बाइकमा कुद्‌याे, फोहोर टिप्यो 

दीप्स शाह

एकाबिहानै म दैलो उघारेर यसो बाहिर हेर्दै मात्रै थिएँ, एउटा बाइक छेउमै टक्क रोकियो । एउटा ठिटो उत्रियो र पन्जा लगाएका हातले सडकपेटीबाट केही टपाटप टिपेर बाइकपछाडिको बाकसमा हाल्यो । अनि कतै बत्तियो । उसले खासमा के गरेको थियो, मैले भेउ पाउन सकिनँ ।

अर्को एकबिहान म हुलाकतिर लम्किँदै थिएँ । एउटा बाइक मेरै छेउ आएर रोकियो, म पनि रोकिएँ । बाइकबाट त्यही पहिलेकै जस्तो ठिटो उत्रियो र मलाई ‘एक्सक्युज मी’ भन्दै सडकपेटीमा लडिरहेको सुकेको फोहोर उठायो । मैले थाहा पाएँ, त्यो फोहोर कुकुरको आची थियो । यो ठिटो पनि काम फत्ते गरेपछि उसै गरी बत्तियो ।

तेल अभिभ छेउको सानो गाउँ मोनोसोनका यी दृश्यले, दायाँ–बायाँ फोहोरको थुप्रो बीचबाट निसासिँदै हिँड्ने मुलुककी प्राणीलाई अचम्ममा पारे । इजरायलमा कुकुरको आची टिप्ने काम पनि गरिने, त्यो पनि ह्यान्डसम लक्का जवानले !

वैदेशिक रोजगारीका लागि भर्खर–भर्खर देश छाडेकी मलाई इजरायलका सडक र गल्ली कसरी सुकिला भएका होलान् भन्ने लागिरहेको थियो । जवाफ त्यस्तो पाइयो ! पहिरनले टल्किनु मात्रै सभ्यताको सूचक कहाँ हुँदो रहेछ र ! कुनै पनि समाज वा समुदाय कति सुसंस्कृत छ भन्ने बुझ्न घरभित्रै पस्नु नपर्ने रहेछ भन्ने बोध भयो, मलाई ।

म हुलाकतिर लम्किइरहेकै थिएँ, पछाडि महिलाकोच्याँट्ठिएको स्वर सुनियो, ‘एक्सक्युज मी, तिमीले यो के गरेको ? कुकुरको आची बाटोमा छोड्न लाज लाग्दैन ?’

कारबाट एउटी गोरी कराइरहेकी रहिछ । कुकुर समातेर सडकपेटीमा उभिइरहेकी अर्की महिला अँध्यारो मुख लगाएर बोली, ‘अझै गर्छ कि भनेर पर्खेको । यो फोहोर मफालिहाल्छु नि !’

कुकुरवाली महिला फोहोर तह नलगाई अघि बढ्ली भन्ने लागेर त्यो कारवाली कराएकी रहिछ । कुकुरवालीले हत्त न पत्त आची उठाई र पर सडक किनारमै रहेको बाकसमा फाली ।

म सरासर हुलाक पुगेर आफ्नो पोस्ट बक्स खोलेँ अनि भएजतिका चिठीपत्र बोकेर फर्किएँ । बाटामा ओहोरदोहोर गरुन्जेल मेरो मनमा कुकुरको आची बटुल्ने ठिटो, बाटामा बिस्ट्याउने लुरे कुकुर र उसकी मालिक्नी र अनि
कारवालीका कुरा खेलिरहे ।

िजेल पोतेर कपाल चुच्याएको ठिटो जो कुकुरको आची टिप्ने काम गर्छ, तर उसको अनुहारमा कुनै ग्लानि छैन । बिन्दास आफ्नो काम गरेको छ, बाइकमा उडेको छ, कमाइ गरेको छ । मैले नेपालमा त्यसरी कुकुरको आची बटुल्ने काम आत्मसम्मानपूर्वक गर्न सकुँला ? मुस्किल छ । हाम्रोमा कर्मप्रति सम्मान गर्ने सभ्यताको विकास भएकै छैन । हामी धनमा गरिब छौँ नै, सोचमा झन् कंगाल छौँ ।

कारमा सुइँकेर आउने त्यो गोरीले जसरीकुकुरवालीलाई झपारी, हाम्रोमा त्यसरी सही कुरोसही समयमा उठाउने हिम्मत कसैमा छ ? मआफैंमा छ ? अहँ, छैन ।

