२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

'चरित्रहीन’हरूको हुलचाल

पञ्चायती
आहुति

काठमाडौँ — केही वर्षदेखि महिलाहरूले घरपरिवार भताभुंग बनाएका खबर आइरहेछन्– श्रीमान् विदेशमा परिवारका लागि कमाउन गएको, श्रीमती भने देशमा अर्कैसँग सल्केकी ... श्रीमान्ले पठाएको पैसा लिएर प्रेमीसँग टाप ठोकेकी ... ... । त्यसै गरी ‘फलानी केटी त पटकपटक प्रेमी फेर्छे,’ ‘धनाढ्य विवाहित महिलाको त झन् कुरै नगरौं’ जस्ता संवादचाहिँ छापामा समाचार त बन्दैनन् तर व्यावहारिक जीवनमा व्यापक चर्चाको विषयका रूपमा उपस्थित छन् ।

'चरित्रहीन’हरूको हुलचाल

पक्कै पनि महिलाका त्यसप्रकारका क्रियाकलापले बनिबनाउ परिवार, सामाजिक सम्बन्ध र बच्चाहरूको हुर्काइमा निकै अप्ठ्यारा, जोखिम र विघटन ल्याइरहेछन् । त्यसैले त नेपाली समाजको बहुसंख्यक हिस्साले त्यस्ता महिलालाई खराब वा ‘चरित्रहीन’ का रूपमा बुझ्दै प्रचार गरिरहेछ । यहाँसम्म कि, विश्वविद्यालयबाट दीक्षित युवा पुरुष पनि आफूलाई बाई बाई गर्ने पूर्वप्रेमिकालाई खराब नै ठान्छ ।

लोग्ने हुँदाहुँदै अर्को पुरुषसँग ‘सल्किने’ वा टाप ठोक्ने महिला को हुन् ? प्रेमी छोडेर पटक पटक अर्को प्रेमी बनाउने युवती को हुन् ? एकाध व्यक्ति र घटना भए त कुरा बेग्लै हुन्थ्यो, किनकि अपवाद त जुनै विषयमा हुन्छ नै, यो त नेपाली समाजको सांस्कृतिक जीवनमा एउटा मूल विषय वा समस्याका रूपमा आई नै सक्यो ।

रात चौगुणाको भनाइलाई मात गरी वृद्धि भइरहेको यस्ता ‘चरित्रहीन’ महिलाहरूको सांस्कृतिक राजनीति के हो ? ठोस आद्योपान्त शृंखलामा बोल्नुपर्ने आजका समाजशास्क्रीहरूले हो । महिलाका त्यस्ता त्रियाकलापबाट समाजमा परेका असरको समाजशास्त्रीय अध्ययन त पढ्न पाइन्छन् र त्यस्ता अध्ययनले ती महिलाप्रति बढीमा सहानुभूति प्रकट गरेका हुन्छन् । किनकि ती अध्ययनमा ती महिलालाई परिस्थितिको बाध्यात्मक सिकारका रूपमा चित्रण गरिएको हुन्छ ।

लोग्ने विदेश भएकाले यौन आवश्यकता पूर्ति गर्न महिलाहरूले यस्ता घटना घटाइरहेछन् भनी बुझ्ने पंक्ति समाजमा ठूलै पाइन्छ तर नेपालीहरू काम गर्न विदेश अहिले मात्र गएका होइनन् । भारतमा मुगलहरूको शासन हुँदा पनि नेपालीहरू मुग्लान गएकै थिए, बेलायती सेनामा जान थालेदेखिको इतिहास त सबैका अगाडि नै छ ।

