थिंक ट्यांकको भुलभुलैया

लसकुस
राजेन्द्र महर्जन

समाजशास्त्री चैतन्य मिश्रले सात महिनामै नीति अध्ययन प्रतिष्ठानको संयोजक पदबाट हठात् राजीनामा दिएपछि सरकारी ‘थिंक ट्यांक’ र सत्ताधीशहरूको रवैयाबारे अनेक प्रश्न उठेका छन् ।

मिश्रका निकटतम सहकर्मी देवेन्द्रराज पाण्डेले राजीनामाको खबर सार्वजनिक हुनुअघि नै ट्वीट गर्दै प्रधानमन्त्री केपी ओलीलाई सोधेका छन्– ‘हाम्रो मुलुकका मूर्धन्यबौद्धिक, प्राज्ञिक चैतन्य मिश्रले नीति आयोगबाटराजीनामा गरेछन् । गतिला व्यक्ति यसरी पन्छनुपर्ने बाध्यता किन पर्‍यो, यसबारे विचार, उपचार गर्ने कि ‘हावाले बढार्‍यो’ भनेर हाइसन्चो मान्ने ?२केपीशर्माओलीज्यू, तपैंको तजबिज ।’

मुलुकका ख्यातिप्राप्त बुद्धिजीवीहरूलाई प्रतिष्ठित पद दिएर सत्ताको कुरूप अनुहारमा गहनाजस्तै सजाउने, तर पद दिइसकेपछि बेवास्ता गर्दै राजीनामा दिन बाध्य पार्ने घटनाफेरि दोहोरिएको छ । २०५७ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सल्लाहकार नियुक्त भएका राजनीतिशास्त्री कृष्ण खनालले राजीनामा दिएका थिए । त्यस्तै २०६५ मा प्रधानमन्त्री पुष्पकमलदाहालका पालामा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भूगोलविद् पीताम्बर शर्माले सय दिनमै आयोगछाडेका थिए ।

सत्ताधीशहरूले आवश्यक समय नै नदिने र कुरै नसुन्ने भएकाले खनाल र शर्मा पदबाट सर्लक्कै बाहिरिएका थिए । मिश्रको बहिर्गमनको हकमा पनि सत्तासीनहरूको बेवास्ता प्रस्टै देखिन्छ, ‘आफ्नै कारणले राजीनामा दिएको’ जनाइए पनि । प्रतिष्ठानको व्यवस्थापनमाभएका बाधा–अड्चन, प्रशासनिक प्रक्रियाका हजार झन्झटसँगै राजनीतिक नेतृत्वको अरुचि–बेवास्ता यसबीचका भेटघाट र कुराकानीमा प्रकट हुने उनका शब्द र हाउभाउमा झल्किन्थ्यो ।

थिंक ट्यांकका हाँक
नेपालका सत्ताधीशहरूमा राज्यसमर्थित थिंक ट्यांक स्थापना गर्ने सपना र जपनाको कुनै खडेरी छैन । थिंक ट्यांक स्थापनाको रटनालाई व्यवहारमा लागू गर्ने क्रममा प्रधानमन्त्रीले थालेको कोसिस अन्ततः राजनीतिक बेवास्ताको सिकार भएको उदाहरणको कमी पनि छैन ।

२०७४ चैतमा ओलीले ‘प्रधानमन्त्री कार्यालय अन्तर्गत स्वतन्त्र विज्ञ समूह’ स्थापना गर्ने सपना पहिलोपटक सार्वजनिक गरेलगत्तै इतिहासकार प्रत्यूष वन्तले सत्ताधीशहरूबाट हुने बेवास्ताको राजनीतिलाई थिंक ट्यांकका चुनौतीका रूपमा तेर्स्याएका थिए ।

उनले प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले घोषणा गरेको सुरक्षा, रणनीति र वैदेशिक मामिलाबारे अध्ययन गर्ने खालका थिंक ट्यांकले सिंहदरबारका छिँडीहरूमै मृत्युवरण गरेको तथ्य उजागर गरेका थिए ।

