१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

घरेलु हिंसाको घनचक्कर

सञ्जिला तामाङ

पछिल्लो समय घरेलु हिंसाका घटना दिनदिनै सार्वजनिक हुँदै गएका छन् । तिनले सबैलाई झस्काउने गरेका छन् । आफ्नै परिवारका सदस्यहरूबाट भएका हत्या, जिउँदै जलाउने, कुटपिट गर्ने, तातोपानी खन्याउने, घरनिकाला गर्ने जस्ता घटना सुन्दा कसको आङ सिरिङ्ग नहोला र ! यस्ता घटनाबाट सबैभन्दा बढी महिलाहरू पीडित हुने गरेका छन् ।

घरेलु हिंसाको घनचक्कर

हिजोआज घरनिकाला गरिनु, जिउँदै जलाइनु वा जलाउने प्रयत्न गरिनु र घर-परिवारबाट शारीरिक तथा मानसिक यातनाको सिकार बन्नु महिलाको नियति नै बन्ने गरेको प्रतीत हुन्छ ।

परिवारका एक वा धेरै सदस्यले परिवारको अर्को सदस्यलाई नियन्त्रणमा राख्न शारीरिक, मानसिक तथा यौनिक रूपमा पीडा दिनु घरेलु हिंसा हो । शारीरिक, मानसिक तथा यौन दुव्र्यवहार सहँदै गएपछि त्यसले गम्भीर रूप लिएर व्यक्तिको ज्यानै जाने वा परिवार विखण्डन हुने अवस्था आउने गर्छ ।

ओरेकले हालै सार्वजनिक गरेको त्यस्ता घटनाहरूको विस्तृत विश्लेषणले ६५ प्रतिशत महिलामाथि घरेलु हिंसा भएको देखाएको छ । त्यस अनुसार, महिलामाथि सबैभन्दा बढी आफ्नै श्रीमानबाट ५३ प्रतिशत र घर-परिवारका अन्य सदस्यबाट १७ प्रतिशत हिंसा हुने गरेको छ ।

प्रहरीको तीन वर्षको तथ्यांकले पनि फरक अवस्था देखाएको छैन । प्रहरीका अनुसार आव २०७४/७५ मा घरेलु हिंसाका १२ हजार २ सय २५ घटना दर्ता भएका छन् भने आव २०७३/७४ मा ११ हजार ६ सय २९ । आव २०७२/७३ मा ९ हजार ३ सय ९८ त्यस्ता दर्ता भएका छन् । यसले घरेलु हिंसाका घटना हरेक वर्ष बढ्दै गएको देखाउँछ । यसले महिला हिंसाका घटनामध्ये घरेलु हिंसा धेरै हुने गरेको पनि छर्लंग पार्छ । घरेलु हिंसापछि बलात्कार र बहुविवाहका घटना अधिक छन् ।

तीन वर्षको तथ्यांक हेर्दा, महिलाहरू आफ्नै घरमा र आफ्नै परिवारका सदस्यबाट सबैभन्दा बढी असुरक्षित छन् । महिला हिंसाको मूलथलो घरपरिवार रहेको देखाउँछ । यसबाट के भन्न सकिन्छ भने घर नै हत्या, हिंसा, अत्याचार, बलात्कार, बोक्सी, छाउपडी प्रथाजस्ता जघन्य अपराधका मूलथलो हो, जहाँबाट यस्ता घटनाहरू जन्मन्छन्, जन्माइन्छन् र जन्मिइरहेका छन् । यस्ता घटनाको विश्लेषण गर्दा घरपरिवारसम्म पुग्नु आवश्यक देखिन्छ । त्यो भनेको घरपरिवारको प्रकृति कस्तो छ भन्नेबारे अध्ययन हो ।

त्यसो भए हाम्रो घर किन असुरक्षित बन्दै गएको छ त ? यसका लागि सबैभन्दा पहिले घरको अवधारणा नै कहाँबाट आयो भन्ने हेर्नुपर्छ । सिकारी युग हुँदै कृषि युगमा आइपुग्दा मानिसले बिस्तारै परिवार बसाउन सुरु गर्‍यो । अनि विवाह, व्यक्तिगत सम्पत्ति, निजी स्वामित्व र लैंगिकताका आधारमा कामको बाँडफाँड सुरु भयो । पुरुषहरू व्यक्तिगत जीवनबाट सार्वजनिक जीवनमा आएपछि घरको जिम्मा पूरै महिलाहरूको हातमा पुग्यो । पुरुषहरू घरबाहिर आए, तर महिलाहरू घरभित्रकै काममा मात्र सीमित भए । यसरी भएको परिवर्तनले पुरुषलाई घर बाहिरको काममा प्रेरित गर्‍यो भने महिला घरभित्र र बाहिर पनि मात्र सहयोगीका रूपमा आउन थाले । परापूर्व कालबाटै सुरु भएको त्यो प्रक्रिया अहिले पनि कायमै छ ।

घरको स्वामित्व, जो घरको मुख्य मान्छे हो, त्यहीसँग हुन्छ । घरको मुख्य मान्छे त्यही हुन्छ, जसले कमाएर ल्याउँछ, घर व्यवहार चलाउँछ, निर्णय गर्छ । त्यो भनेको धेरैजसो पुरुष नै हुन्छन् । घरको स्वामित्व पहिला बाजे, अनि बुबा र त्यसपछि छोरामा हस्तान्तरण हुँदै जान्छ । घरको स्वामित्व महिलाको हातमा आउने अवसर एकदमै कम हुन्छ । त्यसैले घरको स्वामित्व पुरुषको पकडमा हुनुलाई महिला घरेलु हिंसामा पर्नाको मुख्य कारणका रूपमा लिन सकिन्छ । त्यस्तो अवस्थामा महिलाहरू घरको मुख्य मान्छेबाट नियन्त्रित र निर्देशित हुन्छन् ।

ओरेकको तथ्यांक अनुसार, घरेलु हिंसाबाट प्रभावित महिलामध्ये ३५ प्रतिशतको १६ वर्षभन्दा कममा र ५९ प्रतिशतको १७ देखि २५ वर्षबीच विवाह भएको पाइन्छ । यो तथ्यले देखाउँछ— बालविवाह र कम उमेरमा हुने विवाह घरेलु हिंसाको अर्को कारक तत्त्व हो । सानैमा विवाह भएका महिला राम्रो पढ्न र कमाइ गर्न नसक्ने हुन्छन् । चाँडै बच्चा जन्मिने भएकाले शारीरिक रूपमा कमजोर हुने, बूढोजस्तो देखिने अनि उमेर पुगेपछि श्रीमान र श्रीमतीबीचका इच्छा र चाहनाहरू नमिल्ने हुन जान्छ । एक त श्रीमानमाथि पूर्ण आश्रित र अर्कोतिर दुईबीचको चाहनामा बेमेल, अनि हिंसा सुरु हुन्छ ।

हिंसाको मुख्य जरो लिंगका आधारमा कामको बाँडफाँड हुनु पनि हो । परम्परागत मूल्य-मान्यताबाट निर्देशित हाम्रो पारिवारिक संरचनाले महिलाको शरीरमाथि अरूको नियन्त्रण कायम गर्ने प्रणालीको प्रतिपादन गरिरहेको छ । उनीहरूमाथि परिवार र समाज हावी हुन्छ । त्यसैले असन्तुलित शक्ति संरचना, परम्परागत मूल्य-मान्यता र सामाजिक संरचनाले पुरुषलाई प्रधान तथा महिलालाई सहायक भूमिका दिएको छ । यसैले महिलामाथि नियन्त्रण कायम राख्न घरेलु हिंसा एउटा माध्यम बनेको छ । घरपरिवारको उत्पादन प्रणाली, आय स्रोत, सम्पत्ति, चेतनाको स्तरले पनि महिलामाथि हुने हिंसामा प्रभाव पार्छ ।

विकासका सूचकांकका हिसाबले हेर्ने हो भने पनि महिलाहरू पछाडि छन् । आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा उनीहरूको सहभागिता कम छ । अझ पहुँचलाई हेर्ने हो भने नगण्य छ । महिलाहरूको उत्पादनमूलक स्रोतसाधनहरूमा पहुँच र नियन्त्रणको कमी, शिक्षा र चेतनाको अभाव, राज्यद्वारा बनाइएका कानुनहरू महिलामैत्री नहुनु र भएको कानुनको सही कार्यान्वयन नहुनुले गर्दा यस्ता हिंसाको सामना गर्नुपरिरहेको छ ।

