कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाइकमा कुद्‌याे, फोहोर टिप्यो 

दीप्स शाह

एकाबिहानै म दैलो उघारेर यसो बाहिर हेर्दै मात्रै थिएँ, एउटा बाइक छेउमै टक्क रोकियो । एउटा ठिटो उत्रियो र पन्जा लगाएका हातले सडकपेटीबाट केही टपाटप टिपेर बाइकपछाडिको बाकसमा हाल्यो । अनि कतै बत्तियो । उसले खासमा के गरेको थियो, मैले भेउ पाउन सकिनँ ।

अर्को एकबिहान म हुलाकतिर लम्किँदै थिएँ । एउटा बाइक मेरै छेउ आएर रोकियो, म पनि रोकिएँ । बाइकबाट त्यही पहिलेकै जस्तो ठिटो उत्रियो र मलाई ‘एक्सक्युज मी’ भन्दै सडकपेटीमा लडिरहेको सुकेको फोहोर उठायो । मैले थाहा पाएँ, त्यो फोहोर कुकुरको आची थियो । यो ठिटो पनि काम फत्ते गरेपछि उसै गरी बत्तियो ।

तेल अभिभ छेउको सानो गाउँ मोनोसोनका यी दृश्यले, दायाँ–बायाँ फोहोरको थुप्रो बीचबाट निसासिँदै हिँड्ने मुलुककी प्राणीलाई अचम्ममा पारे । इजरायलमा कुकुरको आची टिप्ने काम पनि गरिने, त्यो पनि ह्यान्डसम लक्का जवानले !

वैदेशिक रोजगारीका लागि भर्खर–भर्खर देश छाडेकी मलाई इजरायलका सडक र गल्ली कसरी सुकिला भएका होलान् भन्ने लागिरहेको थियो । जवाफ त्यस्तो पाइयो ! पहिरनले टल्किनु मात्रै सभ्यताको सूचक कहाँ हुँदो रहेछ र ! कुनै पनि समाज वा समुदाय कति सुसंस्कृत छ भन्ने बुझ्न घरभित्रै पस्नु नपर्ने रहेछ भन्ने बोध भयो, मलाई ।

म हुलाकतिर लम्किइरहेकै थिएँ, पछाडि महिलाको च्याँट्ठिएको स्वर सुनियो, ‘एक्सक्युज मी, तिमीले यो के गरेको ? कुकुरको आची बाटोमा छोड्न लाज लाग्दैन ?’

कारबाट एउटी गोरी कराइरहेकी रहिछ । कुकुर समातेर सडकपेटीमा उभिइरहेकी अर्की महिला अँध्यारो मुख लगाएर बोली, ‘अझै गर्छ कि भनेर पर्खेको । यो फोहोर म फालिहाल्छु नि !’

कुकुरवाली महिला फोहोर तह नलगाई अघि बढ्ली भन्ने लागेर त्यो कारवाली कराएकी रहिछ । कुकुरवालीले हत्त न पत्त आची उठाई र पर सडक किनारमै रहेको बाकसमा फाली ।

म सरासर हुलाक पुगेर आफ्नो पोस्ट बक्स खोलेँ अनि भएजतिका चिठीपत्र बोकेर फर्किएँ । बाटामा ओहोरदोहोर गरुन्जेल मेरो मनमा कुकुरको आची बटुल्ने ठिटो, बाटामा बिस्ट्याउने लुरे कुकुर र उसकी मालिक्नी र अनि

कारवालीका कुरा खेलिरहे ।

िजेल पोतेर कपाल चुच्याएको ठिटो जो कुकुरको आची टिप्ने काम गर्छ, तर उसको अनुहारमा कुनै ग्लानि छैन । बिन्दास आफ्नो काम गरेको छ, बाइकमा उडेको छ, कमाइ गरेको छ । मैले नेपालमा त्यसरी कुकुरको आची बटुल्ने काम आत्मसम्मानपूर्वक गर्न सकुँला ? मुस्किल छ । हाम्रोमा कर्मप्रति सम्मान गर्ने सभ्यताको विकास भएकै छैन । हामी धनमा गरिब छौँ नै, सोचमा झन् कंगाल छौँ ।

कारमा सुइँकेर आउने त्यो गोरीले जसरी कुकुरवालीलाई झपारी, हाम्रोमा त्यसरी सही कुरो सही समयमा उठाउने हिम्मत कसैमा छ ? म आफैंमा छ ? अहँ, छैन ।

नम्र भएर आफ्नो गल्ती स्विकार्दै सफा गर्ने कुकुरवालीको झैं सभ्यता हामीले देखाउन सकौँला ? म देखाउन सकुँला ? हामीमा सरसफाइ र सामाजिक स्वास्थ्य सम्बन्धी नियम अवश्य बनेका होलान्, तर सिकेका कुरा व्यवहारमा उतार्न कसरी सक्नु ! स्वास्थ्यजस्तो संवेदनशील सवालमा सुधार आउन नागरिक स्वयं सचेत र जिम्मेवार हुनुपर्छ भन्ने हेक्का हामीलाई छैन ।


[email protected]

प्रकाशित : जेष्ठ १०, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?