दलाल पुँजीवादको चक्रव्यूह

कृष्णप्रसाद पौडेल

मानिसले आफ्नो श्रमलाई यन्त्रको जिम्मा लगाएसँगै त्यसलाई सञ्चालन गर्न चाहिने खनिज ऊर्जा उत्खनन, ठूला प्रशोधन कारखाना र तिनलाई चाहिने कच्चा पदार्थको खोजी तीव्र भयो । मुख्यतः यही बेलायत र पश्चिमी युरोपको औद्योगिक विकासका लागि औपनिवेशिक यात्रा थियो । यो यात्रा त्यस्ता उद्योगका लागि कच्चा पदार्थको जोहो गर्न थालिएको थियो ।

यसले मानव समुदायलाई एकै ठाउँ त ल्यायो तर यही परनिर्भरता, परपीडा र उत्पीडनको बलियो जगसमेत बन्यो । उपनिवेशको बाटो हुँदै फैलिएको यस्तो औद्योगिक विकासले मानिसलाई सुविधाभोगी बनाएन, प्रकृतिको अति दोहन सम्भव बनाउन आधुनिक यन्त्र र यिनको गतिसमेत बढायो ।

यस्ता द्रुतयन्त्रको आविष्कारले कल्पनाशील मानिसमा यन्त्रजस्तै गतिवान् भएर भविष्य बनाउने आकांक्षा बढायो । चन्द्रमा या मंगल ग्रहको यात्रा यसैका मानक हुन् । यान्त्रिक गतिको यस्तो प्रभाव अहिलेको सहरिया जीवनमा सहजै देख्न र भोग्न पाइन्छ । सहरिया मानिस सधैं हतारमा बाँच्न अभ्यस्त भइसकेका छन् ।

औद्योगिक क्रान्तिले भित्र्याएको प्रविधिको विकास, यान्त्रीकरण, खनिज तेलको उत्खनन र कृत्रिम रसायन उत्पादनका कारण औद्योगिक उत्पादन मात्र बढेन, यस्तो उत्पादनको अन्तरदेशीय व्यापार र यसको नियन्त्रण गर्ने होडसमेत बढ्यो । यसैको परिणाम थियो, पहिलो र दोस्रो विश्वयुद्ध ।

सन् १९४९मा युद्धमा हारेको युरोपको पुनर्निर्माण गर्ने अमेरिकी घोषणासँगै 'विकास' शब्दको प्रादुर्भाव भयो । यसले देशीय गठबन्धन, हतियार र थुनछेकका भरमा गरिने भौगोलिक उपनिवेशभन्दा फरक भौतिक उत्पादन, बजार र पैसाका बलमा प्रकृति र मानिस दुवैको नियन्त्रण गर्न सिकायो । सँगै यसले हुने र नहुनेको बीच सानो र ठूलाको मनोवैज्ञानिक पर्खाल खडा गर्‍यो । यस्तो मनोविज्ञानले हीनताबोध, परनिर्भरता र मगन्ते संस्कृति थोपर्दै कित विकासे हुनैपर्ने नत्र पछि परिने सामाजिक मान्यता स्थापित गर्‍यो ।

यसले अविकसित भनिएका समुदाय, भूगोल र देशलाई परैबाट नियन्त्रण गर्न सम्भव बनायो । यस्तो नियन्त्रणको संवाहक विकासलाई पहिले प्राविधिक, भौतिक र आर्थिक सहायता अनि सहुलियत ऋणका रूपमा लिइन्थ्यो । अहिले यो वैदेशिक लगानीका नाममा विकासशील र अविकसित देशहरूमा भित्रिरहेको छ र यसबाट दलाल पुँजीको एकाधिकार र वर्चस्व विस्तार भइरहेको छ ।