थिंक ट्यांक निर्माणका चुनौतीबारे वन्तले इंगित गरेझैँ बृहत् स्वरूपमा समाज विज्ञानका आधारमा गरिने अध्ययन–अनुसन्धान र त्यसका नीतिगत सुझावका लागि राज्यले कम मात्रै प्रोत्साहित गर्ने चलन छ । आर्थिक रूपमा बलियो जग भएको र प्रशासनिक रूपमा स्वायत्तता र स्वतन्त्रता भएको संस्था निर्माण गर्ने जटिलता छँदै छ, त्यस्ता संस्थाले दिने आलोचनात्मक नीतिगत सुझाव सुन्न सक्ने संस्कृतिको अभाव पनि अर्को हाँक हो ।

सबै कुरा बाँडीचुँडी खाने दलीय भागबन्डाको कुप्रथाबीच सक्षम अनुसन्धाताहरूको भर्ती आफैमा अर्को समस्या हो । थिंकट्यांकहरूको आर्थिक–प्रशासनिक नीति निर्णय र क्रियान्वयनमा स्वायत्तताको अभाव टड्कारो देखिएको छ । सुरुदेखि नै गम्भीर ध्यान दिइएको भए स्वायत्तताको समस्या हल गर्नै नसकिने विषय पनि रहने थिएन ।

स्वाभिमानको चोट
नेकपाको दुईतिहाइको सरकारले अगाडि सारेको स्थायित्व र समृद्धिको नारा र त्यसलाई सफल तुल्याउन स्थापना गरिएको प्रतिष्ठानको संरचना र चरित्रबारे पनि प्रधानमन्त्री ओली र संयोजक मिश्रबीच खासै मतभिन्नता थिएन ।

प्रतिष्ठानको अवधारणा आफैले कोरेका मिश्रले ‘गति सुस्त भए पनि दुईतिहाइको सरकार सही बाटोमा रहेको’ विचार पोख्दै, ओलीका पानीजहाज सपना र रेल गफलाई समर्थन गर्दै आएको तथ्य सर्वविदितै छ । राजीनामापछि पनि राजनीतिज्ञहरू द्रष्टा हुनुपर्ने र ‘इन्स्पायरिङ’ व्यक्तित्वको धनी हुनुपर्ने भन्न नचुकेका मिश्रको व्यक्तित्व र विचारप्रति प्रधानमन्त्री ओलीमा खासै नकारात्मक भाव हुने सम्भावना पनि कम छ ।

तर गहन अनुसन्धानको काम गर्ने, त्यसका लागि स्वायत्तता र स्वतन्त्रता दिने, राज्यका तर्फबाट हस्तक्षेपबिना प्राज्ञिक कर्मलाई सघाउपघाउ गर्ने मामिलामा ओली सरकारको अरुचि वा बेवास्ताले मिश्रको स्वाभिमानमा चोट पारेको अनुमान गर्न कठिन छैन ।

स्थायित्व र समृद्धिको नारामा सहमति हुँदाहुँदै पनि संस्थाको स्वायत्तता, कर्मचारीतन्त्रसँगै सरकारको व्यवहारमा देखिएका समस्याका कारण राजीनामा प्रकरणसम्म घटनाक्रम विकास हुनु समृद्धिको यात्रामा निस्केको सरकारका लागि गम्भीर धक्का साबित भएको छ ।

सरकार र सरकारी प्रशासनमा स्वतन्त्र–स्वायत्त रूपमा काम गर्ने संस्कृतिको अभाव, महिनौंदिनसम्म पनि कर्मचारीभर्ना सम्बन्धी कार्यविधि निर्माणमा ढिलाइ, ससाना कामकालागि पनि अर्थ मन्त्रालयका कर्मचारीको जी–हजुरी गर्नुपर्नेर एक कर्मचारी नियुक्तिका लागि पनि मन्त्रालयपिच्छे फाइलबोकेर धाउनुपर्ने बाध्यता समृद्धिको याक्राका त्रममा दिनदिनै देखिने कटु यथार्थ हो । यस्तो बाध्यता ‘स्वतन्त्र विज्ञ समूह’का लागि उचित थिएन नै, प्राज्ञिक व्यक्तित्व भएका संयोजकको अहम्का लागि पनि स्वीकार्य थिएन ।

