कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

संखुवासभामा स्याहारिँदै क्यान्सररोधी सतुवा

कमल मादेन

सतुवा यस्तो दुर्लभ वनस्पति हो, जसको उपयोग क्यान्सर जस्तो घातक रोगको उपचारमा गर्ने गरिन्छ । यो वनस्पति जति बहुमूल्य छ, उमार्न त्यति नै कठिन पनि । बीउ उमार्न नसकिने भएकाले जरा गानोबाटै बिरुवा तयार गर्ने विधि झन्झटिलो छ । यसको बीउ प्राकृतिक रूपमा उम्रन त उम्रन्छ, तर अत्यन्त नगण्य मात्रामा । 

संखुवासभाका किसान उदयकुमार लोले केही वर्षयता त्यस्तै दुर्लभ काम गर्दै आइरहेका छन् । उनी आफैले पत्ता लगाएको विधिबाट सतुवाको बिरुवा उत्पादन गर्दै आएका छन् । उनले बीउलाई अंकुराउने अवस्थाको बनाउँछन् । त्यसपछि अन्य वनस्पतिको बीउजसरी छरेर उमार्छन् । यो पंक्तिकार गत वर्ष जेठमै मादी नगरपालिकास्थित चौकी पुगेका बेला उदयले सतुवाको बीउ उमार्ने घरेलु विधिको वृत्तान्त सुनाएका थिए । उनले घरनजिकै सतुवाको बेर्ना प्रशस्तै उमारेका थिए, कुनै रासायनिक पदार्थ प्रयोगबिनै । उनका अनुसार, यो विधि पत्तो लगाउन वर्षौं परीक्षण गर्नुपरेको थियो ।

उच्च हिमाली भेगमा पाइने बहुमूल्य वनस्पति सतुवाको वैज्ञानिक नाम पेरिस पोलिफाइला हो । यसको जरा गानो महँगोमा बिक्री हुन्छ । सतुवाको औषधिका रूपमा प्रयोग हुने भाग जरा गानो हो । यसको जरा गानो अदुवाजस्तै तर हाँगाबिँगा नभएको हुन्छ । गत वर्ष यसको जरा गानो प्रतिकिलो १८ हजार रूपैयाँसम्म बिक्री भएको थियो । हालैका वर्षदेखि यसको बीउको पनि खरिदबिक्री सुरु भएको छ । गत वर्ष संखुवासभामा अंकुराउन सुरु भएको बीउ प्रतिकिलो १ लाख र बझाङ (साल्कोट गाउँपालिका) मा डेढ लाख रूपैयाँमा बिक्री भएको थियो ।

झारवर्गमा पर्ने सतुवा समुद्री सतहबाट २ हजारदेखि साढे ३ हजार मिटरसम्मको भू–उचाइमा, ठूला रूख कम भएको ओसिलो वनमा पाइन्छ । ‘एन्नोटेटेड चेकलिस्ट अफ फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ (सन् २०००) शीर्षक पुस्तक अनुसार, नेपालमा सतुवाको एक प्रजाति र चार उप–प्रजाति पाइएका छन् । जेजति उप–प्रजाति भए पनि सबैलाई सतुवा भनिन्छ । यी सबै प्राकृतिक रूपमा विरलै रूपमा पाइने जैविक सम्पदा हुन् ।

चीनमा सतुवाबारे प्रशस्त अध्ययन–अनुसन्धान भएको देखिन्छ । ती सबैजसो क्यान्सर उपचार सम्बद्ध छन् । ‘इन भिट्रो एन्ड इन भिभो एन्टिक्यान्सर एक्टिभिटी अफ स्टेरोइड सापोनिन्स अफ पेरिस पोलिफाइला’ शीर्षक लेख सतुवाबारे महत्त्वपूर्ण दस्तावेज हो । यो लेख ‘एक्सपेरिमेन्टल अन्कोलोजी’ जर्नलमा सन् २००९ मा प्रकाशित भएको थियो ।