यस्तो पुँजीका भरमा गरिने भौतिक विकास नै विकासको एक मात्र विकल्पका रूपमा प्रस्तुत भइरहेको छ । यही दलाल अर्थतन्त्रको जगमा टिकेको संसदीय लोकतन्त्र, स्वतन्त्र बजार र निजी सम्पत्ति अनि यसैले अथ्र्याएको भौतिक विकास नै आधुनिक जीवनशैली हो भन्ने मान्यता स्थापित भएको छ ।

आधुनिक विकासले बाँडेको भौतिक सुविधाको यो सपनामा बाँच्न पाउन यस पृथ्वीमा रहेका सबै मानिसलाई सम्भवै छैन । उदाहरणका लागि, संसारभर १ अर्ब कार छन् र सबैलाई एउटा-एउटा चाहिने हो भने ७ अर्ब कार चाहिन्छ । यी चलाउन चाहिने ऊर्जा र बाटोको कुरा पनि छँदै छ । अहिले १००० अमेरिकीमध्ये ९१० जना कार चढ्छन् । यो दर चीनमा १,००० मा १५४ र भारतमा ५० छ ।

यस्तो सुविधा सबै चिनियाँ र भारतीय या अन्य देशका सबै नागरिकले पाउने हो भने कति कार, तेल र बाटो चाहिएला ? भौतिक सुविधाको यो एउटा उदाहरणबाट मात्र पनि के स्पष्ट छ भने सबैलाई यस्तो सुविधा पुग्नै सक्दैन । महात्मा गान्धीले भनेझैं यस पृथ्वीमा सबैको आवश्यकता पूरा गर्न स्रोत प्रशस्त छ तर सबैको लोभ पूरा गर्न भने यो पुग्दैन ।

दुर्भाग्यवश, केही सीमित शासक मात्र सुविधासम्पन्न हुन सक्ने यस्तो आधुनिक विकास हाम्रो समृद्धिको सपना बन्यो । यही सपना बाँड्दै अहिले आफू रआफ्नाका लागि मात्र भौतिक सेवा, सुविधा र सम्पन्नता बढाउन संसारभरि लुटपाट चलिरहेको छ । यसमा नेपाल पनि अपवाद छैन । यस्तो लुटपाट गर्न अहिले नेपालमा पुँजीवादी अर्थतन्त्रका हिमायती (आर्थिक दलाल) र समाजवादी टोपी लगाएका राजनीतिका दलाल एकै ठाउँ छन् । एनसेल करछलीदेखि बालुवाटारको सरकारी जमिनको लुटपाटसम्ममा यो छर्लंगै देखिन्छ ।

प्रकृतिको अति दोहन गरी भौतिक सुविधाका लागि मात्र गरिने आर्थिक वृद्धिका कारण सिंगो मानव सभ्यता संकटको भुमरीमा फस्दै छ । यसले मानिस-मानिसबीच विभेद बढाएको छ नै, प्रकृतिको विविधता घटाएर जैविक सन्तुलनमा व्यापक गडबडी निम्त्याएको छ । यसको एउटा ज्वलन्त प्रमाण जलवायुमा आएको परिवर्तन हो ।

यसका केही साना वितण्डा त देखिँदै आएका छन् तर ठूला उथल-पुथल भने निकट भविष्यको संघारमा छन् । देखिने भौतिक विकासको पत्रभित्र नदेखिने विनाशलीलाको जग अग्राखझैं बलियो बन्दै गएको छ । मानिसले तथाकथित सुखी जीवनका लागि भौतिक सुविधाको सपनासँगै खनिज ऊर्जा रित्याउँदै छ, वनजंगल र पानीका स्रोतलाई विषाक्त बनाउँदै छ । माटामा कृत्रिम रसायन र रासायनिक विषादी, नसड्ने प्लास्टिक मिसाएर आफैंलाई मास्नेे विषको भण्डार निर्माण गरिरहेछ । यसबाट चेत्ने सुरसार अझै ल्याएको छैन । यसरी निरन्तर बिग्रँदो माटो र मानव स्वास्थ्य सम्हाल्न नै सकिँदैन कि भन्ने अवस्थामा पुगेको छ ।