सरकारको बेवास्ता
स्वतन्त्र भनिएको प्रतिष्ठान आफैले आफ्नो कार्यविधि बनाउन नसक्ने, आफूले नियुक्त गर्ने अनुसन्धाता र विज्ञहरूको तलब पनि आफैले तोक्न नसक्ने, निजामती कर्मचारीको तलब स्केलभन्दा बेसी पैसा दिएर विज्ञता र दक्षतालाई आकर्षित गर्न नसक्ने व्यवधानलाई कर्मचारीतन्त्रको
धिङ्न्याइँ मात्रै भन्नु उचित हुन्न ।

प्रतिष्ठानलाई दलीय भागबन्डा नगर्ने, दलगत र सरकारी हस्तक्षेपबाट मुक्त गर्ने सुनिश्चितता सरकारबाट केकति मात्रामा भयो, स्पष्ट हुँदै जाला । तर यस प्रतिष्ठानलाई ससाना कुरामा पनि कर्मचारीतन्त्रले गर्ने हस्तक्षेपबाट स्वतन्त्र बनाउन नसकेको वास्तविकता भने नराम्ररी उजागर भएको छ ।

समाजशास्त्री मिश्रसँग समाजशास्त्र–मानवशास्त्र विभाग एक वर्ष चलाउने र राष्ट्रिय योजना आयोगमा नौ महिना बस्नेबाहेक अरू प्रशासनिक व्यवस्थापनको अनुभव थिएन । त्यसैले पनि उनी कर्मचारीतन्त्रले अड्काउने हलो वा कर्मचारी संयन्त्रले दिने दुःखबारे अनुभवहीन हुनुलाई अनौठो मान्न नसकिएला । कर्मचारीतन्त्रले हान्ने छिर्केबाट प्रधानमन्त्री र उनको कार्यालय ‘बेखबर’ हुनुचाहिँ पक्कै अनौठो हो ।

प्रतिष्ठानमा राजनीतिक हस्तक्षेप नहुने प्रधानमन्त्री ओलीको वचन बालबालिकाको खेलको ‘स्ट्याच्यु’ भइदियो । कर्मचारीतन्त्रबाट हस्तक्षेप हुँदा पनि सरकार सुस्त मात्रै होइन, हलचलै नगर्ने हदसम्म स्थिर भइदियो । प्रतिष्ठानको स्वायत्तता र स्वतन्त्र कामकारबाहीका लागि पनि प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयबाट ऐनमौकामा कुनै हस्तक्षेप नहुनु आफैमा चरम बेवास्ताको नमुना हो ।

अत्यन्त दलीयकरण भएको, खासमा सत्तासीन दलकै भ्रातृ संगठनका रूपमा अंगीकरण भएको कर्मचारीतन्त्र सरकारकै त्यस्तो संयन्त्र हो, जो स्वायत्तता र स्वतन्त्रताको विरोधी देखिएको छ । नोकरशाहीतन्त्रका रूपमा बदनाम रहेको यो तन्त्र कुनै संस्था मात्रै होइन, विशिष्ट संस्कृति–प्रवृत्ति पनि हो ।

राजनीतिक पार्टीदेखि सरकारसम्म हावी रहेको नोकरशाही प्रवृत्तिले स्वायत्तता र स्वतन्त्रतासँगै प्राज्ञिक अध्ययन–अनुसन्धानलाई पनि मलजल गर्दैन । यस अर्थमा कर्मचारीतन्त्रको हस्तक्षेप र त्यसप्रति सरकारको अहस्तक्षेप वा बेवास्ता एउटै सिक्काका दुइटा पाटा हुन् ।

यसले पक्कै पनि थिंक ट्यांकको ‘अधिकारसम्पन्न अवस्था’ र ‘स्वतन्त्र ढंगले काम कार्यसम्पादन गर्न दिने’ ओलीको वचनमाथि कठोर प्रश्न उठाएको छ । यसले अधिकार प्रत्यायोजन गर्ने अख्तियारवाला प्रधानमन्त्री कार्यालय र सरकारका नीति र नियतमाथिको बढ्दो सन्देहलाई जब्बर बनाएको छ ।