नम्र भएर आफ्नो गल्ती स्विकार्दै सफा गर्ने कुकुरवालीको झैं सभ्यता हामीले देखाउन सकौँला ? म देखाउन सकुँला ? हामीमा सरसफाइ र सामाजिक स्वास्थ्य सम्बन्धी नियम अवश्य बनेका होलान्, तर सिकेका कुरा व्यवहारमा उतार्न कसरी सक्नु ! स्वास्थ्यजस्तो संवेदनशील सवालमा सुधार आउन नागरिक स्वयं सचेत र जिम्मेवार हुनुपर्छ भन्ने हेक्का हामीलाई छैन ।

deepssanu@gmail.com

प्रकाशित : जेष्ठ १०, २०७६ ०७:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सम्मानले टिक्छ सम्बन्ध 

दीप्स शाह

नेपालमा कुनै चाड नजिकिँदै गरेको दिन म कलिङ कार्डबाट घरमा फोन गर्न सार्वजनिक बुथमा पुगेँ । इजरायलको त्यो सेन्ट्रल बस पार्कको छैटौँ तलामा लहरै रहेका बुथमा कतै अपि|mकी, कतै भारतीय, कतै श्रीलंकाली, फिलिपिनो र नेपालीहरू वार्तामा मग्न रहेछन् । अलिक परको बुथमा ३५ वर्षजतिकी नेपाली दिदी फोनवार्तामा थिइन् ।


पालो कुर्नैपर्ने भएपछि म तिनै दिदीतिर गएँ । फोनमा दिदीका अन्तरंग कुरा पनि हुन सक्थे, त्यसैले उनीभन्दा अलि वरै उभिएँ । दिदी निकैच्याँट्ठिएर बोल्दै थिइन् । कसैको आन्तरिक कुरो सुन्ने धृष्टता नगरेकी भए पनि फोनको पालोको लोभले म सबै कुरा सुन्न बाध्य भएँ । उनी सायद आफ्ना नानीहरूलाई अह्राउँदै थिइन्, 'आमैले केके गर्छिन्, कतिको पैसा उरलधुरल गर्छिन्, चियो गर्नू है !

अलच्छिनीलाई के माया अर्काले कमा'को पैसाको !' उनले सासूआमाको कुरा गरेकी हुन् भनी ठम्याउन मलाई गाह्रो भएन । नानीहरूलाई त्यस्तो शब्दावली सिकाउने ती दिदी आफू चाहिँ कति असल बुहारी होलिन् ! स्वावलम्बी बनेर दुई पैसा आर्जन गरेकामा उनलाई निकै दम्भ रहेको प्रतीत हुन्थ्यो । 'अलच्छिनी' शब्दमा रिँगिरहेको मेरो ध्यान दिदीको 'फेरि पैसा ?' वाक्यांशले तान्यो । सायद श्रीमान्ले पैसा पठाउन भनेका थिए । ती दिदी यति भयानक शब्दहरू ओकल्दै थिइन्, म स्तब्ध भएँ । बीचबीचमा सासूलाई पनि अपमानको वेदीमा चढाउँदै थिइन्, 'त्यो आमा भनाउँदीलाई काखी च्यापिरहू न ! मैले छोडपत्र गरिनछु भने के !'

झिटीगुन्टी बन्धक राखेर, साहु ढाँटेर, परिवारै दाउमा राखेर आशाको दियालो बाली श्रीमतीलाई कमाउन पठाएपछि श्रीमान्ले उसबाट पैसाको आशा नगरे कोसँग गर्ने ? श्रीमान् जुवाडे थिए होलान्, श्रीमतीको कमाइ कतै बगाएका होलान्, तर त्यसरी सार्वजनिक बुथमा उभिएर श्रीमान्लाई हकार्नु बुद्धिमानी ठहथ्र्यो ? तुच्छ शब्द, अपमान र तीतो व्यवहारले मान्छे कहिल्यै सुध्रिँदैन, न त सम्बन्ध बिगि्रनबाट जोगिन्छ ।

हाम्रो संस्कारले साँघुरा मान्यतालाई काखी च्यापेकै भए पनि केही यस्ता मूल्यवान् पाठ पनि आत्मसात् गरेको छ, जसले हामीले आफन्त, मान्यजन र अलगअलग नाता-सम्बन्धमा के कसरी चल्नुपर्छ भन्ने बोध गराउँछ । आफ्नै वर्गलाई सम्मान गर्न नसक्ने महिलाले अर्को कुनै समाजसँग हक माग्न सक्दैनन् । आमासमानकी सासूलाई आफ्नो जीवनको काँडा मान्नेलाई नारी हकहित र समानताको सपना देख्ने अधिकार पनि हुन्न । लाग्यो- अवसरले मान्छेलाई यति बिगार्ने हो भने, यति अहंकारी बनाउने हो भने बरु मान्छे अज्ञानी नै रहेको राम्रो । ती दिदी झन् अमिली हुँदै थिइन्, म फोनको पालो छोडेर अन्तै लागेँ ।

