गुरुबा, केले बोलाउँछ कीर्तिपुरमा ?

नारायणी देवकोटा

त्रिविको केन्द्रीय क्याम्पसलाई अहिले चौर र रूखबिरुवाको हरियाली अनि ज्याकारान्डाका बैजनी फूलहरूले निकै मोहक बनाएका छन् । मानविकी संकायमा एमफिल र पीएचडीका कक्षाहरू खचाखच हुन थालेका छन् । बिहान आठ बजेको चिया ब्रेकमा शिक्षक र विद्यार्थीबीच चल्ने भलाकुसारीमा पनि मौसमको प्रभाव झल्किने गरेको छ ।

कोही कुनै विषयमा अरूको भन्दा फरक तरिकाले थेसिस लेखिरहेको बताउँछन्, कोही कुनै अन्तर्राष्ट्रिय जर्नलका लागि लेख लेखिरहेको वा कसैले आफ्ना विद्यार्थीको अनुसन्धान र भाइभाको कुरा गर्छन् । आफ्ना विद्यार्थीले विदेशको फलानो विश्वविद्यालयबाट पीएचडी गर्दै गरेको र त्यसका लागि रिकमेन्डेसन लेटर लेखिदिएको कुरा पनि हुन्छ ।

सधैं यस्तै राम्रा कुरा नहुन पनि सक्छन् । राम्ररी पढाउन नसकेका शिक्षकलाई लिएर विद्यार्थीहरू आपसमा भन्ने गर्छन्, 'बिचरा, अस्ति त हो यो सरले नियुक्ति पाएको !' राम्रो पढाइरहेका तर करारको नियुक्ति पनि नपाएका कुनै विज्ञबारे 'बिचरा सर-मिसले कुन आत्मबलले पढाउँदा हुन् है !' भनेर पनि कुरा हुन्छ । आफ्ना कमजोरी लुकाउन दोषजति राजनीतिलाई थोपर्ने र यस्ता अभ्यासविरुद्ध पांैठेजोरी खेल्ने धेरै राम्रा प्राध्यापक पनि छन् त्रिविमा ।

गत साता त्रिविको प्रशासनिक शाखाको नियुक्ति प्रक्रियाबारे सामाजिक सञ्जालमा चर्चा हुँदा मानवशास्त्र विभागका प्रमुख डम्मर चेमजोङ विद्यार्थीलाई भन्दै हुनुहुन्थ्यो, 'यस्ता गफमा नलागी पढ्नू ।' भोलिपल्ट बिहानको चिया ब्रेकमा पनि उहाँ समाजशास्त्रका विद्यार्थीलाई 'आउँदै गरेको लेक्चररको परीक्षाको लिखितमा नाम निकाल्ने गरी पढ्नू' भनिरहनुभएको थियो ।

यस्ता सरहरूका आँखामा त्रिवि राम्रो हुनेछ, राम्रा लेक्चर आउनेछन् भन्ने सुदूर आशाका किरण रहेको पाउँछौँ हामी । मान्छेहरू भन्छन्, 'त्रिवि विश्वका राम्रा विश्वविद्यालयको लाइनमा हजारपछिको नम्बरमा आउँछ ।' त्रिविले सन् २०३० सम्म विश्वका पाँच सयौँ विश्वविद्यालयभित्र आफूलाई पुर्‍याउने लक्ष्य राखेको कुराभर्खरै त्रिवि योजना विभागका निर्देशक रिदिश पोखरेलले बताउनुभएको थियो । यस्ता योजनाले पनि हामीलाई केही आशावादी बनाउँछन् ।

यो आशावादमा, गएको शनिबार कान्तिपुरमा छापिएको नेपाली समाजशास्त्रका गुरु चैतन्य मिश्रको 'विश्वविद्यालय ज्ञानको केन्द्र रहेन' शीर्षक अन्तर्वार्ताले भने केही तुषारापात गरिदियो । सन् २०१२ मा 'चैतन्य सरका दुई-चार लेक्चर सुनूँ' भनेर समाजशास्त्रको कक्षामा पसेकी मैले त्यसयता नेपालको समाजशास्त्र, समाजशास्त्री, चैतन्य सर लगायतका गुरु-गुरुआमाहरूका अन्तर्वार्ता, लेख, सार्वजनिक मन्तव्य र प्राज्ञिक कर्मलाई निरन्तर नियाल्दै आइरहेकी छु ।