२१० दिनमा मोहभंग ?
कुनै शंका छैन, दुईतिहाइको नेकपा सरकार बनेपछि धेरैजसो वामपन्थी पृष्ठभूमिका बुद्धिजीवीमा सरकारी नीति– निर्णयमा जनमुखीपना र प्रगतिशीलता, राजनीतिक रूपमा स्थायित्व र आर्थिक रूपमा समृद्धिको ‘समाजवादी आशावाद’ जागेकै थियो । संविधान र सरकारको ‘समाजवाद उन्मुखता’बारे प्रश्न उठाउनेहरू पनि राजनीतिक स्थायित्व र आर्थिक समृद्धिसँगै ओलीको राष्ट्रवादी नारामा लट्ठिएकै थिए ।

यही राजनीतिक–सांस्कृतिक भावभूमिमा सत्ताको प्रतिष्ठानसँग समाजशास्त्री मिश्रको निकटता बढेको हो, जबकि वाम पृष्ठभूमिका हुँदाहुँदै पनि उनी पछिल्लो समय सत्ता चलाउने राजनीतिक दलका लेनिनवादी सैद्धान्तिकी र माओवादी आचरणका कडा आलोचक हुन् ।

आफूले हाँकेको प्रतिष्ठानबाट अध्ययन–अनुसन्धानका आधारमा बलियो नीतिगत सुझाव दिन सकिने र सरकार सही वा बेसही बाटामा लागेको भए खबरदारी पनि गर्न सकिने आत्मविश्वाससहित पद सम्हालेका मिश्रमा यति छिट्टै मोहभंग हुनु धेरैका लागि आश्चर्यको विषय भएको हुनसक्छ ।

खासमा प्रधानमन्त्री ओलीले उरालेका नारा मिथ्या मोह उत्पादन गर्ने खालकै थिए । त्यसमा पनि दुईतिहाइको सरकार स्वतन्त्र थिंक ट्यांकले दिने प्रमाणमा आधारित नीतिगत सुझाव र आलोचनात्मक राय–सल्लाहको व्यग्र प्रतीक्षामा रहेको भ्रमजाल पनि कम आकर्षक थिएन ।

मानवशास्त्री सञ्जीव पोखरेलको भाषामा, ‘मिश्रले प्रधानमन्त्री ओलीलाई नीति, समावेशिता वा प्रतिष्ठानमा विश्वास छ भन्ने विश्वास गरेका थिए । यो विश्वासको पर्दा च्यातिन मोटामोटी २१० दिन लागेछ ।’

संस्थामाथि नियन्त्रण
नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री दाहालले जसरी पार्टी र सरकारको सत्ता सञ्चालन गरिरहेका छन्, त्यसका लागि कुनै संस्था, कुनै संरचना–संयन्त्र, कुनै प्रक्रिया–पद्धति, कुनै सल्लाह–सुझाव, कुनै नीति–निर्णय, कुनै सामूहिक चिन्तन–मनन पनि चाहिँदैन ।

दुई जना सेयरहोल्डरको प्राइभेट कम्पनीजस्ता पार्टी र सरकार चलाउन केही थान हवाई सपना, केही गोटा उडन्ते गफ, केही संख्यामा लोभलाग्दा नारा भए पुग्छ । पार्टी र सरकारसँगै राजनीतिकै ‘प्राइभेटाइजेसन’ (निजीकरण) गर्न खप्पिस तथाकथित समाजवादी–साम्यवादी अध्यक्षहरू नयाँ–पुराना संस्था, संरचना र संयन्त्रको स्वत्वहरणमा माहिर देखिएका छन् ।

पार्टी र सरकारभित्रका होऊन् या बाहिरका, कुनै पनि संस्थालाई भ्रातृ–भगिनी संगठनमा फेर्ने, तिनको स्वतन्त्रता र स्वायत्तता अपहरण गर्ने तथा आफ्ना आसेपासे भर्ती गर्दै पोस्ने उनीहरूको उफक्रम जारी छ ।

