कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बुहारी माने अझै घरधन्दा !

मञ्जु भट्ट

मेरा भतिजाले नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टको सुरुवाती तालिम सक्यो । तालिम सकिएपछि अरू प्रशिक्षार्थीका अभिभावकलाई समेत निम्त्याएर भोजभतेर गर्नुपर्ने सेनाको नियम रहेछ । भोज गर्ने भएपछि अछाम घरबाट सासूससुरा, जेठाजुजेठानी र अरू भतिजाभतिजी, फुपू काठमाडौंमा हामी भए ठाउँ आइपुगे ।

हामी घरका मात्रै पन्ध्र जना भयौं । घरमा अर्को दिन ठूलै भोज भयो । सबै मिली पकाइतुल्याई गरियो । सबले रमाइरमाई मासुभात खाए, नाचगान गरे ।

करिब दस वर्षअगाडिको प्रसंग हो यो । भर्खरै बिहे भएर आएकी मलाई माइतीको न्यास्रोले छोडेको थिएन । अछामको चलनअनुसार जुठा भाँडा घरका छोरीले छुन नहुने रहेछ । बुहारी भए सासूले, देवरानी भए जेठानीले पनि माझ्न नहुने रहेछ । म सानैदेखि मासु खान्नथेँ । म सानै हुँदा भारतका एक जना गुरुको मृत्यु भएको थियो र उनकै सम्मानमा हाम्रो गाउँका कैयौँ शाकाहारी भएका थिए । तिनमा एक जना म पनि थिएँ ।

मैले मासु खान छोडेको बीस वर्षभन्दा बढी भइसकेको थियो । माइतीमा घरभित्र मासु पाक्दैनथ्यो । चुलो बाहिर छुट्टै थियो । मलाई मासुको गन्धै मन पर्दैनथ्यो । त्यसैले मासुको गन्ध सुँघ्नु नपरोस् भनेर मैले त्यस दिन अर्कै कोठामा बसेर भोज खाएकी थिएँ । खानपिन गरेर भान्सामा जाँदा बेसिनभरि मासुभातका जुठा भाँडा देखेर म छक्क परेँ । आफू कान्छी बुहारी भए पनि मलाई अछामको चलन त्यसअघि थाहा थिएन ।

घरका सबैले मेरै जिम्मा लगाइदिए त्यत्रा जुठा भाँडा ! म मासु खाँदिनँ भन्ने सबैलाई थाहा थियो तर मासुकै जुठा भाँडा माझ्न मैलाई लगाए । आँसु चुहाउँदै मैले भाँडा नमाझी धर पाइनँ । माइतीको खुबै याद आयो । आमाका घरमा भएकी भए यस्तो अन्याय हुन्नथ्यो भन्ने सम्झँदा झन्डै भक्कानो छुट्यो ! ती भाँडाकुँडा मासुभातका नभएका भए मलाई दुःखै लाग्दैनथ्यो । त्यतिखेर लाग्यो- छोरीका दुइटा घर हुन्छन् भन्छन् तर ऊ दुइटै घरमा पराई हुने रहिछ । न घरकी न घाटकी !

यो उदाहरणबाट थाहा हुन्छ- नेपाली समाजमा बुहारीको हैसियत कस्तो हुन्छ । ज्वाइँले ससुरालीमा पाउने र बुहारीले घरमा पाउने व्यवहारमा आकाशपातालको फरक हुन्छ, जुन जायज होइन । बुहारी नयाँ घरमा भित्रिएपछि सबैको इच्छाअनुसार सुत्नु/उठ्नुपर्ने हुन्छ । कसलाई के मन पर्छ या मन पर्दैन भन्ने ख्याल राख्नुपर्ने हुन्छ ।