यी सबै विध्वंसका पछाडि दलाल पुँजीवादको ठूलो हात छ । यसको उत्कृष्ट नमुना हो- अहिलेको सहर, सहरिया प्रवृत्ति र तिनले गर्ने प्रकृतिप्रतिको व्यवहार । काठमाडौं खाल्डो होओस् वा अन्यत्र आफैँले खानपर्ने अन्न, तरकारी, फलफूल फलाउन छोडेर समृद्धिका नाममा कंक्रिटको सहर फलाइएको छ र यो निरन्तर जारी छ । हामी विकासे हुने होडमा दलाल पुँजीवादको दुश्चक्रमा फसेर मृत सहरका बासिन्दा हुँदै छौँ तर हामीलाई यसको अझै राम्रो हेक्का भने भइसकेको छैन ।

यस्तो दलाल पुँजीवादविरुद्ध आम नागरिकसँग हातेमालो गरी सचेततापूर्वक सँगसँगै लड्नुपर्ने जननिर्वाचित सरकार भने तिनै दलाल पुँजीपतिको दौराको फेरो समाउँदै हिँडेको छ । यिनैका फन्दामा परेर लोभीपापी राजनीतिक नेतृत्व बिचौलिया र दलालमा परिणत भएकोे छ । दलका बुद्धिजीवी र विज्ञहरू यिनैको स्तुति गर्दै गुजारा चलाउँदै छन् ।

राजनीतिक दलहरू विचारशून्य छन्, यिनका कार्यकर्ता पाटीमा सुस्ताएका छन् । आम मानिसलाई आफ्नै दैनिकी सम्हाल्न भ्याइनभ्याइ छ । यो अहिलेको कटु यथार्थ हो । यसरी हेर्दा तथाकथित आधुनिक विकासको विनाशलीलाबाट हाम्रो जीवन जोगाउन के गर्न सकिन्छ भन्ने प्रश्न निकै पेचिलो भएको छ । अर्को अर्थमा दलाल पुँजीवादले थुपारेकोे फोहोरको डंगुर हटाउँदै यसले निम्त्याएका समस्यालाई उजागर गर्न ढिलो हुँदै गएको छ ।

विडम्बना, मानवीय चेतना कुम्भकर्णझैं सुतेको हुन्छ । सन् नब्बेको दशकमै बलियोसँग उठेको प्रकृतिलाई न्याय नगरी सामाजिक न्याय सम्भव हुँदैन भन्ने सामाजिक न्याय र प्रकृतिको दिगोपनाको बहस बिस्तारै सुस्ताउँदै अहिले आर्थिक विकास अर्थात् समृद्धिको ओझेलमा परेको छ । दिगो विकास लक्ष्यका सामाजिक न्याय र दिगो प्रकृतिका प्रस्तावहरू कागजका पानामा सीमित भएका छन् । सामाजिक न्यायका मूल आधार लोकतन्त्र, समावेशिता र निष्पक्षताजस्ता मूल मर्म र मानिस, समाज र प्रकृतिबीचको अन्तरनिर्भरताको सम्बन्ध खिइँदै गएको छ ।

त्यसो त दलाल पुँजीवादले निम्त्याएका विध्वंसविरुद्धका आक्रोश भुसको आगोझैं सल्किरहेका छन् । नयाँ र सिर्जनशील उपायका हजारौं छाल पनि संसारभरि नै उठिरहेका छन् । यसलाई आत्मसात् गर्दै एकताबद्ध भएर आलोचनात्मक चेतना बढाउन फेरि नयाँ बहस चाहिएको छ । दलाल पुँजीवादले भुत्ते बनाएको मानवीय सामाजिक मूल्यमान्यतालाई पुनर्जीवन दिनका लागि हाम्रो समग्र चेतनालाई उन्नत बनाउनु अपरिहार्य भएको छ ।