चैतन्य सरले योभन्दा अगाडि पनि बेलाबेला लेखिरहनुभएकै थियो, भनिरहनुभएकै थियो, 'विश्वविद्यालयलाई दलहरूले थला पारे ।' यो धेरै हदसम्म सही पनि थियो । ३७ वर्ष माक्र्सवाद पढाएका चैतन्य सरले गत वर्ष 'नभएको माक्र्सवाद पढिएछ' भन्नुभयो । अब त्यही विषय पढाउने गुरुले भनेपछि आफूहरूले पनि गलतै पढेछौँ भनेर हामीले पत्यायौँ । तर, योपटक उहाँले 'विश्वविद्यालय ज्ञानको केन्द्र रहेन' भन्दा निको लागेन । विश्वविद्यालयका अनुसन्धान केन्द्रले मात्रै ज्ञानको निर्माण गर्छन् कि त्यहाँका शिक्षक-विद्यार्थीको कर्मले पनि ? चैतन्य सरले अरूलाई भन्नुभएझैं उहाँ आफैँ पो भजनमण्डलीको घेरामा पर्नुभयो कि ?

विश्वविद्यालयलाई शिक्षक र विद्यार्थीका दैनिक क्रियाकलापले ज्ञानको केन्द्र बनाउने हो । प्रायः मेरो उमेरका र प्राज्ञिक क्षेत्रमा आफ्नो भविष्य बनाउन खोजिरहेका धेरै विद्यार्थीले आफ्ना अनुसन्धानमूलक लेखहरू विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन भएको खुसी सामाजिक सञ्जालमा बाँडिरहन्छन् ।

विभिन्न अन्तर्राष्ट्रिय प्राज्ञिक भेलाहरूमाआफ्ना अनुसन्धानका निष्कर्ष प्रस्तुत गरिरहेका देखिन्छन् । किताब लेख्ने र सेमिनार गर्ने कार्य पनि निरन्तर भइरहेका छन् । अर्थात्, प्राज्ञिक काम भइरहेकै छ । 'विश्वविद्यालय ज्ञानको केन्द्र रहेन' भन्दा हरेक दिन बिहानैदेखि विश्वविद्यालयमा प्राज्ञिक कर्ममा लाग्ने शिक्षक-विद्यार्थीको अपमान हुन्न र, चैतन्य सर ? कि सरले बुझेको र हामीले बुझेको ज्ञानमा फरक छ ?

मेरो दोस्रो प्रश्न अलि रूखै छ । यो हाम्रै समाजशास्त्र विभागको सन्दर्भ हो । विभागको स्थापनाकालदेखिका संलग्न चैतन्य सर र भर्खर एमफिल पढ्दै गरेकी मसम्म सामेल छौं यसमा । केन्द्रीय क्याम्पसको समाजशास्त्र विभाग सबैभन्दा बढी विद्यार्थी भएको विभाग हो । तर, पछिल्लो समय यो विभागभित्र भएका विवाद र नियुक्ति, समाजशास्त्र संघभित्र भएका विवाद र फुटले यसलाई थिलथिलो बनाइरहेको छ ।

यस्तोमा चैतन्य सर कतै आफूलाई आम मानिसभन्दा फरक रूपमा प्रस्तुत गरेर आफ्ना कमजोरी छोप्नेहरूको घेराबन्दीमा पर्नुभएको त होइन ? अध्ययन-अनुसन्धानबारे कम र अरू नै विषयबारे बढी गफिनेहरूले सरलाई नीरस बनाउने गरेका त होइनन् ? सर आफै युवा विद्यार्थीहरूको आशावादी गफबाट टाढापो पुग्नुभयो कि ?