त्यति बेला आजको जस्तो घर भताभुंग हुने गरी महिलाहरूको गतिविधि देखा पर्दैनथ्यो । श्रीमान् विदेश गएकाको प्रसंगलाई एकातिर राख्दा, बिहे नै नगरेका शिक्षित युवती र मध्यम वर्गदेखि पुँजीपति वर्गसम्मका विवाहित महिलामध्ये प्रवृत्तिका रूपमा गणना गर्न लायक एउटा हिस्सा पनि पटक पटक प्रेमी फेर्ने र लोग्ने हुँदाहुँदै व्यभिचार भनिने यौन गतिविधिमा संलग्न हुने गरेकै मानिन्छ ।

त्यसकारण श्रीमान् बिदसिएको सूत्रबाट मात्र हेरेर महिलामा विकसित हुँदै गएको यो प्रवृत्तिको जरासम्म पुग्न सकिने देखिँदैन । यथार्थमा महिलाहरूका यस्ता गतिविधिलाई उनीहरूको यौन चाहना पूर्तिको कोणबाट मात्र हेर्नु विशुद्ध पितृसत्तावादी दृष्टिकोण हो । पितृसत्तावादी दृष्टिकोणले महिलालाई मुख्य रूपमा यौनप्रदायक जीवका रूपमा बुझ्छ, जुन गलत रहेको आधुनिक समाजशास्त्रले पुष्टि गरेकै छ ।

वयस्क महिला–पुरुषमा यौनको चाहना स्वाभाविक हो तर पटक पटक व्यक्ति फेर्दै जानु वा थप्दै जानु चाहिँ के हो ? जंगबहादुर राणाले बयालीस घोषित श्रीमती बनाउनु उनको स्वाभाविक आवश्यकता थियो कि शक्तिको रवाफ प्रदर्शन ? रूसी लेखक गोर्कीको ‘बुढी इजरगिल’ शीर्षक कथामा चार पटक प्रेमी फेर्ने इजरगिल नामक महिला पात्र हुन् वा नेपाली समाजमा एक दर्जनभन्दा बढी पटक ‘पोइल’ गएका असाधारण महिला, ती सबैको पुरुष फेर्ने इच्छाका पछाडि मुख्य विषय यौन भेटिन्न, जसरी जंगबहादुर राणाले स्वास्नी थप्ने पुरुषार्थको मुख्य वैचारिकी स्वाभाविक यौन आवश्यकता होइन ।

के सतीप्रथा लागू गर्ने पुरुषले मरेपछिको यौनबारे सोचेको थियो ? के दुधे बालिकालाई स्वास्नी बनाउने बालविवाहको शासक अधबैंसे पुरुषले यौनकै निम्ति त्यस्तो प्रथा रचेको थियो ? इस्लाम समाजमा एक समय रहेको बालिकाको भंगाकुर छेदन प्रथाको वास्तविक कारण यौनसँग सम्बन्धित छ कि पितृसत्तावादी वर्चस्वसँग ? यसरी महिलाहरूमाथि पितृसत्ताले थोपरेका यौन उत्पीडनजन्य प्रथा पुरुषको स्वाभाविक यौन आवश्यकता पूर्तिका निम्ति भन्दा महिलालार्ई पतिनिष्ठ बनाइराख्न, समाजमा पुरुषार्थको उचाइ बढाउन वा सम्पत्तिबाट महिलालाई बेदखल गर्न जस्ता विषयसँग सम्बन्धित छन् ।

जब पाँच हजार वर्षभन्दा लामो पितृसत्तावादी संरचनामा पुरुषले गरेका यौनजन्य समस्त गतिविधि केवल पुरुषको यौन चाहना पूर्तिभन्दा अन्य कुराका लागि बढी थियो भने आज महिलामा विकसित हुँदै गएको कथित चरित्रहीन प्रवृत्तिलाई सिर्फ यौन चाहना पूर्तिको चस्माबाट मात्र कसरी हेर्न मिल्छ ?