अनेक निजी स्वार्थ–समूहका हितलाई ध्यानमा राखेर संस्था र सार्वजनिक वृत्तलाई नियन्त्रण गर्ने त्रममा अख्तियारदेखि अदालतसम्म, विश्वविद्यालयदेखि मानव अधिकार आयोगसम्म, सडकदेखि मिडिया काउन्सिलसम्म सरकारले प्रभुत्वकारी शक्तिका नीति, नियत र निर्णय छर्लंगै प्रकट गर्दै छ ।

ती स्वायत्त संस्था र संयन्त्रलाई सत्ताधीशहरूले निजीकरण गर्ने अभियानमा सरकारकै अंगजसरी नियन्त्रण गर्न खोज्दा तिनका स्वायत्त, स्वतन्त्र र आलोचनात्मक भूमिका कमजोर हुने मात्रै होइन, सरकार निरंकुश र राज्यतन्त्र तानाशाही बन्न पुग्छ ।

सार्वजनिक वृत्त र संस्थाका स्वायत्तता, स्वतन्त्रता र आलोचनात्मक मतलाई खुम्च्याइयो भने लोकतन्त्र खुम्चिएर दलतन्त्रमा, दलतन्त्र पनि खुम्चिएर ओलीतन्त्रमा सीमित हुने खतराको तरबार आम जनताको शिरमाथि झुन्डिने पक्का छ ।

दुईतिहाइको महान् दम्भ र सिंहदरबारको सदाबहार शासकको महाभ्रमका कारण ओली सरकार सर्वत्र नियन्त्रणकारी भूमिका खेल्न अग्रसर रहेका बेला प्रतिष्ठानका संयोजकको राजीनामा प्रकरण सार्वजनिक भएको हो । मिश्रको राजीनामाले ओलीतन्त्र स्थापना गर्ने प्रधानमन्त्रीको सपनामा ठेस लागेको हुनुफर्छ ।

ट्वीटर : @rmaharjan72

प्रकाशित : जेष्ठ ७, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्

समाजवादी मुखुन्डोमा पुँजीवाद

डा. नारायण खड्का

‍ — सबै प्रकारका विभेद, शोषण र अन्याय अन्त्य गर्दै आर्थिक समानता र सामाजिक न्यायको सिद्धान्त अनुरूप समाजको उत्थान गर्ने सिद्धान्त, नीति र कार्यक्रम नै समाजवाद हो । संविधानको प्रस्तावना र राज्यका निर्देशक सिद्धान्तमा ‘समाजवाद’ शब्द समावेश गर्नुभन्दा धेरै अघिदेखि अर्थात् राजनीतिक दलहरूले आफ्नो स्थापनाकालदेखि नै समाजवादलाई आदर्श र सिद्धान्त मान्दै आएका छन् ।

२०४८ सम्म नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीका विभिन्न घटकबीच समाजवादी सिद्धान्त र स्वरूपमा आधारभूत भिन्नता थियो । २०४८ पछि भने कांग्रेस र कम्युनिस्ट दुवैले प्रजातान्त्रिक समाजवादी पद्धति अवलम्बन गरेको दुहाई दिँदै आएका छन् ।

नीतिगत हस्तक्षेपद्वारा गरिब र आर्थिक तथा जातीय विभेदमा परेकाहरूका लागि लोकप्रिय कार्यक्रम लागू गर्नु समाजवाद हो । यथार्थमा यो चुनावी रणनीति र व्यक्तिगत लोकप्रियताको आडम्बरी अस्त्र हो । राजनीतिक दलका नेतृत्व पंक्तिमा पुँजीवादी चरित्र हावी भएकाले समाजवाद अन्योलपूर्ण बनेको हो ।

राजनीतिमार्फत सत्ता र शक्तिमा पुगी राज्यको साधनस्रोतमा प्रभाव पारेर धन–सम्पत्ति आर्जन गर्नु पुँजीवादी चरित्र हो । राजनीतिक नेतृत्वले उद्योगी, व्यवसायी, जमिनदार, साहू–महाजन र ठेकदारहरूसँग दुईपक्षीय फाइदा लिने–दिने कार्य पुँजीवादका चरित्र हुन् । राजनीतिक पुँजीवादमा राज्य संयन्त्रमा नेतृत्वदायी भूमिकामा रहेकाहरूले आफ्नो राजनीतिक, आर्थिक हित प्रवर्धन गर्न तिरो/कुत उठाउँछन् र कमिसनखोरहरूसँग साँठगाँठ गर्छन् ।