हामी आधुनिक विकासको विकल्पका संघारमा उभिएका छौं । मानवलगायत अन्य जीवनका आधार अरू थप बिग्रन नदिई भावी पुस्तालाई सुम्पनु हाम्रो सामाजिक दायित्व हो । यसका लागि सबैले दलाल पुँजीवादको चक्रव्यूहबाट निस्कन सचेत प्रयत्न गर्नुको विकल्प छैन । यस्तो दलाल अर्थतन्त्रले मौलाएको कुशासन र भ्रष्टाचारका जरा काट्दै नेपाली समाजलाई सुशासित बनाउन र यी भ्रष्टाचारीलाई यसको कलंकबाट समेत मुक्ति दिलाउन आवश्यक छ ।

ब्राजिलका मार्क्सवादी शिक्षाविद् पाउलो फेरेले भनेझैं, यो दोहोरो मुक्तिको सामाजिक दायित्व निर्वाह गरी सामाजिक रूपान्तरणमा योगदान दिने यस अभियानका लागि यो स्वर्ण अवसर पनि हो । यो दर्दनाक स्थिति हामीले अब पनि टुलुटुलु हेरेर बस्न हुँदैन । 'यो भएन र अब यसरी हुँदैन' भन्ने आँट गर्न सक्नुपर्छ ।

हामीलाई फेरि एक पटक सामाजिक जागरणसम्बन्धी सशक्त आन्दोलन चाहिएको छ, ताकि दलाल पुँजीवादले थोपरेको दलाल संस्कृतिलाई सधैंका लागि अन्त्य गर्न सकियोस् तर यसो गर्न नसक्ने र अब हुने आन्दोलनले पनि फेरि यिनै दलाल पुँजीवादका नयाँ नाइके तयार गर्ने हो भने हामी आफैंले खनेको 'समृद्धि'का खाल्डामा पर्ने निश्चित छ ।

प्रकाशित : वैशाख २९, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्

वैश्य युगको समृद्धि चेतना

कृष्णप्रसाद पौडेल

काठमाडौँ — केही दिन पहिले लगानी सम्मेलनले राजधानी तात्यो । सरकार लगानी ल्याउनसके समृद्धि आउने सपनाले तरंगित भयो । लगानीका लागि प्रस्तावित परियोजना हेर्दा यस्तो लगानी भित्र्याएर गर्न खोजिएको समृद्धि भने नयाँ बोतलमा पुरानै रक्सीजस्तो हुन्छ । हिजोआज समृद्धि योजनालाई अन्तिम रूप दिने भन्दै विकास परिषदको बैठक चलिरहेको छ ।

विडम्बना, प्राकृतिक स्रोतको अति दोहनबाट सम्भव भएको पश्चिमेली विकासको नक्कल नै अहिले हाम्रो समृद्धिको लक्ष्य बनेको छ । यसैको सिको गर्दै विकसित हुने होडबाजी चलिरहेको छ ।

शाव्दिक अर्थमा केही भिन्नता देखिए पनि रूप र सारमा विकास र समृद्धिमा कुनै भिन्नता छैन । यो बदलिएको परिवेशमा विकासमा समग्रताको जलप लगाएर नयाँ देखाउन खोजिएको आत्मतुष्टि मात्र हो । बढी भए, केही गरी यसलाई विकासको अर्को रूपमा अर्थ्याउन सकियो भने यसले थोपरेको विनाश र परनिर्भरताको दासतालाई केही दिनलाई भए पनि गुन्द्रीमुनि लुकाउन सकिन्छ कि भन्ने समृद्धि सपनाका नायकहरूको मनको लड्डुसम्म हुन सक्ला ।