त्रिवि विश्वको जतिसुकै नम्बरमा परे पनि, यहाँ दलीय भागबन्डा भए पनि मध्यम वर्गका नेपालीहरूका लागि आफ्ना भागमा परेको अक्सफोर्ड, हार्वर्ड वा क्याम्बि्रज यही हो । ठूलो रकम नहुने र देशै छोडेर जाने पारिवारिक वातावरण नभएका धेरैको ज्ञानको तिर्खा मेट्ने थलो यही हो । विश्वविद्यालयमा प्राज्ञिक 'भाइब्स' आउँछ कि आउँदैन भन्ने चैतन्य सरको आशंकामा पनि यति भनूँ— सोही अन्तर्वार्ताको 'एउटा, दुइटा क्लास लिने बहानामा भए पनि कीर्तिपुर गइरहन मन लाग्छ' भन्ने वाक्यले पुष्टि गर्दैन र यो कुरा ?

प्रकाशित : जेष्ठ ६, २०७६ ०७:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कमिलाबाट सिक्ने कि !

रामचन्द्र अधिकारी

कमिला साना जीवका प्रतिनिधि हुन् । एन्टार्कटिका बाहेक पृथ्वीका सबै ठाउँ र हावापानीमा पाइन्छन् । यत्रतत्र पाइएर नै हो, संसारका सबै देशमा चलेका लोक तथा बाल साहित्यमा कमिलालाई पात्र बनाइएको हुन्छ । संसारमा कति कमिला होलान् ? गणना गरी साध्य नभए पनि कमिलाविज्ञहरूले करिब एक लाख खर्ब भएको अनुमान लगाएका छन् ।

संसारमा लगभग १२ हजारदेखि १५ हजार प्रजातिका कमिला पाइएका छन् । नचिनिएकाहरूको पनि पहिचान खुलेमा यो प्रजाति संख्या ठीक दुई गुना हुने अनुमान विश्वासिलो आधारमा गरिएको छ । एक अध्ययनले भनेको छ- संसारका कमिलाको सुक्खा तौल (बायोमास) संसारका मानिसको बराबर हुन्छ ।

जन्तुजगतको सबैभन्दा ठूलो समूह आर्थोपोडामा कुल जन्तुका ९२ प्रतिशत पर्छन्, यसैमा पर्छ कमिला पनि । कमिलाले आर्थोपोडाको सबैभन्दा ठूलो हिस्सा लिएको छ । यो जीव समूह, घर (घार) बनाएर बस्छ । यसको एउटै घारमा दुई करोड वटासम्म बसेको पाइन्छ ।

सबैतिर पाइए पनि, धेरै महत्त्व भए पनि विश्वभरमै यो प्राणी अलि हेपिए जस्तो भएको छ । ठूला जीवहरूको मात्र अध्ययन गरिने, तिनलाई मात्र जोेगाउने अभियान चलाउने तर यिनलाई वास्ता नगर्ने प्रवृत्ति देखिएको छ । यिनका विषयमा अति कम अनुसन्धान भएका छन् । गहिराइमा अध्ययन गर्दै जाँदा थाहा लाग्ला, तर आजको स्थितिमा विश्व संरक्षण संघ (आईयुसीएन) ले १४० प्रजातिलाई संकटापन्नको सूचीमा राखेको छ । त्यसमा पनि तीन प्रजाति भने अति संकटापन्न छन् ।

नेपालमा कमिलाको अध्ययन, अनुसन्धान इन्द्रप्रसाद सुवेदीले गर्दै आएका छन् । उनले विद्यावारिधि डिग्रीको लागि कमिलाको अनुसन्धान रोजेका हुन् । यसअघि नेपालमा यसरी यो विषयमा खोजमूलक कार्य नभएको बुझिएको छ । हाल कमिलाका विषयमा त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागबाट बल्ल पाँच जनाले स्नातकोत्तरको शोधकार्य गरेका छन् । यो अति न्यून संख्या हो । विश्वविद्यालयका उपप्राध्यापकसमेत रहेका सुवेदी कमिलाको विषयमा अब अरू पनि अनुसन्धाताको चासो बढेको पाइएको बताउँछन् ।

सन् १९७० तिरको अनुसन्धानमा नेपालमा कमिलाका ४१ जाति र ८६ प्रजाति रहेको अनुमान गरिएको थियो । सुवेदीका अनुसार १३२ प्रजातिको हाल पहिचान खुलेको छ । अझै अनुसन्धान भइरहेमा संख्यामा राम्रै वृद्धि हुने संकेत देखिएको छ । सन् १९७० मा कोलिङउडले गरेको अध्ययनले नेपालमा मात्रै पाइने कमिलाको प्रजाति संख्या नौ भनेको छ । म्यानम्यारदेखि नेपाल हुँदै अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश पर्वत शृंखलामा २०२ प्रजाति पाइए, तीमध्ये ७१ चाहिँ यहाँबाहेक अन्त पाइँदैनन् भनेर हिमेन्दर भारतीले सोइओबायोलोजी जर्नलको ५२ अाैँ अंक सन् २००० मा छापेका छन् ।