राजनीतिक अर्थतन्क्रको यो छद्म त्रियाकलापको प्रसंग लोकतान्त्रिक बजार अर्थतन्त्रसंँग सम्बन्धित छ । परम्परावादी अर्थशास्त्रीहरू यसलाई भ्रष्टाचार मान्छन् । यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने बताउँछन् । नव–उदारवादीहरू भने कुत (नाफा) कहाँ खर्च हुन्छ, त्यसले यसको नकारात्मक या सकारात्मक असर निश्चित गर्छ भन्छन् ।

नेपालका सन्दर्भमा यसलाई शुद्ध राजनीति र अर्थतन्त्रको विषयभन्दा पनि बढी राजनीतिक–समाजशास्त्रीय विषयका रूपमा हेर्न आवश्यक छ । पुँजीवादी राजनीतिक चरित्र २००७ अघिको सामन्ती उत्पादन सम्बन्धको शक्तिशाली विरासत हो ।

पाँचौं शताब्दीदेखि बाह्रौं शताब्दीसम्म युरोपमा (जस्तो—रोमन साम्राज्य) कायम सामाजिक, आर्थिक र राजनीतिक व्यवस्थालाई सामन्तवाद भनी स्विकारिएको छ । नेपाली समाजको राजनीतिक–आर्थिक संरचनाको इतिहास पनि सामन्तवादी नै छ ।

प्राचीन समयदेखि नै धर्मशास्त्र र नीतिमा आधारित परम्परा र मान्यता अनुसार समाज चल्दै आएको छ । जातीय भेदभाव, छुवाछूत र शोषणजस्ता सामन्तवादको बन्धनमा समाज लामो समयसम्म जकडिएको थियो । अहिलेसम्म पनि यो दुर्भाग्यपूर्ण अवस्थाबाट मुक्ति पाउन सकिएको छैन । अठारौं शताब्दीको अन्त्यतिर एकीकृत राज्यको स्थापनापश्चात् नेपालमा सामन्तवाद संस्थागत रूपमै विकसित भयो ।

सामन्ती पद्धतिमा भूमिमाथि नियत्रण गरी धन, पद, मानमर्यादा र सानमान अनि रवाफ देखाइन्छ । राजा–महाराजले राज्यको जमिनलाई मौजा, बिर्ता, जागिर, रैकर, गुठीमा वर्गीकृत गर्थे । आफ्ना भाइभारदार, पुरोहित, सैन्य पदाधिकारी, नातेदार, कारोबारी र गाउँका मुखिया तथा मोही किसानमा असमान वितरण गरी त्यसैको जगमा राज्य सञ्चालन पद्धति निर्माण गरेका थिए । चन्द्र शमशेरले १९८१ मा दास प्रथा अन्त्य गरे पनि त्यस बेलासम्म भूमिको ठूलो हिस्सा राणाका भाइभारदार, नातेदार, जमिनदार र उच्चपदस्थ कर्मचारीको स्वामित्व र नियन्त्रणमा फुगिसकेको थियो ।

२००७ को क्रान्ति मार्क्सवादी–लेनिनवादी व्याख्या अनुसार न ‘बुर्जुवा त्रान्ति’ थियो, न ‘बुर्जुवा लोकतान्क्रिक त्रान्ति’ । क्रान्तिको नेतृत्व पंक्तिमा रहनेहरूको सामाजिक–आर्थिक पृष्ठभूमि हेर्दा मध्यम वर्गकाले गरेको क्रान्तिजस्तो थियो । मार्क्सवादी भनाइ अनुसार, त्यो क्रान्ति बुर्जुवा र राणाशासनको सामन्तवादी ‘पिरामिडको श्रेणीबद्धता’कै एउटा श्रेणीमा रहेको समूहले गरेको थियो ।