अहिले भनिएको समृद्धिले हामीलाई आधुनिक विकासको विनाशलीलाबाट बचाउने नभई यसले थोपरेका समस्याको दलदलमा रमाउन मात्र सिकाउने हो भन्नेमा कुनै द्विविधा नराखे हुन्छ ।अहिले बखान गरिएको समृद्धि भेद पाउन भने एकपटक विकास शव्दको अर्थ, मर्म र यसको बोलीचालीमा प्रयोगको विगततर्फ फर्केर हेर्न आवश्यक छ । विकास फ्रेन्च शव्दावली डेभलोपरको नेपाली अनुवाद हो । सत्रौं शताव्दीमा फैलाउने या विस्तार गर्ने भन्ने अर्थमा प्रयोग भएको यो शव्दको प्रयोगको विस्तार हुँदै, सात दशक अघिसम्म जैविक वृद्धि, रसायनको प्रयोगबाट फोटो बन्ने प्रक्रिया र घरजग्गा व्यवस्थापनको अर्थमा मात्र प्रयोग हुन्थ्यो ।

१९४९ जनवरी २० मा अमेरिकी सिनेटलाई सम्बोधन गर्दा तत्कालीन राष्ट्रपति ह्यारी ट्रुम्यानले दोस्रो विश्वयुद्धमा ठूलो सफलता हात पारेको अमेरिकाको अभिमान र बर्चस्वको विम्ब प्रस्तुत गर्दै ‘अविकसित’ क्षेत्रको उन्नतिका लागि वैज्ञानिक उपलव्धि र औद्योगिक प्रगतिको भरपुर उपयोग गर्दै युरोपेलीलाई सघाउन तयार हुनुपर्छ भनेका थिए । यो भनाइ यथार्थमा दोस्रो विश्वयुद्धमा ध्वस्त भएको युरोपको पुनर्निर्माणको दायित्व अमेरिकाले समेत लिनुपर्नेछ भन्ने सन्दर्भमा व्यक्त भएको हो ।

ट्रुम्यानको यो उपनिवेश र प्रभुत्वको प्रायोजित व्याख्याले बाह्य स्रोतमा आधारित औद्योगीकरणको जग नै विकासे हुनुको मूल आधार हो भन्ने मान्यता स्थापित गर्न सफल भयो । यसरी विकास पश्चिमेली एकाधिकारको रूपमा व्याख्या भयो भने अविकासे भनिने अन्य सबै तिनै विकासेको सिको गरेर मात्र आधुनिक, सभ्य, सुखी र समृद्ध मानिस हुन सक्छन् भन्ने मूल प्रवाहको मान्यता स्थापित गर्न सफल भयो ।

हुन त यो ‘अविकसित’ भन्ने शव्द समाज विकासको सन्दर्भमा यसभन्दा पहिले पनि प्रयोग भएको थियो । गुस्ताभो इस्तिभाका अनुसार १९४२ मा वाइल फ्रेड बेन्सनले पछौटे क्षेत्र र १९४४ मा रोसेन्टाइन रोडानले आर्थिक रूपले पछौटे क्षेत्र र त्यसै वर्ष अर्थुर लुइसले धनी र गरिब बीचको खाडल भनी अविकासको समाजशास्त्रीय सन्दर्भ उठाएका थिए ।

यिनीहरूले त्यति महत्त्व पाएनन् । तर यसको ५ वर्षपछि शक्तिशाली देशका राष्ट्रपतिले उठाएको अविकासको प्रसंगले भने यो शव्दलाई समाजको उन्नति र प्रगतिको अर्थमा मात्र सीमित राखेन । यसले असभ्य र अमर्यादित जिन्दगी बिताउने अविकासेहरूलाई विकासे हुनैपर्ने लघुताभास थोपर्न सफल भयो । अहिलेको समृद्धि रटान त्यसैको उपज हो ।