कमिलाको उत्पत्ति १ अर्ब ४० करोड वर्षअघि भएको अनुमान छ । जैविक दुनियाँमा यसलाई अति नै सफल जीव मानिन्छ । यो आफ्नै कलाकौशल भएको, आफ्नै बलबुता र सीपले घर बनाउने, सामाजिक रीति, संस्कृति तथा नीति भएको प्राणी हो । कमिलामा सामाजिक नियम मृत्युदण्ड दिनेसम्मको हुन्छ । यो सानो प्राणीमा कतिपय विशेषता मानिससँग मात्र मिल्ने छन् । जस्तै- मानिसले जस्तै यसले खेतीपाती र पशुपालन गर्छ, जुन अन्य कुनै जनावरले जानेको छैन ।

यिनीहरूले लाहीकिरा, स्केलबग, मिलीबग जस्ता कीराहरूलाई अरू शत्रुबाट जोगाएर रेखदेख गरी राख्छन् । आफूलाई चाहिएको बेलामा घारभित्र ल्याएर भण्डारण गरी राख्छन् या तत्स्थानमा खान्छन् । दक्षिण अपि|mकामा पाइने काला कमिलाले घारमा ठूलो मात्रामा खाद्यान्न सुरक्षित राख्ने गरेका अनुसन्धाताहरूले पत्ता लगाएका छन् । कमिला माटामुनि, सतहमा, रुखमा जता पनि बसेका छन्, तर पानीमा बस्दैनन् । पानीपर्दा शरीरको सतहले लाइफबोट जस्तैबनावट तयार गर्छ, जसले उतार्छ ।

जन्तु जगतमा यो जीवलाई सबैभन्दा बलियो मानिन्छ । यसले आफ्नो तौलभन्दा ५० गुणा गह्रौँ वस्तु सजिलै बोकी हिँड्छ । यिनीहरूको एकता र सहकार्य सराहनीय तथा अनुसरणीय छ, समूहगत प्रयासबाट ठूला शक्तिशाली बिच्छीलाई पनि मारेर खान्छन् । कमिलाको खास विशेषता कुराकानी गर्ने शैली हो । यिनीहरूको सञ्चार हर्मोन (फेरोमोन) को संकेतबाट हुन्छ ।

किसानका लागि कमिला मित्रजीव हुन् । यिनले बालीलाई हानि गर्ने साना कीटहरूलाई खाइदिन्छन् । चीनमा विभर एन्टलाई कृषिमा जैविक नियन्त्रकको कामका लागि प्रयोग गरिन्छ । हजारौँ मेटि्रक टन विषादी बराबरको काम बिना प्रदूषण यो कमिलाले गरिरहेको छ । माटोमा मसिना दुला बनाएर जमिनभित्र हावा र पानीको मात्रालाई बढाइदिन्छन् । माटोको अम्लीयपनलाई नियन्त्रित रूपमा राख्न मद्दत गर्छन्, अनि माटोमा नाइट्रोजन र फोस्फोरसको मात्रालाई बढाइदिन्छन् । बालीनालीमा परागसेचन गराई फल लगाउन सहयोग गरेका हुन्छन् ।

यो जीवमा मातृसत्ता चल्छ । मूल शासक रानी हुन्छे । रानीको आयु अरूको भन्दा धेरै हुन्छ, पाँचदेखि ३० वर्षको उमेरसम्म बाँचेको भेटियो भनेर प्राणीशास्त्रहरूमा उल्लेख छ । भालेको आयु रानीसँगको सहवाससँगै सकिन्छ । सबै भालेले सोही रानीलाई गर्भाधान गर्छन्, तर त्यसमा होडबाजी हुन्न, पालो अनुसार हुन्छ । कर्मी कमिलाहरू निरन्तर सरसफाइ, खाना संकलन, बच्चाको रेखदेख र पालनपोषण, घारको सुरक्षा आदि काममा व्यस्त हुन्छन् । कुनै शक्तिशाली घरानाले भने अरू कमिलालाई दासको रूपमा पाल्ने गरेको पनि भेटिएको छ । उनीहरूलाई कर्मी कमिलाले गर्ने मध्येका नीच र कठोर कामहरू दिइन्छ ।