चाहे त्यो क्रान्तिमा निर्णायक भूमिका खेलेको नेपाली कांग्रेसको नेतृत्व होओस् या सहयोगी भूमिकामा रहेको नेपाल कम्युनिस्ट पार्टी । जहानियाँ राणाशासनको अन्त्य त भयो, तर बीसौं शताब्दीको मध्यतिर आइपुग्दासम्म सामन्तवाद बलियो राजनीतिक, सामाजिक तथा सांस्कृतिक शक्ति भइसकेको थियो ।

यो क्रान्तिले निरंकुश राणाशासन अन्त्य गरेर प्रजातान्त्रीकरण तथा आधुनिकीकरणको प्रारम्झिक जग बसाल्न सुरु त गर्‍यो, तर निष्क्रिय बनाइएको राजतन्त्रलाई संवैधानिक सत्रियतामा स्थापित गर्दा प्रजातन्त्र अस्थिर भइरह्यो । २०१७ पुसपछि प्रजातन्त्र बन्दी भयो, राजा निरंकुश बने । सामन्तवादको अन्त्य र पुँजीवादी चरणको विकास अवरुद्ध भयो । राजतन्त्र र राजनीतिक नेतृत्वको चरित्र लोकतान्त्रिक संस्कारअनुकूल हुन सकेन ।

नेपाली कांग्रेस र नेकपाको नेतृत्वको राजनीतिक सिद्धान्त र मार्गदर्शन भूराजनीतिक प्रभावबाट टाढा थिएन, छैन । कांग्रेसले २०१२ मा आधिकारिक रूपमा समाजवादलाई सिद्धान्तका रूपमा अपनायो ।

२००६ मा स्थापित नेपाल कम्युनिस्ट पार्टी २०१० माघमा पारित कार्यक्रममा ‘तत्कालीन नेपालको अवस्थामा नेकपा समाजवाद निर्माणको कुरा गर्दैन’ भनी संसदीय व्यवस्थाको प्रयोग गर्दै जनवादी क्रान्तिको वातावरण बनाउने दिशामा अग्रसर देखियो । यो नीति लेनिनको ‘दुई–चरण क्रान्ति’बाट प्रभावित हो कि भन्ने भान हुन्छ ।

२०१७ पछि राजाको निरंकुश पञ्चायत शासनविरुद्ध संघर्षमा विश्वास गर्ने नेकपाको एउटा समूहले आफ्नो दस्तावेजमा समाजवाद हुँदै साम्यवादसम्म लक्ष्य उल्लेख गर्‍यो । २०४८ पछि भने सबै साम्यवादी दलले आआफ्ना दस्तावेज र घोषणापत्रमा समाजवाद निर्माणको लक्ष्य बोकेका छन् ।

दस्तावेजमा समाजवादलाई सिद्धान्त या मार्गदर्शनका रूपमा लेखे पनि सबै दलका नेतृत्वको व्यावहारिक राजनीति भने पुँजीवादी चरित्रको छ । पुँजीवादमा राजनीति धनसँंगको चक्रीय सम्बन्धमा चल्छ । राजनीतिबाट शक्ति, शक्तिबाट धन र धनबाट राजनीतिक शक्ति ।

समाजवादलाई सिद्धान्त मन्ने दलका नेताहरू किन पुँजीवादी व्यवहारमा रमाउँछन् ? यसका केही कारण छन् । पहिलो, बहुसंख्यक नेतृत्व मध्यम वर्गका छन् । मार्क्सवादी विश्लेषण अनुसार तिनको बुर्जुवा चरित्र छ ।

यो पंक्तिको आर्थिक–सामाजिक पृष्ठभूमि ग्रामीण र कृषिमा आधारित छ, जहाँ अहिलेसम्म पनि ग्रामीण कृषिको विशेषता सामन्ती उत्पादन प्रणालीबाट पुँजीवादी उत्पादन प्रणालीमा रूपान्तरित भइसकेको छैन । दोस्रो, यो पंक्ति २००७ को राजनीतिक परिवर्तनको समकालीनतामा सामन्ती चरित्रका जमिनदार, तालुकदार, मुखिया, पण्डित, पुरोहितको दोस्रो या तेस्रो पुस्ता हो ।

