्दा, दुःख र सवाल पनि छन्, फेदीमै 
यी सबै–सबैलाई तल–तल असरल्ल छोडेर
शिखर चढ्न व्यग्र महामहिमहरूलाई 
म फेरि पनि भन्छु
औंला ठड्याएर भन्छु– 
समृद्धि एक कुविचार हो ।
– विनोदविक्रम केसी

सत्ता र पुँजीको लसपस

हाम्रा सत्तासीनहरूमा शिलान्यासको मोह र उद्घाटनको लालसा महामारीको स्तरमा छ । चर्पीदेखि मन्दिरसम्म, पुलदेखि होटलसम्म उद्घाटनको लहरमा उनीहरूको रेस हेर्दा देश समृद्धिको रफ्तारमा कुदेको भान हुन्छ । शिलान्यास र उद्घाटनको लहरले उद्घाटन मन्त्रालयको माग गरेको आभास हुन्छ । शिलान्यास र उद्घाटन गर्न कति चटारो छ भने कुन भवन वैध, कुन भवन अवैध हेर्ने फुर्सद छैन ।

उपराष्ट्रपति महोदयले पोखराको बुद्धचोकमा अवैध रूपमा निर्मित होटल टास्क इन्टरनेसनलको उद्घाटन गरेर आलोचना खाए । भवन वैध वा अवैध कुन रूपमा बनाइएको हो, उनलाई रेकी गर्नु जरुरी भएन । उनको ‘इतिहासका रक्तिम पाइलाहरू’मा सयौंपटक दोहोरिने शब्द हो– ‘रेकी’ । सत्ताधारी भएपछि भवनको रेकी गर्नु जरुरी भएन । उनले मापदण्ड विपरीतका संरचना उद्घाटन गरेर पदीय गरिमालाई खाडलमा हाले ।

व्यापारी विशेषका सानातिना स्वार्थ पूर्तिका लागि गणतन्त्रको सर्वोच्च संस्थालाई अवमूल्यन गरे । दक्षिण कोरियाली कम्पनी र नेपाली बिक्रेताले बनाएको पोखराकै विन्ध्यवासिनी मन्दिरको लिफ्ट उदघाटन गर्दै राष्ट्रपति महोदयाले पनि गणतन्त्रको सर्वोच्च संस्था र पदीय गरिमालाई हिलो छ्यापिन् । यी पद व्यावसायिक संरचना र झिनामसिना कार्यक्रम उद्घाटन गर्न पक्कै होइनन् ।

तिनको सल्लाहकार : सरकारको हालत प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र मन्त्रीहरूले गर्ने जथाभावी शिलान्यास र उद्घाटनमा देख्न पाइन्छ । उनीहरूले सक्ताशत्ति र सम्पत्तिका लागि सबैजसो स्वार्थ समूहलाई खुस पार्नुपर्ने बाध्यताकै उपज हो : मठमन्दिर, पूजाआजाको उद्घाटनसँगै गाईभैँसी पूजन र अनेक व्यापारिक स्वार्थ समूहका सस्याना उद्घाटनमा हाजिरी ।

पोखरामै विवादास्पद होटल उद्घाटन गर्न गएका प्रधानमन्त्री ओली होटलमै पुगेर, खाना खाएर पनि उद्घाटन नगरीकन फर्किएको घटनाले तदर्थवादलाई पुष्टि गर्छ । लेकसाइडमा मापदण्ड विपरीत बनेको होटल स्विस इन्टरनेसनलको उद्घाटन गरियो भने अप्ठेरो हुने डरले हठात् फर्कंदा उनी आलोचनाबाट त जोगिएका छन्, तर सरकारका धेरै अंग नराम्ररी उदांगिएका छन् । प्रधानमन्त्री ओलीजस्ता सूचनाका सर्वभक्षीलाई ३ तलाको नक्सा पास गरी ११ तले भवन बनाइएको तथ्य ७ तलामा चढेर खाना खाएपछि मात्रै थाहा हुनु उदेकलाग्दो हो ।

