कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

रमजानले जोगाएको मदरसा शिक्षा

सीता मादेम्बा

रमजान मुसलमानहरूको रोजा (उपवास) बस्ने मात्र होइन, परम्परागत संस्था सञ्चालन गर्ने सामूहिक दायित्व बहन गराउने पर्व पनि हो । एकातिर सामाजिक दायित्वबोधले मदरसाजस्तो परम्परागत संस्थाले निरन्तरता पाएको छ, अर्कातिर व्यक्तिगत रिसरागको व्यवस्थापन गर्ने माध्यम पनि बनेको छ । यहाँ मुस्लिम समाजमा रमजान पर्वले मदरसा शिक्षालाई कसरी जोगाएको छ भनेर यसका केही सामाजिक र धार्मिक पक्ष केलाउन खोजिएको छ ।

इस्लाम धर्मका पाँच स्तम्भ हुन्— नमाज (उपासना), रोजा (उपवास), जाकात (अल्लाहको मार्गमा धन खर्च गर), हज र काबा (तीर्थयात्रा र ईश्वरको घर) तथा सहँदा (अल्लाहप्रतिको विश्वास) । यीमध्ये रोजा र जाकातले मदरसा शिक्षालाई निरन्तरता दिन सहयोग गरेको छ । एक वर्षअघि मलाई सुनसरीको छाताबेलीमा चार महिनासम्म मुसलमान समुदायसँग नजिक रहेर रमजान पर्वबारे बुझ्ने मौका मिलेको थियो । त्यस अनुसार, रोजाको अर्थ रोक्नु हो । झैझगडा, ठगी, चोरीजस्ता गलत क्रियाकलापबाट रोजाको समयमा त झन् आफूलाई रोक्नैपर्छ ।


रमजानका बेला आफूसँग भएको अन्नपात र धनको केही हिस्सा दान गर्नाले एक रुपैयाँ बराबर ७० रूपैयाँको सबाव (पुण्य) मिल्ने विश्वास छ । यही विश्वासका कारण अधिकांशले फकिरलाई दान गर्छन्, अल्लाहका नाममा जाकात/फित्रा मदरसालाई बुझाउँछन् ।


पहिले–पहिले रमजानका बेला संकलित रकमको केही हिस्सा गाउँका विपन्न परिवारहरूबीच बाँडिदिने चलन थियो । तर गरिब दरिनु भनेको आत्मसम्मान गुमाउनु हो भन्ने भावना विकसित भएका कारण अचेल अधिकांश विपन्न परिवारले त्यस्तो सहयोग लिन छाडेका छन् ।


जाकातको अर्थ हो— शुद्धीकरण । जाकात गरे वरदान मिल्ने विश्वासमा प्रत्येक मुसलमानले आफ्नो कमाइको (धनसम्पत्ति, गरगहना) २.५ प्रतिशत सामाजिक कार्यमा खर्च गर्छन्, जग्गाको उब्जनी (दाल, गहुँ, आलु, लसुन) बाट ४० किलो बराबर १ किलो मदरसामा जम्मा गर्छन् । जाकात नबुझाएको परिवार मदरसाको सेवासुविधाबाट वञ्चित हुन्छ । त्यस्तै, फित्राबापत परिवारको प्रतिसदस्य बराबर डेढ किलो अन्न पनि बुझाउनुपर्छ । रमजानका बेला संकलित चन्दा, जाकात र फित्रा मदरसाका शिक्षकको तलब र प्रशासनिक कार्यमा खर्च हुन्छ । व्यक्तिले बुझाएको रकम या

अन्न इस्लामिक शिक्षाका माध्यमबाट पुनः समाजमै पुग्ने गर्छ ।


मदरसा शिक्षा सम्बन्धी यस्तो सामाजिक–आर्थिक क्रियाकलापलाई काल पोलानीले सारवान् अर्थव्यवस्था भनेका छन् । धार्मिक–सामाजिक मूल्य–मान्यता समाहित हुने यस्तो अर्थव्यवस्थालाई औपचारिक अर्थव्यवस्थाले बेवास्ता गर्ने गरेको छ । पोलानी र रिचर्ड विल्कले सारवान् अर्थव्यवस्थालाई आफूमा समेट्न नसकेसम्म औपचारिक अर्थव्यवस्था पूर्ण हुन नसक्ने पनि भनेका छन् । सारवान् अर्थव्यवस्थालाई मुसलमानहरूले सदियौंदेखि अभ्यास गर्दै आएका छन्, जसबाट मदरसाजस्तो महत्त्वपूर्ण शैक्षिक संस्थाले निरन्तरता पाइरहेको छ ।


गत वर्ष रमजानको एक महिना लामो बिदा सकिएपछि छाताबेलीमा रहेका बेलाल पब्लिक स्कुल खुलेसँगै मौलानाहरूले रसिदसहित मदरसालाई हिसाब बुझाए । उनीहरू मदरसाको पढाइ नरोकियोस् भन्ने उद्देश्यले चन्दा संकलन गर्न नेपालभरिका मुस्लिम गाउँ गएका थिए ।


यसरी नै प्रत्येक वर्ष रमजानको समयमा नियमित संकलित चन्दा, जाकात र फित्रासँगै वर्षभरि सामाजिक कार्यमार्फत संकलित रकम पनि मदरसाकै लागि खर्च हुन्छ । बेलालमा मात्र होइन, मुलुकभरका अधिकांश मदरसा जाकात र चन्दाबाटै सञ्चालन भइरहेको मौलानाहरूले बताए । मदरसा शिक्षालाई मुलुकको मूलधारको शिक्षामा ल्याइए पनि अन्य सरकारी विद्यालयजस्तो सम्पूर्णतः शिक्षक दरबन्दी र आर्थिक सहयोग पाएको देखिँदैन ।


छाताबेलीमा दुइटा मदरसा छन् । तीमध्ये तब्लिगुल इस्लाममा एक शिक्षकको दरबन्दी सरकारले दिएको छ । बाँकी शिक्षकको तलब र प्रशासनिक खर्च मदरसाको व्यवस्थापन समितिले रमजानका बेला संकलित सहयोगबाटै जुटाइरहेको छ ।


मदरसा शिक्षा पनि सरकारी र निजी विद्यालयको चेपुवामा परेको छ । शिक्षाको स्तर सुधार गर्नुका साटो राज्यले मूलधारमा ल्याउने भनेका कारण सञ्चालनमा अझ चुनौती थपिएको मदरसा सञ्चालकहरूको अनुभव छ ।

प्रकाशित : जेष्ठ १७, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?