कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

'इच्छुक’ का नाममा प्रेमपत्र

सरिता तिवारी

प्रिय कवि ‘इच्छुक’ तिमी यो पत्र पढ्न सक्दैनौ, तर तिम्रो नामबाट केही कुरा भन्नु छ । तिमी हाम्रो बीचमा सशरीर छैनौ तथापि हामीभिक्र छौ । हामीसँगै छौ । तिमी शासकका त्रूर दमन र हत्याको सिकार भयौ । शब्दको सिपाही तिमी, शब्दकै शक्तिका कारण बलिदान भयौ ।

'इच्छुक’ का नाममा प्रेमपत्र

जसरी बलिदान भए ‘मकैको खेती’ लेख्ने कृष्णलाल अधिकारी । जसरी बलिदान भए ‘एक बुलफाइटरको मृत्युमाथि शोकगीत’ लेख्ने स्पेनी जनकवि गार्सिया लोर्का । जसरी बलिदान भए भारतीय क्रान्तिकवि अवतार सिंह पाश आदि ।

विचारको चमक र सौर्यले धपक्क बलेको तिम्रो अनुहार छ, आँखाअघि ।


तिम्रा शब्दहरू छन्, यी ओठमा र तिनको घना कोरस छ, छातीमा । तिम्रा शब्दका चुम्बकले तानिएर, तिम्रो बलिदानको गुरुत्वले खिचिएर बनेका भावका गुम्बजहरू छन्, मथिङ्गलमा । तिमी आज पनि उत्तिकै प्रासंगिक, उत्तिकै आवश्यक छौ । तिम्रा कविताको जरुरत आजको समयलाई पनि उत्तिकै छ, जति हिजो थियो ।


व्यवस्थाको नाम फेरियो । शासकका अनुहार फेरिए, तर नियत र प्रवृत्ति फेरिएन । त्यो राणाजीलाई पनि मात खुवाइदिने भएर निस्कियो । पञ्च र मण्डले भनिनेभन्दा पनि दलाल र भ्रष्ट भएर निस्कियो । र सबैभन्दा दुःखद त के भने आज पनि सयौं इच्छुकहरू ‘प्रतिबन्ध’ का सिक्वेल लेख्दैछन् । ‘अराष्ट्रिय तत्त्व’ र ‘आतंककारी’ का बिल्ला भिराइने अवस्थामा छन् । लेनिन र चे ग्वेभाराका किताब सिरानीमा राख्दै निदाउने कुनै कवि, कुनै कलाकार सुरक्षित छैन यो मुलुकमा, जबकि आफूलाई तिनैका सन्तति दाबी गर्नेहरूको छ शासन ।


एउटा कठोर जुग थियो, तिमीले बाँचेको र हाम्रो भुक्तमानमा अर्को कठोर जुग छ । यद्यपि यो कठोरताको उन्नायक तिम्रै रगतले लेखिएको संविधानको रक्षक ठान्छ आफूलाई । तिम्रै चिहानमाथि फुलेको लोकतन्त्रको अनन्य माली ठान्छ आफूलाई । ऊ बेला–कुबेला तिम्रो नाम लिइरहन्छ र आवश्यकतापिच्छे तिम्रो बलिदानलाई साक्षी राखेर क्रान्तिको उत्तरदानमाथि निर्लज्ज बयानबाजी गर्छ ।


लेनदेन सत्ताको सट्टाबजारी गरुन्जेल कथम् सम्झन्न ऊ तिमीलाई । जब आफ्नो छद्म इरादालाई ढाकछोप गर्नुपर्ने हुन्छ, एकाएक उसलाई तिमीजस्ता अनेक सहिदको नाम सम्झना आउँछ । सबैभन्दा बढी सहिदको व्यापार फस्टाएको यो देशमा यतिखेर तिमी पनि एउटा ‘माल’ बनेका छौ कवि । खास्साको माल ।


यतिबेला तिमीलाई सम्झनु केवल तिम्रो भौतिक कदकाटी सम्झनु निश्चय पनि होइन । तिम्रा कविता र बलिदानको चर्चा गरेर श्रद्धाकर्म दोहोर्‍याउनु मात्रै पनि होइन । यसको जब्बर अर्थ छ । यतिबेला तिमीलाई सम्झनु सत्य र न्यायको पथमा तिमीजस्तै दृढ र प्रतिबद्ध भएर उभिने संकल्प गर्नु हो । तिम्रोजस्तै विचारको सिपाही हुने अभ्यास गर्नु हो ।