ढाँटेको कुरा काटे मिल्दैन । होटल उद्घाटन गर्ने कार्यक्रमै नभएको खण्डनलाई होटलका भित्तामा टाँसिएको ताम्रपत्रले काट्छ । त्यस्तै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मासँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अरु पोखरेली चामलको भात खानमात्रै गएका थिएनन् । उनीहरूसँग सल्लाहपछि उद्घाटन नगरीकनै होटलबाट बाहिरिएका प्रधानमन्त्री ओली खाना खानमात्रै होटल गएको प्रचारमा तुक छैन ।

खाना र दानाको द्वन्द्वात्मक सम्बन्ध

नेपाली राजनीतिज्ञहरूका लागि खाना भनेको पशुपन्छी समात्न छरिने दानाजस्तै छ । मार्क्सवादको सट्टा मार्सीवादको सैद्धान्तीकरण र त्यसको व्यावहारिक प्रयोगको मूल आधार खाना नै हो । बी एन्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले नेकपा डबलका अध्यक्षद्वयलाई खुवाएको मार्सी भातको चमत्कार चिकित्सा शिक्षामा फलित भएको जाहेर छ ।

ओलीलाई खाना खुवाएर मापदण्ड विपरीतको होटललाई वैधानिक बनाउने मालिक पनि कम विख्यात व्यक्तित्व होइनन् । प्राध्यापक डाक्टरबाट होटल मालिक हुनु र प्रधानमन्क्रीको शत्तिलाई उपयोग गर्न सक्नु चानचुने होइन । पोखरा महानगरपालिकाको मापदण्ड निर्धारण सिफारिस समितिको संयोजकसमेत रहेकाले सत्तासँग उनको लसपसलाई कम आँक्न सकिँदैन ।

विवादास्पद होटलका मालिक हुन्, प्राडा भरतराज पहारी । त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडिन पहारीका चर्तिकला प्रख्यात छन् । विशेष अदालतका अनुसार उनी स्रोत नखुलेको ९८ लाख ९३ हजार रुपैयाँ सम्पत्तिका स्वामी हुन् । २०७५ मंसिरमा सोही बराबरको बिगो र १० महिना कैदको सजाय सुनाएको थियो । त्यस अघि अकुत सम्पत्ति कमाएको आरोपमा साउन २०७३ मा ४ करोड रूपैयाँको बिगो दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

यसरी एक प्राडाले २ अर्ब लगानीमा होटल बनाएर समृद्धितिर छलाङ मारेपछि समृद्धिशाली पार्टी र सरकारले पनि बेवास्ता गर्ने अवस्था रहँदैन । अवैध संरचना र व्यवहारलाई वैध बनाउनु वा लेनादेना गर्नु सामान्य हुन्छ । लेनादेनाबाट एकअर्कालाई समृद्ध बनाउनु नै मार्सीवादी सिद्धान्त र व्यवहार हो ।


छोप्न खोज्दा उदांगिएको सत्य

दुई तिहाइ शक्तिशाली मतका प्रधानमन्त्रीबाट समृद्धि निर्माणका सहयोगी होटल उद्घाटन हुनु वा नहुनु ठूलो कुरा होइन । यस प्रकरणले सक्ताशत्ति र पुँजीबीचको समृद्धिशाली भवन निर्माणको उद्घाटन हुनु कम महत्त्वको कुरा होइन ।

मार्सीवादको पोखरेली संस्करणमा होटल, मठ–मन्दिरदेखि लिफ्टसम्मको शिलान्यास र उद्घाटन प्रकरण जोडिएको छ, जसले सक्ताशत्ति र पुँजीबीचको गठजोड र लेनादेनालाई उजागर गरेको छ । नदी नै नभएको ठाउँमा पुल बनाइदिने आश्वासन दिनु, पुलको ठेक्का आफ्ना आसेपासेलाई दिनु, पूरा नभएका पुलको उद्घाटन गर्नु र दुवै लेनदेनकर्ता मालामाल हुनु सक्ताशत्ति र पुँजीबीचको सुमधुर लसपसकै फलिफाप हो ।

