कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

राजा वीरेन्द्रको रातो किताब

टीका धमला

काठमाडौँ — राजा वीरेन्द्रका पालामा राष्ट्रिय मूल नीति, २०४२ को एउटा रातो किताब निकालिएको थियो । जतिसुकै सरकार परिवर्तन भए पनि त्यसै मूल नीतिलाई आधार मानेर नेपाललाई सन् २००० सम्म एसियाली मापदण्डमा पुर्‍याउने उद्देश्य लिइएको थियो । परराष्ट्र नीतिको लक्ष्य प्राप्त गर्न त्यसमा बुँदाहरू उल्लेख थिए, जसमध्ये एउटामा भनिएको थियो— ‘हामीसँग सम्बन्धित सबै अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयमा, सैद्धान्तिक दृढतासाथ आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने’ । 

राजा वीरेन्द्रको रातो किताब

उहाँका सन्देशहरूमा पनि यही नीति पाइन्छ । अहिलेको जस्तो परराष्ट्र नीतिमा दलपिच्छे विचार राजा वीरेन्द्रको शासनकालमा कहिल्यै देखिएन । भारतबाट महाभूकम्पपछि लगाइएको नाकाबन्दीलाई ठूला दलका शीर्षस्थ नेताबाट नाकाबन्दी हो भनेको आजसम्म सुन्न पाइएको छैन । केही पहिला भेनेजुएलाका विषयमा पनि त्यस्तै प्रवृत्ति देखियो । सबै दल र नेतृत्वको एकै आवाज सुन्न पाइएन ।


राष्ट्रियताको सवालमा छिमेकी देशलगायत बाह्य जगत्का नेताहरूको राजा वीरेन्द्रप्रति विश्वास र सद्भाव दरिलो थियो । उहाँपछि सबैलाई मान्य हुने नेतृत्व स्थापित भएन । बहुचर्चित १२ बुँदे सम्झौतापछि त हाम्रो मुलुकको नेतृत्व हामी आफैंले गरिरहेका छौं कि अन्त कसैबाट प्रेरित भइरहेको छ भन्ने शंकाका छिद्र देखा परिरहेका छन् ।


राजा वीरेन्द्रमाथि विशेष केही गर्न नसक्ने, आफ्नो छाता आफैं ओढ्न नसक्ने, कांग्रेसविरुद्ध कम्युनिस्टहरूलाई पालनपोषण गर्ने भन्ने जस्ता गम्भीर आरोप लगाइएको थियो । त्यसबाट उहाँ भने विचलित भएको मैले पाइनँ । व्यक्तित्व शालीन हुनाको कारण सबै नेपालीका लागि उहाँ छहारीका रूपमा प्रस्तुत हुन सक्नुभएको जस्तो मलाई लाग्छ । अब के हामीसँग सबै अटाउन सक्ने कुनै त्यस्तो चौतारी छ ?


राजा वीरेन्द्रले क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा आफ्नो भद्र पहिचान बनाउनुभएको थियो । सार्क स्थापनाका लागि उहाँले खेलेको भूमिका र विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँबाट व्यक्त भएका सन्देशमा पनि त्यो प्रकट भएको पाइन्छ । कुनै पनि सार्वभौम राष्ट्र सानो वा ठूलो हुँदैमा, धनी वा गरिब हुँदैमा, विभेद हुनु हुँदैन, आआफ्नै शैलीमा स्वतन्त्र रूपमा बाँच्न पाउनुपर्छ भन्ने अडानमा उहाँ अडिग हुनुहुन्थ्यो । त्यही कारण पनि छिमेकी राष्ट्रका नेतृत्वहरूसँग कहिलेकाहीं मनमुटाव हुने गर्थ्यो । सन् १९७३ मा नेपालमा राजदूत भएर आएका इन्दिरा गान्धीका नजिकका महाराजाकृष्ण रसगोत्राको ‘अ लाइफ इन डिप्लोमेसी’ शीर्षक पुस्तकमा पनि त्यस्तै संकेत छन् ।


