१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

वनै खायो डढेलोले

सम्पादकीय

डढेलोले चैतदेखि जेठसम्म मानवीय, जैविक र भौतिक क्षति हुने गर्छ । यसले वनमात्रै खाँदैन, जैविक विविधता पनि सखाप पार्छ । वनस्पति र वन्यजन्तुको बासस्थान अँगारै-अँगारको चिच्च्याहटलाग्दो स्थानमा परिणत गरिदिन्छ । खडेरीले खक्रक्क सुकेको वन-जंगलमा मानिसले कहिलेकाहीँ जानीजानी आगो लगाउँछन् ।

वनै खायो डढेलोले

कहिलेकाहीँ भूलवश अञ्जानमै पनि अग्निजन्य पदार्थ वनका सुकेका पत्करमा मिल्काउनाले डढेलो फैलिन्छ । २०६१ सालदेखि डढेलोमा परेर १०३ जनाको ज्यान गइसकेको छ, ९० जना घाइते भएका छन्, ६४७ घर जलेका छन् ।

वाषिर्क सरदर ९ जनाको डढेलोमा परेर ज्यान जाने गरेको छ भने ७ जना घाइते हुने गरेका छन् । २०६६ सालमा सबैभन्दा बढी ४९ जनाको ज्यान गएको थियो, ९ जना घाइते भएका थिए । त्यही वर्ष डढेलो नियन्त्रण गर्ने तालिम र उपकरण नहुँदा रामेछापमा डढेलो नियन्त्रण गर्ने क्रममा नेपाली सेनाका १३ जनाको ज्यान गएको थियो । २०७६ वैशाख २७ गते एकै दिन ४३ जिल्लामा २ हजार ४ स्थानमा डढेलो लाग्यो ।

अघिल्लो साता १० दिनमा १० हजारभन्दा बढी डढेलो देखियो । तीमध्ये धेरैजसो डढेलो पश्चिम तराई क्षेत्रका जंगलमा लागेको थियो । चैतमा पूर्वी क्षेत्रको जंगलमा बढी डढेलो लागेको थियो भने वैशाखयता पश्चिम क्षेत्रमा बढी देखिएको छ । हावाको बहावका कारण कहिले पश्चिम र कहिले पूर्वमा डढेलो प्रकोप बढी देखिने गर्छ । २०७३ मा बाहेक २०६१ सालदेखि यता हरेक वर्ष डढेलो लागेको छ । २०७३ को डढेलो फैलने मौसममा मनसुनअघिको वर्षा भएकाले डढेलोको प्रकोप भएन ।

६४ प्रतिशत डढेलो जानीजानी घाँस पलाउने आशाले स्थानीयले नै लगाउने गरेका छन् । ३२ प्रतिशत डढेलो लापरबाही र ४ प्रतिशत अञ्जानका कारण लाग्ने गरेको छ । विदेशमा भल्कानो, चट्याङ, रेलको लिकबाट पैदा हुने झिल्को पनि डढेलोको कारण बन्ने गरेको छ । हामीकहाँ चट्याङ र रेलको लिकबाट पैदा हुने झिल्कोबाट डढेलो लागेको रेकर्ड छैन ।

घरघरमा आगलागी हुँदा प्रशासनलगायत सर्वसाधारणको ध्यान पुग्छ । वनमा डढेलो लाग्दा भने वनै त हो नि भनेर वास्ता गरिँदैन । वनभोजमा जाने, सिकार खेल्ने र वन्यजन्तुको तस्करी गर्नेहरूले आगो झोसिदिन्छन् । वन व्यवस्थापन गम्भीर देखिँदैन । सुकेका काठ-दाउरा र पातपतिंगरको व्यवस्थापनमा कसैले ध्यान दिँदैन ।

डढेलो रोकथामबारे नसोचे वन-जंगल जोगाउन सकिँदैन । वन-जंगल जोगाउने संस्थागत व्यवस्था छैन । प्रकोप हुँदा वन मन्त्रालय र गृह मन्त्रालयले हेरेजस्तो गर्छन्, डढेलो हेर्ने शाखासम्म छैन । वन नीति- २०७५ आयो, डढेलोबारे एकै शब्द बोलेन । यसलाई प्रकोपका रूपमा हेरेर रोकथाम र नियन्त्रणका उपाय खोजेन । राष्ट्रिय वन नीति छ । २०६७ सालमा वन डढेलो नियन्त्रण रणनीति बनेको छ । डढेलो कम भएको छैन । बल्ल यो वर्ष वन तथा भू-संरक्षण विभागले डढेलो नियन्त्रणका लागि अलग्गै कक्ष सञ्चालनमा ल्याएको छ ।

धार्मिक, सामुदायिक, कबुलियती, साझेदारी, राष्ट्रिय निकुञ्ज र सरकारी सबै प्रकारका वनमा डढेलो सल्कने गरेको छ । क्यानाडा, अस्ट्रेलिया, अमेरिकाजस्ता मुलुकले 'एरियल फायर फाइटिङ' को प्रयोग गरेर डढेलो नियन्त्रणमा लिने गरेका छन् । हामी 'स्याउले विधि' द्वारा डढेलो नियन्त्रणको जोखिम मोलिरहेका छौं । डढेलो नियन्त्रककै सुरक्षा छैन ।

वन नीति छ, रणनीति भए पनि कार्यविधिको अभावमा डढेलो पीडितले राहत पाउन सकेका छैनन् । २२ हजार उपभोक्ता वन समूहलाई डढेलोबारे सचेत बनाउनुपर्नेमा ७१ लाई तालिम दिइएको छ । डिभिजन वन कार्यालयहरूले डढेलो प्रकोपको मौसममा अग्निनियन्त्रक दस्ता तम्तयार राख्नुपर्छ, आवश्यक बजेट विनियोजन गरिनुपर्छ । कसैलाई ५० हजार, कसैलाई लाख रुपैयाँ दिएर जिल्लाभरको डढेलो नियन्त्रण गर्छु भन्नु बहानामात्र ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?