मानिसले अरू जनावरबाट धेरै कुरा सिकेर व्यवहारमा ल्याइसके । चराबाट सिकेर हवाइजहाज बनाएका छन् -हवाइजहाजको उड्ने प्रक्रिया चराजस्तै छ ।) माछाबाट सिकेर पनडुब्बी जहाज बनाएका छन्, सर्पबाट सिकेर रेलगाडी बनाएका छन् । यही किसिमले कमिलाबाट सिक्नुपर्ने थुप्रै कुरा छन् । तीमध्ये सबैभन्दा ठूलो अनुशासन, कर्तव्य र मिहेनत हुन् । घार (गोलो) मा कामको विभाजन गरिएको हुन्छ । आफ्नो काम के हो, उसले बाँचुन्जेल मेसिनझैँ निरन्तर गरिरहनुपर्‍यो । एक सेकेन्ड समय उसले खेर फालेको हुँदैन, ठीक समयमा ठीक काम ।

हिँड्दा सधंै लाइनमा हुन्छन्, कसैले लाइन मिच्दैन । विज्ञहरू भन्छन्, कमिलाको सिको गरेर होडबाजी नगरी सवारी साधन चलाउने हो भने काठमाडौंमा सडक जाम हुँदैन । कमिलाको जस्तो कर्तव्य र अनुशासन पालना गर्ने हो भने भ्रष्टाचार शब्द सुन्न पर्दैन । उनीहरूबाट सिक्नुपर्ने अर्को पाठ एकता र सहकार्य हो । काममा ठगठाग गर्ने कमिला गोलो वा समूहबाट सोझै बहिष्कारमा पर्छ । बहिष्कृत कमिला एक्लै परेर मर्छ ।

कमिलालाई असल योजनाकार र इन्जिनियर भनिन्छ । उनीहरूको गोलोको प्रारूप तथा सीप हेर्दा यस्तै लाग्छ । खाद्य संकट आउने संकेत पाएपछि उनीहरू खानेकुराको जोहो गरिराख्छन् । प्राकृतिक विपत्तिहरू बाढी, पहिरो, भूकम्प, वर्षा आदिको पूर्वसंकेत लिन सक्छन् र सावधानी अपनाएर सुरक्षित रहन्छन् । कमिला जैविक विविधताका सूचक हुन् । जहाँ कमिलाको विविधताले सिंगो जैविक विविधतालाई प्रतिनिधित्व गरेको हुन्छ । यिनीहरूको उपस्थितिले स्वच्छ वातावरणको पहिचान दिइरहेको हुन्छ ।

आर्मी एन्ट भनिने एक किसिमको कमिला हुन्छ, जसलाई सर्जन एन्ट पनि भनिन्छ । यसले चोटपटकहरूमा स्टिच गरिदिन्छ । अफ्रिकाका आदिबासीहरूले मात्र होइन, अस्ट्रेलियाका आर्मीहरूले समेत यसलाई टोकाएर खिललाई चोटपटकमा स्टिचको रूपमा प्रयोग गर्दारहेछन् । यसबाट उत्सर्जन हुने फर्मिक एसिडले घाउमा संक्रमण हुन नदिँदो रहेछ । साथै विषमा प्रोटिन हुने भएकोले चाँडै घाउ निको हुन्छ । कमिलामा हजारौँ औषधीय र पौष्टिक गुण अवश्य छन् । ती वस्तुको पहिचान गरेर धेरै औषधी उत्पादन गर्न सकिन्छ । कर्ममा विश्वास गर्ने यी कर्मवीर कमिला चिनौँ, कमिलाबाट सिकौँ र यिनलाई संरक्षण गरी पर्यावरण जोगाऔँ ।
लेखक त्रिभुवन विश्वविद्यालय, स्नातकोत्तर क्याम्पस विराटनगरका उपप्राध्यापक हुन् ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×