धेरै गण्यमान्य मानिसमा चिन्ता व्याप्त छ– घर बिग्रन थाल्यो, समाज बिग्रन थाल्यो । के मजबुत जग भएका घर २०७२ को भूकम्पमा भत्किए ? समानता, समता र न्याय व्याप्त कुन समाज विघटन भयो र ? महिला–पुरुषबीच समानता, स्वतन्त्रता र सम्मानमा आधारित प्रेमपूर्ण घर छ भने त्यो किन भत्किन्छ ? यौन जीवनमा अपवाद लहड वा गल्तीमा कहीँकतै महिला वा पुरुष चिप्लेर लडे पनि क्षमा र आत्मालोचनासहित घर पुनः मजबुत हुँदै जाने प्रक्रिया नै चल्नेछ ।

जुन घर भत्किन लायक नै छ भने त्यसलाई चाँडो भत्काउन किन नखोज्ने ? जुन समाज महिलाका निम्ति झ्यालखानाबाहेक केही होइन, त्यो समाजमाथि आएको अनिष्टलाई स्वागत पो किन नगर्ने ? धेरै मानिस तर्क गर्छन्– बाबुआमाबीच सम्बन्ध अन्त्य हुँदा बच्चाहरूमा असर पर्छ, घर भताभुंग हुँदा महिला–पुरुष दुवैको जीवन लथालिंग हुन्छ । हो, पुरानो संरचना र सोचमा उभिएर हेर्दा यस्तो देखिन्छ र हुन्छ नै तर के परिवर्तनका लागि विद्रोह हुँदा बलिदान अनिवार्य हुन्न ?

के जड बनेर राज गर्ने समाजको पुनःसंरचना ऐय्या–आत्था केही नभई सम्भव छ ? पितृसत्तावादले दासी आमालाई महान् भन्न सिकाएर बच्चा हुर्कायो, आफ्नी आमाले स्वतन्त्रताको व्यावहारिक लडाइँ लड्दा आफूले भोग्ने दुःखलाई जायज ठान्ने बच्चा हुर्काउन चाहिँ किन नहुने ? जीविका र प्रगतिको वास्तविक समस्या राज्यसँग सम्बन्धित हुँदाहुँदै आमा–बाबुबीचको सम्बन्धको प्रकृतिमाथि दोष थोपर्ने सोचवाला पुस्ता हुर्काउने हो र अब ?

विज्ञानले भन्छ– क्रियाको प्रतिक्रिया अनिवार्य हुन्छ । यसको अर्थ फ्रतिक्रिया बदला होइन, बरु त्रियाले नै उत्पन्न गर्ने क्रियाकै अर्को रूप हो । के विगत पाँच हजार वर्षदेखि पितृसक्तात्मक यौन अत्याचारमय त्रियाको प्रतिक्रिया नै उत्पन्न नहुन सम्भव छ ? यौनको मामिलामा पुरुषले गर्दै आएको जथाभाबी फर्माइस युगौंदेखि चुपचाप सहन विवश महिलाको आँतमा आफू पनि स्वतन्त्र भए त थोरै मनलाग्दी गर्दी हुँ भन्ने भावना कदापि आएन होला भनी सोच्नु अमानवीयता हो ।

आज ‘चरित्रहीन’ ठानिएका महिला यदि चरित्रहीन नै हुन् भने आजसम्मको पुरुषचाहिँ हजार गुणा बढी चरित्रहीन र अत्याचारीसमेत हो । महिलाहरूको ‘चरित्रहीनता’ले परिवार भत्किन्छ भने पुरुषको राज रहेको परिवारचाहिँ कति सुन्दर न्यायपूर्ण बनावटको हो र ? त्यस परिवारमा मातेको साँढे हो पुरुष । महिला र बच्चाहरूको स्वतन्त्रतालाई किचिपिची पार्ने त्यो परिवारले स्वतः मानवीय स्वतन्त्रताको विघटनकै प्रक्रिया चलाइआएको हैन ?