कुनै काममा कैफियत भए, भन्न पछि पर्दैनन्- माइतीमा यत्ति पनि सिकाएनन् ! अर्कातिर, ज्वाइँलाई ससुरालीमा आँखामा राख्ने गरिन्छ । ससुरालीमा त्यत्रो मान पाउने ज्वाइँले उनकै लागि जन्मघर छोडेर आएकी श्रीमतीलाई पनि आफ्ना घरमा त्यस्तै व्यवहार भएको छ कि छैन भन्ने हेक्का राख्नुपर्ने हो तर यो कुरो धेरैजसो घरमा खरायोको सिङ बराबर भएको छ । दुःखको कुरा, समयसँगै परिवर्तन हुँदै यहाँसम्म आइपुगेका मानिस समयकै पदचापलाई बुझ्न भने मन गर्दैनन् ।

हालै गाउँबाट नन्द र उनका श्रीमान् कामविशेषले काठमाडौं आएर हामीसँगै बसेका छन् । बिहान उनीहरू काममा बाहिर जान्छन्, हामी खाना पकाई, खाई उनीहरूका लागि राखिदिएर आआफ्ना काममा हिंडिहाल्छौं । बेलुका कामबाट फर्किंदा पाँचपाँच सन्तानका आमाबुबा उनीहरू गफिएर बसिरहेका हुन्छन्, बिहानदेखिका जुठा भाँडा भने बेसिनमै सुकिरहेका हुन्छन् । नन्दले माइतीमा भाँडा धुनै भएन ! उनका श्रीमान् हाम्रा ज्वाइँ भइहाले ! उनले झन् के सिन्को भाँच्थे ! भाँडाकुँडा धोएर फेरि पकाएर खुवाउन परिहाल्यो ।

यस्तो नचाहिने नियम अझै अस्तित्वमा हुनु हामीले समयलाई नबुझ्नु हो । कहिलेकाहीँ शरीरलाई गाह्रोसाह्रो पर्दा पनि महिलाले ऐय्या भन्न नपाउनु ? परिवारमा सधैँभरि एकै जनाले घरधन्दा गरिरहनुपर्दा अपहेलित महसुस हुँदोरहेछ । मेरी सासूले पाँच छोरी र चार छोरा हुर्काइन् । बुहारी घरमा नआउन्जेल घरका अरू सदस्यले चिया खाएको गिलास पनि उनैले धुनुपर्थ्याे रे ! नौनौ जना सन्तान भए पनि सासू नै जोतिनुपर्ने । छोरीले माइतीमा जुठा भाँडा छुन नहुने, छोराले छोए जातै जाने ! श्रीमान् त 'शिर माथिका' भइहाले !

अचेल नेपाली दाजुभाइहरू वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । त्यहाँ उनीहरू पक्कै हात बाँधेर बस्न पाउँदैनन् । कतिपयले शौचालय सफा गर्ने, रेस्टुराँमा जुठा भाँडा माझ्ने, अरूका लुगा धुनेजस्ता काम पनि गर्ने गरेका छन् । आफ्ना घरमा सिन्को नभाँच्ने उनीहरूले विदेशमा बाध्यतावश अनेक थरीका काम गर्नुपर्ने हुन्छ । घरतिर काम गरे जातै जाने जस्तो गर्नेहरूलाई विदेशमा सास फेर्ने फुर्सद हुन्न । कति जना त्यसै त्यसै कहालिइरहेका हुन्छन् ।

यसमा हाम्रो परिवारकै, समाजकै गल्ती छ । सानैदेखि यो काम छोराले गर्नु हुँदैन भन्दै केही नसिकाउँदा छोरा-बुहारीमा भेदभाव बढ्दै गएको हो । काम जस्तो भए पनि त्यो पूजा बराबर हुन्छ भन्ने विदेशी मान्यता हाम्रो समाजमा पनि लागू गर्न सके न हाम्रा दाजुभाइले विदेशमा दुःख पाउँथे, न त हामीजस्ता बुहारीहरूले घरभित्रै दिनदिनै अपहेलित भइरहनुपर्थ्याे ।

प्रकाशित : वैशाख २९, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?