त्यसपछिका दिनमा विकास धेरैका लागि आर्य विचार बन्यो । यो अहिलेसम्म सबैभन्दा धेरै बोलिने र लेखिने शव्दमात्र बनेन, सभ्य–असभ्य, मर्यादित–अमर्यादित मानिस, समुदाय र क्षेत्र बीचको लक्ष्मणरेखा कोर्ने मूल मापदण्ड बन्यो । यसले विकसित र अविकसित, उच्च र नीच, हुने र नहुने, ठूलो र सानो, राम्रो र नराम्रो, धनी र गरिब छुट्याउँदै मानिस, समाज र प्रकृतिबीच मान र अपमानको रेखा कोर्न सिकायो । जसका कारण मानव सभ्यतामा कहिल्यै पुर्न नसकिने विभेदको खाडललाई झनै गहिरो बनाउँदै लग्यो । यसले विभेदका रंगलाई अझ गाढा बनाउँदै सामाजिक समूहलाई एकआपसमा विभाजित हुन र निहित स्वार्थका आधारमा पक्षपोषण गर्न उक्सायो ।

यसले समग्र प्रकृतिको दोहनलाई सक्ताशत्तिको आडमा वैधतामात्र दिएन, यस्तो बिगार नगर्ने अभ्यास, सभ्यता र संस्कृति भएका समुदाय, समाज र क्षेत्रलार्ई अविकसित र पछौटेको संज्ञा दियो । यो दिनदेखि संसारभरका आदिवासी, जनजाति र फरक जीवन पद्धति भएका अन्य लाखौं समुदाय रातारात अविकसित र पाखे हुनपुगे । विकासको यो जोड–घटाउले हजारौं वर्षको प्रकृतिसँगको सहअस्तित्व र पारस्परिक अन्तर–सम्बन्धबाट उन्नत भएको विविधतापूर्ण मानव सभ्यता र संस्कृतिलाई ७ दशकमै जगैदेखि हल्लाइदियो ।

अहिले विकसित हुनु भनेको पश्चिमी जीवनशैली जस्ताको तस्तै नक्कल गर्नु हो भन्ने आम मान्यता स्थापित भएको छ । यसले अहिलेको उपनिवेश र प्रभुत्वमा आधारित पश्चिमेली मूलतः भौतिक विकासको ढाँचामाक्र ठिक र अरु सबै विविधता र समताका मूल मर्ममा आधारित समाज विकासत्रमको ऐतिहासिक कालखण्डमा निर्मित सभ्यता र संकृति बेठिक भन्ने परनिर्भर मानसिकताको लघुताभास थोपरेको छ । त्यसैले त सके त्यसको नक्कल यतै बसेर गर्ने, नसके उतै जाने मानसिकता नेपाली समाजमा बढेको छ ।

भौतिक विकासको तीव्र आकांक्षाले गरिएको प्रकृतिको अति दोहन नै अहिलेको माटो, मानव स्वास्थ्य र पर्यावरणीय समस्याको मूल कारण बनेको छ । यसको प्रत्यक्ष प्रभाव मानिस, समाज र प्रकृतिको अन्तर–सम्बन्धमा परिरहेको छ । माटोको उत्पादन क्षमता र उत्पादकत्वमा आएको ह्रास, मानिसमा नसर्ने दीर्घरोगको बढ्दो प्रकोप र जलवायु परिवर्तनको असर र प्रभाव थपिँदै गएको छ ।
यस्तो विकासको असर र प्रभाव अहिलेका अविकसित भनिने समाजमा झनै पेचिलो छ ।

अघिल्लो दिनसम्म गरिबी र अभाव के हो भन्ने सुइँकोसमेत नपाएका आममानिस बाहिरी सहायताका आसमा आफ्नै समुदायलाई धनी र गरिब, हुने र नहुनेका कित्तामा विभाजित गर्न उद्यत छन् । त्यतिमात्र कहाँ हो र ? आफैलाई अविकसितको प्रमाणपत्र थमाउँदै गरिब र विपन्नताको असली दाबेदार बनाएर हीनताबोधको सिकार भैरहेका छन् । हालैमात्र वितरण गरिएको गरिबीको परिचयपत्रमा गरिएको धाँधली, दातासँग गरिएका याचना र लगानी सम्मेलन केही उदाहरणमात्र हुन् ।