उक्त पुस्तकका अनुसार इन्दिरा गान्धी राजा वीरेन्द्रलाई मन पराउन्नथिन् । कारण राजा वीरेन्द्रले नेपाललाई एउटा स्वतन्त्र राज्यको रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा उभ्याउनुभएको थियो । रसगोत्राको कार्यकालताका नै सिक्किम भारतमा विलय भएको थियो । त्यसको विरोध नेपालमा हुँदा इन्दिरा गान्धीले राजा वीरेन्द्रलाई दोष लगाएकी थिइन् ।


रसगोत्राले राजा वीरेन्द्रलाई ‘हामीसँग राम्रो सम्बन्ध राखेमा अरू कसैसँग चिन्ता लिनुपर्दैन’ भन्ने गरेका रहेछन् । चीनसँग मिलेर नेपालको विकास भएको हेरौंला नि भन्ने जस्ता व्यंग्यात्मक शैली पनि त्यस किताबमा देखिन्छ । राजा वीरेन्द्र जहिले पनि अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुरूप कुनै पनि सार्वभौम राष्ट्र कसैको दबाब र कोपभाजनमा पर्नु हुन्न भन्ने दह्रो दृिष्टकोणसहित प्रस्तुत हुने गर्नुहुन्थ्यो । नेपाल र भारतबीच जेजस्ता उतारचढाव भए पनि राजा वीरेन्द्र भारतीयहरूको दृष्टिकोणमा सम्मानित नै रहनुभयो ।


नेपालको राजनीतिक परिवेशमा राजा वीरेन्द्रले आफू हारेर पनि नेपाल र नेपालीलाई जिताउनुभएको दृष्टान्त २०४६ को परिवर्तनले देखाइसकेको छ । उहाँले अनौपचारिक रूपमा आएको भारतीय प्रस्ताव अस्वीकार गर्दै आफ्नै देशभित्रका दलहरूसँग छलफल गर्छु भनेर मान राख्नुभयो । त्यही भएर त त्यति बेला नेपालको साँचो अन्त कसैको हातमा पुगेको रहेछ भन्ने जस्ता निरीह अभिव्यक्ति हामी कसैले सुन्नुपरेन । हाम्रो शिर झुक्नुपरेन ।


कुनै एक सन्दर्भमा प्रसिद्ध चिनियाँ इतिहासकार फाहयानले लेखेका छन् ‘जुन देशका प्रधानमन्त्री कुनै साधारण झुपडीमा बस्छन्, त्यो देशका जनता ठूलठूला महलमा बस्छन् । जुन देशका प्रधानमन्त्री महलमा बस्छन्, त्यो देशका आम जनता झुपडीमा रहन्छन् ।’ सोहीअनुरूप राजा वीरेन्द्र गरिब देशको धनी राजा भएर बस्नुको औचित्य हुँदैन भन्ने गर्नुहुन्थ्यो । उहाँबाट सधैंभरि यस्तै व्यवहार भएको पाइन्छ । २०६२/६३ को राजनीतिक परिवर्तनपछि सर्वसाधारणलाई खुला गरिएको राजदरबारभित्रको उहाँको वासस्थानबारे सर्वसाधारणले सामाजिक सञ्जालमा गरेका टिप्पणीहरूमा पनि यसको छनक पाइन्छ ।


राजा वीरेन्द्रलाई नजिकबाट चिन्नेहरू उहाँको साधारण जीवनशैली, मितव्ययिता, नेपाल र नेपालीप्रतिको समर्पणबाट प्रभावित छन् । म त्यस्तै एक हुँ । उहाँकै कारण राष्ट्रिय संस्थाहरू खलबलिन नपरेको मैले ठानेको छु । संविधानअनुरूप व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासहितका संस्था राजनीतिक स्वार्थको खेलौना बन्न पुगेका बेला हामी राजा वीरेन्द्रको आचार सम्झिन्छौँ । उहाँको आचारविचार चिरकालसम्म सम्झनायोग्य छ । उहाँको आचरण पनि त्यस्तै थियो किनभने उहाँको सोच प्रस्ट थियो । राष्ट्रिय मूल नीतिबारेको रातो किताब त्यसकै एउटा उदाहरण थियो ।


राजा वीरेन्द्रका अंगरक्षक रहेका लेखक नेपाली सेनाका अवकाशप्राप्त उपरथी हुन् ।

[email protected]

प्रकाशित : जेष्ठ १९, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?