अनुसन्धानकर्ताहरूले सतुवाको पेरिस पोलिफाइला भेराइटी युन्नोन्सिसमा अध्ययन गरेका थिए । प्रयोगका निम्ति सतुवाको जरा गानो अनुसन्धानशालाको प्राकृति तापमानमा सुकाएपश्चात् धूलो बनाइएको थियो । त्यो धूलोलाई अर्गानिक घोलक पदार्थमा घोली निषेचित (एक्सट्र्याक्टेड) गरेपश्चात् क्रोमाटोग्राफी विधिबाट आठ किसिमका स्टेरोइड सापोनिन्स प्राप्त भएको जनाइएको छ ।

त्यसपछि उक्त रसायनलाई मुसाको एडिनोकार्सिनोमा कोषमा परीक्षण गरिएको थियो । लेखको निष्कर्षअनुसार, मानवको फोक्सोमा देखा पर्ने एडेनोकार्सिनोमा क्यान्सर नियन्त्रणका निम्ति पेरिस पोलिफाइला भेराइटी युन्नोन्सिस उपयोगी हुन्छ ।

अर्को अनुसन्धानमा यो वनस्पति स्तन क्यान्सरको उपचारमा पनि उपयोगी सिद्ध हुने नतिजा आएको थियो । यो वनस्पतिको सारतत्त्व प्रयोग भएर सम्भवतः विभिन्न किसिमका क्यान्सर उपचारका निम्ति औषधि बनिसकेको होला । यता, हाम्रा हिमाली भेगमा भने यो वनस्पतिको जरा गानो टाउको दुख्दा, ज्वरो आउँदा, चोटपटक लाग्दा, खटिरा आउँदा र खानामा विष पर्दा औषधिका रूपमा प्रयोग गर्ने गरिन्छ ।

सतुवा खेतीका लागि कडा परिश्रम त आवश्यक पर्दैन, धैर्य भने गर्नुपर्ने हुन्छ । बालीबाट फाइदा एकै वर्षमा लिन सकिन्छ । सप्रिने–नसप्रिने आफ्नो मेहनतमा भर पर्छ । यसको बोट असोजतिर मरेपछि पलाउने नयाँ टुसालाई पत्करले ढाकिदिँदा जाडो र हिउँबाट जोगिन्छ । ती टुसा फागुन–चैतमा हलक्कै बढ्छन् र वैशाख–जेठमा फुल्ने गर्छन् ।

उदय अवकाशप्राप्त शिक्षक हुन् । उनी वनस्पति सम्बन्धी खोज–अनुसन्धानमा असाध्यै रुचि राख्छन् । उनले बारीमा प्रशस्त मात्रामा औषधिजन्य वनस्पति लगाएका छन् । सतुवाको बीउ उमार्ने विधि उदयको नितान्त व्यक्तिगत अभ्यासमा आधारित ‘इनोभेसन’ हो । हुन त अन्यत्र पनि सतुवाको बीउ उमार्ने विधि पत्ता लागेको होला, तर अनुसन्धानात्मक लेख तथा पुस्तकहरूमा यसबारे लेखिएको पाइन्न । यसैले उदयको इन्नोभेसनको बेग्लै महत्त्व छ ।

उदयले पत्ता लगाएको विधिबाट सतुवाजस्तो दुर्लभ वनस्पतिको दिगो उपयोगका कार्यक्रम लागू गरेर राष्ट्रले उल्लेख्य मात्रामा सतुवाको जरा गानो निर्यात गर्न सक्छ । हिमाली भेगका किसानका निम्ति व्यावसायिक रूपमा सतुवा उत्पादन गर्ने वातावरण जुटाउन सके उनीहरू मनग्गे लाभान्वित हुन सक्छन् । अझ, यसमा रहेको जैविक रसायन स्वदेशमै उपयोग गर्ने सके सुनमा सुगन्ध हुनेछ । राष्ट्रले उनको योगदानलाई यथोचित कदर गर्न सक्नुपर्छ । उनी वन र वनस्पतिबारे अथाह ज्ञानको भण्डार हुन्, सम्बद्ध अध्येताका निम्ति गुरु हुन् । गुरुलाई सादर प्रणाम !

प्रकाशित : जेष्ठ २१, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?