विकासका नाममा गलत दिशातर्फको हाम्रो यात्राले सिंगो मानव सभ्यतालाई अब मानव, समाज र प्रकृतिको अन्तरनिर्भरता पुनर्निर्माण गर्न सकिन्न कि भन्ने घुम्तीमा पुर्‍याएर छाडेको छ । बेलायती भौतिकशास्त्री स्टेफेन हकिङ्सको भविष्यवाणी होस् या अन्य वैज्ञानिक खोज सबैको एउटै निष्कर्ष छ : पृथ्वी वाब्रह्माण्डमा हुने प्राकृतिक उतार–चढावले सम्पूर्ण जैविक प्रक्रिया नष्ट हुने परिस्थिति बाहेक मानव सभ्यताको अन्त्य मानिसले समयमै बाटो फेर्न नसकेको कारणले मात्र हुनेछ ।

यस्तो अवस्थाको चित्रण गर्न खानेकुरा र यसको मूल स्रोत कृषि प्रणालीमा देखिएको विकराल समस्या नै काफी छ । अहिले हावा र पानीपछि जीवनका लागि नभई नहुने खानेकुराको उत्पादन रसायन, विषादी, हर्मोन र नसड्ने प्लाष्टिकले विषाक्त भएको छ । हाम्रो हठ गाईगोठ र खेतबारीमा यिनै विषाक्त कृत्रिम रसायनको प्रयोग गरी खेती गरेर माटोलाई मरुभूमिकरण, पर्यावरणलाई प्रदूषित र मानव स्वास्थ्यलाई नसर्ने दीर्घरोगले आक्रान्त बनाउनमा मात्र उद्यत छ ।

हामी अहिले पैसा रोपेर पैसै फलाउने र यसैलाई खाएर बाँच्ने सपना बोकेको वैश्य युगको कृत्रिम मानिसको झुन्डको पछि लागेका छौँ । लगानी सम्मेलनमा रासायनिक मल कारखानाको सोकेश परियोजना यसको एउटा ज्वलन्त उदाहरण हो । यस्ता वैश्यहरू रसायन र कृक्रिम रसायनमा आधारित विषात्त खानेकुरा उत्पादन गर्न र यिनै खाना खान आम मानिसलाई बाध्य बनाउन उद्यत छन् । यीमध्ये केहीले विषाक्त खानेकुरा र अस्पतालको व्यापार सँगसँगै चलाएका छन् । यिनीहरू मानिसलाई पहिला बिरामी बनाउँछन्, अनि तिनको उपचार पनि आफै गर्छन् । अर्को अर्थमा यिनीहरू आफै बोक्सी आफै धामी बनेका छन् । यो जनसेवाको आडम्बरभित्र जसरी पनि पैसामात्र कमाउने निहित उद्देश्यमा आधारित छ ।

अन्त्यमा, मानवजाति यात अहिलेको वैश्य युगबाट जैविक युगमा पुग्नेछ या केही समयभित्रै यसको सधैंका लागि अन्त्य हुनेछ । केही वर्ष अघिसम्म एच.पी. रुचको यो भनाइसँग धेरै मानिस सहमत थिएनन् । तर अहिले यसबारे आम मानिसबीच चर्चामात्र हैन, चिन्ता, चासो, खोज र विश्लेषण हुनथालेको छ ।

ल्याटिन अमेरिकी आदिवासी अगुवाले भनेझैं ठूलो परिणाममा प्रकृतिको नाश भएपछि मात्र हामीलाई थाहा हुनेछ, पैसा खाएर बाँच्न सकिँदैन । उनको यो मार्मिक भनाइलाई समयमै आत्मसात गर्न नसके प्रकृतिको अति दोहनले ल्याउने समृद्धि नै मानव सभ्यताको इहलीलाको कारक हुनेछ ।

प्रकाशित : चैत्र २८, २०७५ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्