'पुरुषको काम कमाइ गर्ने, महिलाको काम घरगृहस्थी थमाइ गर्ने' उखान शनैःशनैः विस्थापित हुँदै छ । केही वर्षयता उल्लेख्य महिलाहरू घरको संघार नाघेर कामकाजी बन्न र स्वावलम्बी हुन थालेकाले यस्ता थोत्रा र निरंकुशी उखानटुक्का मिथ्या बन्दै गएका छन् । यसो हुनुमा विश्वपरिवेशमा आएको छलाङ, शिक्षा र स्वास्थ्यको व्यापकता, राजनीतिक-सामाजिक परिवर्तन, महिला स्वयंमा आएको सचेतनाको ठूलो हात छ । अबका नेपाली महिला परदेशसम्म पुगेर अर्थोपार्जन गरी परिवार र समाजलाई टेवा दिन सक्ने भएका छन् । भलै यो क्रम सुरुआती चरणमा छ, तर आमा-हजुरआमा पुस्ताका तुलनामा अहिले आउँदै गरेको परिवर्तनलाई सन्तोषपूर्ण नै मान्नुपर्छ ।

नारी-पुरुष समानताका बाटामा उपलब्धि बढ्दै गए पनि कतिपय नकारात्मक अवस्थासमेत सिर्जना भइरहेका छन् । आधाजसो शिक्षित र कामकाजी महिलाहरूको मानसिकता कस्तो पनि छ भने समानताको अर्थ लोग्ने या परिवारका अन्य सदस्यलाई हेप्नु हो । मानौं, स्वावलम्बी हुनुको अर्थ आफूले मान्नुपर्ने नाताकुटुम्बलाई उचित सम्मान दिनु नपर्ने अवस्था हो ।

समानताको अर्थ कसैले कसैलाई बरोबर हेप्नु नभएर बरोबर सम्मान गर्नु हो । लोग्ने र परिवारबाट सधैं हेलित-पेलित महिलाहरू पहिले आर्तनाद गर्थे- पुरुष समाजले नारी-पुरुष समानताको अर्थ बुझ्दैन या बुझ्न चाहँदैन, तिनले नारीलाई हेप्छन् र खुट्टामुनि राख्न खोज्छन् । अहिले जब तिनै महिलाले समानताको आडमा लोग्ने या परिवारका अन्य सदस्यलाई उचित सम्मान गर्न जान्दैनन् या चाहँदैनन् भने हिजो नबुझेर हेप्ने पुरुष र आज बुझेँ भन्ने नारीमा के नै भिन्नता रह्यो ?

घरदेशमा रहेका कामकाजी महिलाको भन्दा परदेशमा पसिना पोखिरहेका आधुनिक शिक्षित महिलाहरूको अनुभव र कमाइ तुलनात्मक रूपमा उच्च हुन्छ नै, यसको मतलब अनुभवी र आर्थिक मजबुती हुनु घरपरिवार र समाजका आवश्यक संस्कार लत्याउनु होइन । यस्ता सबै महिला गलत छैनन् र हुन्नन् पनि तर प्रतिनिधि गल्तीले धेरै असल कुरा छोपिदिइरहेको हुन्छ ।

समानता, आधुनिकता जतिसुकै आओस्, परिवार र समाज एउटा निश्चित मापदण्डले घेरिइरहेकै हुन्छ, जहाँ अलगअलग सम्बन्ध र नाताअनुसारको सम्बोधन, सम्मान र शिष्टता हुन्छ । सुन्दर, सुखी र सफल परिवार अनि असल समाज चाहने हो भने त्यसलाई हामीले पालना गर्नैपर्छ । नत्र समानता र आधुनिकताका नाममा हामी झन्झन् पछि धकेलिइरहेका हुन्छौँ, एक्लिँदै गइरहेका हुन्छौँ । त्यस बेला दम्भले फुलेर पोको पारेको धनले न परिवार र सम्बन्ध किन्न सकिन्छ, न त जिन्दगीको सन्तुष्टि नै हासिल हुन्छ ।कसैलाई सम्मान गर्नु भनेको अलिकति झुक्नु हो र यसो गर्दा कोही सानो हुँदैन । पारिवारिक मामिलामा त झुक्न जान्नैपर्छ, किनकि सम्मानबिना कुनै सम्बन्ध चल्न सक्दैन ।

deepssanu@gmail.com

प्रकाशित : वैशाख २२, २०७६ ०८:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT