१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

टुंगो लाग्दै छ सगरमाथाको नयाँ उचाइ

सरकारले सर्वोच्च शिखरको उचाइ मापन गर्न चैत २७ गते सगरमाथा आधार शिविरतर्फ प्राविधिक टोली पठाएको छ  । टोली सदस्यहरू एक महिनादेखि त्यस क्षेत्रको वातावरणसँग अनुकूल हुन ‘अक्लामेटाइजेसन’ गर्दै छन्  ।

टुंगो लाग्दै छ सगरमाथाको नयाँ उचाइ

उचाइ पचाउन आधार शिविरबाट ७,००१ मिटरमा रहेको तेस्रो क्याम्पसम्म ओहोर–दोहोर गर्दै, यन्त्र–उपकरण परीक्षण गर्दै छन् । उनीहरूले ५,०५० मिटरमा रहेको लोबुचेमा क्रस–ओरिजिन रिसोर्स सेयरिङ (सीओआरएस) नियन्त्रण विन्दु पनि स्थापना गरेका छन् ।


आफ्नो देशको सम्पत्तिका रूपमा रहेको विश्व सम्पदाको मापन तथा लेखाजोखा नेपाल आफैंले गर्दै छ । यसअघि कतिपय देशले सगरमाथाको उचाइ घटेको र कतिपय देशले बढेको भनेका छन् । सन् २०१५ को भूकम्पले सगरमाथाको उचाइ घटेको छ कि भन्ने शंकालु अध्येता पनि छन् । आफैंले मापन नगरेसम्म नेपालले पारम्परिक उचाइलाई नै मान्दै आएको छ । अबको मूल्यांकनपछि उचाइ घटबढ सम्बन्धी विवादको अन्त्य हुनेछ । तर मापन विश्वलाई चित्त बुझ्ने गरी आधुनिक विधिविज्ञान तथा प्रविधि अपनाई प्राविधिक तवरले गर्नुपर्छ । त्यसैले सगरमाथाको परिशुद्ध मापन चुनौतीपूर्ण छ । परिष्कृत उचाइ निर्धारण गरी संसारभरका सम्बन्धित क्षेत्रका वैज्ञानिक तथा अध्येतालाई सन्तुष्ट तुल्याउने यो अवसर पनि हो ।


२०११ मा सगरमाथाको सफल आरोहण गरिसकेका खिमलाल गौतमको नेतृत्वमा चार सर्भेयरले सगरमाथाको उचाइ मापन गर्दै छन् । मापन टोलीलाई चुचुरोसम्म पुर्‍याउन र फर्काउन पिक प्रमोसन प्रालिमार्फत चार सदस्यीय शेर्पा गाइडको नेतृत्व छिरिङ जाङ्बु शेर्पाले गरेका छन् । उनले दुईपटक सगरमाथा चुमिसकेका छन् । यो टोलीलाई प्रधानमन्त्री केपी ओलीले माला र टीका लगाई ‘एक सेन्टिमिटर पनि फरक नपर्ने गरी यथार्थ उचाइ नाप्नुहोला, तपाईंहरूले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ’ भनी सफलताको कामना गर्दैे बिदाइ गरेका थिए ।

मापन कार्य
सगरमाथाको उचाइ मापन पूर्ण प्राविधिक कार्य हो । सगरमाथाको टुप्पोमा प्वाल पारी त्यहाँबाट फलामको मोटो डन्डी सीधै तल ठोक्दै सगरमाथाको पीँध अर्थात समुद्रको सतहसम्म पुर्‍याउँदा त्यो डन्डी कति मिटर लामो हुन्छ, त्यही नै सगरमाथाको उचाइ हो । बङ्गालको खाडीको पानीको सतह शून्य मिटरको उचाइ हो । त्यो शून्य मिटरको समतलन रेखालाई सगरमाथा टुप्पाको उचाइले बनाएको समतलन रेखासँग समानान्तर गरी सीधै तलतिर ९० डिग्रीको कोणमा त्यस्तो डन्डी ठोकिएको हुनुपर्छ । कोण दायाँ–बायाँ पारेर डन्डी ठोकिन पुग्यो भने त्यसले परिशुद्ध उचाइ जनाउन सक्दैन । यिनै कुरा सगरमाथा मापनका मुख्य विषय–वस्तु हुन् । वस्तुगत हिसाबले सगरमाथाको टुप्पोबाट डन्डी ठोकेर मापो लिन सकिँंदैन । बङ्गालको खाडीको पानीको सतहलाई शून्य मिटर उचाइ मानेर विभिन्न विधि तथा वैज्ञानिक तौरतरिका अवलम्बन गर्दै मैदानी भाग हुँदै त्रिकोणमितीय समतलन नापिन्छ । अनि सगरमाथाको टुप्पोसम्मको विन्दुमा यन्त्रद्वारा अवलोकन गरी उचाइ पत्ता लगाइन्छ ।


यसका लागि भारतको कोलकाताको समुद्र सतहदेखि नेपालको सिरहा जिल्लाको माडर अनि त्यहाँदेखि ओखलढुङ्गा–सोलु पिके डाँडासम्म १७० किलोमिटर त्रिकोणमितीय समतलन नापी गरिएको छ । तराईदेखि पहाडसम्म २३० स्थानको विन्दुमा जीएनएसएस (ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम) प्रविधिबाट नापो लिइसकिएको छ । यीमध्ये १२ विन्दुसँगको सर्वेक्षणका आधारबाट सगरमाथाको चुचुरोमा एन्टेनायुक्त जीपीएस रिसिभर यन्त्रद्वारा ब्रह्माण्डमा तैरिरहेका स्याटेलाइटले दिएको डाटा क्याप्चर रेकर्ड गरिन्छ । यही डाटा रेकर्ड गर्न मापन टोली सगरमाथाको चुचुरोतर्फ लागेको हो । चुचुरोमा जीपीएस रिसिभरद्वारा रेकर्ड गर्न तथा चट्टानी भागदेखि चुचुराको हिउँको थुप्रोसम्मको उचाइ लिन ग्राउन्ड पेनिट्रेसन राडर (जीपीआर) का सहायताले मापन गरी संगणना गर्नु सफल आरोहण गर्नुजत्तिकै महत्त्वपूर्ण छ ।

चुनौती
जीपीएस प्रविधिद्वारा रेकर्ड गरिएको तथ्याङ्क र स्थापना गरिएका अन्य सर्वेक्षणका काँचाकोरा तथ्याङ्कलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी परिष्कृत गर्नु निकै चुनौतीपूर्ण मानिन्छ । यस्ता चुनौतीमा मापनलाई परिशुद्ध गर्न डिफ्लेक्सन अफ भर्टिकल, जियोआइड, अब्सोलुट ग्राभिटेसनल एनिमोली, टेक्टोनिक मोसन, एटमस्फेरिक करेक्सन जस्ता प्रविधियुक्त क्यालकुलेसन (जोड–घटाउ) आवश्यक पर्ने हुन्छ । नेपालले निर्धारण गरेको नयाँ उचाइलाई विश्वका एक–दुई संस्था तथा व्यक्तिले चुनौती दिए भने तथ्य–तथ्यांक तथा विधि उल्लेख गर्दै सामना गर्नुपर्ने हुन्छ । २०७२ को भूकम्पले उचाइ खलबलाएको रहेछ/रहेनछ, अनि हिमचुलीको टुप्पोमा थुप्रेको हिउँको उचाइ समेतको मापन हो कि त्यसभित्रको चट्टानको भन्ने विषयलाई पनि चुनौती मान्नुपर्छ । अमेरिका भन्छ— सगरमाथाको उचाइ २ मिटर बढेको छ । चीन ठोकुवा गर्छ— ४ मिटर घटेको छ । अहिले मापन गर्दा बढेको देखिए वा घटेको पाइए, के कारणले यस्तो भएको हो भन्ने प्राविधिक तथ्य उजागर गर्नु पनि चुनौती हो ।

तथ्यांक प्रशोधन
प्राप्त विभिन्न तथ्यांक प्रशोधन गरी परिष्कृत तुल्याउन उच्चस्तरीय समन्वय समिति गठन गर्नु सान्दर्भिक हुन्छ । त्यसमा प्राविधिक उपसमिति तथा टोलीहरूले कार्य गर्ने संयन्त्र बनाउनुपर्छ । उपसमितिमा सर्भेयर, डिजिटल एस्ट्रोनमर, जियोफिजिसिस्ट, हाइड्रोलजिस्ट, जियोम्याटिस्ट, डाटा प्रोसेसर, जियोसाइन्टिस्ट जस्ता विषयविज्ञ रहनुपर्छ । तथ्यांक प्रशोधनका क्रममा चीन र भारतलाई पनि सहभागी गराउनु समय–सापेक्ष हुन्छ । किनभने सगरमाथा नेपाल–चीन सीमामा छ, अर्कातिर भारतले पिक–१५ (सगरमाथा) विश्वको सबैभन्दा अग्लो हिमचुली हो भनी पत्ता लगाएको हो । तथ्यांक प्रशोधन गर्दा तापक्रम, गुरुत्वाकर्षण, मौसमी शुष्कता आर्द्रता, हावाको चाप परिष्कृत गरिनुपर्छ । उच्चस्तरीय समन्वय समितिले गर्ने कामको तथ्यता/सत्यता बढाउन अमेरिकाको नेसनल जियोग्राफिक/बोस्टन म्युजियम अफ साइन्स, युएन कार्टोग्राफिक डिभिजन, इन्टरनेसनल एसोसियसन अफ जियोडेसी, इन्टरनेसनल फेडरेसन अफ क्लाइम्बिङ एन्ड माउन्टेनियरिङ, युनाभकोलाई समितिको आमन्त्रित सदस्यका हैसियतमा संलग्न गराउँदा परिणाम घोषणाको वजन बढ्छ ।

अवसर
सगरमाथा मापनकार्य चुनौती र जोखिमपूर्ण भए पनि यसमा अवसरसमेत जोडिएको छ । नेपालका सर्भेयर प्राविधिक तथा वैज्ञानिकहरू मापनकार्यमा निपुण रहेछन् भनी विश्वसमक्ष कौशल देखाउने मौका हो यो । नेपालमा रहेका हिमालयको अध्ययन–अनुसन्धान गर्ने तथा हिमाली भूकम्पको जोखिमको लेखाजोखा राख्ने विश्वका फिजिसिस्ट, सिस्मोलजिस्ट, जियोलजिस्ट, क्लाइमेटोलजिस्ट, इन्भाएरन्टलजिस्ट, जियोडेसिस्ट, जियोमर्फोलजिस्ट सन्तुष्ट हुने विधि तथा प्रविधि अपनाउनुपर्छ । १९५३ मे २९ का दिन तेन्जिङ र हिलारीले सफल आरोहण गर्दा सगरमाथाको थाप्लोमा तेन्जिङले पहिले पाइला टेके कि हिलारीले भन्ने कौतूहल सबैलाई भयो । ती दुवैले हातेमालो गरी एकैपटक टेकेको जवाफ दिए । उचाइ मापन प्रक्रियामा पनि सबै विधि पुर्‍याइएको छ भनी विश्वलाई आश्वस्त तुल्याउने अवसर हो यो ।

प्रकाशित : जेष्ठ २, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?