महिला हत्या, हिंसा र बलात्कार अहिले मात्रै हुने गरेका होइनन् । यस्ता घटना हिजो पनि भएका थिए, आज पनि भइरहेका छन् । विगतमा यस्ता घटना सार्वजनिक हुन्नथे, अहिले चेतना, सञ्चारमाध्यमको पहुँच, पीडितको बढ्दो आत्मबलका कारण त्यति छोपिन नपाएका मात्र हुन् । शारीरिक यातना मात्र हिंसा होइन । भेदभाव, अस्वतन्त्रता, असमानता, स्रोतसाधनमा असमान पहुँच, डर, शोषण पनि हिंसा नै हुन् । घरभित्र पनि असमानता छ, भेदभाव छ, स्वतन्त्रता छैन, जसले दमनकारी पारिवारिक संरचनालाई निर्माण गर्छ ।

देशमा विद्यमान प्रमुख समस्यामध्ये पारिवारिक हिंसाको समस्या प्रमुख मुद्दाका रूपमा देखा परेको छ । महिलाविरुद्ध हुने घरेलु हिंसा विभिन्न वर्ग, जातजाति, धर्म, उमेर, लिंग, समाज र जीवनशैली अनुसार फरक-फरक तरिकाबाट हुने गर्छ । तर यसको प्रभाव कुनै न कुनै रूपमा सबैतिर छ । तराईमा, खास गरी मधेसी समुदायमा, दाइजोको समस्या छ । त्यहाँ दाइजोकै नाममा महिलाले शारीरिक-मानसिक यातना सहनुपर्छ ।

फ्याक्ट नेपालको हालसालैको रिपोर्टले पनि घरेलु हिंसा २ नम्बर प्रदेशमा बढी हुने गरेको देखाएको छ । पहाडका महिलाहरू सामान्यतया दिनभरि घाँस-दाउरा गर्छन्, खेतबारीमा काम गर्छन् । श्रीमान भने जुवातास खेलेर बस्ने गर्छन्, अनि राति आएर श्रीमती कुट्ने गर्छन् । सहरी क्षेत्रमा महिला-पुरुष काममा समान जोतिने त गर्छन्, घरभित्रको काम भने महिलाले नै गर्नुपर्ने अवस्था छ । तैपनि श्रीमान समयमा घर नआउने, मादक पदार्थ खाएर आउने अनि यातना दिने घटना बढी देखिएका छन् ।

वर्ग अनुसार पनि हिंसाको प्रकृति फरक पाइन्छ । निम्न वर्गका पुरुषहरू दिनभरि ज्याला-मजदुरी गर्ने अनि राति रक्सी खाएर झगडा गर्ने, होहल्ला गर्ने, पिट्ने गर्छन् । मध्यम र उच्च वर्गमा मानसिक समस्या एवं यातना बढी हुन्छ, उनीहरू इज्जतलाई प्रधानता दिन्छन्, त्यसैले इज्जतको डरले भरसक घटना घरभित्रै सामसुम पार्छन् । यो त्यति बेला विस्फोट हुन्छ, जब सबै कुरा बिग्रिइसकेको हुन्छ ।

घटना सार्वजनिक गर्दा महिलाले थप मानसिक तथा शारीरिक पीडा खप्नुपर्ने अवस्था सिर्जना हुने हुँदा हिंसाका घटना भरसक बाहिर आउँदैनन् । हिंसा भएको कुरामा माइती, घर, छिमेकी र आफन्तहरू सबै जानकार हुँदाहुँदै पनि कोही बोल्दैनन् । यस्तो त भइहाल्छ, यो त घरझगडा, लोग्ने-स्वास्नीको झगडा परालको आगो, त्यसको कर्म नै त्यस्तै रहेछ भन्नेजस्ता मिथकलाई आधार मानी यिनलाई प्राय: समस्याका रूपमा लिने गरिँदैन । महिलामाथि हुने हिंसा, विशेषत: घरेलु हिंसालाई निजी र नितान्त घरभित्रको मामिलाका रूपमा मात्र लिइएको छ । घरेलु हिंसा हालसम्म पनि गम्भीर सार्वजनिक सवालका रूपमा स्थापित हुन सकेको छैन ।

प्रकाशित : जेष्ठ ३, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?