दलाल पुँजीवादको विरोधमा र वैज्ञानिक समाजवादको पक्षमा जेहाद छेड्दै हिँडेका नेकपा डबलका रूप रित्यक्त नेता घनश्याम भुसाल व्यंग्यपूर्वक भन्ने गर्छन्, ‘अलि ठूलो घर भए माक्रै नेताहरू अहिले खुब त्रान्तिकारी ठान्छन् । बिहान तस्करसँग, दिउँसो दलालसँग र साँझ कामचोरसँग भेट हुन्छ । तस्कर, भूमाफिया र भन्सारका मान्छेहरूसँग नेताहरूको उठबस हुन्छ । अहिले कानुनबाट बच्न न्यायाधीश आफ्नै राख्ने गरिएको छ । अदालत र अख्तियारलाई काँध थाप्न नेता, मिडिया र सुरक्षा निकायको गठबन्धनको साक्षी म आफैं हुँ ।’

पार्टीभित्र सैद्धान्तिक बहस हराएको र कमाउ धन्दा मौलाएकोमा सत्तारुढ दलमा दुःखित हुने त सायद भुसाल मात्रै होलान्, जो व्यापारी र तस्कर कसको भन्ने विषयमा पार्टीभित्रै सैद्धान्तिक बहस हुने गरेको व्यंग्य कस्न सक्छन् । व्यापारी र तस्करसँग धेरैजसो दलका नेताको लेनादेनाले नै न्याय र स्वतन्त्रतासँगै समताको मार्गको सट्टा समृद्धिको नारातिर डोर्‍याएका हुन् ।

चाहे सत्तापक्ष होस् या विपक्ष, अब समृद्धि कसको लागि भन्नेबारे कुनै बहस, विवाद र द्विविधा छैन । त्यसैले उनीहरू दलाल पुँजीवादका सहयोद्धाहरू : व्यापारी र तस्करहरूसँगै स्वसमृद्धिको यात्रामा दत्तचित्त छन् । कसैले यस युद्धमा उनीहरूसँगै ‘सहादत’ पाएका छन्, तिनको नाममा प्रतिष्ठान बनाइँदैछन् भने कोही अरुको स्वतन्त्रता र ज्यान लिँदैछन् ।

फेलिक्स ग्रिनका अनुसार ब्रिटेनका पुँजीपतिहरूले राजनीतिक नेताहरूमार्फत शासन गर्छन् भने अमेरिकामा पुँजीपतिहरू नै राजनीतिक नेता भई हुकुम चलाउँछन् । भारतमा भाजपा सरकारको करामतले गर्दा एकसेएक करोडपति नै शासक भएका छन् । भारतीय प्रधानमन्त्री मोदीले गुजरात नरसंहारसँगै भारतभरि प्रयोग गरेको आसेपासे पोस्ने पुँजीवाद (क्रोनी क्यापिटालिजम) ले दोस्रो इनिङमा प्रवेश गरेको छ ।

मोदीको सुशोभन समारोहमा सहभागी भएर फर्केका प्रधानमन्त्री ओली र अन्य नेताले नेपालमा प्रचलित मार्सीवाद सम्मिश्रित मोडल अँगालेका छन् । अब दलाल र भ्रष्टाचारीहरूसँग साँठगाँठ गरेर हुन्छ कि उनीहरूलाई नै शासनमा आरुढ गरेर हुन्छ, शिलान्यास भइसकेको समृद्धिको भवन उद्घाटन गर्न शासकहरू कम्मर कसेर लागेका छन् ।

समृद्धिको हवाई भवन नढलेसम्म सक्ताशत्ति र पुँजीबीचको गठजोड विरुद्ध जनप्रतिरोध नहुने नै हो र ? सही बेला प्रतिरोध भएन भने यही भवनको सपनाले थिचिएर देश र जनताको वर्तमान समाप्त हुने झय छ ।

ट्विटरमा : @rmaharjan72

प्रकाशित : जेष्ठ २१, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?