समाजको आधा आकाशलाई दासत्वमा दमित बनाउने प्रक्रिया विघटनकै सिलसिला होइन भने के हो त ? आज स्वतन्त्रताको थोरै सहजतामा रहेका महिलाहरूको कथित चरित्रहीनताले गर्दा नै पुरुषको एउटा हिस्साले हाकाहाकी युवतीहरूलाई ‘तिमी कुमारी हौ कि हैनौ’ भनी सोध्न साहस गर्नै नसक्ने अवस्था सिर्जना हुँदै गएको छ किनकि पुरुषहरू युवतीले चाही भने कुनै पनि बेला प्रेमी छाड्छे वा फेर्छे भनी स्वीकार गर्न बाध्य हुँदै छन् ।

विवाहित महिलाहरू पहिले कसैकी स्वास्नी मात्र हुन्थे, अब बिस्तारै कसैकी मात्र स्वास्नीबाट आफ्नै निर्णयमा पनि चल्ने नयाँ महिलामा रूपान्तरण हुँदै छन् । नेपाली समाजको पितृसत्ताका अगाडि आफूलाई ठीक लाग्दा जे पनि गर्न तम्सिने महिलाहरूको ’चरित्रहीनता’ ऐतिहासिक चुनौती हो । अब नेपालको पितृसत्तावादी समाजले यो चुनौतीको सामना कसरी गर्छ, हेर्नचाहिँ बाँकी नै छ ।

आजका कथित चरित्रहीन महिलाहरू यथार्थमा समाज परिवर्तनका पार्श्व विद्रोही हुन् । चालिस वर्षअगाडि पाइन्ट लगाउने नेपालका महिलालाई के मात्रै भनिएन ? सबै गाली र कष्ट उनीहरूले नपचाइदिएका भए आज राजनीतिक पार्टीका महिला नेताले समेत पाइन्ट लगाएर महिला मुक्तिको भाषण गर्ने समय आउन सम्भव थिएन ।

समाजको पींधबाट सुरु हुने समाज परिवर्तनको यात्रा दस्ताबेज र पार्टी बनाएर सुरु हुँदैन, त्यो त वास्तविक जीवन व्यवहारमा पर्ने टकरावहरूबाट सुरु हुन्छ । त्यस्ता पात्रहरूको विद्रोहपछि नै राजनीति, संगठन र त्यसको नकार वा सकारमा कानुनहरू जन्मछन् । हिजोको मुलुकी ऐनको वैचारिकीमा उभिएर हेर्दा आजका ती महिला ‘चरित्रहीन बाइफाले’ हुन् तर भविष्यमा गएर हेर्दाचाहिँ समाज व्यवस्थालाई समानतातिर जान झकझकाउने विद्रोही हुन् ।

कहाँ उभिएर हेर्ने ? रुचि आआफ्नो । यो ’चरित्रहीन’ हरूको विद्रोहको लक्ष्य के हो त ? एक, महिलाले मात्र दिनुपर्ने कुमारीत्वको परीक्षा र यौन पवित्रताको सोचको अन्त्य । दुई, विवाह गर्दा स्वतन्त्र महिलालाई हत्या गरेर केवल पुरुषकी स्वास्नी हुनुपर्ने मान्यता र संरचनाको अन्त्य । र तीन, पुरुषले पत्नीनिष्ठ भएको प्रमाणित गर्न सक्नुपर्ने, हैन भने महिला मात्र पतिनिष्ठ हुनुपर्ने मान्यता र संरचनाको अन्त्य ।

सारमा भन्दा, महिलाहरूको ‘चरित्रहीनता’को विद्रोहले सामन्तवादी महिला–पुरुष सम्बन्धलाई भत्काउँदै छ र समानतामा आधारित सम्बन्धको नयाँ युगको नयाँ करारको ढाँचाको माग गरिरहेछ । ‘चरित्रहीन’ महिलालाई सराप्नुको सट्टा चिसो दिमागले सोच्नु धेरै कल्याणकारी हुन्छ ।


प्रकाशित : जेष्ठ १९, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?