केही अपवादलाई छाडेर अधिकांश राजनीतिक नेतृत्व पारिवारिक कारणले वा साथीभाइको सरसंगत वा वातावरणले कोही कांग्रेस, कोही कम्युनिस्ट (२०५२ पछि माओवादी) या कोही दक्षिणपन्थी भनिएका दलहरूमा सक्रिय हुन पुगेका हुन् ।

२००७ को परिवर्तनपछि सत्तामा जातीय स्वरूपको परिवर्तन पनि भयो, जसको आफ्नै विशेष चरित्र छ । २००७ र २०४८ पछि भूस्वामित्वको स्वरूप बदलिएको छ । राजनीतिक नेतृत्वको त्यसमाथिको सापेक्षिक स्वामित्व र नियन्त्रणले राजधानी र अन्य सहरी क्षेत्रमा राजनीति गर्न आर्थिक स्वतन्त्रता प्रदान गर्‍यो ।

जमिनसंँगको यही सम्बन्ध र सामन्ती पृष्ठभूमिले राजनीतिक नेतृत्वलाई राजनीतिमार्फत सक्ता अनि त्यसबाट धन र यी दुवैको चत्रीय सम्बन्धबाट पद, मानमर्यादा, सानमान र रवाफ प्राप्त गर्ने चरित्र सिर्जना गरिरह्यो । सामान्य पृष्ठभूमिबाट आएका नेताले उपप्रधान या गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाए ।

आवश्यक नभए पनि प्रहरीको अगुवा र पछुवा लाएर मात्रै हिँड्ने वा अनावश्यक रूपमा व्यक्तिगत सुरक्षाकर्मीसाथ यात्रा गर्ने चाहना यही चरित्रको अभिव्यक्ति हो ।

तेस्रो, हिजो सामन्ती उत्पादन प्रणालीमा संलग्न मध्यमवर्गीय प्रबुद्ध वर्ग मार्क्सवादी व्याख्या अनुसार पुँजीवादी उत्पादन प्रणालीका विभिन्न पेसामा सक्रिय छन् । यो वर्गको एउटा समूह राजनीतिमा सक्रिय भयो भने अर्को समूह व्यापार र उद्योग अनि त्यस्तै अर्को समूह कर्मचारी र प्रहरी तथा सेना अनि अन्य पेसा र व्यवसायमा ।

नेपाली समाजको यो प्रबुद्ध वर्गको सामाजिक र पारिवारिक सम्बन्ध जेलिएको छ । यिनीहरू आपसमा ‘नेक्सस’मा बाँधिएका छन् । अपवादबाहेक सबैको साझा उद्देश्य केही वर्गीय हितको रक्षा र प्रवर्धन हो । धनदौलत आर्जन र यसबाट मानमर्यादा र सानसौकत अभिवृद्धि गर्नु हो । यसको स्रोत भनेको राज्यसत्ता हो । अर्थात्, जहाँ निर्णय गर्ने वैधानिक अधिकार केन्द्रित छ, त्यहीं ।

पुँजीवादी राजनीतिका माध्यमले गरिब र विपन्नको हित गर्छु भन्नु आडम्बरी राजनीति मात्रै हो । यसबाट समाजवाद प्राप्त हुँदैन । विकास, राजनीतिक स्थायित्व र राष्ट्रियताका लागि पनि यो बाधक हो ।

अहिलेको यस्तो पृष्ठभूमिमा नयाँ पुस्ताले देशको राजनीतिक अर्थतन्त्रमा पहुँच, प्रभाव र नियन्त्रण गर्न सक्यो भने अर्धसामन्ती समाजको अन्त्य भई प्रगतिशील, देशभक्त र क्षमतामा आधारित समाज स्थापना हुन सक्ला । नत्र सिद्धान्त र व्यवहार भुलेको पुँजीवादी राजनीतिको राइँदाइँ चलिरहनेछ ।

लेखक सांसद तथा नेपाली कांग्रेसका नेता हुन् ।

प्रकाशित : जेष्ठ ७, २०७६ ०९:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्