मैले सुनेको हो, संसारको सबैभन्दा ठूलो क्रान्ति हो प्रेमको आँट गर्नु । किनभने घृणा गर्न धेरै सजिलो छ, प्रेम गर्न बहुतै कठिन । प्रेमले प्राप्तिको सुख त अवश्यै खोज्छ, त्यसभन्दा बढी खोज्छ प्राप्तिका जोखिममा आइफर्ने सारा अवरोध विरुद्ध लड्ने धैर्य र इच्छाशक्ति ।


तिमी त्यस्तै धैर्य र इच्छाशत्तिको धनी थियौ । जहाँ पाउनुको अर्थ भौतिक रूपले आफ्नै अञ्जुलीमा खस्ने दुई मुठी खुसी र उज्यालो मात्रै हुन्न । जहाँ गुमाउनुको अर्थ हाडमासुको एउटा ज्यान गुमाउनु मात्रै पनि हुन्न । तिमीले साँच्चै विरल कोटीको प्रेम गर्‍यौ । देशको प्रेम, उज्यालोको प्रेम ।


यथास्थिति र जडता विरुद्ध आम मानिसको आँखामा नाच्ने उन्मुक्त घामसँगको प्रेम । वर्ग, जात र लिङ्गका पर्खालले घेरिएको समाजलाई स्वतन्त्रताको सास फेराउने सपनामाथिको प्रेम । तिमीले मानिसहरूलाई उदात्त हृदयले प्रेम गर्‍यौ र नै शब्दको हतियारले क्रान्तिको मोहरीमा हामफाल्न सक्यौ । कवि भएर, सम्पादक भएर, एउटा प्रतिबद्ध शब्दप्रेमी भएर । तिम्रो त्यो प्रेम निजी सुख र आह्लादको मात्रै प्रेम भएको भए, आफ्नै घेराको सीमित प्रेम भएको भए तिमी यसरी भौतिक अवसानपछि पनि कहाँ सम्झिइन्थ्यौ होला र ?


गत वर्ष माओवादी केन्द्र निकट सांस्कृतिक संगठनले कवि ‘इच्छुक’को स्मृतिसभामा बोल्न निम्तो गर्‍यो । मैले सोधेंँ, त्यहाँ को–को आउनुहुन्छ ? आयोजकले उच्चारण गरेका नामहरू प्रायः तिनै–तिनै थिए, जसले आजसम्म आइपुग्दा इच्छुक लगायत सहिदका सपनामाथि तेजाब छर्किने बेहिसाब उद्यम गरेका छन् ।


मैले फेरि सोधेँं, इच्छुकजस्ता सहिदको रगतको व्यापार गर्ने पार्टी र नेतृत्वको आलोचना गर्न पाइने कि नपाइने ? आयोजकले रन्केर जवाफ दिए, फार्टीमाथि आलोचना किन गर्ने ? यो शुद्ध साहित्यिक कार्यक्रम हो, राजनीति नमिसाइकन इच्छुकको व्यत्तित्व, कृतित्वमाथि मात्रै बोल्ने हो ।


मलाई झनक्क रिस उठ्यो । आवेशमै उनीसँग भनेँं, कृृष्ण सेन ‘इच्छुक’ जक्तिको त्रान्तिकारी कविमाथि राजनीति बाहिरको सपाट बहस सम्भव छैन । यस्तो कसरी हुनसक्छ कि इच्छुकमथि बोलियोस् र त्यसमा आजको राजनीतिक बहस गायब होस् । इच्छुकले ज्यान अर्पेको आन्दोलन कुन गतिमा दुर्गत हुँदैछ ? त्यसको चर्चा नगरी इच्छुक एक्लैको निख्लो टिप्पणी कसरी हुनसक्छ ?


राजनीति र साहित्य गोलार्द्धका दुई छेउ हुन् भन्ने धारणा त कलावादी लेखक, समालोचकको मात्रै हो भन्ने मेरो कत्रो भ्रम । आजकल म आफ्ना कतिपय भ्रमको निर्मम शल्यक्रिया गर्न थालेकी छु । साहित्यलाई राजनीतिक संघर्षमा अन्धकार विरुद्धको सलेदो ठान्ने ‘संस्कृतिकर्मी’ जमात नै पछिल्लो समय साहित्यकारलाई केवल साहित्यकै घेरामा सीमित पारेर गरिने व्याख्या चाहन्छन् ।


जनयुद्ध बन्दुकले मात्रै लडिएको थिएन भन्नेहरू नै जनयुद्धको लिस्नो चढेर सत्ताको अटालीमा रम्नेहरूको पक्षमा उभिँदा आफू कहाँ कुन अवस्थामा छु भन्ने कुरा बिर्सन्छन् । यसरी त मूर्ति पूजन गर्ने धर्मभीरु र शालिक पूजा गर्ने तथाकथित ‘भौतिकवादी’ बीच कति पो अन्तर छ र ? तर सत्य यही हो । कविजी, सत्तापोषक चिन्तनका अधिकांश लेखक र संस्कृतिकर्मीहरू तिमीलाई केवल शालिकका रूपमा पुज्नुपर्ने तर्क गर्छन् । तिनलाई तिम्रा विचारले बेहोरेको पहिरो र धरापसँग कुनै लिनुदिनु छैन ।


प्रिय कवि, तिम्रो बलिदान र तिम्रा कविताहरूलाई आजको कुरूप राजनीतिको प्रासंगिकताभित्र तान्नु आलोचनाको एउटा ‘छुच्चो’ हर्कत मात्रै बन्छ, यतिबेला । तर पनि यो छुच्याइँ बारम्बार गरिरहनुपर्छ भन्छु म । साहित्य र संस्कृतिको हवाला दिएर ‘हिमवत्खण्ड साहित्योत्सव’ जस्ता प्रहसनलाई राजकीय मान्यता दिइएको यो बेला जब रुद्राक्ष मालाले सुशोभित ‘कवि’ शासकहरू जन्मछन्, जनताको कवि स्वतः अप्रासंगिक र बुच्चो लाग्छ ।


अझ नमज्जाको कुरा के भने जनतासँग जोडिएको दाबी गर्ने सांस्कृतिक संगठनकै जिम्मेवारहरू उर्दी गर्छन्, इच्छुकलाई केवल कविका रूपमा चिन र चिनाऊ । केवल पत्रकारका रूपमा चिन र चिनाऊ । यो विपर्यास नै आजको सबैभन्दा अश्लील व्यंग्य होइन ?


तीन दिनअघि तिम्रो स्मरणमा आयोजित चितवनको एउटा साहित्यिक सभामा आलोचक प्रेम रिमालले भने– असल र इमानदार कवि, लेखकहरू छिटै मरून् । उनले दोहोर्‍याएर भने– इच्छुकलाई भौतिक दुःख र कष्ट त अवश्य भोग्नुपर्‍यो, तर तिनले मानसिक मृत्यु मर्नुपरेन । तिनले प्रत्येक दिन किस्ता–किस्तामा इमान डगाएर मर्नुपरेन । तिनी महान् बन्ने गौरवसाथ मरे । आजसम्म बाँचेका भए तिनी यति नै महान् बन्थे कि बन्थेनन् ? शंका गर्नुपर्छ ।


आजको चेतनाका ‘इच्छुकहरू’लाई मर्ने हिम्मत जुटाउनभन्दा अघि कविको इमानमा बाँच्नुकै भयानक सकस छ । सत्यको सामना गर्नु र सही बाटो पहिल्याएर ठीक समयमा ठीक दिशामा हिँड्नु हिजोका दिनमा भन्दा चुनौतीपूर्ण छ । तर पनि यो बाटोमा इच्छुकहरू जन्मिँदै छन्, हुर्किंदै छन् । ‘प्रतिबन्ध’ का पर्खालहरू विरुद्ध तिनले गर्ने संकल्प र तिनको लडाइँ कम पेचिलो देखिन्न । त्यसकारण पनि यतिखेर तिम्रो स्मरण पाइला–पाइलामा हुँदैछ ।


लक्ष्मीप्रसाद देवकोटा भन्छन् ‘सहिद कीर्तिपिपासु झिल्के पुतली हो (वीरहरू) ।’ मानिलिऊँ, तिमी कीर्तिपिपासु नै हौला तर तिमीजस्तै चोखो हृदयका मानिसहरूको त्यो पिपासाले चेतनाको नयाँ प्रहर जुरुक्क ब्युँतेको जति सत्य हो, तिमीजस्ता मानिसहरू मर्न तयार नभएको भए आज पनि मजस्ता कैयौं मान्छेहरूका ओठ र औंलामा भाषाको क्रान्ति सम्भव थिएन भन्ने पनि उत्तिकै सत्य हो ।


प्रिय कवि ‘इच्छुक’, मानवतामाथि तिम्रो प्रेम, तिम्रा कविता, तिम्रो संकल्प र तिमीले बुनेर छाडेका सपनालाई सलाम ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?